शिक्षाशास्त्रप्रति कुदृष्टि

महानन्द तिमिल्सिना
काठमाडौँ — शिक्षा क्षेत्रमा सुधार गर्न शिक्षाशास्त्र सङ्काय हटाउनुपर्ने शिक्षामन्त्रीको विचार सुन्दा आश्चर्य लाग्यो  । शिक्षाशास्त्र सङ्काय अध्ययन गरेर अध्यापन अनुमतिपत्र लिई रोजगारको प्रतीक्षामा सात लाखभन्दा बढी युवा बसेका छन्  ।
उनीहरूलाई राज्यले रोजगारको अवसर प्रदान गर्नुपर्छ । तर शिक्षाशास्त्र अध्ययन गर्न इच्छुक विद्यार्थीलाई निरुत्साहित पार्ने र अवरोध सिर्जना गर्ने ढङ्गले सरकारी पक्षबाट शिक्षाशास्त्र सङ्काय बन्द गर्ने सार्वजनिक विचार आउनु राम्रो होइन ।


त्रिविले एकवर्षे, तीनवर्षे र पछिल्लो समय चारवर्षे बीएड कार्यक्रम र दुईवर्षे एमएड कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपाल संस्कृत विश्वविद्यालयले एकवर्षे बीएडमात्र सञ्चालन गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयले बीएड र एमएडका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
शिक्षाशास्त्र सङ्कायका अत्यधिक विद्यार्थी बेरोजगार हुनुको कारण सरकार हो । एसईई परीक्षामा कम ग्रेड आएका विद्यार्थीलाई शिक्षा विषय अध्ययनको अनुमति सरकारले दिएको हो । न्यूनतम १ दसमलव ६ जीपीए ल्याउने विद्यार्थीले शिक्षाशास्त्र सङ्कायमा अध्ययन गर्न पाएका छन् । सबैभन्दा कम जीपीए ल्याउनेलाई शिक्षक बनाउने निर्णय गर्नु सरकारको कमजोरी हो । योग्य र दक्ष शिक्षकले मात्र शिक्षामा गुणस्तर बढाउन सक्छन् । उत्कृष्ट विद्यार्थीलाई शिक्षा विषयको अध्ययनमा आकर्षित नगरी गुणस्तरीय शिक्षाको अपेक्षा गर्नु मुर्खता हो ।
शिक्षाशास्त्र सङ्कायले उत्कृष्ट नतिजा ल्याउनसकेको छैन । गुणस्तर खस्कँदो छ । त्रिविको तीनवर्षे बीएडमा २०७२ सालमा पहिलो, दोस्रो र तेस्रो वर्षमा क्रमश: २०, २४ र २८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने २०७३ सालका तीन खण्डमा क्रमश: २७, २५ र ३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका देखिन्छन् ।
२०७४ सालमा पहिलो, दोस्रो र तेस्रो वर्षमा क्रमश: २८, ३३ र ३६ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । यस नतिजामा पनि निर्देशानुसार परीक्षकको कृपाङ्क रहेको हुनसक्छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा विद्यार्थीको नतिजा सार्वजनिक गर्दा साह्रै लाजमर्दो नहोस् भन्नेमा सम्बन्धित निकाय सचेत रहेको हुन्छ ।
सरकारी तहबाट ठूलो लगानी भएकाले जसरी भए पनि विद्यार्थी सफलताको प्रतिफल देखाउन विश्वविद्यालय बाध्य छ । उत्तीर्ण भएका विद्यार्थीमध्ये पनि सर्वोत्कृष्ट छनोट गरी सही मूल्याङ्कन गर्ने हो भने तह अनुकूलको योग्यता पाउन मुस्किल छ । वर्षौंसम्म ब्याकपेपर लेखेर बल्लतल्ल तह पार गरेका विद्यार्थी नै विद्यालय तथा विश्वविद्यालयमा शिक्षणका लागि पुग्ने गरेका छन् । तर सङ्काय हटाउनु समाधान होइन ।
सरकारले निजी विद्यालयमा शिक्षाशास्त्र सङ्कायका विद्यार्थीलाई परिचालन गर्नसकेको छैन । निजी विद्यालयमा अध्यापन अनुमतिपत्र प्राप्त शिक्षक अत्यन्त कम छन् । निजी विद्यालयको रोजाइमा थोरै पैसामा यन्त्रवत् काम गर्ने शिक्षक पर्ने गरेका छन् । योग्य र तालिम प्राप्त शिक्षक अलिक महङ्गा हुन्छन् र ती छिटै सरकारी विद्यालयतिर जान पनि सक्छन् । त्यसैले शिक्षाशास्त्र पढेका धेरै बेरोजगार बनेका छन् ।
सरकारी विद्यालय र कलेजमा शिक्षकका रूपमा राजनीतिक दलका कार्यकर्ता नै अटाइ–नअटाइ छन्, क्षमतावान पछि परेका छन् । मानविकी, व्यवस्थापन लगायतका सङ्कायमा पनि बेरोजगार विद्यार्थीको सङ्ख्या उल्लेख्य छ । बेरोजगार हुनासाथ त्यस सङ्कायको पठन–पाठन ठप्पै पार्ने हो भने विश्वविद्यालयका हरेका सङ्काय बन्द गर्नुपर्ने हुन्छ । यो समस्या समाधानको उचित तरिका होइन ।
सरकार र विश्वविद्यालयका पदाधिकारीले आर्थिक प्रलोभन र राजनीतिक आधारमा अनावश्यक ठाउँमा पनि कलेज सञ्चालनको अनुमति दिएका छन् । कम ग्रेड ल्याउने ठूलो सङ्ख्याका विद्यार्थीलाई शिक्षा विषय पढ्न प्रेरित गरेका छन् । तर पढिसकेपछि जागिर खाने क्षेत्र विस्तार गर्नसकेका छैनन्, भएको क्षेत्रमा पनि जागिर दिलाउनसकेका छैनन् ।
सरकारले कहिले प्राविधिक शिक्षालाई जोड दिने बताउँछ, कहिले विश्वविद्यालय टपरलाई सिधै शिक्षणमा पठाउने भन्छ र कहिले विद्यालय तहमा खाजाको राजनीति गर्छ । सरकारले कहिल्यै देश र परिवेश अनुकूल उच्चस्तरीय जनशक्ति निर्माणमा ध्यान पुर्‍याउन सकेन । सरकारले युरोप, अमेरिकातिर गएर काम गर्ने जनशक्ति तयार गर्‍यो, खाडी मुलुकमा गएर पसिना बगाउने जनशक्ति तयार गर्‍यो, तर आफ्नो देश अनुकूलको जनशक्ति तयार गर्न सकेन ।
शिक्षाशास्त्र सङ्कायलाई व्यवस्थित गर्न जरुरी छ । उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीलाई मात्र शिक्षाशास्त्र अध्ययनमा अनुमति दिनुपर्छ । अब्बल शिक्षक भएमात्र अब्बल विद्यार्थी उत्पादन हुन सक्छन् । उत्कृष्ट विद्यार्थीबाट मात्र देश समृद्ध बन्न सक्छ । शिक्षकको तलबमान पनि अन्य क्षेत्रका कर्मचारीको भन्दा आकर्षक हुनु जरुरी छ ।

लेखक पिण्डेश्वर विद्यापीठ, धरानका उपप्राध्यापक हुन् ।
प्रकाशित : कार्तिक ८, २०७५ ०८:०५https://www.kantipurdaily.com/bibidha/2018/10/25/15404340125404766.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि