कला र शैली - संस्कृति बुझाउन चिन्डो कला

मधु शाही, काठमाडौं

श्रावण १२, २०७४- चिन्डो अर्थात् लौकाजस्तै एक प्रकारको फल। किरात समुदायमा चिन्डोको कति महत्त्व छ भने, योबिना कुनै धार्मिक कार्य अघि बढ्दैन। सोलुका राजकुमार राई चिन्डो खोज्न धेरैपटक धेरै गाउँ डुले। उनलाई चाहिँ दुई सयभन्दा बढी चाहिएको थियो। पूजा गर्न होइन।

‘इन्स्टलेसन आर्ट बनाउन,’ उनले भने, ‘अचेल गाउमा पनि चिन्डो पाउन गाह्रो छ।’ गाह्रो कतिसम्म भने, उनले आखिर भनेजति चिन्डो पाएनन्। अनि माटोलाई चिन्डोको आकार दिन बाध्य भए।
उनको त्यो परिश्रम र सिर्जना बबरमहलस्थित आर्ट काउन्सिलमा अवलोकन गर्न सकिन्छ। त्यहाँ काठमाडांै विश्वविद्यालयमा बीएफए अध्ययनरत अन्य कलाकारका सिर्जना पनि छन्।
ध्यानचाहिँ निश्चय नै राजकुमारको कलाले बढी खिच्छ। त्यो अलि उद्देश्यपूर्ण प्रतीत हुन्छ। चिन्डो
कलामार्फत उनले समग्र किराती सभ्यता र संस्कृति झल्काउने जमर्को गरेका छन्।
चिन्डोहरूलाई उनले डोरीका माध्यमले झुन्डयाएर कलात्मकता दिएका छन्। यो नौलो कलाले पारखीहरूको मन कति तानिरहेको छ भने, आगन्तुकहरू कलाकारको प्रशंसा गर्दै फोटो खिच्नमा
व्यस्त हुन्छन्। 

‘चिन्डो प्रचार भइरहेछ,’ जिज्ञासुहरूलाइ किरात समुदायका लागि महत्त्वबारे अथ्र्याउनबाट एकछिन फुर्सद पाएपछि राजकुमारले सुनाए, ‘धेरैभन्दा धेरैले यसको बारेमा सोधे हुन्थ्यो जस्तो लाग्छ।’

आफ्नो प्रस्तुतिलाई राजकुमारले उँधौली–उँभौली पर्वसँग एकाकार गर्ने प्रयत्न पनि गरेका छन्। उँधौली–उँभौलीमा नाच्ने गरिन्छ, जसको हरेक मुभमेन्टमा किरात कथा समेटिएको हुन्छ। चिन्डो कलामा उनले त्यसैलाई झल्काउने गरेका छन्। उनले परम्परागत पहिरनका टुक्रा कोलाज गरेर राखेका छन्। दिवंगत चित्रकार अर्जुन खालिङका भाइ राजकुमारले कलामा कल्चरल थिम मिसाउन धेरै पछि सुरु गरेका हुन्। ‘अर्जुन दाइले कल्चरमा धेरैपटक काम गर्न आग्रह गरे पनि खासै चासो लागेको थिएन,’ उनले सुनाए, ‘जब अर्जुन दाइ बिते, त्यसपछि त्यो बाटो पछयाउन थालेँ। त्यसबारे अध्ययन गर्न थालेँ। संस्कृतिको महत्त्व बुझ्न थालेँ। किरातीहरू प्रकृति र पुर्खाका पूजक हुन्। हामी युवा पुस्ता संस्कृति पछयाउन त खोज्छौं, तर अर्थै नबुझी।’

प्रदर्शनीमा ग्राफिक कम्युनिकेसनअन्तर्गत अनिल मानन्धर, विशेषता धख्वा, ज्योति श्रेष्ठ, नुरीसा सिंह, शम्भु महर्जन, श्रेया श्रेष्ठका कला छन्। त्यस्तै, स्टुडियो आर्टअन्तर्गत वर्षात जे कार्की, कञ्चन तामाङ, नीलम भुर्तेल, पुष्पा पराजुली, राज कुमार राई, राजा महर्जन, सरला मानन्धर, युनिसा श्रेष्ठका सिर्जना छन्।
प्रकाशित: श्रावण १२, २०७४

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि