कोपिला - कोरियाका नानीबाबु !

गणेश राई, काठमाडौं
जेष्ठ २१, २०७४- वाह छुट्टी ! शनिबार र आइतबार । नोरिफुङवान अर्थात् बच्चाको बगैंचा जाने । कत्ति रमाइलो । बुवा–आमासँगै घुम्न पाइन्छ । खेल्न पाइन्छ । सिक्न पाइन्छ । भएन त मज्जा !
यसरी खेल्न पाउने साथीहरू हुन्, दक्षिण कोरियाका । यहाँ हरेक मे ५ मा बालदिवस मनाइन्छ । यस दिन अभिभावकले उपहार दिन्छन् । चिडियाखाना वा संग्रहालय घुम्न लैजान्छन् । फिल्म, नाटक हेराउँछन् । परम्परागत खेल खेल्छन् । यस दिन बालबालिकाले कतै प्रवेश शुल्क तिर्नुपर्दैन । 

यही क्रममा समुद्री किनारामा नानीहरू भेटिए । सानो पानीजहाज चढ्न निकै मज्जा आउने रहेछ । जहाज कुदेसँगै हाँसको बथानले पछयाउँदा रहेछन् । मानिस ती चरालाई माछा खुवाउँदा रहेछन् । सात वर्षीय ली यन्साल आमासँगै चरालाई माछा खुवाइरहेका थिए । उता अरू साथीहरू बेलुन खेलिरहेका थिए । तल भुइँमा ३ वर्षकी किम अन्बी चिप्लेटी खेलिरहेकी थिइन् । झाङ यरिम र उनका साथीहरू चंगा बोकेर चौरतिर दौडिरहेका थिए । कतिको पोसाक एकनास पहेंलो थियो भने कतिले आफ्नै रुचिअनुसारका पहिरन लगाएका थिए । 

यहाँ स–सानोदेखि ठुल्ठूला चिल्ड्रेन पार्क छन् । साना साथीहरू अभिभावकसँगै बसेर खेल्छन्, रमाउँछन् । उनीहरूलाई सार्वजनिक स्थलमा केके गर्नुपर्छ भन्नेबारे जानकारी दिइन्छ । जस्तो कि, हरेक कुरा आलोपालो गर्नुपर्छ । लाइन लागेर पालो कुर्नुपर्छ । अरूलाई अभिवादन गर्नुपर्छ । साथीसँग मिलीजुली खेल्नुपर्छ । सुरक्षामा सचेत रहनुपर्छ । 
कोरियाली नागरिकसित विवाह गरेकी नेपाली बाला राई यहाँका बालबालिकालाई सरकारले निकै ध्यान दिएको बताउँछिन् । उनी भन्छिन्, ‘बालबालिका जन्मेको ६ महिनादेखि नै प्ले गु्रपमा राख्ने चलन छ । कामकाजी आमाबाबुका निम्ति सरकारले सुविधा दिएको छ । बच्चाको हेरचाह गर्ने दक्ष र लाइसेन्स प्राप्त शिक्षक हुन्छन् । नानीहरूलाई कसरी स्याहारसुसार गरेको हुन्छ भन्नेबारे सीसी क्यामेराले खिचिरहेको हुन्छ ।’ 
हरेक टोल र अपार्टमेन्टमा नोरिथ (खेल्ने ठाउँ) हुन्छ । त्यहाँ पिङ, चिप्लेटी आदि हुन्छन् । डिपार्टमेन्ट स्टोर र मार्टहरूमा पनि बालबालिका खेल्ने ठाउँ हुन्छ । पैसा तिरेर पनि खेलाउन सकिन्छ । ट्रेन चढ्न मन लागे समुद्री किनारामा जान सकिन्छ । त्यहाँ बालुवा र पानीमा खेल्न पाइन्छ । आमा–बाबुले छोराछोरीलाई पनि पुस्तकालय लैजान्छन् । किताब पढेर सुनाउँछन् । पढ्न प्रेरित गर्छन् । 

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक शरणहरि श्रेष्ठ यतिखेर कोरियाको छाङवन नेसनल युनिभर्सिटीमा पीएचडी गर्दै छन् । उनी त्यही युनिभर्सिटीमा बाल विशेषज्ञका रूपमा काम पनि गर्छन् । युनिभर्सिटीकै किन्डर गार्डेनका बालबालिकालाई सातामा एक दिन कथा सुनाउँछन् । ‘शनिबार र आइतबार स्कुल छुट्टी हुन्छ,’ आफ्नै छोरासमेत त्यही गार्डेनमा पढाइरहेका यी अभिभावक भन्छन्, ‘छुट्टीको बेला छोराछोरीलाई घुमाउन लैजानुपर्छ ।’ सात वर्षसम्मका बालबालिकालाई किन्डर गार्डेनमा खेलका माध्यमबाट सिकाइन्छ । उनीहरू चित्र बनाउँछन् । माटोको खेलौना बनाउँछन् । अनेक किसिमका सिर्जनात्मक काम गर्छन् । बालबालिकाका त्यस्ता गतिविधिमा अभिभावकसमेत सहभागी हुनुपर्छ । आठ वर्षदेखि मात्र औपचारिक रूपमा लेखपढ सुरु हुन्छ । 
प्रकाशित: जेष्ठ २१, २०७४



http://kantipur.ekantipur.com/printedition/news/2017-06-04/20170604102658.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि