अन्तक्र्रिया - यस्तो होस्, १९औं वाम्बुले भाषा कविता गोष्ठी

अन्तक्र्रिया - यस्तो होस्, १९औं वाम्बुले भाषा कविता गोष्ठी

ओखलढुंगाको हिलेपानी गाउँमाझ श्री महादेवस्थान माविको आँगनमा २०५५ कात्तिक १ गते पहिलो पटक वाम्बुले राई भाषाको कविता गोष्ठी सम्पन्न भएको थियो । त्यसपछि हरेक वर्ष (२०६० सालबाहेक) ओखलढुंगा र खोटाङ दुधकोसी वारिपारि कविता गोष्ठी हुँदैआएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको स्थापना दिवस (मंसिर २० गते) यो कविता गोष्ठी गरिन्छ । ओखलढुंगाको उदैपुर गाउँमा सम्पन्न १८औं वाम्बुले राई भाषाको कविता गोष्ठी समारोहमा वाम्रास, उदयपुर जिल्ला कार्यसमितिका अध्यक्ष शुभराज राई (काजी)ले ‘१९औं वाम्बुले राई भाषाको कविता गोष्ठी’ कटारी नगरपालिकामा सम्पन्न गर्ने घोषणा गर्नुभएको छ । अब हुने उक्त कविता गोष्ठी कस्तो हुने भन्नेबारेमा २०७४ वैशाख २९ गते सोक्मटारमा गरिएको अन्तरक्र्रियाको सम्पादित अंशः

हाम्रा धरोहरबारे शीर्षक दिनसके राम्रो
मोतीराज राई, समाजसेवी
हामी वाम्बुले राईले हाम्रो पहिचानलाई लिएर भाषा, संस्कृतिबारे छलफल थालेको हो । भेला भएर सामूहिक रुपमा सुनाउने, सुन्ने गरेको लामो समय भइसक्यो । १८औं वाम्बुले भाषाको कविता गोष्ठी मेरै प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । म धेरै वर्षदेखि कविता गोष्ठीमा अतिथिका रुपमा उपस्थित छु । गोष्ठीमा सहभागी कविको संख्या पहिलेभन्दा घट्दै गएको छ । पहिले नै कविताको शीर्षक दिएर रचना गर्न लगाउनु पर्छ जस्तो लाग्छ । त्यसरी पहिले नै सारस्वाम दिएर आह्वान गर्न पाए हाम्रो उद्देश्यप्राप्तिमा सहयोग पुग्छ । वाम्बुलेको सृष्टि कसरी भयो ? हाम्रो इतिहास, लोकसंस्कृति, भाषाको एउटै विषय कविता आह्वान गर्न पाएचाहिं एकरुपता आउँछ । खुला छोड्दा नानाथरीको कविता आउँछ । एक रुपता कायम गर्न सके निर्णायकहरुलाई निर्णय गर्न पनि सजिलो हुन्थ्यो ।
जस्तो, १८औं कविता गोष्ठीमा अन्चले जाबाको उदयपुरको बरपुमको बारेमा कविता आयो । त्यो कवितामा इतिहासबारे केही कुरा आयो । बसोबास गरेको ठाउँको ऐतिहासिक विषयमा शीर्षक दिन पाए राम्रो हुन्छ । यसको छुट्टै महत्व हुन्छ । हाम्रो आफ्नै विरासत छ । मैले सुनेअनुसार मलेसियामा कृत्रिम हिमाल बनाएको छ रे । त्यसमा टे«किङ जान्छ रे । हामीलाई कृत्रिमता चाहिंदैन, यथार्थ छ । हाम्रा धरोहरबारे शीर्षक दिन सके राम्रो हुनेछ ।

कविता पढ्दा वाहा भन्न लायकको होस्
व्याकुल माइला, राष्ट्रियगानका रचयिता
धेरै राम्रो । शीर्षक दिने । विषयवस्तु दिने । शब्द संख्या दिने । त्यसले गर्दा भाषा, शैली, शब्द, विचार एकीकृत हुन्छ । मूल्यांकनकर्ताले के के आधारमा मूल्यांकन गर्नुभयो ? उहाँहरुको अनुभव पनि प्रकाशित गर्न सके राम्रो हुन्छ । त्यो पढेर शैली, भाषा, शुद्धाशुद्धि, विचार थाहा हुन्छ । एउटै शीर्षक दिंदा राम्रो हुन्छ । ऐतिहासिक विरासतबारे खोतल्न सहयोग पुग्छ । लोकसंस्कृतिसँग जोडिने विषयवस्तु जोडिएको छ । तर त्यसनिम्ति समयमै सूचना प्रवाह आवश्यक छ । नत्र हाम्रो बानी के छ भनेदेखिन् कविता गोष्ठी आउन लाग्दा सहभागी हुने । त्यही बेला हत्तपत्त कनिकुथी लेखेर पेश गर्ने गर्छौं । पहिलो, दोस्रो, तेस्रो बनाउनु त छँदैछ । तर वाम्बुले कवितामा अहिलेसम्म गुणस्तर आएको छैन । त्यो पुरस्कृत कविता पढ्दा वाहा भन्न लायकको होस् । मानक कायम गरोस् । यस्तै कविता हुनुपर्छ भन्ने होस् । नौनीबाट नौनी छान्नु परोस् । सबै ऐरेगैरे आयो, राम्रो आएन । त्यही मध्येमा छान्नुप¥यो भन्ने नहोस् । राम्रो मध्येमा उत्कृष्ट छान्न सकियोस् । त्यसको निम्ति समयमै कविहरुलाई जानकारी प्रवाह गर्नुपर्छ । पुरस्कारको राशि बढाउनु पर्छ । आयोजकले चौडा छाती बनाएर अघि बढ्नुपर्छ । कविता गोष्ठी आयोजना गर्दा गर्व लागोस् । सहभागी हुँदा गर्व लागोस् । सहभागी हुन लालयित होऊन् । कविता गोष्ठीमा वाचन गरेपछि धेरै कुरा सिकुन् । नेतृत्व, प्रतिभा, क्षमता प्रदर्शन गर्न सकुन् । त्यो पछि अवसर सिर्जना होस् । उनीहरुको करिअरको निम्ति भोलि एउटा प्रोफाइल बनोस् । वाम्बुले भाषाको कविता गोष्ठीमा म प्रथम भएर यस्तो हुनसकें भन्ने होस् । त्यसको निम्ति आयोजकले वातावरण सिर्जना गर्नुपर्छ ।

उत्कृष्ट कवितामात्र फाइनलमा
जन्तराम राई, कवि
मेरो विचारमा एउटै शीर्षक दिंदा निर्णायकलाई सजिलो हुन्छ । व्याकुल माइलाले भन्नुभएजस्तै उत्कृष्टमध्ये पनि उत्कृष्ट छान्न सकिन्छ । खुला रुपमा छाड्दा पनि केही भइरहेको छ । राम्रो छान्नलाई अन्तिम चरणमा पुग्न पहिलो चरण, दोस्रो चरणमै छनोट गर्नुपर्छ । मानौ, मंसिर २० गते फाइनल हुँदैछ भने त्यो भन्दा अगाडि छनोटको चरण पार गरिसक्नुपर्छ । जस्तै, काठमाडौं उपत्यकाभित्रबाट उत्कृष्ट पाँच वा उत्कृष्ट तीन छानियोस् । हिलेपानीबाट उत्कृष्ट पाँच वा तीन, उँबु, झाप्पा, उदयपुर गाउँबाट उत्कृष्ट छानेर अन्तिम चरणमा उत्कृष्ट कवितामात्र भिडाउन पाए अझ प्रभावकारी हुन्छ । अघि नै भनिसक्यौं, मंसिर २० गते कविता गोष्ठी छ । त्यही बिहानी बाटो बाटोमै कविता लेख्दै बुझाउने गरेका छौं । त्यो मैले पनि गरेको छु । धेरै साथीहरुको चलन यही छ । अगाडि थालेपनि अन्तिममा पूरा गर्ने चलन छ । हामी अझै राम्रो बनाउन जुट्ने हो । कविता छानेर लगभग दश पन्ध्रवटामात्र फाइनलमा भिडाउन, एकदमै उत्कृष्टमात्र सहभागी गराउन जरुरी छ । शीर्षक दिंदा अझै राम्रो हुन्छ । किनभने एउटा शीर्षकमा कविता सुन्दा हामी सुन्नेले पनि धेरै जान्ने अवसर पाउँछौं । जस्तै, पन्ध्रजना मान्छेले एउटा शीर्षकमा कविता रचना गर्दा गहन रुपमा बुझ्न सक्छौं । यो अभ्यास गरौं भन्ने चाहन्छु ।

शीर्षक दिंदा निखार आउँछ
कमल राई, कवि
एघारौं कविता गोष्ठीमा प्रथम पुरस्कार पाएँ । त्यो नै मेरो पहिलो सहभागिता हो । त्यसपछि तेस्रो पटक सहभागी भएको छु । त्यहाँदेखि विदेश गएँ । कार्य व्यस्तताले सहभागी हुन सकिने । अब निरन्तर लेख्ने इच्छा छ । शीर्षकको विषयमा नराम्रो होइन । यो ग¥यो भने निखार आउँछ । गुणस्तर आउँछ । ग¥यो भने परिणाम कस्तो आउँछ भन्ने थाहा हुन्छ । राम्रो हुन्छ ।

अझ गर्विलो बन्न सक्नुपर्छ
नमेश राई, कवि
दशौं कविता गोष्ठीदेखि उपस्थित छु । साहित्य हेर्दा, सुन्दा जति सजिलो देखिन्छ, गर्नचाहिं गाह्रो कुरो हो । अन्य कुरा जस्तै पूर्व तयारीले हुँदैन । जति बेला बाहिरी वातावरणले प्रभाव पार्छ त्यतिखेर नै हरर आउने हुन्छ । लेख्न सक्दा हुन्छ । यो विषयमा कविता लेख्छु । गजल लेख्छु भनेर घोरिदा समय लाग्छ । आउँदै गरेको हाम्रो २०७४ सालको कविता गोष्ठी अझ गर्विलो बन्न सक्नुपर्छ । शीर्षक दिंदा निर्णायकलाई सजिलो हुन्छ । यदि शीर्षक दिने हो भने पारदर्शी हुनुपर्छ । स्थलगत रुपमै गर्न सके पनि फरक पर्दैन । धेरै अघि शीर्षक दिएर लेखाउँदा सर्जकले सेकेन्डरी सोर्स प्रयोग गर्न सक्छ । प्राय सर्जकहरुले के गर्छन् भन्दा उसको इच्छा, खुबी कुन क्षेत्रमा छ, त्यो क्षेत्रमा ध्यान केन्द्रित गर्दा शब्द खेलाउन पनि सक्छ । रचना पनि गर्न सक्छ । सेकेन्डरी स्रोतलाई आधार बनाएर शब्दहरु चयन गर्दा आफ्नो सिर्जनात्मक क्षमतामा जति छ त्यति आउँदैन कि भन्ने लाग्छ । म आफूले धेरै लेखेको छु । पूर्वतयारी भन्दा पनि तत्काल जे आउँछ त्यही सिर्जना गर्ने गर्छु । अब हुने कविता गोष्ठीका निम्ति निर्णायक पहिले नै तोकिनु पर्छ । मेरो सक्रियता रहनेछ ।

फेसबुकले माहौल कमजोर तुल्याएको छ
दिलिप राई, शिक्षक तथा संस्थापक सदस्य, लिब्जु–भुम्जु त्रैमासिक
खुसी लागिरहेको छ । वाम्बुले कविता गोष्ठी अलिकति फराकिलो बन्दैछ । साहित्य भनेको फराकिलो बनाउनु पर्ने हो कि ? परम्परागत मुन्धुम, धर्म, संस्कृति भएमा मात्र हुने भन्ने छ । हामीले कविता गोष्ठीलाई घेरामा राखेका छौं ।  वाम्बुले कविहरु पुरानो भेषभूषालाई जोडदिंदै आएका छन् । मुलुक धर्मनिरपेक्ष भइसकेको अवस्था छ । पुरानो परम्परा छाडेकाहरु चाहिं पलायन छन् । सबैलाई समेट्ने साहित्यलाई जोडदिनु पर्छ । सबैलाई प्रस्तुत गर्ने हो कि । तपाई (गणेश राई) जसरी लागिरहनु भएको छ । तपाईको जोश जाँगरलाई सलाम गर्नैपर्छ । तर तपाईपछि को ? भन्ने प्रश्न पनि छ । म निरन्तर रहन सकिनँ । युवा पुस्ताको सहभागिता घट्दो छ । हामी आफैंले लेखेको वाम्बुले भाषा अरुलाई पढ्न, पढाउनेतर्फ आकर्षित गराउन नसक्नु कमजोरी हो । हामी शिक्षकहरुको पनि कमजोरी छ । अहिले फेसबुकको जमाना छ । त्यसले पनि माहौल कमजोर तुल्याएको छ । लेखेर पेटपालो हुन नसक्नु नै बाधक हो । विद्यार्थी भाइबहिनीहरु वाम्बुले भाषा, साहित्यतिर आकर्षित गराउन सकिरहेका छैनौं ।

वाम्बुले भाषा साहित्य साझा सम्पत्ति हो
शुभराज राई (काजी), अध्यक्ष–वाम्रास, उदयपुर
चौधौं कविता गोष्ठीबाट नयाँ मोडमा आइपुगेको हो । १४औं कविता गोष्ठी उदयपुरगाउँमा भइरहँदा वाम्रासका तत्कालीन कार्यवाहक अध्यक्ष गजुरधन राई, महासचिव गणेश राई, कोषाध्यक्ष जीवन हाताचो, म, मुम्चे राईलगायत थियौं । वाम्बुले राई समाजका नेतृत्वले सहमति गरेर मंसिर २० गते कविता गोष्ठी गर्ने टुँगोमा पुग्यौं । तर, १८औं संस्करण गरिसक्दासम्म कविता गोष्ठी र वाम्बुले साहित्यको गुणस्तरबारे जेजति सिस्टमका कुरा गरेका थियौं । पालना गर्न सकेनौं । यो कविता गोष्ठी भनेको नितान्त प्राज्ञिक काम हो । अहिलेसम्म हामीले एउटा महोत्सव, जात्रा, मनोरन्जनका रुपमा गर्दै आयौं । कविता गोष्ठी भनेका छौं । बीच–बीचमा नाचगान पनि हुने, नाटक प्रहसन पनि हुने । साँझ परेपछि सहभागिता बढ्ने । साहित्यभन्दा पनि मनोरन्जनतिर ध्यानकेन्द्रित गरेका छौं । त्यसैले गर्दा सुरुदेखि अहिलेसम्म विभिन्न गाउँका युवा क्लबहरुलाई यो गोष्ठी संयोजन गराउन लगायौं । त्यसैले पनि हो कि प्राज्ञिक बनाउन नसकेको ? गर्नुपर्ने स्थानीय तहमै हो । करिब १२ जिल्लामा वाम्रास क्रियाशील रहेको छ । वाम्बुले कविता गोष्ठीलाई जिल्लागत र संस्थागत गर्न सके दीगो, भरपर्दो, सभ्य ढंगले अघि बढाउन सकिन्छ भन्ने लाग्छ । त्यसैले पहिलो पटक ओखलढुंगा र खोटाङदेखि उदयपुरमा गर्ने आँट गरिएको हो । केन्द्रमा प्रस्ताव राखेर अघि बढ्ने काम भएका हो ।
मंसिर २० गते कविता गोष्ठी हुन्छ भन्नेबारे कमसेकम स्रष्टाहरुलाई प्रष्ट भयो तर गर्ने तरिका पुरानै रह्यो । यो कविता साहित्य भनेको चिन्तनबाट आउने हो । चिन्तन चाहिन्छ । हामी मनोरन्जनमुखी भयौं । युवा पुस्ताको उपस्थिति फितलो देखिनु चुनौती हो । युवापुस्ता चिन्तनमुखी भएन । साहित्य चिन्तनबाट आउँछ । त्यसैले यो वर्षको १९औं कविता गोष्ठी सम्पन्न गर्न अग्रिम छनोट प्रणाली अपनाउनु पर्छ । झाप्पा, गुर्दु, फोकुल, वाक्सा, वाम्द्याल, उदैपुर, हिलेपान, रिचुवा, खाचापु, सुनसरी, तेह्रथुम सबैतिर प्रारम्भिक छनोट हुनुपर्छ । त्यो काम मंसिर २० गतेभन्दा धेरै अघि हुनुपर्छ । त्यहाँबाट छानिएका रचनामात्र फाइनलमा समावेश हुनुपर्छ । अनिमात्र गुणस्तर आउन सक्छ । यसैमा जोडदिनु पर्छ । वाम्रास जिल्ला कार्यसमितिको नाताले १९औं संस्करणबाट नयाँ आयाम दिन कम्मर कसिएका हौं । भविष्यमा काठमाडौं, सुनसरी लगायतमा हुनुपर्छ । प्रतियोगीमात्र होइन, अप्रतियोगी पनि हुनुपर्छ । जहाँ वाम्बुले राईहरु छन् । त्यहाँबाट सहभागिताका निम्ति अघि सर्न सक्नुपर्छ । यो हाम्रो साझा सम्पत्ति हो ।
प्रस्तुति ः गणेश राई, सम्पादक
लिब्जु–भुम्जु पूर्णाङ्क ६९ बाट

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि