फिचर - अँध्यारोमै राष्ट्र गीतका रचनाकारको गाउँ

गणेश राई र कुम्भराज राई, हिलेपानी (ओखलढुंगा)

असार ६, २०७४- सम्साँझै टुकी बाल्नु पर्ने घर सायदै छन् । प्राय घरहरुमा सोलार बत्ती जोडिएका छन् । साँझ पर्नासाथ धिपधिपे उज्यालो बलेको देखिन्छ । तर, रात छिप्पिंदै जाँदा सोलारको चार्ज सकिएपछि अँध्यारोमा परिणत हुन्छ । यस्तै छ, हिलेपानी सोक्मटार गाउँ । दुधकोसी र सुनकोसी संगम बीचको गाउँ हो यो । 
पूर्वोत्तरबाट बग्दै आएकी दुधकोसी किनारामा सोक्मटार गाउँ छ भने पश्चिम–दक्षिणबाट पूर्वतर्फ बग्दैआएकी सुनकोसी नदीले हिलेपानी गाउँलाई छुन्छ । सोक्मटारदेखि करिब पाँच किलोमिटर मुनि दुधकोसी नदी सुनकोसीमा मिसिन्छ । यी दुई नदी उहिल्यैदेखि बगिरहेका छन् । जलसम्पदाले घेरिएको गाउँमा भने खानेपानीको अभाव छ । बिजुली बत्तीको अभाव छ । यही हो, राष्ट्रिगानका रचयिता व्याकुल माइला (प्रदीपकुमार राई)को जन्मथलो । 

२०६२/०६३ को जनआन्दोलनले दुईसय वर्ष लामो शाही शासन हटायो । लोकतन्त्र आयो । लोकतन्त्रमा नयाँ राष्ट्रिय गान आयो । तर, त्यही राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको जन्मगाउँमा भने उज्यालो आउन सकेन । यहाँको मानेभन्ज्याङ गाउँपालिका–६ (साबिक थाक्ले गाविस)मा पर्ने हिलेपानी गाउँ अहिले पनि अन्धकारमै छ । 
यो गाउँलाई सडकमार्गले छोएको छ । कटारी–ओखलढुंगा–सोलु सडक र मध्यपहाडी लोकमार्ग यही गाउँलाई छोएर तन्किएको छ । सडकको विकाससँगै जीवनस्तर पनि उक्सिँदैछ । तर वर्षौँदेखि पहल गरेपनि गाउँमा बिजुली आउन सकेको छैन । दुधकोसी या सुनकोसीको पानीबाट बिजुली उत्पादन सम्भावना कहीं कतैबाट पहिल्याउने काम भएको छैन । 

जिल्लाको धेरै क्षेत्रमा स्थानीय स्तरमा उत्पादित विद्युतले गाउँघर झलमल्ल छन् । बाँकी ठाउँमा केन्द्रीय विद्युत प्रसारण पनि विस्तार भइरहेका छन् । तर यस क्षेत्रमा विद्युत विस्तार नहुँदा राष्ट्रियगानका सर्जक जन्मिएको गाउँलेसँगै स्वयं माइलाको परिवारलाई उज्यालोले छुन सकेको छैन । ‘केही वर्ष पहिलेसम्म धेरैले मट्टितेलको टुकी बाल्थ्यौं,’ स्थानीय कल्पना राईले भनिन्, ‘अहिले धेरैजसोले चै सोलार बाल्दै आएका छन् । गाउँमा बिजुली आएको त हामीले सपनामा पनि पो देखेका छैनौँ ।’ 
जिल्लाको दुईतिरबाट केन्द्रीय विद्युत प्रसारण जडान शुरु भएको छ । एकातिर खोटाङको बुइपादेखि ओखलढुंगा ३३ केभी प्रसारण लाइन विस्तार भइरहेको छ । अर्कोतिर रामेछाप मन्थलीदेखि साँघुटार हुँदै पश्चिमी क्षेत्रबाट विद्युतीकरणका काम थालिएका छन् । ती दुवै योजनाले साविकको थाक्ले गाविसमा पर्ने सोक्माटार, हिलेपानी, थाक्ले, जाक्मा जस्ता गाउँ छुटेका छन् । 
नेपाल विद्युत प्राधिकरणले भने साविकका २९ गाविसमा राष्ट्रिय विद्युत प्रसारण लाईन विस्तार हुने जनाएको छ । विद्युत प्राधिकरणले ती गाविसमा लाईन विस्तार गर्ने अन्तिम तयारी गरेको हो । केही दिनमै कुन कुन गाविस र बजेट कति भन्ने स्पष्ट हुने विद्युत प्राधिकरण ओखलढुंगाका प्रमूख ओमप्रकाश साह उल्लेख गर्छन् । 
गाविस अनुसार बजेट तलमाथि हुनसक्ने जनाइएको छ । तैपनि काम शुरु भएपछि केही वर्षभित्रै २९ गाविसमै विद्युत सुचारु हुनेछ । हाल सिद्धिचरण नगरपालिकाको ८० प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइन विस्तार भइसकेको छ । त्यसैगरी मोली, भदौरे, ठूलाछाप, दियाले, पोखरे, कुईभीर र सेर्नामा समेत लाईन बिस्तारसँगै केही घरधुरीमा जडान भइसकेको छ ।
विद्युत विस्तार बढ्दै गएपनि सदरमुकाममा १३ वर्षअघि निर्माण शुरु गरिएको सबस्टेशन निर्माण भने अझै सकिएको छैन । हुलास स्टिल कम्पनीले ठेक्का लिएको सबस्टेशनको काम ढिलो गरी हाल भइरहेको छ ।
विद्युत प्राधिकरण ओखलढुंगाका प्रमूख ओमप्रकाश साहले प्राधिकरणले एकै पटक पोल, तार र ट्रान्सफर्मर विस्तारका लागि बजेट नआउने भएकोले हतारमा बाल्न चाहने गाविसलाई उनीहरुबाटै स्रोत जुटाएर किन्न लगाएको बताए । उनले प्रक्रियालाई पर्खेर बस्ने गाविसमा ट्रान्सफर्मर प्राधिकरणले नै व्यवस्था गर्ने समेत बताए ।
हिलेपानी र सोक्मटार गाउँका युवाले झण्डै दशकदेखि खेलकुदका माध्यमबाट विकास अभियान थालेका छन् । तर, बिजुली उत्पादनमा उनीहरुको पहुँच पुग्न सकेको छैन । 

सरकारले प्राथमिकतामा पार्न सक्नुपर्छ : व्याकुल माइला

हिलेपानी गाउँ मेरो जन्मथलो हो । दुधकोसी र सुनकासी संगम यहीं छ । यिनै नदी आसपासमा ओखलढुंगा, खोटाङ, उदयपुर र सिन्धुली जिल्ला पर्छन् । दुई कोसीलाई हेर्ने, पौडी खेल्ने र माछा मार्ने काम मात्रै भइरहेको छ । बिजुली निकाल्ने कुनै सोच बनेजस्तो लाग्दैन । 
यो गाउँ ठाउँमा केही सक्नेले सोलार बाल्नु भएको हुनसक्छ । तर अधिकांश घर अझै अँध्यारै छ । मध्यपहाडी लोकमार्ग आएपछि यो ठाउँको भाग्यरेखा बनेको छ । यहाँबाट मध्यपहाडी लोकमार्ग हुँदै करिब दुई घण्टामा हलेसी पुग्न सकिन्छ । सूचना प्रविधि, सडक यातायातले सहरउन्मुख हुँदाहुँदै पनि यहाँ पूर्वाधारको विकास जुन रुपमा हुनुपर्ने हो भएको छैन । सामाजिक विकास जति हुनुपर्ने भएको छैन । सतही रुपमा प्रभाव परेको छ । यद्यपि यो ठाउँको विकासको लागि ‘खेलकुदको माध्यमबाट विकास अभियान’ भन्ने नारासहित यहाँका युवाहरुले मेरै नाममा फुटबल प्रतियोगिता ‘व्याकुल माइला गोल्ड कप’ आयोजना गर्दैआएका छन् । छैटौं संस्कृति हालैमात्र सम्पन्न भएको छ । 
यो गाउँमा २०३० सालको दशकभित्र यो गाउँमा रोम्दोखोला सिचाईको व्यवस्था भएको थियो । करिब पन्ध्र किलोमिटर उत्तर–पूर्वको खोलाबाट ल्याइने कुलो दीगो हुन सकेन । त्यही रोम्दो खोलाबाट अहिले आर्थिक वर्ष २०७३/७४ को बजेटमा खानेपानी तथा सिंचाई योजना पर्न गइरहेको अवस्था छ । त्यो सफल भयो भने खानेपानीको व्यवस्था हुनसक्छ । सिंचाईको अभाव छ । यो सुख्खा ठाउँमा नगदे बालीको रुपमा सुर्ती लगाउने काम उहिल्यैदेखि भइरहेको छ । मध्यपहाडी सडकले छोएकोले यहाँ बजार बनिरहेको अवस्था छ । त्यसैले सिंचाईको व्यवस्था भएमा यहाँ व्यवसायिक तरकारी खेती, विभिन्न खाद्यान्नबाली उब्जिनसक्छ । जसले गर्दा यहाँको जीवनस्तरलाई सुधार्न सकिन्छ । सरकारले यो सुन्दर ठाउँ र यहाँका बासिन्दालाई प्राथमिकतामा पार्नसक्नु पर्छ । र मेरो पहल यसैमा केन्द्रित हुनेछ ।
प्रकाशित: असार ६, २०७४

http://kantipur.ekantipur.com/news/2017-06-20/20170620182734.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि