क्याम्पालाई लिब्जु–भुम्जु

कान्तिपुर संवाददाता , काठमाडौं

आश्विन १०, २०७४-वाम्बुले (ओम्बुले) राई मातृभाषा साहित्यका निम्ति समर्पित ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि अप्सन क्याम्पा राईलाई प्रदान गरिने भएको छ । यो पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ त्रिभाषीय त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई प्रदान गरिँदै आएको छ । कोशकार अविनाथ राईको संयोकत्वमा गठित पुरस्कार छनोट समितिले यो निर्णय गरेको हो ।

२०५० सालदेखि प्रकाशित ‘लिब्जु–भुम्जु’ पत्रिका वर्ष २३ पूर्णाङ्क–६५ २०७३ मा प्रकाशित ‘च्याँमाखा’ (धरती) शीर्षक कवितालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको विज्ञप्तिमा छ । 

ओखलढुंगाको उँबु–९ फोकुल गाउ“मा २०४९ साउन ११ गते जन्मिएका कवि अप्सन क्याप्पा करिब एक दशकदेखि वाम्बुले मातृभाषामा कविता र निबन्ध विधामा कलम चलाउँदै आएका छन् । उनी पेसाले गोर्खा भारतीय सैनिक, ७÷११ गोर्खा राइफल्समा कार्यरत छन् । हाल देहरादुनमा कार्यरत छन् ।

मातृभाषा संरक्षण अभियानमा जुटेका स्रष्टाहरूका निम्ति प्रदान गरिने पुरस्कार नेपाल टेलिभिजनमा कार्यरत वरिष्ठ पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पा राईले २०५५ मा स्थापना गरेका हुन् । क्याम्पाराई आफूले रचना गरेका गीत, साहित्यबाट प्राप्त पारिश्रमिक तथा पुरस्कारबाट कोष जुटाएका हुन् ।

दुई हजार राशिको पुरस्कार आउँदो मंसिर २० गते उदयपुरको कटारीमा हुने ‘१९औं वाम्बुले राई भाषाको कविता गोष्ठी’ समारोहमा प्रदान गरिने सम्पादक गणेश राईले विज्ञप्तिमा जनाएका छन् ।
यो पुरस्कारबाट हालसम्म कविहरु विरही विमल, शुभचन्द्र राई ‘सुवास’, रजन सुबुकु, दुर्गा बैरागी राई, प्रमोद दीनदुःखी राई, प्रकाशहरि क्याम्पाराई, बिद्रोही साहिला, भुवन गुर्भा राई ‘आ“सु’ र शुभराज राई (काजी), धिरेन्द्र रुम्दाली, बिर्जमान राई, कुम्भराज राई, रामकुमार राई (आङ्गुस), झरना वाम्बुले राई र अन्चल जाबा राई सम्मानित भएका छन् ।


http://kantipur.ekantipur.com/news/2017-09-26/20170926090016.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि