समाचार - सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा ‘विशेष शिक्षा’ चलाउन कोरियासँग सम्झौता
काठमाडौँ — सुदूरपश्चिमाञ्चल विश्वविद्यालय (सुपवि)मा ‘विशेष शिक्षा’पठनपाठन हुने भएको छ । त्यसका निम्ति दक्षिण कोरियाको छाङओन नेसनल युनिभर्सिटीले सहयोग गर्ने भएको छ ।

विशेष आवश्यकता शिक्षा सञ्चालनका निम्ति शुक्रबार काठमाडौंमा सुदूरपश्चिमाञ्चलकी उपकुलपति प्राध्यापक भूषण श्रेष्ठ र छाङओनका तर्फबाट विशेष शिक्षाविद् प्राध्यापक दाय योङ जङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । विशेष शिक्षाअन्तर्गत दृष्टिविहीन, बहिरा तथा सुस्त श्रवण, संवेगात्मक व्यवहार, शारीरिक अपाङ्गता, बहुअपाङ्गता, अपाङ्गता तथा विशेष आवश्यकतासहितका बालबालिकालाई शैक्षणिक प्रविधि समेटिएका छन् । पाँच वर्षका निम्ति सम्झौता भएको हो । जसअनुसार दुई देशका विश्वविद्यालयबीच स्नातक र स्नातकोत्तर तहमा विद्यार्थीलाई विशेष शिक्षा विषय अध्ययन तथा अनुसन्धान कार्य गराइने छ ।
त्यसैगरी प्राज्ञिक र प्रशासनिक कर्मचारीको सशक्तिकरण, छोटो अवधिका भाषा र सांस्कृतिक प्रशिक्षण, अध्ययन तथा अनुसन्धान, सांस्कृतिक आदानप्रदान गरिने छ । ‘छाङओन नेसनल युनिभर्सिटीले नेपालका निम्ति नयाँ विषय प्रवर्द्धनमा सहयोग गर्दैछ,’ पत्रकार सम्मेलनमा उपकुलपति श्रेष्ठले भनिन्, ‘विशेष शिक्षाले सुदूरपश्चिमाञ्चल क्षेत्रका समुदायले सेवा पुर्याउने छ । त्यस निम्ति हामीले विशेष शिक्षाका निम्ति छुट्टै भौतिक पूर्वाधार निर्माणको काम थालेका छौं ।’यसअघि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय टोलीले कोरियाको विशेष शिक्षा व्यवस्थापनबारे स्थलगत अवलोकनसमेत गरेको श्रेष्ठले जनाइन् ।
प्राध्यापक जङले यसअघि त्रिभुवन विश्वविद्यालयसित सहकार्य गर्दै आएको उल्लेख गर्दै त्यसबाट सकारात्मक र प्रभावकारी परिणाम आएकाले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयसित पनि सहकार्य गर्न थालेको बताए । ‘नेपाल सरकारले विशेष शिक्षाका निम्ति राष्ट्रिय नीतिसमेत बनाउन लागेकोले नेपाल र कोरियाबीचको सहकार्य अत्यन्तै प्रभावकारी सावित भएको छ,’ नेपालको अपाङ्गताबारे जानकार प्रा. जङले भने, ‘नेपाल संघीय संरचनामा बदलिँदै गरेको अवस्थामा अब बन्ने नयाँ सरकारले विशेष शिक्षालाई प्राथमिकता दिनेमा विश्वस्त छौं ।’
त्यस अवसरमा कोरियाको सहयोगमा सञ्चालन अन्तर्राष्ट्रिय सहयोगका लागि अगुवा विश्वविद्यालय परियोजना (लुपिक)की प्रबन्धक युजिन सिम, सुपविका रजिस्ट्रार प्राध्यापक द्विराज भट्ट र शिक्षाशास्त्र संकाय डिन गोविन्द विष्टलगायतको उपस्थिति रहेको थियो ।
Comments
Post a Comment