प्रदेश १ - देवनागरी र सिरिजंगा लिपि नयाँ रुपमा

कान्तिपुर संवाददाता
धरान — नेपाली र सिरिजंगा लिपिलाई थप समृद्ध बनाउने उद्देश्यले ६१ वर्षे जीवनध्वज राई अचेल कम्प्युटरले रिड गर्ने नयाँ नयाँ फन्टको डिजाइनमा व्यस्त छन् । उनी भारतीय गोर्खा सैनिक सेवामा ३१ वर्ष बन्दुक चलाएर अवकाशप्राप्त क्याप्टेन हुन् ।
फन्टको डिजाइन देखाउदै क्याप्टेन जीवनध्वज राई ।
टेबलअगाडि राखिदिएको खाना चिसो भएर सेलाइसकेपछि श्रीमतीले खाना सेलाएको कुरा सम्झाउँदा मात्र ‘ए विर्सेछु’ भन्दै खाना खान्छन् । हालसम्ममा करिव तीन दर्जन फन्ट डिजाइन गरेका राईले एकाग्र भएर नेपाली देवनागरी, सिरिजंगा र केही अंग्रेजी लिपिलाई नयाँ रूप दिएका छन् । उनले भने, ‘कम्प्युटरमा देखिने अक्षरहरूको डिजाइन र अनुपात चित्त नबुझेर म आफैं फन्ट डिजाइनको महासागरमा हामफालेको हुँ ।’भारतीय सेनामा रहदै कम्प्युटरबाट डिजाइन गर्न सिकेका आधारमा उनले आफ्नो सृजनालाई प्रौढकालमा आएर पनि उत्साहकासाथ सृजनामै रमाएको बताए ।सृजनशील क्याप्टेन राईलाई पेन्सनको पैसा खाएर अल्छी जीवन जिउन मन नलागेपछि ल्यापटपमा रातदिन फन्ट डिजाइन गरेर बस्दा खाना खान समेत विर्सने भएका छन् ।

हाल प्रयोगमा आएका अक्षरहरू धेरै नै सुधार गर्न बाँकी रहेको उनको तर्क छ । उनले भने, ‘अक्षरहरूको रूपको दिशाअनुसार तिनीहरूमा आरोहअवरोह वा ठाडो र तेर्सो धर्सामा सन्तुलन मिल्नुपर्छ । मैले ती सन्तुलन मिलाउने प्रयास गरेको छु । हालसम्म उनले २० किसिमका अक्षरहरू (फन्ट) डिजाइन गरेका छन् ।

३१ वर्षसम्म बम र बारुद, मेसिनगन र लन्चरसँग खेल्दै भारतीय सेना भएर सीमा सुरुक्षामा तैनाथ भए पनि अवकाश पाउनासाथ लिपि सुधार र डिजाइनमा लागेका छन् । नयाँ पुस्ताले चासो नलिएको र अधिकांश कम्प्युटरमा फन्ट डिजाइनरले समेत कमै चासो राख्ने भएकाले प्रौढकालको उनको यो सृजना धेरै युवाका लागि चुनौती बनेको छ । हाल कम्प्युटरमा पाइने देवनागिरी लिपि र सिरिजंगा लिपिका अक्षरहरूभन्दा धेरै आकर्षक र कलात्मक शैलीमा डिजाइन गरेका छन् । उनले कम्प्युटरका कारण कतिपय लुप्त हुन लागेका पुराना नेपाली र सिरिजंगा अक्षरलाई विताएका छन् । ती लिपिलाई डिजिटलाइज गरेको राईले बताए । उनले डिजाइन गरेका ती अक्षरलाई जो कोहीको कम्प्युटर, मोबाइल वा ल्यापटप, ट्यावले चिन्न सक्छ ।

उनले आफूले सृजना गरेका अक्षरलाई जेडिआर अमृत, जेडिआर मेची, कोशी, सगरमाथा, जनकपुर, बागमती, पुस्पाक्षर, विन्दुक्षर र धरहरालगायत नाम दिएका छन् । ती मध्ये पुस्पाक्षरमा फूलैफूलको अक्षर डिजाइन गरेका छन् भने विन्दुक्षरमा सानासाना विन्दुबाट अक्षर तयार पारेका छन् । उनले हाल नेपाली र सिरिजंगा लिपिका अक्षरहरूमा धेरै खोट भएको पनि बताए । उनले भने, ‘धेरै अक्षरहरू कम्प्युटरमा टाइप गर्दा आधा अक्षरहरू जोडेर, हलन्त जोडेर, कतिपय अक्षर इन्सर्ट गरेर ल्याउनुपर्ने र कतिपयलाई अंक टाइप गरेर ल्याउनुपर्ने समस्या छन् ।

ती सवैलाई समाधान गर्न मैले भएका नेपाली लिपिलाई नयाँ डिजाइन गरेको हो ।’ उनले कतिपय अक्षरको डिजाइन गर्न तीन महिनासम्म लागेको पनि बताए । उनले ‘कान्तिपुर’ शब्दको समेत नया डिजाइन गरेर देखाए । हाल श्रीमति कुमारीदेवी राईसँग विराटनगर ४ ढाट नजिकै बस्दै आएका उनले लिपिमा नयाँरूप दिने काम विगत सात वर्षदेखि गर्दै आएको बताए । हालसम्म सार्वजनिक र कपिराइट प्रक्रिया पूरा गर्न भने बाँकी छ ।

कपिराइट प्रक्रिया नपुर्‍याई प्रयोगमा ल्याए अरूले कपी गरिदिने डरले धेरै प्रचारमा नल्याएको बताए । उनको पहिलेदेखिको सपना नै अक्षर डिजाइन गर्ने थियो । उनले भने, ‘थप नयाँनयाँ डिजाइन गरेर नेपाली र सिरिजंगा लिपिलाई समृद्ध बनाउने छु । कम्तीमा सय फन्ट डिजाइन गर्ने सोंच बनाएको छु ।’
प्रकाशित : असार २३, २०७५ ०८:४६https://www.kantipurdaily.com/pradesh-1/2018/07/07/153093225312533362.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि