प्रादेशिक प्रज्ञा प्रतिष्ठान माग

अर्जुन राजवंशी
दमक — नेपाल प्रज्ञा प्रतिष्ठानले ‘प्रादेशिक प्रज्ञा प्रतिष्ठान’ स्थापनका लागि छलफल थालेको छ । प्रतिष्ठानले प्रदेश १ बाट प्रादेशिक प्रज्ञा प्रतिष्ठान स्थापनका लागि प्रदेशस्तरीय बौद्धिक छलफल सुरु गरेको हो ।
झापाको दमकमा जारी बृहत् वाङ्मय संगोष्ठीमा (बायाँबाट क्रमशः) प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, साहित्यकार दधिराज सुवेदी र प्रा. सोमप्रसाद खतिवडा । तस्बिर : अर्जुन/कान्तिपुर
दमक प्रज्ञा प्रतिष्ठानको सहआयोजनामा प्रतिष्ठानले दमकमा त्रिदिवसीय बृहत् वाङ्मय संगोष्ठी आयोजना गरेको छ । संगोष्ठीमा प्रदेश १ को भाषा, कला, साहित्य, संस्कृतिका विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गरिएका छन् । सोमबार ‘किरात मुन्धुम’, ‘कोसी प्रश्रवण क्षेत्रको हिमाली जनजीवन’, ‘कोसी प्रश्रवण क्षेत्रका धार्मिक एवं पर्यटकीय स्थलहरू’ र ‘नेपाल उपत्यका र राजवंशी समुदायको सांस्कृतिक अन्तरसम्बन्ध’ विषयक कार्यपत्र प्रस्तुत गरिएका थिए ।

प्रा.डा.सोमप्रसाद खतिवडाले प्रदेश १ मा रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको गहन खोज तथा अध्ययनको आवश्यकता रहेको औंल्याए । उनले यी क्षेत्रको सम्वर्द्धन र विकासमा राज्य लाग्न सके प्रदेश १ साँच्चैको एक नम्बर प्रदेश बन्ने दाबी गरे । उनले प्रदेशभित्र रहेका धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीय क्षेत्रबाट राज्यले अझै पनि लाभ लिन नसकेको बताए । प्रज्ञा प्रतिष्ठानले यी स्थालहरूको खोजी र विकासमा लाग्नुपर्नेमा प्रा.डा.खतिवडाको जोड दियो ।

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले मुलुक नयाँ संरचनाबाट अघि बढिसकेकाले प्रज्ञा प्रतिष्ठान पनि सोभन्दा बाहिर गएर अघि बढ्न नहुने बताए । ‘त्यसकारण हामीले प्रादेशिक प्रज्ञा प्रतिष्ठानको लागि छलफल सुरु गरेका हौं । यस प्रदेशभित्र रहेका महत्त्वपूर्ण भूगोल, जातजाति, संस्कृति, भाषा, कला, साहित्यलगायतको अध्ययन अनुसन्धान गरिरहेका छौं,’ उनले भने । उनले राज्यको भाषा, कला, साहित्य, संस्कृतिको खोज, अनुसन्धान बौद्धिक क्षेत्रले नै गर्नुपर्नेमाजोड दिए ।

उपकुलपति जगमान गुरुङले नेपालको समग्र चिनारी झल्किने महाग्रन्थ निर्माणमा सहयोग गर्न सबै पक्षलाई आग्रह गरे । उनले मुलुकको स्पष्ट विम्ब देखिने गरी बनाउन खोजिएको ग्रन्थ निर्माणमा राज्यको लगानी अति आवश्यक रहेको बताए ।

प्रा.डा. गणेश क्षेत्रीले राज्यले भाषा, कला, साहित्य, संस्कृति, जातजातिको विकासमा हुनुपर्ने गरी प्रस्तुत हुन नसकेको बताए । उनले राज्यको संरक्षण र चासो चिन्ता नभए भाषा, संस्कृति गुमाउनुको ठूलो पीडा सहनुपर्ने बताए । उनले कुनै पनि जाति, भाषा, संस्कृतिको अध्ययन, अनुसन्धान गहिरोगरी बौद्धिक क्षेत्रबाट गर्न सक्नुपर्नेमा जोड दिए ।

प्रतिष्ठानले प्रदेश १ को भाषा, कला, साहित्य, संस्कृतिको प्रवर्द्धन, प्रादेशिक प्रज्ञा प्रतिष्ठान स्थापनबारे छलफल र मुलुककै समग्र चिनारी झल्किने गरी ‘महाग्रन्थ’ निर्माणको उद्देश्य राखेको प्राज्ञ सभा सदस्य एवं प्रतिष्ठानका सञ्चार संयोजक शशी लुमुम्बूले जानकारी दिए ।

संगोष्ठीको आइतबार प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका थिए । उनले प्रतिष्ठानले निर्माण गर्न लागेको महा ग्रन्थका लागि आवश्यक बजेट नेपाल सरकारले व्यवस्था गर्ने बचन दिएका थिए । प्रधानमन्त्री ओलीले दमक नगरपालिकालाई आवश्यक जग्गाकोव्यवस्था गर्न आग्रह गर्दै प्रादेशिक प्रज्ञा प्रतिष्ठान दमकमा स्थापना गर्नुपर्नेमा जोड दिएका थिए ।

सोमबार प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश सरकार प्रादेशिक प्रज्ञा प्रतिष्ठान स्थापनाका लागि अघि बढेको बताएका थिए । उनले यसका लागि आगामी आर्थिक वर्षदेखि योजना र बजेटसहित अघि बढ्ने बताए ।प्रकाशित : चैत्र १९, २०७५ ०९:०६

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि