समाचार - निजी विद्यालय कत्तिको सिर्जनशील ?

गणेश राई, काठमाडौं

मंसिर ८, २०७४-निजी विद्यालयमा पढ्ने विद्यार्थी अंग्रेजीमा तगडा हुन्छन् भने नेपालीमा केही कमजोर । हरेक विषय अंग्रेजीमै पढ्छन् । त्यसैले एसईईमा उत्कृष्ट नतिजा ल्याउँछन् । जनमानसमा निजी विद्यालयप्रति परेको छाप यस्तै छ ।

भाषाशास्त्री प्रा. माधवप्रसाद पोखरेल निजी विद्यालयले अंग्रेजीलाई प्राथमिकता दिए पनि अपेक्षाअनुसार हुन नसकेको बताउँछन् । ‘अंग्रेजी र नेपालीबाहेक अरू भाषा नसिकाउने सोचले देशको भाषिक विविधता कमजोर भयो,’ उनी भन्छन्, ‘बोर्डिङका शिक्षकले बालबालिकालाई बलियो अंग्रेजी सिकाउन त सकेनन् नै, उल्टै नेपाली भाषा पनि कमजोर बनाए ।’

विद्यार्थीहरू मोबाइल र टीभीमा

नेपाली समाजमा बसेको निजी विद्यालयप्रतिको धारणा विस्तारै चुनौतीपूर्ण बन्दै छ । स्कुले विद्यार्थीहरू मोबाइल फोनमा भुल्न थालेका छन् । गृहकार्य पनि मोबाइलै हेरेर गर्छन्, गुगलमा गाइड खोजेर सार्छन् । 

गाइड हेरेर नेपाली विषय सार्छन्, अंग्रेजी पनि सार्छन् । गृहकार्य गर्दैगर्दा टेलिभिजन पनि हेरिरहेका हुन्छन् । कोही कार्टुन, कोही फिल्म, रेस्लिङ हेरिरहेका हुन्छन् । कतिपय युटयुबमा गीत सुन्दै गृहकार्य गरिरहेका हुन्छन् ।

विद्यार्थीले घरमा त्यसरी अर्कोबाट नक्कल गरेको/सारेको कुरो थाहा पाएपछि कतिपय विद्यालयले मोबाइल खोसेर लिइदिन्छन् । तर, घरमा आमा–बाबु र परिवारका अन्य सदस्यको मोबाइल जिद्दी गरेरै खेल्छन् । छोराछोरीको जिद्दी कुनै अभिभावकले टार्न सक्ने कुरो पनि भएन । यसबाट सहरबजारका आमा–बाबु, अभिभावक बढी मात्रामा आजित हुँदै छन् । 

पुस्तकालयविज्ञ इन्दिरा दली भन्छिन्, ‘मोबाइल टयाबले गर्दा बच्चाहरू समाजबाट विमुख हुँदै छन् ।’

शिक्षकलाई जहिल्यै हतार

शिक्षक पनि उस्तै हुन्छन् । सधैं हतारमा हुन्छन् । भोलिको पाठ प्रोजेक्टरमा पढाउनु छ । हतारहतार गरे गाइडको सहारा लिन्छन् । पढाउने विषयवस्तुको सहज उपाय गाइडमै फेला पर्छ । त्यही ‘कपी एन्ड पेस्ट’ गर्छन् । त्यही सामग्री ४०–४५ मिनेटको कक्षामा प्रोजेक्टरमा प्रस्तुत गरेर बाहिरिन्छन् ।

शिक्षकको प्रस्तुति र विद्यार्थीको गृहकार्य शैली उस्तै हुन्छ । पाठ्यपुस्तकमा भएका प्रश्नको जवाफ निकै विद्यार्थीको एउटै हुन्छ । तर, शिक्षकले अनावश्यक झन्झट मोल्न चाहँदैनन् । शिक्षकले थाहा पाएर पनि चाल नपाएजस्तो गरी होमवर्क जाँचे जस्तो गर्छन् । चुपचाप ठीक चिह्न लगाएर झारा टार्छन् ।

आज, भोलि, पर्सि गर्दै त्रैमासिक परीक्षा आउँछ । विद्यार्थीको नतिजा अधोगतितर्फ लागेको हुन्छ । अभिभावकलाई बोलाएर ‘तपाईंको बच्चाले यो विषय, त्यो विषयमा प्रगति गर्न सकेन । घरमा स्ट्रिक गरिदिनोस् । टीभी हेर्न, मोबाइल खेल्न बन्द गराइदिनोस् । हामीले मात्र नियन्त्रण गर्न सक्दैनौं ।’ यतिखेर नेपाली समाजमा सूचना प्रविधि, मोबाइल, इन्टरनेट, टेलिभिजन आदि समस्याको जड बन्दै गएका छन् । प्रत्येक शिक्षकको हातमा मोबाइल हुन्छ । हरेक अभिभावकको हातमा मोबाइल हुन्छ । 

विद्यालयमा मोबाइल

विद्यालय, कक्षाकोठाभित्र विद्यार्थीलाई मोबाइल प्रयोगमा सिर्जनात्मक बन्न सिकाउने कुनै उपाय छैन ? विद्यालय सञ्चालक/प्रिन्सिपलले भन्न सक्छन्, ‘त्यसो गर्नुपर्दैन ।’ किनभने ‘पर्छ’ भनेमा शिक्षकहरूको आईटी दक्षता अभिवृद्धिका निम्ति थप लगानी गर्नुपर्ने हुन्छ । शिक्षकले भन्छन्, ‘पाठ्यपुस्तक पढाउनै मुस्किल छ, केको मोबाइल ?’ उनीहरू आफूचाहिँ आफैं मोबाइलबाट इन्टरनेटको हरेक सुविधा लिइरहेका हुन्छन् । आईटीलाई आफूअनुकूल प्रयोग गरिरहेकै हुन्छन् । 

राजधानीको बबरमहलस्थित रोजबड विद्यालयका प्रिन्सिपल दामोदर ढुंगाना मोबाइललगायत डिभाइस समस्या भएको स्विकार्छन् । उनका अनुसार विद्यार्थीमा कक्षागत पाठ्यपुस्तकभन्दा अन्य किताब पढ्ने बानी घटेको छ । विद्यार्थीमा गृहकार्य सकेपछि पढाइ सिद्धियो भन्ने भावना छ । सामाजिक सञ्जालले सबैतिर प्रभावित तुल्याएको छ । 

‘समस्या सबैतिर छ,’ उनी भन्छन् ।


प्रकाशित: मंसिर ८, २०७४


http://kantipur.ekantipur.com/news/2017-11-24/20171124073750.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि