उद्योग जोडिएको भारतको उच्च शिक्षा

कान्तिपुर दैनिक
२०७३ मंसिर १० गते शुक्रबार

शिक्षा क्षेत्रमा ध्यान पुगेको छैन ः एफएनसीसीआई अध्यक्ष मुरारका

गणेश राई

काठमाडौं– नया“ दिल्लीमा भरखरै सम्पन्न ‘फिक्की उच्च शिक्षा सम्मेलन–२०१६’ ले ‘भोलिको लागि शिक्षा, भारतमा पढ, विश्वका निम्ति पढ’ (एडुकेसन फर टुमरो, लर्न इन इण्डिया, लर्न फर दि वल्र्ड)को सन्देश प्रवाह गरेको छ । तीनदिने सम्मेलनमा आमन्त्रित ५५ मुलुकका दुई सयजना प्रतिनिधिमध्ये नेपालसमेत सहभागी थियो । परम्परागत शिक्षाको मोडेललाई प्रविधिमैत्री तुल्याउने, विज्ञान र प्रविधिको तीव्रतर विकासलाई आत्मसाथ गर्ने र त्यसअनुकुलको शिक्षा भारतमै उपलब्ध गराउने एकमात्र ध्ययले फेडरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्री (फिक्की)ले सन् २००४ देखि सम्मेलनको आयोजना गर्दै आएको छ ।

यो वर्ष सम्पन्न १२औं सम्मेलनमा सर्भिस एक्पोर्ट प्रोमोसन काउन्सिल (एसईपीसी)साथ दिएको छ भने इण्डिया सरकारको वाणिज्य तथा उद्योग मन्त्रालय र मानव स्रोत विकास मन्त्रालयले सघाएका छन् । जसले गर्दा इण्डियालाई उच्च शिक्षाको गन्तव्य बनाउनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतिनिधिसहित गोलमेच गर्न सहज बन्यो ।

विश्वमा द्रुततर विकास भएका प्रविधिहरु छन् जसलाई रोबोटिक, आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड टेक्नोलोजी, इन्टनेट स्पिन्स, थ्रीजी फिल्मिङ आदि भनेर जानिन्छन् । यसलाई भारतले चौथो औद्योगिक क्रान्तिमा रुपमा स्विकारेको छ । दृष्टिकोणसहितको स्पष्ट कार्ययोजना बनाउन नसकेमा जनशक्ति उत्पादन, व्यवस्पनमा हुन नसक्ने र अर्कोतर्फ बेरोजगारी बढ्ने फिक्कीका अध्यक्ष हर्षवद्र्धन निवटिया उल्लेख गर्छन् । यो अवधारणालाई विकसित मुलुकहरुले अवलम्बन गरिसकेका छन् ।

शिक्षामा प्राइभेट क्षेत्रलाई आकर्षित तुल्याउने हो । त्यसनिम्ति फिक्कीले उच्च शिक्षा सन् २०२०–३० कार्ययोजना प्रक्षपण गरेको छ । २१औं शताब्दीको उच्च शिक्षाको मोडेल सर्वसाधारणले हासिल गर्न लगानी व्यहोर्न सक्ने बनाउने भनेको छ । विश्वको उत्कृष्टमात्र नभई विश्वका निम्ति उत्कृष्ट शिक्षा हुने फिक्कीको दावी छ ।

फिक्कीका वरिष्ठ निर्देशक शोभा मिश्र घोषका अनुसार पर्याप्त अध्ययन अनुसन्धानका आधारमा वार्षिक रुपमा उच्च शिक्षा सम्मेलन गरिदै आएको छ । ‘इण्डियो उच्च शिक्षामा कसरी परिवर्तन ल्याउने भन्नेबारेमा हु“दै आएको अध्ययनले सन् २०१३ मा हामीले भिजन २०–३० निर्माण गरेका हौं,’ उनले कान्तिपुरसित भनिन्, ‘हामीले त्यसै गरेका छैनौं । विगत ६० वर्षमा भारतले नोबेल पुरस्कार प्राप्त प्रतिभासमेत उत्पादन गर्न सकेको सफलता यसका आधार छन् ।’

नेपालबाट विश्वविद्यालय अनुदान आयोग (युजीसी), त्रिभुवन विश्वविद्यालय (त्रिवि), काठमाडौं विश्वविद्यालय (केयु), निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को संस्थागत प्रतिनिधित्व रहेको थियो । सम्मेलनमा सहभागी युजीसीका प्रशासकीय प्रमुख सुवासचन्द्र ढुंगेल इण्डियाले विश्वविद्यालय र उद्योगलाई जोडको अनुभव सुनाउ“छन् जुन नेपालमा त्यस्तो वातावरण अहिलेसम्म बनेको छैन । ‘नेपालमा विश्वविद्यालय र उद्यागबीच सम्बन्ध विस्तार हुन सक्यो भने जनशक्तिको गुणस्तर मापन हुने देखिन्छ,’ उनले भने, ‘त्यो इण्डियाले गरेर देखाएको पाइयो ।’

त्यसैगरी सम्मेलनमै सहभागी त्रिवि शिक्षाशास्त्र संकायका सहायक डीन प्राध्यापक शिवराम न्यौपाने अनुभव उस्तै छ । ‘ग्लोबल कन्टेक्स्टमा आफ्नो राष्ट्रिय आवश्यकतालाई पहिचान गरी शिक्षाको उद्देश्यलाई उद्योगस“ग सम्बन्धित गराउन प्रयत्न गरेको पाइयो,’ भारतलाई शैक्षिक गन्तव्य बनाउनका निम्ति उद्योग वाणिज्य महासंघले प्रवद्र्धन गर्नु आफैंमा नौलो पाठ भएको उल्लेख गर्दै प्राध्यापक न्यौपानेले भने, ‘भारतमा ठूला र ऐतिहासिक विश्वविद्यालयहरु रहेकाले पनि तिनीहरुले उत्पादन गर्ने जनशक्ति सोझै उद्योगधन्दाहरुमा खपत हुने गरेको रहेछ । हरेक विषय प्रविधिसित जोड्ने प्रयास गर्दै रहेछ ।’

नेपालमा विश्वविद्यालय निर्माणको इतिहास ५७ वर्षको मात्र छ । राज्यस्तरीय विश्वविद्यालयको संख्या भरखरै १० पुगेको छ भने मानित विश्वविद्यालय तीनवटा छन् । निकट समयमा अरु विश्वविद्यालय थपिदै छन् । संघीय मुलुकको सात प्रदेशमा विश्वविद्यालयको संरचना कस्तो हुने भन्ने ऐन, कानुन बन्ने क्रममा छ ।

मुलुकको उच्च शिक्षा र उद्योगको सम्बन्ध प्रगाढ बनाउ“ने संयुक्त पहल अहिलेसम्म हुन सकेको छैन । नेपाल उद्योग तथा वाणिज्य महासंघ (एफएनसीसीआई) को इतिहास ५५ वर्षको छ । एफएनसीसीआईका अध्यक्ष पशुपति मुरारका महासंघले शिक्षा क्षेत्रमा ध्यान दिन नसकेको बताउ“छन् । ‘एफएनसीसीआईले उद्योग वाणिज्य क्षेत्रलाई मात्र ध्यान दिएको छ,’ फिक्कीले गरेको शिक्षा प्रवद्र्धनबारे व्यक्तिगत रुपमा जानकारी रहेको उल्लेख गर्दै उनले कान्तिपुरसित भने, ‘उद्योग वाणिज्य क्षेत्रलाई चाहिने जनशक्ति उत्पादनका निम्ति विश्वविद्यालयहरुसित समन्वय गर्न सकिन्छ । तर त्यसका निम्ति समय लाग्छ ।’

सम्मेलनमा सहभागी केयुका प्राध्यापक देवीप्रसाद बेडारी इण्डियाजस्तै नेपालको उच्च शिक्षालाई प्रवद्र्धन गर्न सरकार, उद्योग वाणिज्य र शिक्षा क्षेत्रको संयुक्त पहल हुनुपर्ने बताउ“छन् । ‘ नया“ सोचका साथ गुणस्तरीय शिक्षा दिने निकाय र गुणस्तरीय जनशक्ति खपत गर्ने वाणिज्य क्षेत्रबीच समन्वय गर्न प्राज्ञिक समुदायको जरुरत पर्दछ,’ उनले भने ।

यो डिजिटल एजुकेसनको जमाना हो । डिजिटल प्रविधिले शिक्षामा चुनौतीका साथसाथै अवसरको भारी पनि भित्र्याएको छ । २१औं शताब्दीको मागअनुसारको शिक्षा प्रणालीले नया“ संरचना निर्माण चाहेको छ, जुन विकासोन्मुख मुलुकुले पनि नगरी सुखै छैन । प्रविधिले गर्दा द्रुतगतिमा भइरहेको परिवर्तनलाई स्विकार गरेर आफूलाई त्यसअनुकुल तुल्याउनुको विकल्प छैन । विज्ञान प्रविधि क्षेत्रमा क्षण क्षणमा भइरहेको नविनतम उपलब्धीहरुलाई आत्मसाथ गर्नु कम्ता चुनौती होइन । परम्परागत शिक्षाको विधि र प्रक्रियालाई आधुनिकीकरण गर्न नसकेमा सजायको भागिदार आफैं बन्नु पर्ने चेतावनीको साइरन बजिरहेको अवस्था छ । त्यसको आवाज सिधै शिक्षामा ठोक्किन्छ । शिक्षाको उठानले सामाजिक, आर्थिक, बौद्धिक मूल्यलाई आंकलन गर्दछ ।


Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि