१७ विद्यालयलाई नमुना बनाउन कोरियालीको सहयोग

गणेश राई
काठमाडौँ — दक्षिण कोरियालीको सहयोगमा नेपाल सामुदायिक विद्यालयलाई नमुना विकास गरिएको छ । तीनपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोही अम होङ गिलको पहलमा १३ जिल्लाका १७ विद्यालयलाई नमुना बनाइएको हो । आरोही गिलले 'अम हाङ गिल ह्युमन फाउन्डेशन'मार्फत सहयोग गर्दैआएका छन् । 
अम हाङ गिल ह्युमन फाउन्डेशनले गरेको 'ह्युमन विद्यालय प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्ष गोष्ठी'मा सहभागीहरू । तस्बिर सौजन्य : फाउन्डेशन
फाउन्डेशनबाट सहयोगप्राप्त ती विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षसहित काठमाडौंमा तीन दिने गोष्ठी सुरु भएको छ । प्रोग्राम म्यानेजर निलम थापाका अनुसार फाउन्डेशनले सोलुखुम्बु, धादिङ, रुपन्देही, कास्की, धनुषा, म्याग्दी, संखुवासभा, बर्दिया, ताप्लेजुङ, गोरखा, काभ्रे, रोल्पा र काठमाडौंका सामुदायिक विद्यालयलाई सहयोग गर्दैआएको छ । 'अहिलेसम्म विद्यालयको भौतिक पूर्वाधार निर्माण, पुस्तकालय, अतिरिक्त क्रियाकलापलाई जोड दिँदैआएको छ,' थापाले भनिन्, 'अब शैक्षिक गुणस्तर बढाउन प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको गोष्ठी गरेका हौं ।'

फाउन्डेशनले सन् २०११ देखि विद्यालयको भौतिक पूर्वाधार निर्माणमा सहयोग दिन थालेको हो । पूर्वाधार निर्माणमा प्रतिविद्यालय न्यूनतम २ करोडदेखि १८ करोड रुपैयाँसम्म सहयोग दिँदै आएको थापाले बताइन् । साथै, पुस्तकालय विस्तार, विद्यार्थीलाई पोसाक, झोला, स्टेसनरी, चित्रकलामा उत्कृष्ट विद्यार्थीलाई कोरिया भ्रमण अवलोकन गराएको छ । 'अब यो वर्षबाट शैक्षिक गुणस्तरमा सहयोग गरिने छ,' म्यानेजर थापाले भनिन्, 'प्राविधिक शिक्षा, सूचना प्रविधिको विस्तार, शिक्षक गुणस्तर अभिवृद्धि, बालबालिको शैक्षिक ज्ञान प्रवर्द्धनमा भौतिक तथा दक्ष जनशक्तिबाट सीप विकास केन्द्रित क्रियाकलाप हुनेछ ।'

फाउन्डेशनका सल्लाहकार तथा पूर्व शिक्षामन्त्री गंगालाल तुलाधरले संघीय संरचनाअनुसार नयाँ शिक्षा ऐनमा शिक्षणलाई आकर्षक पेसाका रुपमा विकास गरिने बताए । 'अहिलेसम्म हामीले दिएको शिक्षा गरिखाने भएन,' सरकारले पछिल्लोपटक गठन गरेको उच्चस्तरीय शिक्षा आयोगका सदस्यसमेत रहेका तुलाधरले गोष्ठीमा भने, 'त्यसैले अब राज्यले कुल बजेटको कम्तीमा २० प्रतिशत शिक्षामा बजेट छुटाउनु पर्छ । शिक्षकको तलब अन्य कर्मचारीभन्दा १० प्रतिशत बढी हुनेगरी ऐन प्रस्ताव गरिएको छ । अब सामुदायिक विद्यालय सुधारमात्र होइन, यसको विकल्पमा अरु विद्यालय हुनेछैन । तपाईहरु (शिक्षक) ढुक्क हुनोस् ।' पढाउन नसक्नेले शिक्षण पेसाबाट बाहिरिनु पर्नेसमेत उनले बताए ।

गोष्ठीमा फाउन्डेशनकी निर्देशक ली यङ जुले नेपाल र कोरियाबीचको सम्बन्धको चर्चा गर्दै शैक्षिक विकासमा सहयोग तथा सहकार्य निरन्तर राख्ने बताइन् ।प्रकाशित : चैत्र २८, २०७५ २०:२

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि