विभिन्न स्रष्टालाई पन्त स्मृति सम्मान र पुरस्कार

कान्तिपुरकर्मी राईलाई ‘मैया–वासु पन्त स्मृति सम्मान’
कान्तिपुर संवाददाता , काठमाडौं


भाद्र २, २०७४- पन्त स्मृति प्रतिष्ठानले नेपाली भाषा, साहित्य, लोकसंस्कृति, धार्मिक, नृत्यकला, ललितकला क्षेत्रमा योगदान दिने विभिन्न साधक तथा प्रतिभालाई सम्मान र पुरस्कार प्रदान गरेको छ । जसअनुसार साहित्यकार भुवनहरि सिग्देललाई ‘रामराज पन्त स्मृति सम्मान’ प्रदान गरिएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र प्रतिष्ठानकी अध्यक्ष गीता केशरीले शुक्रबार राजधानीमा आयोजित समारोहमा सम्मान प्रदान गरेका हुन् ।


पूर्वसहसचिव रामप्रसाद पन्तको स्मृतिमा स्थापित कोषबाट नेपाली साहित्य उपन्यास विधामा दिइँदैआएको छ । सम्मानको राशि २५ हजारसहित ताम्रपत्र रहेको छ । सम्मानित सिग्देलको तीन खण्डकाव्य, एक महाकाव्य, नाट्यकाव्य र एक उपन्यास प्रकाशित छ ।
त्यसै गरी हास्य कलाकार गोपालराज पन्त स्मृति पुरस्कार रेडियो कलाकार लक्ष्मी भूसाल (बूढीआमै)लाई प्रदान गरिएको छ । शदिच्छा बालप्रतिभा पुरस्कार नृत्यतर्फकी आशा बालिकालाई, सीताश्री प्रतिभा पुरस्कार ललितकलाका विद्यार्थी मनबहादुर गुरुङलाई र बन्धु पन्ध स्मृति पत्रकारिता पुरस्कार ‘बनिता’ साहित्यिक पत्रिकाकी प्रधान सम्पादक लक्ष्मी उप्रेतीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही १० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ ।
त्यस्तै, लोकसाहित्यतर्फ प्रदान गरिने ‘मैया–वासु पन्त स्मृति सम्मान’ कान्तिपुरकर्मी गणेश राईलाई प्रदान गरिएको छ । लोकसंस्कृतिसम्बन्धी खोजअनुसन्धान समेत गर्दै आएका राईको ‘किरात वाम्बुले लोकवार्ता’ लगायत पुस्तक प्रकाशित छ । नेपाली साहित्य समालोचना विधामा प्रदान गरिने ‘टीका मुकुन्द पन्त स्मृति सम्मान’ समालोचक डा. रामप्रसाद ज्ञवालीलाई र साहित्यकार गंगा पौडेललाई ‘आमा इन्दिरा पन्त स्मृति सम्मान’ प्रदान गरिएको छ । सम्मानको राशि जनही दस हजार रुपैयाँ र ताम्रपत्र रहेको छ ।



पुरस्कार ग्रहण गर्दै कान्तिपुरकर्मी गणेश राई
प्रतिष्ठानले विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई छात्रवृत्ति समेत प्रदान गर्दैआएको छ । यो वर्षको ‘स्नेहलता पन्त छात्रवृत्ति’ गत वर्षको एसईईमा उत्कृष्ट चारजना छात्रालाई प्रदान गरिएको छ । छात्रवृत्तिको राशि जनही २ हजार ५ सय रुपैयाँ छ । ‘लवप्रसाद शर्मा प्रतिभा छात्रवृत्ति’ तिलिङटार माविका जेहेन्दार तर विपन्न विद्यार्थीमध्ये चार जनालाई दिइएको छ । छात्रवृत्ति रकम दुई जनालाई जनही ६–६ हजार र दुईजनालाई तीन–तीन हजार रुपैयाँ रहेको छ ।
यस्तै, जेहेन्दार तर विपन्न विद्यार्थीलाई दिइने ‘जयदुर्गा जोशी प्रतिभा छात्रवृत्ति’ राजधानीको पद्मोदय माविका चार विद्यार्थी र ‘विमला शर्मा प्रतिभा छात्रवृत्ति’ तिलिङटार माविकै दुई छात्रालाई दिइएको छ । छात्रवृत्ति रकम जनही २ हजार ५ सय रुपैयाँ रहेको छ । ‘इन्दिरा पन्त बाल नाट्य प्रतिभा पुरस्कार’, ‘श्यामराज पन्त बालसाहित्य सम्मान’ र ‘दधिलक्ष्मी बालनृत्य प्रतिभा पुरस्कार’ विभिन्न विद्यालयका विद्यार्थीलाई प्रदान गरिएको थियो ।



प्रकाशित: भाद्र २, २०७४
http://kantipur.ekantipur.com/news/2017-08-18/20170818192035.html






Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि