साहित्य/विविध - किरातीको बाँसुरी दिवस

गणेश राई
श्रावण १६, २०७४- किराती समुदायमा जब साउन १५ हुन्छ तब बाँसुरी बजाएर मनोरञ्जन लिने चलन छ। त्यही चलनलाई स्मरण गर्दै ‘किराती लोक परम्पराको निरन्तरता : वाम्बुले बाँसुरी दिवस साउन १५’ नाम दिएर राजधानी ललितपुरमा मनाएका हुन्। वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको आयोजनामा पहिलो पटक दिवस मनाएका हुन्। बासुरी बासबाट बनाइने एक किसिमको बाजा हो । यो बाजाले कृषि जीवनको झल्को दिन्छ । किराती समुदायमा जब साउन १५ हुन्छ तब बासुरी बाजा बजाएर मनोरञ्जन लिने चलन छ । त्यही चलनलाई स्मरण गर्दैै ‘बासुरी दिवस’ मनाएका छन् ।

दिवसका अवसरमा गायक तथा संस्कृतिकर्मी बडाजित राई, रामकुमार राई, विकास राई, जीबन राई, श्याम राई र ध्रुव संयम राईले परम्परागत बासुरी बजाएका थिए । त्यसैगरी मोतीलाल राई र विष्णुमाइला राईले मादलमा साथ दिएका थिए । संघीय प्रदेश–१ ओखलढुंगा, खोटाङ, सिन्धुली, उदयपुर जिल्ला दुधकोशी र सुनकोशी संगम आसपासमा बजाइने राम्दले भाकामा बासुरी बजाएका थिए ।
संस्थाका अध्यक्ष गजुरधन राईले लोकपरम्परालाई जिवन्त राख्न पुनःजागरणको प्रयास गरिएको बताए । ‘हामी संस्थागत रुपमा मातृभाषा, साहित्य, संस्कृति र लोकपरम्पराहरुको उठान गर्न चाहन्छौं,’ अध्यक्ष राईले भने, ‘यो बासुरी मनोरन्जको साधन त हुदै हो । यसमा हाम्रो जनजीवनसित साइनो रहेको हुदा त्यो परम्परालाई जोगाउन लागिपरेका हौं ।’
त्यसैगरी कोशकार अविनाथ राईले बासुरीको चलन संसारभरि रहेको तर किराती जनजीवनमा यसको आफ्नै मौलिकपन रहेको बताए । उनले परम्पराको निरन्तरता र त्यसलाई बृहत अन्तरक्रियासमेत हुनेपर्ने उल्लेख गरे ।

‘जब साउन महिना लाग्छ तब समाजका तन्नेरीहरु निगालो, मालिङ्गो (मली) बासको टुप्पोलाई बासुरी, मुरली खिप्न थाल्छन् । चिटिक्क बुट्टेदार बासुरीलाई दार काठको ठेडी हाल्छन् । गोठालो गर्दै गाई, बाख्रा चर्न दिएर एकान्तमा मनले तान बुन्दै बासुरी, मुरली, बिनायो खिप्छन् । साउन १५ देखि भगवान उपवास सकेर गुफाबाट बाहिर निस्किन्छन् । त्यसै दिनदेखि विशेष रहरका साथ तन्नेरी युवा, वयस्तकहरु बासुरी झिेकर पाखापर्वत, खोलाशुंखला नै गुन्जायमान हुने गरी बजाउछन् ।’ विज्ञप्तिमा छ । ‘सृष्टि मुन्धुममा कृषि युगदेखि नै मनोरन्जनको प्रसङ्ग उल्लेख छ । नया अन्न पाकेपछि पितृलाई चढाउनु पर्छ । पितृलाई चढाउनका निम्ति चेली चाहिन्छ । माइती र चेलीको प्रसङ्ग त्यही बेला उठ्छ ।’ विज्ञप्तिमा उल्लेख छ, ‘माइती र चेलीको सुनौलो भेटसगै रमाएर बाजा बजाउदै रमाउने दिनको सुरुवात भएको मुन्धुममा उल्लेख छ ।’

लोकमान्यताअनुसार असार र साउन १४ गतेसम्म धरतीमुनि देउताहरु गुफा बस्छन् । त्यसैले त्यतिखेर बाजाबजाना गर्नु हुन्न । चिच्याउनु, गीत गाउनु हुन्न । कपाल काट्न, कोर्न हुन्न । नङ काट्न हुन्न । जथाभावी फोहरमैला गर्न हुन्न । भगवानहरुले खिर पकाएर खाएका हुन्छ । देउता रिसाउछन् भन्ने मान्यता राख्दछन् । ‘साउन १५ गतेदेखि देउता गुफाबाट बाहिरिन्छन् । खुशियाली मनाउनु पर्छ भनेर बासुरी बजाउने परम्परा रहेको छ । गाउघर, डाडापाखा, वनपाखाहरुमा बासुरी बजाउने गरिन्छ ।’ विज्ञप्तिमा छ ।
‘तिरिहुरी तिति माई मुरली,
बाटैमा भेटें गाई कोरली,
फापरको ढिंडो अरमले साग,
कति राम्रो मुरली सुमधुर राग...’ भनेर बजाउने गर्दछन्,’ वाम्बुले राई जाति पुस्तकमा भनिएको छ, ‘सुनिरहौं जस्तो सुमधुर तालमा बा“सुरी कुर्लिङकुर्लिङ कुर्लिन्छ । आफ्नै मनको भावना वेदना बनेर पोखिएजस्तो । कसै प्रति मोह, प्रेमको आँचल फैलाएजस्तो । आशक्ति प्रदर्शन गरेजस्तो । विशेषतः राम्देल भाकामा शिल्पकला, दमित इच्छा या भनौं आन्तरिक सौन्दर्यभाव कलात्मकता अमूर्तरुपमा प्रस्तुत गरिरहेजस्तो बुझिन्छ ।’ कृषि युगबाट गुज्रिएको किराती वाम्बुले राई समुदायमा साउन १५ गतेका दिनदेखि बा“सुरी बजाउने परम्परा छ ।
प्रकाशित: श्रावण १६, २०७४

http://kantipur.ekantipur.com/news/2017-07-31/20170731080539.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि