नेपाल-चीन सांस्कृतिक सम्बन्धको चर्चा

कान्तिपुर संवाददाता
काठमाडौँ — नेपाल र चीनको सांस्कृतिक सम्बन्धलाई बृहत् अध्ययन गर्नुपर्नेमा विज्ञले जोड दिएका छन् । हिमालयन हेरिटेज फाउन्डेसनले आइतबार काठमाडौं आयोजना गरेको 'पिपल्स टु पिपल्स रिलेसन्स बिटुइन नेपाल एन्ड चाइना, ट्रान्स-हिमालय इन्डिजिनियस कनेक्टिभिटी' विषयक कार्यशालामा उनीहरूले राजनीतिक सीमालाई दक्षिण केन्दि्रत दृष्टिकोणबाट मात्र हेरिन नहुनेसमेत बताए ।

'नेपालको राजनीतिक सीमा अकाट्य सत्य हो । तर सांस्कृतिक सभ्यताका निम्ति राजनीतिक सीमा कृत्रिम हुन्छ,' नवीनकुमार राईले भने, 'अहिलेसम्म दक्षिण केन्दि्रत दृष्टिकोण हाबी छ । नेपाल र तिब्बतबीच ऐतिहासिक कालदेखि सामाजिक, आर्थिक सम्बन्धलाई उत्तरलाई पनि उस्तै नजरले हेरिनुपर्छ ।' कार्यशालामा विज्ञले नेपालका आदिवासी जनजातिमा सूचीकृत भोटे, शेर्पा, गुरुङ, तामाङ, मगर, लिम्बू, किरात राई, नेवार, थारू समुदाय र चिनियाँ संस्कृतिबीचको सम्बन्धलाई केलाएका थिए ।

चीनका पूर्वमहावाणिज्यदूत तथा फाउन्डेसनका सचिव ताम्ला उक्याबले नेपालको पहाड र हिमाली भेगका आदिवासी जनजातिको चीनसित नश्लीय तथा सांस्कृतिक सम्बन्ध रहेको विषय उजागर गर्न जरुरी रहेको बताए । समाजशास्त्री कृष्ण भट्टचनले नेपालमा ५९ आदिवासी जनजाति रहेको र चीनमा ५५ थरी आदिवासी पहिचान गरिएको जानकारी दिए । सिचुआन युनिभर्सिटीका विद्यावारिधि शोधार्थी टेकबहादुर गुरुङले नेपालको गुरुङ जातिको चीनसित ६ हजार वर्षदेखि सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गरे ।

नेपालस्थित चिनियाँ दूतावासका राजनीतिक विभाग प्रमुख वाङ झिओलङले नेपालका निम्ति चीन विकासको साझेदार रहेको बताए । 'नेपालको हिमाली भेगका जनजीवन तथा संस्कृति र चीनसँग मिल्दोजुल्दो छ । दुई देशको ऐतिहासिक सम्बन्धलाई जनता-जनताबीचको सम्बन्धका रूपमा विकास गरिनुपर्छ,' उनले भने, 'हामी -चीन सरकार) ले उत्तरी सिमानामा रहेका नाकालाई व्यवस्थित तुल्याउँदै जनताबीचको सम्बन्धलाई थप बलियो बनाउने नीति लिएको छ ।'

योजना आयोगका पूर्वसदस्य समाजशास्त्री चैतन्य सुब्बाले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धबारे गहन रूपमा अध्ययनको खाँचो औंल्याए । सांसद तथा अध्येता छक्कबहादुर लामाले हिमाली भेगका आदिवासी जनजातिहरू हिन्दु सांस्कृतिक अतिक्रमण परेको बताए । मानवशास्त्री होम याम्फुले हिमाल र पहाडी भेगको जनजीवनको सांस्कृतिक सम्बन्धलाई चीन र भारतको जनजीवनसँग मिश्रति रहेकाले एकपक्षीय रूपमा लिन नहुने बताए । मानवशास्त्री मुक्तसिंह लामा, मुन्धुम अध्येता भोगीराज चाम्लिङ, केशवमान शाक्य, अजितमान तामाङ, गोपाल दहित, नरेन्द्र गुरुङ, बीके राना, आङकाजी शेर्पालगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।प्रकाशित : चैत्र १७, २०७५ २०:५

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि