सुब्बाका प्रतिनिधि कविता

कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण ३२, २०७४- मनप्रसाद सुब्बा आधुनिक भारतीय नेपाली कविताको फाँटमा एक स्थापित कवि हुन् । सुब्बाले विभिन्न समयमा लेखेका केही कविताहरूलाई समेटेर तयार गरिएको ‘मनप्रसाद सुब्बाका प्रतिनिधि कविता’ संग्रह मंगलबार काठमाडौंमा लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार बैरागी काइँला, गीतकार दिनेश अधिकारी, नेपाल प्रज्ञा प्रतिष्ठानकी अनुवाद विभाग प्रमुख डा. उषा ठाकुर, प्रा.डा. गोविन्दराज भट्टराईलगायतले कृति लोकार्पण गरेका हुन् ।
साहित्यकार काइँलाले सुब्बालाई होनहार र प्रतिभाशाली कविको रूपमा व्याख्या गरे । सुब्बाले उत्तर आधुनिक चिन्तनको प्रयोग वा किनारीकृतहरूको अधिकारलाई नेपाली कवितामा समेट्ने प्रयास गरेको उनले बताए । सुब्बाले कवितामा प्रकृतिलाई मानवअधिकार, मानवता, संघर्षसँग जोडेर लेख्ने गीतकार अधिकारीको तर्क थियो । भारतीय नेपाली कविहरूको लिस्टमा सुब्बा अग्रपंक्तिमा आउने उनले दाबीसमेत गरे । समालोचक महेश पौड्यालले सुब्बाको सम्पूर्ण काव्यकारिता अपारम्पारिक र प्रयोगशील रहेको बताए ।
आफ्नो ४० वर्ष लामो कविता–यात्रालाई चिनाउन यो कृतिले कोसिस गरेको कवि सुब्बाले बताए । पुस्तक बुक आर्ट नेपालले छापेको हो ।
प्रकाशित: श्रावण ३२, २०७४
http://kantipur.ekantipur.com/news/2017-08-16/20170816083401.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि