कोपिला - बेलायतका विद्यार्थी : स्कुल खुल्ने पहिलो दिन

गणेश राई, बेलायत



आश्विन ८, २०७४-स्कुल खुल्ने पहिलो दिन साँच्चै रमाइलो हुन्छ । नयाँ पोसाक लगाउँदा आफैंलाई सुकिलो लाग्छ । नयाँ झोलामा किताब, कापी बोक्दा पनि हल्का लाग्छ । कत्तिखेर साथीहरूको माझमा पुगौं हुन्छ । बेलायतमा यही सेप्टेम्बर ६ देखि नयाँ सेसन सुरु भएको छ । यहाँका सरकारी स्कुल यसै दिनबाट खुलेका छन् । बेलायती राजकुमारका छोरा प्रिन्स जर्ज पनि यसैपटक स्कुल भर्ना गरिएका छन् । 
बेलायतमा बस्दै आएका ७ वर्षीय रोचन राई यसपालि कक्षा ३ मा पुगेका छन् । उनलाई बिहान साढे ८ बजे आमाले युनिफर्म लगाइदिनुभयो । सर्ट, टाई, पेन्ट, स्वेटर सबै मिलाएर । उनले फुरुङ्ग हऽँदै थोरै खाजा खाए ।

उनले आफ्नो सानो पुन्टे झोला तयार पारे । झोलामा पेन्सिल, पेन्सिल केस, सानो नोटबुक राखे । किताब लैजानु पर्दैन । अर्को झोलामा स्यान्डविच, चिप्स, जुस, पानी, फलफूल खाजा लिएर गए । सानो स्कुटर (दुई पांग्रे खुट्टाले गुडाउने साइकल) चढेर हिँडे । आमाले खाजाको झोला बोकिदिनुभयो ।

उनकी १३ वर्षीया दिदी रेजिना राई पनि यसैपालि ९ कक्षा पुगेकी छन् । दिदीले कोट, सर्ट, टाई, स्कर्ट लगाइन् । दिदी र भाइको स्कुलनजिकै पैदल हिँडेर पुगिन्छ । तर, फरक–फरक ठाउँमा छ । त्यसैले केही परबाट बाईबाई भन्दै उनीहरू आआफ्नो बाटो छुट्टिए । रोचन स्कुलमा पुगे । स्कुटीलाई किलामा चाँबी लगाएर बाँधे । अनि साथीहरूलाई भेटेर ‘हाई’ भन्दै गला मिलाए । उनीहरू प्रार्थना गर्न चौरमा भेला भए । आफ्ना नानीहरू लिएर आएका अभिभावकले उनीहरूले प्रार्थना गरेको हेरिरहे । त्यसपछि विद्यार्थीहरू समूह–समूह बनाएर कक्षा र सेक्सनतर्फ गए । अभिभावकले बाईबाई गर्दै हात हल्लाए ।

यो दृश्य वारविकसायर काउन्टी काउन्सिलअन्तर्गत ननिटनस्थित ‘आवर लेडी सेन्ट जोसेफ क्याथोलिक एकेडेमी’ स्कुलको हो । रेजिनाले पहिलो दिन फ्रेन्च भाषा सिकेको सुनाइन् । ‘टेक्नोलजीबारे सिकें,’ अंग्रेजीमै उनले भनिन्, ‘काष्ठकला, पाककला, इलेक्ट्रोनिक्स सर्ट कोड, सिलाइबुनाइको बारेमा जानकारी लियौं ।’ यसअघि उनले स्पेनिस भाषा पनि सिकेकी छन् ।

त्यसैगरी, रीतिका र रीतिषा जुम्ल्याहा दिदीबहिनी भर्खर ‘ईएर टु’ मा पुगेका छन् । उनी दुई ग्रेटर रस्मोरको मार्लबरो इनफेन्ट स्कुल अल्डरसटमा पढ्छन् । उनीहरू साथमा स्टोरी बुक र डायरी मात्र लिएर जान्छन् । स्कुलमै पढ्छन् । घरमा होमवर्क गर्नुपर्दैन ।

अर्का साथी निर्वाण राई भर्खर ७ कक्षामा पुगेका छन् । उनी सेलसियन कलेज फार्नबरोमा पढ्छन् । ‘स्कुल जान रमाइलो लाग्छ,’ उनले भने, ‘पढ्ने मात्र होइन, साथीहरूसित खेल्न पनि सकिन्छ ।’

नियम कडा

बेलायतमा उमेर समूहअनुसार कक्षा तोकिन्छ । वार्षिक क्यालेन्डर दिइन्छ । स्कुलको कार्यक्रम र अन्य कुनै मिडियाले चाहेमा पहिले नै स्कुलले कन्सर्न लेटरमा साइन गराउनुपर्छ । अभिभावकको स्वीकृति नभए कुनै विद्यार्थीलाई सहभागी गराइन्न । फोटो खिच्न पाइन्न । सोसल मिडियामा राख्न पाइन्न ।

ठूलो कक्षामा नोटबुकहरू विषयअनुसार फरक–फरक रहन्छ । कक्षामा किताब लैजानु पर्दैन । स्कुलबाटै किताब कापी उपलब्ध हुन्छ । अनलाइन पढ्नुपर्ने हुन्छ । कक्षामा गराइने सबै क्रियाकलाप कक्षामै रहन्छ । होमवर्क स्कुलको वेबसाइटमै गर्नुपर्ने हुन्छ । घरको ल्यापटपमा होमवर्क गर्छन् । होमवर्क नगर्नेले सजाय पाउँछ । सुरुमा अटेर गरे पहिलो वार्निङ दिइन्छ । त्यही गल्ती दोहोरिए मेरिट घट्छ । फेरि पनि गल्ती गरेमा, नमानेमा डिटेन्सन गराइन्छ । लन्च टाइममा पनि होमवर्क गर्नुपर्छ । वा कक्षा लाग्नुअगाडि वा कक्षापछि गर्नुपर्छ । होमवर्क गर्नुपर्छ, पढ्नुपर्छ । कहिलेकाहीं चुपचाप बस्न लगाउँछ । ‘विद्यार्थीलाई स्वीकृत बिदाबाहेक अरू दिन घरमा राख्न पाइन्न,’ रेजिना र रोचनका अभिभावक रेवन राईले भनिन्, ‘सीमित छुट्टी हुन्छ । बिदा सकिएको अवस्थामा अनुमतिबिना बिदा बसाएमा फाइन तिर्नुपर्छ ।’ यसरी बिदा लिन उपयुक्त थियो/थिएन भनेर स्थानीय काउन्टीले हेर्छ । उपयुक्त कारण देखाउन नसके ६० पाउन्ड जरिवाना तिर्न आदेश दिन्छ । २१ दिनभित्र नतिरे बढाएर १२० पाउन्ड हुनेछ । २८ दिने म्याद दिन्छ । त्यो म्यादभित्र नतिरे मजिस्ट्रेड कोर्ट (अदालत) मा मुद्दा दायर हुन्छ ।

बेलायतमा बालअधिकारलाई धेरै प्राथमिकता दिइएको छ । अभिभावकले छोराछोरीको अधिकारमाथि हस्तक्षेप गर्न मिल्दैन । कुट्न, गाली गर्नसमेत दिइँदैन । गल्ती ठहरिए ‘क्रिमिनल रेकर्ड’ का रूपमा रहन्छ । त्यसलाई २ हजार ५ सय पाउन्ड, अदालतको शुल्क, तीन महिना जति जेलसमेत राख्न सक्ने व्यवस्था छ । एजुकेसन एक्ट, १९९६ अनुसार यो व्यवस्था छ ।



प्रकाशित: आश्विन ८, २०७४


http://kantipur.ekantipur.com/printedition/news/2017-09-24/20170924092758.html


Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि