समाचार - त्रिवि परीक्षाको सबै काम ‘ईएमआईएसमा’

फागुन दोस्रो सातादेखि विद्यार्थीको रजिस्ट्रेसन, संकाय, विषयको कोडलगायतको विवरण परीक्षा व्यवस्थापन सूचना प्रणालीमा राखिने
गणेश राई

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थी रजिस्ट्रेसनलगायत सम्पूर्ण विवरण ‘परीक्षा व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा राख्ने भएको छ । ६ वर्ष लामो प्रयासपछि त्रिविले यो व्यवस्था आउँदो फागुन दोस्रो साताबाट कार्यान्वयन गर्न लागेको हो । प्रविधिको प्रयोगले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका) धाउने विद्यार्थीले सहज ढंगले सेवा पाउने दाबी गरिएको छ । 


अहिलेसम्म केन्द्रीय कार्यालय काठमाडौंबाट मात्र प्रदान गरिएको सेवा अबदेखि सातै प्रदेशबाट प्रदान गरिने त्रिविले जनाएको छ । त्रिविका परीक्षासम्बन्धी क्षेत्रीय कार्यालय पोखरा, विराटनगर, नेपालगन्ज र धनगढीमा छन् । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार अब सातै प्रदेशको राजधानीमा कार्यालय विस्तार गरिने छ ।

विद्यार्थीले परीक्षामा प्राप्त गरेको मार्कसिट, ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल, डिग्रीलगायत प्रमाणपत्र लिन काठमाडौं धाउनुपर्ने बाध्यता छ । अहिले दैनिक १ हजार ६ सयजना जति बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय धाउने गर्छन् । कुनै काम गर्न विद्यार्थीले दुईदेखि पन्ध्र दिनसम्म धाउनुपर्ने स्थिति छ । ‘अहिलेसम्म विद्यार्थीको रजिस्ट्रेसनलगायत काम कागजी ढड्डामा छ,’ नियन्त्रक जोशीले भने, ‘अबचाहिँ विद्यार्थीको रजिस्ट्रेसन, संकाय, विषयको कोडलगायत पूर्ण विवरण ईएमआईएसमा राखिने छ । एक पटक गरिएको प्रविष्टि सधैंका निम्ति काम लाग्ने छ ।’

ईएमआईएसमा विवरण उपलब्ध हुने भएपछि विद्यार्थीको काम एकै दिन सकिने छ । २०५४ सालभन्दा अघिको रजिस्ट्रेसन भने ढड्डामै रहने छन् । त्यसलाई स्क्यानिङ गर्न सम्भव नभएपछि सकेसम्म कम्प्युटर डाटामा उतारिने जोशीले जनाए ।

अधिक विद्यार्थीले पाएको प्रमाणपत्रमा नाम, जन्ममिति, ठेगाना, सिम्बोल नम्बरलगायतमा हुने गल्ती सच्याउनुपर्ने झन्झट दोहोरिने गरेको छ । त्यसनिम्ति लाम लागेर बैंक भौचर भर्ने, नगद बुझाएको रसिद रजिस्ट्रेसन शाखामा बुझाएर अर्को रसिद लिनुपर्ने र एक साता कुरेपछि मात्र काम बन्ने गरेको छ । ‘अब बैंकले अनलाइनबाट भौचर भर्ने व्यवस्था गराउने पहल गर्दैछौं,’ नियन्त्रक जोशीले भने, ‘त्यसो हुँदा दुईवटा रसिद लिनु पर्दैन र रकम पनि सीधै त्रिविको खातामा जम्मा हुनेछ ।’ त्रिविले केही वर्षयता ग्लोबल बैंकमार्फत कारोबार गर्दै आएकोमा पुन: नेपाल बैंक लिमिटेडसँग सेवा लिने प्रक्रियासमेत अघि बढाएको जनाइएको छ ।

केन्द्रमा व्यवस्थापन भएलगत्तै आगामी वैशाखदेखि पाँचवटा आंगिक क्याम्पसमा नेटवर्कमार्फत विद्यार्थीको मार्कसिट प्रिन्ट गर्ने अधिकार दिइने छ । त्यसैगरी विद्यार्थीको चाप रहेका क्याम्पसलाई अनलाइन फाराम भराउने व्यवस्था हुनेछ । पनिकाको तथ्यांकअनुसार शैक्षिक सत्र २०७३/७४ मा प्रमाणपत्र तह (नर्सिङ), स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि गरी ८ लाख ९९ हजार तीन सय विद्यार्थीले परीक्षा दिएका थिए । त्रिविको देशभरिमा ६० आंगिक र सम्बन्धनसमेत गरी १ हजार १ सय ८ वटा क्याम्पस छन् । उच्च शिक्षा सुधार परियोजनाको सहयोगमा त्रिवि परीक्षा प्रणाली व्यवस्थापनलाई प्रविधिमैत्री बनाइएको हो । त्यसनिम्ति परियोजनाले १० करोड रुपैयाँ बजेट सहयोग गरेको छ ।

सम्झौताअनुसार त्रिविले वार्षिक प्रणालीमा सुचारु पठनपाठनको नतिजा परीक्षा लिएको तीन महिनाभित्र सार्वजनिक गरिसक्नुपर्ने छ । हालसम्म नतिजा प्रकाशन गर्न पाँच महिनाभन्दा बढी लगाउने गरेको छ । त्रिविले अबदेखि क्यालेन्डरअनुसार स्नातक तहको भर्ना लिएर मंसिरबाट पठनपाठन सुचारु राख्नुपर्नेछ । माघमा विद्यार्थीको रजिस्ट्रेसन गर्ने, वैशाखमा परीक्षा फाराम भराउने र साउनमा परीक्षा सञ्चालन हुनेछ । सेमेस्टर प्रणालीको परीक्षा भने सम्बन्धित डिन कार्यालयले सञ्चालन गर्ने व्यवस्था छ ।
https://www.kantipurdaily.com/news/2018/02/05/20180205065331.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि