डिना बाङ्देल - बिर्सन गाह्रो छ...

डिना बाङ्देल नेपाली कला सम्पदाका बारेमा लेखेर, बोलेर वा प्रदर्शनी गराएर अन्तर्राष्ट्रिय मञ्चमा लैजाने अथक साधक थिइन् । उनका कैयौं योजना थिए । तर, एकाएक ५४ वर्षे उमेरको सक्रियतामा उनी चिरनिद्रामा गइन्, सबै योजना र सपना अधुरै छाडेर ।

- देवेन्द्र भट्टराई


श्रावण १४, २०७४- भाइ, इन्डिया आर्ट फेयरका अवसरमा म दिल्ली आउँदै छु । भेटौं है...’, २०१४ को फेब्रुवरी अन्तिममा डा.डिनाको इमेल आयो, कतारको भर्जिनिया कमनवेल्थ युनिभर्सिटी ठेगानाबाट ।
धेरै कुरा थाहा भएन । लगत्तै केही दिनमा जनपथको ले–मेरिडियन होटलमा भेट भयो । साथमा थिए,
आर्ट क्युरेटर पूर्ण शाक्य । गोविन्दपुरीस्थित विशाल मैदानमा जारी आर्ट फेयरमा दक्षिण एसियाली पाकिस्तान, श्रीलंका, बंगालादेशसहित झन्डै ३० मुलुक सहभागी थिए । तर, त्यहाँ नेपाल थिएन । कलारंग जगत्को एसियाली ठूलो उत्सव मानिने त्यो ‘आर्ट फेयर’ मा आमन्त्रित सदस्य भएर पहिलोपटक डिना आएकी थिइन् ।

‘योपटक म लाजले पानी भएँ । यत्रो उत्सव चलिरहँदा एकैपटक थुप्रै देश घुमेजस्तो भयो तर, आफ्नै देशमा नपुगेजस्तै भयो,’ डिनाले कुरा झिकिन्, ‘मलाई त अरूको रमिता हेर्न बोलाएजस्तो मात्रै भयो ।’

आर्ट फेयरको रंगरमिता र ‘डिटेल’ त्यति थाहा थिएन । कुराकानीमा आर्ट क्युरेटर शाक्य पनि थपिए, ‘यहाँको मोल बढाबढमा हिजो मात्रै (स्वर्गीय) फ्रान्सिस सुजाको कला १ करोड भारुमा बिक्री भयो भने अरू भारतीय कलाकारका कलाको मूल्य पनि लाखौं रुपैयाँ छ । हाम्रोमा भने एउटा पौभा कलाको मूल्य १५ लाख रुपैयाँ पुगिहाल्यो भने पनि ठूलै समाचार बन्छ ।’

फेरि डिना बोलिन्, ‘होइन भाइ, हाम्रो एकेडेमिक जगत् कहाँ छ ? यस्ता मेला र कला बहसहरू नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले गर्नुपर्ने हो नि, त्यो कहाँ छ ?’

थोरै आवेशमा धेरै जिज्ञासा मिसाएर डिना बोलिरहेकी थिइन् । ‘आर्ट हिस्टोरियन’ को रूपमा देश–विदेशमा नाम–काम बनाइसकेकी डिना जता गए पनि ‘नेपाल लिंक’ खोजिरहेकी हुँदी रहिछन् जुन सधैं सम्भव र साध्य थिएन । ‘होइन, अलिकति मिहिनेत गर्‍यो र खोजिपस्यो भने केही त हुन्छ भाइ,’ उनले थपिन्, ‘कतै नेपाली कलाकारले यस्तो गतिलो फेयरमा सहभागी हुन पाउँछन् कि भनेर लिंक खोज्न आएकी हुँ ।’ नभन्दै यो सूत्रले काम गर्‍यो । यो सूत्रको खोजीअघि एकदमै व्यक्तिगत तवरमा नेपाली कलाकार उमाशंकर शाह आर्ट फेयरमा आइरहेकै थिए ।

डिनाले खोजेको सूत्र र नेपाल आर्ट काउन्सिलका उपाध्यक्ष सागरशमशेर जबराले लिएको अगुवाइमा सन् २०१५ को फेब्रुवरीमा भने ८ नेपाली कलाकार आर्ट फेयरको मैदानमा अवलोकनकर्ता बनेर पुगेका थिए । आर्ट काउन्सिलले जुटाएको २० हजार रुपैयाँको ‘ट्राभल ग्रान्ट’ मा थपथाप गरेर कलाकारहरू खहरे खोलो हुँदै समुद्रसम्म मिसिन आएका थिए— कलाको परख गर्न । ‘डिना दिदी नभएको भए कलाको बाहिरी जगत् देख्ने अवसर हामीले पाउने नै थिएनौं,’ आर्ट फेयरमा पुगेका एक प्रतिनिधि रंगकर्मी मेख लिम्बू सम्झन्छन् ।

त्यसपछि त बाटो खुलिहाल्यो— २०१६, २०१७ का फेयरहरूमा नेपाली कलाकार सहभागी हुनै थालिहाले ।
महोत्सव अवसरमा डा.डिना पनि दिल्ली आएकै हुन्थिन् । साथमा बंगलादेश, भारत, अमेरिका, ग्रीस तथा कतारका दुई दर्जनजति कला विषयका विद्यार्थी पनि लिएर आउँथिन् । ‘कलाको ग्लोबल मार्केट पनि बुझ्नु जरुरी छ । आफूले अरूसँग उभिएर म कहाँ छु भनेर आफैंलाई प्रश्न गर्नु पनि जरुरी छ,’ डिना विद्यार्थीमाझ भन्थिन् । भर्जिनिया कमनवेल्थ युनिभर्सिटीको कतार शाखामा डिना २०१२ को अगस्टदेखि जोडिएकी थिइन् ।

कला सम्पदामा इस्लामिक जगत्को इतिहास र गौरव विशिष्ट भए पनि धर्म र नियमको कडाइमाझ के–कसरी काम गर्न सकिएला भन्ने डिनालाई सुरुमा लागेको रहेछ । तर, त्यस्तो भएन । कतारसहित मध्यपूर्व र अफ्रिकी मूलका ४० भन्दा बढी विद्यार्थीका जिज्ञासाहरू अनन्त थिए, इस्लामिक धर्मकर्मका विद्यार्थीहरू अझ बढी ‘उदात्त’ भेटिए । ती विद्यार्थीको हूल लिएर डिना एकपटक काठमाडौं आएकी थिइन् । थापाथली नजिकै वाग्मती किनारका मठ–मन्दिर (कालमोचन) मा घुमिरहँदा इजिप्टबाट आएकी २७ वर्षीया विद्यार्थीले लजाउँदै डिनालाई सोधेकी रहिछन्, ‘प्रोफेसर, आई सी अ थिन लाइन बिटविन न्युडिटी एन्ट आर्ट, प्लिज सो मी द डिफरेन्स ...!’

डिना त्रिपुरेश्वर महादेव मन्दिरछेउ आइन्जेल मुस्काइरहिन् मात्रै । जवाफ निकै लामो थियो । ‘म विस्कन्सिनमा अन्डरग्रेजुएट विद्यार्थी छँदा एउटा फ्रेन्च शिक्षकले मलाई संस्कृत मन्त्र र पाठ सिकाएको याद छ । त्यो फ्रेन्चले म नेपालीलाई संस्कृत बुझाउन जति मुस्किल भएको थियो, त्यो इजिप्सियन केटीलाई न्युडिटीको भैरव–शिल्पी बुझाउन मलाई उत्तिकै कठिन परेको थियो,’ डिनाले सुनाएकी थिइन् ।

हुने बिरुवा...ललितपुरको सेन्ट मेरिज स्कुलमा विद्यार्थी छँदा डिनाकी एउटी मनमिल्दो साथी थिइन्—अल्का गुरुङ । संयोग के थियो भने डिना एक कलाकार–साहित्यकार लैनसिंहकी एक्ली छोरी थिइन् । अल्का संगीतकार–लेखक अम्बर गुरुङकी एक्ली छोरी । दुवैका बाबुहरू राजा महेन्द्रको प्रत्यक्ष–परोक्ष निम्तो र आग्रहमा दशगजापारिबाट ‘नेपाल घर’ फर्किएका थिए । ‘हामीलाई केही साथीभाइले स्कुलमा यदाकदा आउटसाइडरझैं व्यवहार गर्थे, तर हाम्रो गफको दुनियाँमा गीत–संगीत, कला–साहित्य पनि थपिएपछि हामीलाई उडाउनेहरू चुप लाग्थे,’ अहिले बेलायतमा रहेकी अल्का सम्झिन्छिन् ।

स्कुलपछि पद्मकन्या कलेजमा आएई पढेर ‘नेपालभरकै सर्वोत्कृष्ट’ बनेकी डिनाले कलेजको सुरुआतमा युरोपियन आर्टको इतिहास पढिन्, फिलाडेल्फियाको ब्रायन मवर कलेजबाट । मास्टर्स गर्दा दक्षिण एसियाली आर्ट पढिन्, मेडिसनस्थित युनिभर्सिटी अफ विस्कन्सिनबाट । पीएचडीअन्तर्गत भने ओहियो स्टेट युनिभर्सिटी पुगेर बौद्धकलाको उत्पत्ति र विकासमा उनको अन्वेषण चल्यो । ‘बुवा (लैनसिंह) ले आर्ट गर्नुभयो क्यानभासमा,’ डिना भन्थिन्, ‘मैले आर्ट पढें व्यवहारमा ।’

पछि आएर विशेषत: ‘स्टोलन इमेजेज अफ नेपाल’ कृतिका लागि लैनसिंहको ख्याति देश–विदेशमा छाएको थियो । नेपालबाट चोरिएका र हराएका मूर्तिहरूको सोधबिन मात्रै होइन, ती घर फर्कन पनि थालेका थिए । डिना पनि अमेरिकी विश्वविद्यालयमा पढेर र विज्ञ बनेर नेपाली, हिमाली र बौद्ध कलाको ‘प्रचारक’ बनेकी थिइन् । बाबु लैनसिंहले थालेको काम पूरा गर्नै उनी कला–अध्येता बनेकी हुन् कि भन्ने अवस्था थियो । कलाको ‘क्युरेटर’ मात्रै होइन, डिना नेपाली कला सम्पदाका बारेमा लेखेर, बोलेर वा प्रदर्शनी गराएर अन्तर्राष्ट्रिय मञ्चमा लैजाने अथक साधक बनेकी थिइन् । कलाकार राजन काफ्लेका बुझाइमा ‘डिनाजस्तो नेपाल र नेपाली कलासम्पदाका पक्षमा बहस–पैरवी गर्दै हिँड्ने र जुनै विधा (ट्रेडिसनल/कन्टेम्पोरेरी) को कला सर्जकलाई पनि आशा–भरोसाको गाइड गर्ने अर्को मर्मज्ञ अब पाउन मुस्किल छ ।’

कृति, अध्यन र अन्वेषणका आधारमा ‘संस्थागत’ बनिसकेका बुवा लैनसिंहलाई अझ ‘जीवन्त’ बनाउन चाहिन्थन् डिना । डिनाले पछिल्लो वर्ष मात्रै लिएको निर्णयमा सानेपास्थित निवासमै ‘लैनसिंह वाङ्देल फाउन्डेसन’ खोल्नका लागि आवश्यक कानुनी प्रक्रिया तय भइरहेको थियो । अधिवक्ता उद्धव केसी यो प्रक्रियामा फाउन्डेसनका प्रस्तावित सदस्यहरूसँग परामर्श गर्न र कागजी प्रक्रिया मिलाउनमा व्यस्त थिए । ‘डिनाजीको अबको काठमाडौं बसाइमा यसको निक्र्योल हुनेवाला थियो,’ अधिवक्ता केसी भन्दै छन्, ‘तर, अहिलेलाई रोकिएको अवस्था छ । अब डिनाजीका श्रीमान् विभाकर शाक्यले यो सपनालाई साकार बनाउनुहोला भन्ने लाग्छ ।’

मुलुकबाहिर ‘म’
इतिहासका कुरा भनेपछि सानो ‘चिर्कटो’ पनि मायाले राख्ने डिनासँग उनका कलाकार/साहित्यकार बुवा लैनसिंहको लिखित/संकलित दस्तावेज प्रशस्तै थियो । त्यो थाकबाट लैनसिंह अध्ययन क्रममा युरोप बसेको १३ वर्षको अवधि (सन् १९५२–१९६५) का डायरी, पत्र र तस्बिरको रमाइलो सामग्री छान्ने काम भइसकेको रहेछ । २०६६ सालको अन्त्यतिर यो संकलित सामग्रीलाई पुस्तकाकार रूप दिने निधो भयो, प्रकाशक भेटियो— रत्नपुस्तक भण्डार । यही क्रममा फेरि डिनासँग झन्डै ६ महिना संगत गर्न पाएको थिएँ, पुस्तक सम्पादकका रूपमा ।

झन्डै ५ सय पृष्ठको पुस्तक संयोजन त भयो तर, नाम राख्ने के ? ‘मुलुकबाहिर लैनसिंह’, ‘मुलुकबाहिर उनी’ आदि नामका बारे छलफल चल्यो । एकाएक डिनाले भनिन्, ‘भाइ, म र मजस्तै धेरै मानिस मुलुकबाहिर बसेरै पनि आफ्नो समाज, आफ्नोपनाका लागि केही गर्न सकिन्छ कि भनेर मरिहत्ते गरिरहेका हुन्छौं । मेरो बुवा पनि प्रवासी मूल (दार्जिलिङ) भए पनि सधैं आफ्नो मूलघर (नेपाल) बारे मनन गरिरहनुहुन्थ्यो । तैपनि उहाँलाई सधैं–सधैं मुलुकबाहिरबाट आएको कुनै अमूक पात्रजस्तो व्यवहार भइरहन्थ्यो । कारणबस मुलुकबाहिर त बुवा पनि हुनुभयो, आज म पनि छु । यसकारण यो किताबको नाम सांकेतिक अर्थमा मुलुकबाहिर म’ राखौं ।’
यसरी, यही नाममा सहस्र सहमति जुटयो— मुलुकबाहिर म ।

‘मुलुकबाहिर म’ किताबमा लैनसिंहले श्रीमती मानुलाई लेखेका प्रेमपत्रको शृंखला पनि जोडिएको छ जहाँ प्रेमभन्दा बढी जीवन, कर्तव्यबोध र सपनाका कुरा समेटिएका छन् । यो किताबको सम्पादन गर्ने क्रममा डिनालाई लागेको एउटा खुल्दुली भने ‘मिल्दो’ थियो । पत्रमा सम्बोधन गर्ने क्रममा लैनसिंहले श्रीमतीलाई लेखेका छन्, ‘प्रेममूर्ति, प्रिये, प्राणप्यारी, मही, देवी, प्रेमेश्वरी, पगली, जीवन संगिनी, प्राण, प्रिय धन, कान्छी, प्यारी, रानी, आराध्यदेवी, प्राणेश्वरी, मुनिया, हृदयेश्वरी आदि ।’ यो सम्बोधनमा डिनाको बारम्बारको पादटिप्पणी रहन्थ्यो, ‘हत्तेरी, कति गहिरो प्रेम होला ? हाम्रा बाबु–बाजेले गरेजस्तो तिख्खर प्रेम (पत्रमै भए पनि) न हामीले गर्न सकियो, न हाम्रा छोराछोरीले गर्लान् !’

डिनासँग कहिले काठमाडौं, कहिले दिल्ली र कहिले कतारमा भेट भइरहन्थ्यो । ‘दिदी, तपाईंलाई बित्दो उमेर र समयको डर लाग्दैन ?’ एसियालाई चिनौं भन्ने सन्देशमा सुरु भएको ‘रोटा’ (रिच आउट टु एसिया) कार्यक्रममा दुई दर्जन जति मध्यपूर्वी र अफ्रिकी विद्यार्थी लिएर कला–अध्ययनमा अर्कोपटक दिल्ली उत्रिएको एक अवसरमा मैले सोधेको थिएँ । कति सहजै हाँसिरहेकी थिइन् डिना, धेरै बेरसम्म । ‘अहँ, डर त लाग्दैन तर सतर्क भने हुन्छु,’ हाँसोपछि सुस्केरा स्वरमा उनले भनिन्, ‘अरूभन्दा पनि मेरी बूढी भएकी आमा (मानु) को हेरदेखसँगै ढुक्कै काठमाडौं फर्केर दिगो रूपमा कला म्युजियम खोल्नेतर्फ लागिहालौं भन्ने छ । सँगै बुवा लैनसिंहको नाममा कला/साहित्यको फाउन्डेसन स्थापना गर्ने सपना छ । यति काम गर्न त पक्कै सकिन्छ होला ।’

उनी भनिरहन्थिन्— चाहे म भर्जिनिया बसौं अथवा कतारको दोहा । तर, म हरक्षण नेपाल सम्झेर आफ्नो काम गरिरहेकी हुन्छु । मैले डन मेसरस्मिथ (एगेन्स्ट द करेन्ट), जोन हन्टिङ्टन (द सर्कल अफ ब्लिस : बुद्धिस्ट मेडिटेसनल आर्ट) जस्ता कला–इतिहासका विज्ञसँग रहेर काम गर्ने मौका पाएँ । हरेक सिर्जनशील काम, रिसर्च वा लेखनमा मैले गर्ने ‘आफ्नोपना’ को हठ अरूका लागि अप्ठ्यारो सर्त बन्ने गरेको थियो । आज हामी नेपाली संसारैभर पुगेका छौं । गैरआवासीय नेपालीको एनआरएन संस्था नै छ । आफ्नो देशको कलाकर्म, आफ्नो चिनारी अथवा एउटै पेन्टिङ भए पनि एनआरएन समुदायले घर–घरमा राखिदिन थाल्ने हो भने एउटी डिना अथवा अर्को हन्टिङ्टन ‘प्रचारक’ बनेर हिँड्नै पर्दैनजस्तो लाग्छ । मजस्तो पढे–लेखेको र आफ्नोपना बुझेकाले अरनिकोदेखि भृकुटीसम्मको (आफ्नो) सम्पदा–इतिहास नसम्झने हो भने सम्झिदिने कसले ?

‘मुलुकबाहिर म’ कृतिपछि श्रीमती मानुले लैनसिंहलाई लेखेका पत्रहरू समेटेर अर्को पुस्तक निकाल्ने खाका बनिरहेको थियो जहाँ ऐतिहासिकतासँगै प्रेमिल तथ्यले भरिएका बयान छन् । अझ अर्को सिरिजमा बीपी कोइराला, राजा महेन्द्र, मातृका कोइराला, बालकृष्ण समलगायत २ दर्जनभन्दा बढी राजनीतिक/साहित्यिक दिग्गजहरूको लैनसिंहसँगको दोहोरो पत्राचार समेटेर पुस्तक ल्याउने योजना डिनाले बनाएकी थिइन् । ‘नेपाली कला र कलाकारलाई बाहिरी जगत्मा लैजाने मानक पथप्रदर्शक हो डिना बाङ्देल,’ प्राज्ञ कलाकार शान्तकुमार राई भन्छन्, ‘सन् २०१८ को मध्यतिर अस्ट्रियाको राजधानी भियना र पेरिसमा नेपालीसहित अन्तर्देशीय कला प्रदर्शनी गर्ने तयारीमा डिना लाग्नुभएको थियो । त्योभन्दा अघि केरलाको कोची (कोची–मजिरिस आर्ट बिनाले) मा नेपाली कलाकार लैजाने तयारी भइरहेको थियो ।’ नेपाल कला परिषद्, रिड ग्लोबलजस्ता संस्थामा सक्रियता राख्ने डिना दुई हुर्किएका छोरालाई श्रीमान्को जिम्मा लगाएर भए पनि अमेरिकाबाट छिट्टै घर फिर्ने तयारीमा थिइन् । तर, एकाएक ५४ वर्षे उमेरको सक्रियतामा उनी चिर निन्द्रामा गइन्, सबै योजना र सपना अधुरै छोडेर ।

‘छिद्रान्वेषी’ छ समाजकतारमा विद्यार्थीलाई कन्टेम्पोरेरी आर्ट र क्रिएसन–मोड सिकाइरहेका बेला एक दिन डिनालाई एकाएक एउटा ‘आइडिया’ फुर्‍यो । कतारमा ४ लाखभन्दा बढी नेपाली कामदार छन्, सबैसँग आफ्नो घर बनाउने, जीवन सुधार्ने सपना जोडिएकै हुन्छ । त्यसमाथि केही पात्र यस्ता भेटिए जो २० वर्षदेखि कतारमै मजदुरी गरिरहेका छन्, र त्यही श्रम–पसिनाको पैसाले गाउँ (नेपाल) मा छोरालाई कला–सम्पदा पढाइरहेका छन् । धनकुटाका उत्तम लिम्बू (श्रमिक बाबु) र उनका छोरा मेख लिम्बू (कलाकार छोरो) को यो नेक्ससबाट तानिएर डिनाले एउटा बृहत ्कार्यशाला तय गरिन्— दोहा र काठमाडौंमा । यो सिम्पोजियमको टाइटल थियो— बिल्ट/अनबिल्ट : सिटी/होम ।

सन् २०२२ को प्रस्तावित फिफा वल्र्डकप, श्रमिकमाथिको शोषण र मानव अधिकारको दोहन आदि कारणबीच कतारमा रहेका मजदुरले देखेको ‘घर सपना’ लाई कलाको भिन्न स्वरूपमा देखाउनु आफैंमा एउटा चुनौती थियो । ‘हो, यो एउटा आवाज हो, मनभित्रको गुम्फन हो,’ गत चैतमा सम्पन्न ट्रिनालेको तयारी हुँदै गर्दा कतारमा भेटिएकी डिनाले भनेकी थिइन्, ‘भाइ आन्दोलन भनेकै यही हो । आन्दोलन गर्न सधैं हँसिया–हथौडा लिएर सडकमा जानैपर्छ भन्ने होइन । एउटै कलाकृतिमा काठमाडौंमा देखिएको ग्यास–तेलको हाहाकार, कतारमा दिनरात नभनी श्रम गरिरहेको एउटा घरमुली र सपनाको विशृंखल यथार्थलाई बुनिएको छ । योभन्दा ठूलो आवाज अरू के हुन सक्छ ?’

डिना सधैंजसो ‘कुल’ देखिन्थिन्, सधैंजसो मित्रवत् लाग्थिन् । तर, केही वर्षअघि प्रकाशित उनका बुवाको जीवनपरक एउटा कृतिमा भए–नभएका छिद्रान्वेषी कुरा समेटिएको रहेछ । हरेक मानिसको व्यक्तिगत जीवन हुन्छ । उसले भित्र बेडरुममा के गर्छ ? रम–पन्च खान्छ कि भोड्का–सट लिन्छ ? अथवा, प्रेम, विवाह, यौनमा के धारणा बनाउँछ भन्ने कुरा नितान्त ‘व्यक्तिगत’ हो भन्ने धारणा सुनाउँथिन् डिना । तर, त्यो जीवनीपरक पुस्तकमा भने डिना अमेरिकामा कलेज पढ्न जाने क्रममा ‘आफ्ना प्रेमी तीर्थ वैद्यसँग उता गएको, केही समय साथै बसेको र पछि ऊसँग कुरा नमिलेर विभाकरसँग घरजम भएको’ जस्ता बेअर्थका प्रसंग समेटिएका रहेछन् । ‘म आज डिना बाङ्देल भएरै नेपाली समाज र कला जगत्का लागि केही योगदान दिने ठाउँमा पुगेकी छैन र ? तैपनि हाम्रो समाजका केही व्यक्ति किन यसरी छिद्रान्वेषी हुन सकेका हुन् ? किन सधैं कृतघ्न बनेका हुन् ?’ डिनाको सधैंको गुनासो हुने गर्थ्यो ।

डिना सधैं धपेडीमा रहिन्, सधैं व्यस्त । आफ्नो स्वास्थ्यप्रति निकै सचेत भएरै पनि केही वर्षयता नाकको समस्या (साइनस) रहेको उनले निकटस्थलाई सुनाएकी थिइन् । त्यही साइनसको दुईपटकको अप्रेसनको स्थितिसँगै बढेको संक्रमणले अल्पायुमै डिनाको निधन भएको समाचार मिडियामा छाएको छ ।
यसबेला डिनाका बुवा लैनसिंहले आफ्नी छोरी डिनाको पहिलो वर्षको जन्मोत्स्वमा लेखेको डायरीको पाना थप प्रासङ्गिक बनेको छ, जीवनको भर/ठेगान कहिल्यै थिएन र छैन भन्ने सारमा—

 ५ डिसेम्बर ६४
आज छोरी डिनाको जन्म दिन हो । दिउँसो केटाकेटीहरूमा डा. मालारेरकी छोरी, डा. तुलसी गिरि तथा कान्तिका छोराछोरी आएका थिए । माइला भाइको छोरो पनि आएको थियो । डिनाले धेरै उपहार पाई ।
डिना पूरा एक वर्षकी भई । अहिले बाबु, ताल भन्ने भएकी छ । उभिन सक्छे तर हिँड्न सकेकी छैनन् । छोरी दिनदिनै बढ्दै छे । पैले ३ महिनाको हुँदा कोल्टो परेर सुत्न सिकी । अब बोल्ने र हिँड्ने हुन् कति बेर † दिन यसरी बितिरहेछ... यो डायरीका पानाहरू सकिँदै छन्... जीवन छोटिँदै गइरहेछ... !!

प्रकाशित: श्रावण १४, २०७४

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि