संस्मरण - १८ औँ वाम्बुले कविता गोष्ठी र म

गगनबहादुर राई

महिना दिन अगाडि मेरो फेसबुक वालमा पत्रकार गणेश राईले पोष्ट गर्नुभएको एउटा सूचना पढेको थिएँ, वाम्बुले राई भाषाको १८औँ कविता गोष्ठीको । वाम्रास नेपालको स्थापना दिवसको दिन मंसिर २० गते मानेभन्ज्याङ गाविसको उदैपुर गाउँमा हुने गोष्ठीमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिस्थानका प्राज्ञ कवि श्रवण मुकारुङ आउनु हुने व्यहोरा उल्लेख थियो । गोष्ठी सदाझैँ हुने थियो । सूचनाले केही कल्पना गरायो । विगतको गोष्ठीमा चार–पाँच पटक मै पनि कविता वाचन गरेको थिएँ । यस पटक अप्रतियोगी कविका रुपमा सहभागी हुने सोचें । केन्द्रबाट आउनु हुने दाइहरु र विशेषगरी चर्चित गीतकार श्रवण मुकारुङ दाइलाई भेटेर केही खुराक लिने सोचें ।
म प्रायः गीत, गजल अनि मुक्तक लेख्छु, नेपाली अनि मातृभाषा वाम्बुलेमा । साहित्य पढ्ने र आनन्द लिने क्रम जारी छ । मलाई साहित्यका सबै विधा मनपर्छ । साहित्य भनेको विचारको कलात्मक प्रस्तुती हो । यसको माध्ययमबाट हामी समाज परिवर्तन गर्न सक्छौँ । सिँगो विश्व बदल्ने शक्ति साहित्यमा छ । त्यसैले पनि लाग्छ, साहित्य एउटा हतियार हो । यो हतियार हामी जस्ता युवामा हुनुपर्छ । किनकि समाज अनि देश परिवर्तन गर्ने जिम्मेवारी हाम्रो काँधमा छ । त्यसैले पनि साहित्यमा कलम चलाउन केही वर्षदेखि लागिपरेको छु ।
कविता गोष्ठीमा जाने तर कसरी जाने ? कोसेलीका रुपमा छोटो कविता लेख्नुपर्छ भन्ने लागेको थियो । काठमाडौं अनि उदयपुर धाउँदा समय बित्यो । कविता सिर्जनाको समय मिलेन । मंसिर २० पनि आइपुग्यो । कविता गोष्ठीको दिन बिहान एउटा कविता लेख्न बसेँ । दिमागमा आयो, ‘क्वाल दुम्किमा’ (एक होऔं)। शीर्षकमा वर्तमान समाजको प्रतिबिम्बहरु मन मस्तिष्कमा छाए । अहिलेको राजनितिक विचलन जस्तै सामाजिक विचलन आएको छ । सामाजिक एकताको भावना, अनुशासन, नैतिकता र मानवता हराउँदै गएको छ । सबै आप्mनो व्यक्तिगत स्वार्थमा लागेको अवस्था छ । तँ भन्दा म ठूलो भन्ने भावना विकसित छ । हामी सामाजिक प्राणी हौं । मिलेर बस्नुपर्छ भन्ने भावना कमजोर हुँदै गएको छ । त्यही बिम्ब कवितामा उतार्न खोजेँ । तर मनको कुरा मनमै रह्यो । दिमागले खिच्न सकेन सायद । कविताको हरफहरुमा कलात्मक रुपले उतार्न सकिन । निक्कै प्रयास गरेँ । तर मलाई नै चित्त बुझेन ।
फेरि अर्को शीर्षक रोज्न बाध्य भएँ । दिमागमा फु¥यो ‘ब्अीम्ताल्वा आः दयाल’ (सम्झनामा मेरो गाउँ)। मैले इतिहासका पानाहरु पल्टाएँ मेरो गाउँको ।  मेरो गाउँ कति सुन्दर थियो । कति अनुशासित थियो अनि कति मिलनसार थियो । कति राम्रो थियो मेरो गाउँको कला, संस्कृति, भेषभुषा, रहनसहनका चित्र आँखाभरि छाउन थाले । अविरल सल्बलाउन थालें । मेरो बालापनको जन्मथलो अहिलेको गाउँभन्दा राम्रो थियो । हाम्रो पहिचान बोकेको गाउँ सुन्दर सभ्यता बोकेकै छ । तर वर्तमानमा गाउँ भताभुँग भइरहेको अवस्था छ । भौगोलिक रुपमा उजाड, सुक्खा अनि मानवीयपनमा विश्वव्यापीकरणको चापले चेपिदै आएको छ ।
मलाई लाग्यो, मेरो यो उजाड गाउँलाई हरियाली पार्नुपर्छ । गाउँको पहिचान पुनःउत्थान हुनुपर्छ । बाँचिरहेको पहिचानलाई पुनःताजगी गर्नुपर्छ । हराउँदो त्यो सुन्दर सभ्यता खोज्नुपर्छ । कवितामा त्यही सुन्दर गाउँको प्रतिबिम्ब उतार्न मनलाग्यो । मनमा आशा जाग्यो कि कविता पढेर सभ्य, सुन्दर अनि सुसंस्कृत गाउँ समाज अनि देश निर्माणमा जाँगर मिल्नेछ । देश प्रेमको भावना जाग्नेछ । यिनै विषयवस्तु उठान गर्नुपर्छ भन्ने लाग्यो मैले रोजेको शीर्षकको कवितामा । निकै कसरतका साथ एउटा खेस्रा तयार पारेँ । गोष्ठीमा पुगेपछि सम्पादन गरेर वाचन गर्छु भन्ने निर्णय गरेँ ।
डायरी झोलामा हालेर विद्यालय पढाउन हिडेँ टोक्सेलतिर । विद्यार्थीहरुको परीक्षा चलिरहेको थियो । त्यस दिन मेरो विषयको परीक्षा थियो । परीक्षा अनुगमन गरियो । दिउँसो अफिसबाट निस्किएँ, गोष्ठीमा सहभागी हुन । भगवती मावि मानेभञ्ज्याङमा कार्यरत दाइ बुद्धिबहादुर राई (जो वाम्बुले राई शिक्षक समाज, नेपालका अध्यक्ष हुनुहुन्छ) सँगसम्पर्क गरेर सँगै बाइकमा झर्ने भयौँ । भन्ज्याङ चोकमा किरात राई विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष तथा संघीय समाजवादी फोरम ओखलढुंगाका अध्यक्ष धिरेन्द्र रुम्दाली दाइ, राज्यलक्ष्मी माविका शिक्षक महाजित राई, पत्रकार शिव ढुंगानालगायतसँग भेट भयोे । खाजा खाएर सँगै झ¥यौँ गोष्ठीस्थल उदयपुर गाउँ । चार बजेतिर कार्यक्रम स्थलमा पुग्दा भर्खरै सुरु भएको थियो । उद्घोषक वाम्रास केन्द्रीय सचिव रामकुमार राईले अतिथि गणहरुको आसन ग्रहण गराउदै हुनुहुन्थ्यो । श्रवण दाइ आउनु भएनछ । प्रमुख अतिथि समाजसेवी मोतीराज राई र सभाध्यक्ष वाम्रास केन्द्रीय अध्यक्ष गजुरधन राई हुनुहुन्थ्यो । गणेश दाइले  कविता दर्ता गर्न भन्नुभयो । ‘मैले त अप्रतियोगी कविता लेखेको छु, अझै पूरा गरेको छैन ।’ भनेँ । दर्ता गर्न लगाउनुभयो । दर्ता गरेपछि मेरो कवितालाई काँटछाँट गरेँ । लगभग २५ देखि ३० वटा कविता दर्ता भइसकेका थिए ।
मेरो पालो आयो । कविता वाचन गरेँ । सबैको ध्यानाकष्ट भयो । खुबै ताली पाइयो । कविता वाचनक्रम सकिएपछि निर्णायक मण्डललाई जिम्मेवारी सुम्पिएपछि रमाइलो नाचगान भयो । निर्णायकहरु बिर्जमान राई, विनोद राई र प्रकाशहरि क्याम्पा राई हुनुहुन्थ्यो । तीनैजना कवि । आधा घण्टापछि संयोजक बिर्जमान राईले वाम्बुले भाषामा गहकिलो मन्तव्य राख्दै विजेताहरु घोषणा गर्न थाल्नुभयो । क्रमशः सान्त्वनाबाट नाम वाचन भयो । नसोचेको भयो । प्रथम स्थान हाँसिल गर्नेमा मेरो नाम र रचना शीर्षक आयो । सबैले गडगडाहट तालीले मलाई बधाई दिए । मलाई खुसीसँगै डरको अनुभूति भयो । किनभने यो ठूलो चुनौती हो, मेरो काँधमा थपिएको । मैले मेरो कविता पुनः वाचन गरें । तालीको वर्षा छुट्यो । मसँग खुसी व्यक्त गर्ने शब्दै थिएन ।
प्रमुख अतिथि र सभाध्यक्षबाट फूलमालासहित प्रमाण–पत्र, नगद पुरस्कार, पुस्तक उपहार ग्रहण ग¥यौं । दोस्रो स्थानमा नमेशबहादुर राई, तेस्रो यमुना राई, सान्त्वना मेनुका राई र अम्बिका आकृति राईले । सबैजनाले मलाई बधाई तथा निरन्तर साहित्यिक यात्रा सफलताको शुभकामना दिनुभयो । जिम्मेवारी निभाउने प्रतिवद्धता जनाएँ । छोटो फोटो सेसनपछि सभाध्यक्षले महत्वपूर्ण मन्तव्यसहित १८औं वाम्बुले राई भाषाको कविता गोष्ठी समारोह समापनको घोषणा गर्नुभयो । अनि सुरुभयो, अरु रमझम । युकेएफएम कटारीका समाचार सम्पादक ऋषि राईको केही रोचक अनि घोचक मुक्तक, कवि तथा गायिका संगीता राईबाट गीत सुनाउनु भयो । अरुले लोकभाकाहरु गाउने र नाच्ने क्रम चल्यो । साँझ ढल्किसकेर मध्यरात हुँदै थियो । त्यसपछि छुट्टियौं । मलाई लागिरहेको छ, हाम्रो वाम्बुले राई मातृभाषा, साहित्य, संस्कृतिको श्रीवृद्धि, संवद्र्धन, प्रवद्र्धनमा म र मजस्ता युवाहरुले काँध नथाप्ने हो भने पुस्तान्तरण रोकिन्छ । त्यसैले पनि मैले पुरस्कार पाउनुको अर्थ मैले नै अगुवाइ गर्ने हो भन्ने अर्थमा लिएको छ । एउटा शिक्षक भएको नाताले गाउँघरका वाम्बुले राई भाइबहिनी, भतिजाभतिजी, छोराछोरीहरुलाई मातृभाषा, संस्कृतिको महत्व बुझाउनु छ । अरु समुदायमा पनि यसको महत्व बुझाउन सक्नुपर्छ । बस इति ।
हिलेपानी, ओखलढुंगा
कार्यरत ः श्री स्वर्णान्तराल नि.मा.वि. टोक्सेल, ओखलढुंगा
लिब्जु–भुम्जु पूर्णाङ्क ६९ बाट

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि