ब्लग - ओखलढुंगाको एउटा बुथ
गणेश राई , काठमाडौं मंसिर १२, २०७४- प्रतिनिधिसभा र प्रदेशसभाका निम्ति पहिलो चरणमा ३२ जिल्लामा निर्वाचन सम्पन्न भएको छ । यही क्रममा ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ थाक्लेस्थित जनता माध्यमिक विद्यालय मतदान केन्द्र पुग्दा एकखाले ‘एकराते जात्रा’ जस्तै थियो । मान्छेहरु पुरुषको हुल, महिलाको हुल गरेर चौरमा, माथ्लो कान्ला, तल्लो कान्ला, पल्लो गरा, परतिरको पोथ्राका आडमा गफिदै गरेका थिए भने कतिपय ठिटाहरु भौतारिरहेका देखिन्थे । कोही मद्यपानले मात्तिएर सुतिरहेका थिए भने कतिपय होहल्ला गरिरहेका थिए । माथिल्लो गरामा रहेको विद्यालयको आँगनमा मतदान भइरहेको थियो । मतदाताहरू तल्लो कान्लाबाट टाँगिएको डोरीमा महिला र पुरुष आ–आफ्नो लाइनमा उभिएर उक्लिरहेका थिए । कान्लाको डिलमा सेतो भुत्ला भएको खसी काटेर हिजोमात्रै भोज चलाइएको रहेछ भनेर गन्धले प्रमाणित गथ्र्यो । यो मतदान केन्द्र हो कि बिहे भोज सकिएको घरजस्तै लाग्थ्यो । सायद मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मी, कर्मचारीले त्यो भोज चलाएका थिए । यही थलो हो, जहाँ २०४८, २०५१, २०५६ सालको चुनावमा लुछाचुँडी मतदान गर्नेमा पंक्तिमा उभिएका थियौं । ‘ओखलढुंगा का...