समाचार - एक्लो ‘कागज डाक्टर’

  • वरिष्ठ रसायनविद् गृहमानसिंह श्रेष्ठले सात वर्षअघि सेवाबाट स्वैच्छिक अवकाश त लिए तर जिम्मेवारीबाट छुटकारा पाएनन्, किनभने कागज तथा अभिलेख संरक्षणमा लाग्ने देशभरमै अरू कोही भएन
देवेन्द्र भट्टराई, काठमाडौं

भाद्र १२, २०७३-पाल्पा मूलघर भएका गृहमानसिंह श्रेष्ठका पितापुर्खा आयुर्वेद क्षेत्रमा जोडिएका थिए । गृहमान भने पढे/गुनेर डाक्टर बन्न चाहन्थे । तर, पढाइसँगै रोजीरोटीको बाटो पहिल्याउने क्रममा उनी कागज र अभिलेखको दुनियाँमा यसरी अल्झिए, सेवाबाट अवकाश पाइसक्दा पनि फर्किएर त्यही कागज सुम्सुम्याउने दैनिकीमा उनी रमाइरहेका छन् ।
गृहमानको उमेर ६४ वर्ष पुग्यो । सरकारी सेवाबाट स्वैच्छिक अवकाश लिएको पनि ७ वर्ष भइसकेको छ । तैपनि उनी पुरातत्त्व विभागको राष्ट्रिय अभिलेखालयमा रसायन संरक्षण प्रयोगशालाभित्र व्यस्त भेटिन्छन्, हरेक दिनको सरकारी समय तालिकाअनुसार । ‘कागज र ताडपत्रमा लेखिएको इतिहास जोगाउनै मुस्किल हुन्छ, त्यसमाथि अध्ययन र अनुभवका आधारमा यो काम गर्ने सिंगो विभागमै म एक्लो बनेको छु,’ शुक्रबार बिहान १० बजे अभिलेखालय परिसरमा भेटिएका गृहमानले सुनाए, ‘म त अवकाश लिएर बुढ्यौली बिताउन घर गइसकेको थिएँ, फेरि विभागले काम गर्न बोलाएपछि कागज र अभिलेखको माया लागेर यतै फर्किएँ ।
पोखरा हुँदै पाल्पामा फैलिएको आयुर्वेद कविराजका पुस्ता हुन् गृहमान, जो एसएलसीमा थर्ड डिभिजनमा पास भए पनि विज्ञान पढ्न चाहन्थे । अरू केही नभए पनि पुस्तैनी पेसाको आयुर्वेद औषधि बनाउन जडिबुटीको रसायन चिन्न सकिन्छ भनेरै उनले काठमाडौं आएर विज्ञानमा पढाइ अघि बढाए । उनका पिता नौनिरीमान सिंह बाँचिन्जेल अर्थात् २०३९ सालसम्म पाल्पामा आफ्नै घरेलु आयुर्वेद पेसा चलेको थियो । तर गृहमान काठमाडौं आएपछि त्यो पेसा टुट्यो ।

गृहमान यात्रा 
काठमाडौंमा विज्ञानको विद्यार्थी छँदै पढाइ खर्च जुटाउन गृहमान २०३१ सालमा तत्कालीन शाही औषधि अनुसन्धानशालामा ल्याब टेक्निसियनको जागिरमा छिरेका थिए । झन्डै ६ वर्ष त्यहाँ रहेर उनले जडिबुटीको रसायन पत्ता लगाउने र प्यारासिटामोल बनाउने सीप सिके । ‘नन–ग्याजेटेड’ त्यो जागिरको विकल्प खोजिरहेका बेला २०३७ सालमा उनले पुरातत्त्वबाहेक तीन ठाउँका आवश्यकतामा नाम निकालेका थिए– सेना, टक्सार र खानेपानी संस्थान । ‘सेनामा गएर बम बारुद बनाउने काम रहेछ, टक्सारमा सिक्का रसायनमा खेल्ने र खानेपानीमा पनि अलिक झिँझो काम रहेछ । त्यही भएर अभिलेखालयमा कागज तथा अभिलेख संरक्षण गर्नेतिर आएँ,’ २०३७ सालमा विविध समूहअन्तर्गत शाखा अधिकृत (ग्याजेटेड) बनेर अभिलेखालय छिरेका गृहमानले सुनाए ।
अभिलेखालयमा रहेका प्रागऐतिहासिक कागजातदेखि दस्तावेजसम्म ‘संरक्षण’ गर्ने जिम्मेवारीमा दत्तचित्त भएर लागिरहेका गृहमानले वर्षौंपछि मात्रै बढुवा नहुनुको कारण पत्ता पाएका रहेछन् । ‘म विविध समूहमा रहेछु, निजामती सेवाभित्र स्वाभाविक बढुवामा पर्नै नसक्ने रहेछ,’ उनी भन्छन्, ‘मजस्तै रसायनविद् अरू अड्डामा पनि छन् । तर, अभिलेखालयमा भने मेरो कतै सरुवा–बढुवा हुन नसकोस् भनेर विविध समूहमा हालिएको रहेछ ।’ सेवामा छिरेको २७ वर्षपछि मात्रै गृहमान पानी–बढुवामा परेर उपसचिव बनेका रहेछन् । 
कीर्तिपुरबाट एमएस्सी गरेर सरकारी सेवामा छिर्ने लोभमा पुस्तैनी वैद्य पेसा त्यागेका गृहमानले दुई छोरालाई भने ऋणपान गरेर भए पनि रोजेकै बाटोमा हिँड्न दिए । उनको जेठो छोरो युजलमानसिंह अहिले नेपाली सेनामा चिकित्सक छन् भने कान्छो सजलमान सिभिल इन्जिनियर । ‘तिनै छोरालाई पढाउँदा १७ लाख रुपैयाँ ऋण लागेको थियो, ऋण चुक्ता गर्नैका लागि २०६७ सालमा मैले स्वैच्छिक अवकाश लिएको हुँ,’ गृहमानले भने ।
अभिलेखालय सेवामा आएपछि उनले सम्पदा संरक्षण र अभिलेखबारे अध्ययन गर्न भारतको लखनउ तथा कागजको सुरक्षाबारे बेलायतको क्लाकटोन जान पाएर क्षमता अभिवृद्धि गर्ने मौका पाएका थिए । उनले सन् १९८४ मा लखनउको कन्जर्भेसन अफ कल्चरल प्रपर्टी सेन्टरमा गएर अभिलेख संरक्षणमा ६ महिनाको तालिम लिएका थिए भने बेलायतको कोल्चेस्टर इन्स्टिच्युट पुगेर सन् १९९१ मा ‘पेपर कन्जर्भेसन’ मा दुईवर्षे पोस्ट–ग्रयाजुएट कक्षा लिन पाए । त्यसबेला उनले ब्रिटिस लाइब्रेरी, भिक्टोरिया म्युजियम, पब्लिक रेकर्ड अफिस आदि निकायमा ‘प्राक्टिकल’ काम गर्ने मौका पाएका थिए ।
कागजै कागजको दैनिकी
वरिष्ठ रसायनविद् हैसियतमा काम गरिरहेका गृहमानले अभिलेखालयको जागिर छाडेपछि कागजातको अभिलेख र संरक्षण गर्ने मामिलामा नसोचेको कठिनाइ आइपर्‍यो । ‘काममा फर्केर आउन दिनहुँजसो अनुरोध भएपछि म फेरि फर्किएँ,’ अभिलेखालयमा पछिल्लो समयमा परराष्ट्र मन्त्रालयको ऐतिहासिक कागजातको ‘अर्काइभिङ’ भइरहेको व्यस्ततामाझ गृहमानले भने, ‘समस्या के भइदियो भने विविध समूहमा काम खोज्दै आउने कोही भएन । म पछाडि पद र योग्यताकै आधारमा यो काम धान्ने कोही नभएको अवस्था आफैंमा अप्ठ्यारो छ ।’ गृहमानका अनुसार अभिलेखीकरणको कानुनअनुसार २५ वर्ष पुराना र चलनचल्तीमा नरहेका कागजातको अभिलेख राख्न पुरातत्त्व विभागमा जिम्मा दिर्नैपर्ने नियम छ । कतिपय अड्डाले कागजात बुझाउँछन् पनि । ‘हामीकहाँ सातौं शताब्दीको ‘महायान सूत्र’ पनि अभिलेखमा छ, त्यो ताडपत्रमा लेखिएको छ । कागजमा लेखिएको दसौं शताब्दीको ‘कार्यनिव्यु’ पनि संरक्षित छ,’ उनले सुनाए, ‘यस्ता कागजी अभिलेख संरक्षित गर्दा प्रकाश, आद्र्रता र तापक्रममा सबैभन्दा बढी ख्याल गर्नुपर्छ । अर्कातिर धुवाँ, ढल (दुर्गन्ध) र धुलोबाट पनि कागजलाई टाढै राख्नुपर्छ ।’
गृहमान अहिले प्रिजर्भेसन, कन्जरभेसन एन्ड रिस्टोरेसन अफ कल्चर प्रपर्टी अफ नेपाल नामको संस्था खोली त्यसको प्रतिनिधि बनेर अभिलेखालयको दैनिक काममा खटिएका छन् । सरकारको नियममा कुनै कर्मचारीलाई करार सेवा वा दोहोरो सुविधाको नियममा काममा लगाउन नपाइने भएकाले उनी यो संस्थामा जोडिएका हुन् । ‘कागजको हेरचाह र संरक्षण गर्ने कामकुरो मेरो लतझैं भइसक्यो,’ गृहमानले सुनाए, ‘किताब र कागजलाई बचाउन पनि औषधि गर्नुपर्ने हुन्छ । म मान्छेको डाक्टर बन्न नसके पनि कागजको डाक्टर बनेको छु, यसैमा खुसी छु ।’ 
उनका अनुसार सामान्यतया कृषि उपजमा प्रयोग हुने रसायन (औषधि) कागजका किरा मार्न पनि प्रयोग हुन्छ । ‘लाइजोल, फिनेल, ड्रस्ब्यान, प्रिमाइस वा मट्टीतेलजस्ता रसायन र औषधि कागज (पुस्तकालय) जोगाउन पनि प्रयोग हुन्छ,’ गृहमान भन्छन् । अभिलेखालयमा कागज उपचारमा कुनै ल्याब र छुट्टै व्यवस्था नभइरहेका बेला गृहमानले लखनउ गएर तालिम लिएपछि छुट्टै ल्याब सञ्चालन गर्न पुरातत्त्वलाई बाध्य बनाएका हुन् ।अवकाशको उमेर र अवस्थामा पनि कुलेश्वर निवासबाट रामशाहपथ पुरातत्त्व कार्यालय धाइरहेका बेला गृहमानलाई कहिलेकाहीं लाग्ने गर्छ, यो अपहत्ते केका लागि ?
‘तर, पैसा अथवा पद मात्रै सबै कुरा होइन,’ सिंगो मुलुकका एकमात्र दुर्लभ रसायनविद् एवं कागजी किराका ज्ञाता गृहमान आफ्नो जिज्ञासामा आफैं जवाफी बन्दै भन्छन्, ‘म पनि हाम्रो इतिहास र अभिलेख तथा कागजी दस्तावेजको उपचारक बनेको छु । म पनि लुप्त हुन सक्ने इतिहासको जीवनदाता हुँ, एउटा डाक्टरजस्तै ।’ 
कहिलेसम्म त यो अपहत्ते ? उनी फेरि भन्छन्, ‘यस्तो कन्जर्भेसनको काम बिस्तारै हुने हो, छिट्टै अथवा आजको भोलि नै केही हुन्न । म भने मेरो हातपाउ चलिन्जेल कागजको स्याहार गर्नमा लागिरहन्छु ।’
गृहमानपछि पढाइ, पद र क्षमताका आधारमा दक्ष काम गर्न सक्ने कोही नभएकोबारे पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहाललाई पनि थाहा रहेनछ । ‘ए, यस्तो हो र ? म यो समूहको सेवा परिवर्तन हुन सक्ने गरी दरबन्दी खुलाउन अथवा वैकल्पिक व्यवस्था तय हुन सक्ने गरी प्रबन्ध मिलाउन मन्त्रालयलाई तत्कालै लेख्छु,’ दाहालले कान्तिपुरसँग भने, ‘गृहमानजीको सक्रियता छँदै अर्को उही तहको जनशक्ति निर्माणबारे तत्कालै परामर्श सुरु गर्छु ।’ 

कागज खाने किरा 
सामान्यतया पुस्तक वा पुस्तकालयमा धमिराले आक्रमण गरेको त सहजै देखिन्छ । तर, यो धमिराको पनि जरो (रुट) हुन्छ र त्यसलाई अनेक ‘ट्याक्टिस’ लगाएर जरामै रासायनिक प्रहार गर्नुपर्छ भन्ने कमैलाई थाहा छ । ‘तेस्रो सार्क शिखर बैठक (२०४४ साल) काठमाडौंमा भएका बेला मलाई तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानमा खटाइएको थियो,’ गृहमान सम्झन्छन्, ‘त्यहाँ मूल भवनमा धमिराले थामिनसक्नु क्षति पुर्‍याएको रहेछ । अनेक नक्सांकन गरेर र दिनरात धमिराको हिँड्ने बाटो पहिल्याएर एक महिनामा धमिरा 
निर्मूल पारेको थिएँ । २०६८ सालमा र हालै पनि मार्टिन चौतारीको पुस्तकालयमा धमिरा आक्रमणले बिजोग बनाएको रहेछ, त्यहाँ पनि नियन्त्रण गरें ।’ 
हनुमानढोकाभित्रको संग्रहालयमा ‘ब्याग–वर्म’ (झोलाजस्तो बनेर हुर्कने किरा) ले समस्या उब्जाएको रहेछ । त्यहाँ पनि गृहमान ब्याग–वर्म नियन्त्रणमा खटाइएका थिए । २०५० सालतिर नारायणहिटी राजदरबारको पुस्तकालयमा ‘बिटल्स’ ले आक्रमण गरेको हुनाले उनलाई उस बेला ९ महिना खटाइएको थियो । ‘सबैभन्दा खतरनाक भने किताब अथवा नेपाली कागजमा प्वाल पार्ने किरा बिटल्स हो । यो किराको झुसिलकिरा चरण भने सबैभन्दा खतरनाक हुन्छ,’ उनले भने । उनका अनुसार माड भएको कागजमा लाग्ने ‘सिल्भर फिस’ (माछाजस्तै किरा) पनि ऐतिहासिक महत्त्वका कागजातमा उत्तिकै पाउने गरिएको छ । 
गृहमानले सर्वोच्च अदालत, गुठी संस्थान, राष्ट्रिय पुस्तकालय, छाउनी म्युजियम (काठका सम्पदा), पशुपति विकास कोषलगायतमा कागजी किरा मार्ने योजना अथवा सम्पदा संरक्षणमा सक्रियता राखेका छन् ।
प्रकाशित: भाद्र १२, २०७३


http://kantipur.ekantipur.com/printedition/news/2016-08-28/20160828192222.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि