डिनाको सम्झना

कान्तिपुर संवाददाता , काठमाडौं



श्रावण २४, २०७४- कला इतिहासकार, लेखक एवं क्युरेटर डा. डिना बाङ्देलले नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन गरेको योगदानको राजधानीमा चर्चा गरियो । बबरमलस्थित आर्ट काउन्सिलमा आइतबार उनको १३ औं दिनको तिथिमा श्रद्धाञ्जलि सभासमेत गरियो ।


काउन्सिल उपाध्यक्ष सागरशमशेर राणाले डिनाको कलाप्रतिको गहिरो रुचि लोभलाग्दो रहेको बताए । नेपाली कलालाई अन्तर्राष्ट्रियजगत्मा परिचित गराउन पनि डिनाले उत्तिकै योगदान दिएको उनले सुनाए । संस्कृतिविद् एवं काउन्सिल अध्यक्ष सत्यमोहन जोशीले डिनासंगै नेपालको एउटा महत्त्वपूर्ण कला इतिहास संकटमा परेको बताए ।


श्रद्धाञ्जलि सभामा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव भरतमणि सुवेदीले डिनाको देहान्तले कला क्षेत्रमा अँध्यारो छाएको बताए । त्यस्तै, कला समीक्षक मदन चित्रकारले डिनालाई आर्ट आइकनको रूपमा लिनुपर्ने सुनाए । ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले डिनाको स्वभाव र उनको कला क्षमतामाथि आफू नतमस्तक रहेको बताइन् ।


भर्जिनिया कमनवेल्थ युनिभर्सिटीमा कला विभागकी प्रमुख भएर काम गर्नुका साथै नेपाली कलालाई अन्तर्राष्ट्रियजगत्मा चिनाउन डिना सक्रिय थिइन् । उनको मेनेन्जाइटिसका कारण ५४ वर्षको उमेरमा अमेरिकामा निधन भएको थियो । उनी वरिष्ठ कलाकार एवं साहित्यकार लैनसिंह बाङ्देलकी एक मात्र सन्तान थिइन् ।


प्रकाशित: श्रावण २४, २०७४

http://kantipur.ekantipur.com/news/2017-08-08/20170808085154.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि