साहित्य/विविध - वाम्बुले राई स्रष्टा सम्मान

कान्तिपुर संवाददाता , ललितपुर
फाल्गुन १, २०७२- किराती वाम्बुले राई भाषाका कोशकार तथा नेपाल सरकारका उपसचिव अविनाथ राईलगायत समाजका विशिष्ट व्यक्तित्वलाई सम्मान प्रदान गरिएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको साधारण सभा तथा दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा सम्मान प्रदान गरिएको हो । किरात राई यायोक्खाका उपाध्यक्ष चन्द्रविक्रम राई र वाम्रासका केन्द्रीय अध्यक्ष हिराकाजी राईले शनिबार ललितपुरको महालक्ष्मी नगरपालिका–१६ इमाडोलमा आयोजित समारोहमा उक्त सम्मान प्रदान गरेका हुन् ।

सम्मानितहरू दिलकुमारी राई, कर्णबहादुर राई, तिखबीर राई, बीरेन्द्र लाखे, द्वारिका सत्याल र देवहरि बराल छन् ।  २०५४ सालमा स्थापित उक्त वाम्रास संस्थाको गतिविधि तथा विकासमा निरन्तर योगदान पुर्‍याएकाले सम्मान गरिएको संस्थाका उपाध्यक्ष पत्रकार गजुरधन राईले जनाए । उक्त संस्था स्थापनापछि वाम्बुले भाषा, साहित्य, मुन्धुम संस्कृति, परम्परा तथा इतिहास अभिलेखिकरण भएको छ ।

वाम्बुले राईहरुको मुल थलो ओल्लोकिरात र माझकिरात ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुलीलगायत जिल्ला हो । राष्ट्रिय जनगणना २०६८ अनुसार वाम्बुले भाषा बोल्नेको संख्या १३ हजार ४ सय ७० रहेको छ । देश–विदेशमा गरी ५० हजारभन्दा बढी वाम्बुले राईहरुको जनसंख्या रहेको वाम्रास संस्थाको दावी छ । सम्मेलनमा संस्थाको ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुली, सुनसरी, धनकुटा, सर्लाही, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ जिल्ला कार्यसमितिका प्रतिनिधि पर्यवेक्षक गरी करिब डेढ सयजना सहभागी छन् ।

त्यस अवसरमा संस्थाका अध्यक्ष राईले वाम्बुले राईहरु बीच आपसी एकता कायम गरी वाम्बुले राई समाजलाई एक समुन्नत, आदर्श तथा मर्यादित समाजको रुपमा विकास गर्ने मूल उद्देश्यसहित स्थापना भएको बताए । यायोक्खाका उपाध्यक्ष चन्द्रविक्रम राईले किराती जातिको साझा पहिचान निर्माणमा एकताको आवश्यकता रहेको बताए । साथै, संस्थाका सल्लाहकार पुष्पहरि क्याम्पाराई, कोषाध्यक्ष जीवन हाताचो राईलगायतले विचार व्यक्त गरेका थिए ।

प्रकाशित: फाल्गुन १, २०७२
http://kantipur.ekantipur.com/news/2016-02-13/20160213201613.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि