समाचार - विश्वसम्पदा सूचीको हनुमानढोका दरबार क्षेत्रभित्र मापदण्डविपरीत भवनलाई महानगरको अनुमति

  • निर्माण रोक्न पुरातत्त्वको पत्र
  • - जुद्धसालिक छेउको बाटो भास्सियो - सेनाको भवनसमेत चर्कियो
दामोदर न्यौपाने, काठमाडौं
श्रावण ६, २०७४-
काठमाडौं महानगरपालिकाले विश्वसम्पदा सूचीको हनुमानढोका दरबार क्षेत्रभित्र मापदण्डविपरीत भवन बनाउन अनुमति दिएको छ । दरबार क्षेत्रको ‘प्रोपर्टी जोन’ मा महानगरपालिकाले भवन बनाउन अनुमति दिएको हो । महर्जन बिजनेस एसोसिएसन प्रालिको नाममा महानगर २४ को कित्ता नम्बर ९४२ मा भवन निर्माण रोक्न पुरातत्त्व विभागअन्तर्गतको हनुमानढोका दरबार हेरचाह अड्डाले पत्राचार गरेको छ । 

पहिला क्रिस्टल होटल रहेको स्थानमा बन्न लागेको व्यावसायिक कम्प्लेक्सको स्वामित्व कृष्णलाल महर्जनको नाममा छ । मापदण्डअनुसार विश्वसम्पदा सूचीका क्षेत्रमा ३५ फिटभन्दा अग्ला संरचना बनाउन पाइँदैन । तर उक्त भवन जमिनमुनिसहित ३ तला बनिसक्दा ३५ फिट नाघिसकेको छ । पहिलेको भवनजत्रै बनाउन महर्जनले अनुमति मागेका छन् । मापदण्डविपरीत भवन बन्न लागेपछि पुरातत्त्व विभागका अधिकृत देवेन्द्र भट्टराईले निर्माण रोक्का गरी विभागमा उपस्थित हुन पत्र काटेका छन् । ‘पुरानो घर भत्काई नयाँ निर्माण गर्ने क्रममा प्लिन्थ लेबल, पहिलो तला र दोस्रो तलाको उचाइ तथा कुल उचाइ मापदण्ड तथा स्वीकृत नक्सामा तोकिएभन्दा बढी हुने गरी निर्माण हुँदै गरेको देखिन आएकाले तत्काल निर्माण रोकी विभागमा सम्पर्क राख्न अनुरोध गर्दछु ।’
जमिनमुनि बनाउने बेलामै मापदण्डविपरीत भएको भन्दै पुरातत्त्वले महानगरलाई पत्राचार गरेको थियो तर काम रोकिएन । ‘पुरातात्त्विक मापदण्डविपरीत भएकाले रोक्न हामीले महानगरलाई पत्राचार गर्‍यौं,’ हनुमानढोका दरबार हेरचाह अड्डाकी प्रमुख अरुणा नकर्मीले भनिन्, ‘तर काम रोकेर कारबाही गरेको जानकारी हामीलाई दिइएन । उल्टै भवनको तला थप्ने काम भइरह्यो ।’ विश्वसम्पदा क्षेत्रमा अन्डरग्राउन्ड संरचना बनाउन नपाइने नकर्मीले बताइन् । ‘हामीले जमिनमुनिका संरचना बनाउन पाइँदैन भनेर त्यतिबेलै भनेका थियौं,’ नकर्मी भन्छिन्, ‘तर अन्डरग्राउन्ड संरचना बनाइयो । कि अग्लो बनाउन दिनुस्, नत्र अन्डरग्राउन्ड बनाउन दिनुस् भन्ने माग घरधनीको थियो । यी दुवै गर्न मिल्दैन ।’
दरबारसँगै जोडिए पनि जमिनमुनि डोजर लगाएर भवन बनाइएको थियो । त्यस क्रममा पुरातात्त्विक संरचनाको जग हल्लिने, पुराना धारा सुक्ने जस्ता समस्या आउने नकर्मीले बताइन् । ‘हामीले महानगरलाई पनि पत्र काटेर मापदण्ड सम्झाइदियौं,’ नकर्मी भन्छिन्, ‘त्यसैअनुसार महानगरले नक्सा पास गरोस् । नत्र विश्वसम्पदालाई असर गर्छ ।’ सर्वसाधारणले पूजा गर्दै आएको गणेश र कुमारीको मन्दिरसमेत यही घरभित्र परेको थियो । घर भत्काउने क्रममा कुमारीको मूर्ति जोगाइदिन स्थानीयवासीले माग गरेका थिए । तर मन्दिर पुरिन लागेपछि सर्वसाधारणले मूर्तिबारे चासो राख्दा कुमारी र गणेशको मूर्ति घरभित्र पारेको पत्ता लागेको थियो । स्थानीयवासीले यसबारे खोजी गर्न पुरातत्त्व विभागमा गत वर्षको असार ८ मा उजुरी दिएका थिए । विभागले अध्ययन गरेर रायसहित प्रतिवेदन पेस गर्न हनुमानढोका दरबार हेरचाह अड्डालाई निर्देशन दिएको थियो । संरक्षण अधिकृत नारायण कार्कीसहितको टोलीले कुमारी मन्दिर निजी प्रयोजनमा प्रयोग गरेको प्रतिवेदन दिएको थियो । 
पहिले जस्ताको छानो भएको मन्दिरमा पूजा गर्न सर्वसाधारणको घुइँचो लाग्थ्यो । स्थानीयवासी शैलेश शाक्य भन्छन्, ‘हेर्दाहेर्दै यहाँ भवन बन्यो । मन्दिर पनि भित्र पर्‍यो । हामीले पनि त्यतिबेला वास्तै गरेनौं । पछि खोज्दा घरभित्र रहेछ । अहिले त्यो मूर्तिको अवस्था के छ पत्तो छैन । छोपेर घर निर्माण गरिरहेका छन् ।’
कार्कीले तयार पारेको प्रतिवेदनअनुसार कुमारी मन्दिर वरिपरि ठूला बोरिङ बनाइएका थिए । पहिला जस्ताको छानो भएकामा हटाएर ढलान गरिएको छ । ‘कुमारीको दर्शन गर्न जाने बाटो बन्द गरी पसल कबल राखेको देखिन्छ । बाटोमा रीतु जेम्स एन्ड ज्वेलरीको पसल छ । दर्शन गर्न जाँदा गार्डसँग अनुमति लिएर सटर खोलेर जानुपर्ने अवस्था छ,’ अड्डाले पेस गरेको प्रतिवेदनमा उल्लेख छ । 
‘पहिला अग्लो थियो भन्दैमा अहिले पनि यसलाई अग्लो बनाउन दिइयो भने गलत नजिर बस्छ,’ स्थानीयवासी गणपतिलाल श्रेष्ठ भन्छन्, ‘पहिलेजत्रै बनाउँछु भन्न थालियो भने सम्पदाप्रेमी चुप लागेर बस्दैनन् । यसलाई तुरुन्त भत्काउनुपर्छ । नत्र हामी आन्दोलनमा उत्रन्छौं ।’ महर्जनले भने कुमारीको मूर्ति आफ्नो निजी देवता भएको दाबी गर्दै आएका छन् । पछि पुरातत्त्व विभागसँग भएको छलफलमा घर बनाउनुअघि हनुमानढोका दरबार क्षेत्रमा मूर्ति बुझाइदिने र बनाइसकेपछि मूर्ति राम्रो गरी राख्ने सहमति भएको थियो । त्यो सहमति पनि महर्जनले पालना नगरेको शाक्य बताउँछन् । महर्जन आफूले मन्दिर नमिचेको दाबी गर्छन् । ‘यो घर बनेको ७०/८० वर्ष भयो,’ महर्जन भन्छन्, ‘त्यही बेलादेखि भत्केको भवन उस्तै अवस्थामा थियो । त्यो मन्दिर पनि त्यही अवस्थामा थियो । हामीले मिचेका होइनौं ।’
यही भवनको बाहिरपट्टि नासल देवताको मन्दिर छ । उक्त मन्दिर भने सर्वसाधारणका लागि खुला छ । शाक्यका अनुसार यो मन्दिर पनि पहिले बाहिरै थियो । पछि सार्वजनिक जग्गा अतिक्रमण भएपछि भवनभित्रै परेको छ । क्रिस्टल होटलको भवन भत्केपछि हनुमानढोका दरबार क्षेत्र न्यूरोडबाटै छ्याङ्गै देखिन्थ्यो । अहिले यो भवन बनेपछि दरबार क्षेत्र छोपिएको छ । भवन बनेपछि जुद्ध सालिकछेउको बाटो भास्सिएको छ । दरबार क्षेत्र सुरक्षाका लागि बसेको सेनाको भवन पनि चर्किएको छ । काठमाडौं महानगरपालिकाले भने यसबारे अध्ययन गरिरहेको जनाएको छ । ‘विस्तृतमा थाहा भएन,’ वडा नं. २४ का सदस्य विनोद तुलाधरले भने । 
प्रकाशित: श्रावण ६, २०७४


http://kantipur.ekantipur.com/news/2017-07-21/20170721075938.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि