समाचार - मातृभाषा बचाउन जुट्दै युवा

गणेश राई, काठमाडौं
चैत्र ८, २०७२- विश्वमा सबैभन्दा बढी कुन भाषा बोलिन्छ ? अल्पसंख्यक किराती वाम्बुले राई भाषाका वक्ता युवाहरुले जवाफ दिए– ‘अंग्रेजी ।’ तर, होइन सबैभन्दा धेरैले बोल्ने भाषा मन्दारिन हो । जुन चीनका १ अर्बभन्दा बढी मानिसले बोल्दछन् । विश्वमै दोस्रोमा स्पेनिस भाषा बोलिन्छ । त्यसपछि तेस्रो स्थानमा अंग्रेजी रहेको छ । यो भाषा ३६ करोड जतिले बोल्दछन् । विश्वमा साढे छ हजार भाषामध्ये हिन्दी, अरबी, जापानी, पन्जाबीलगायत दसौं स्थानमा भाषाहरु हुन् ।

किराती वाम्बुले (ओम्बुले) राई भाषा र लिपि लेखन प्रशिक्षणमा कोशकार अविनाथ राईको सवाल र जवाफमा यी संवाद भएको हो । ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुली जिल्ला मुल थलो रहेको वाम्बुले राईहरुले राजधानीको इमाडोलमा मातृभाषा प्रशिक्षणका क्रममा यसरी संवाद गरेका हुन् । नेपालमा बोलिने १ सय २३ भाषा बोलिन्छ् । तीमध्ये किराती समूहमा रहेको वाम्बुले राई भाषा एक हो । यसको वक्ता संख्या करिब १४ हजार रहेको छ । ‘भाषा कसैको पेवा होइन, सबैको सम्पत्ति हो,’ कोशकार राईले भने, ‘मातृभाषा र संस्कृति हाम्रो पहिचान हो । तर यसरी अल्पसंख्यकले बोल्ने भाषा चाँडै लोप हुनेछ । तैपनि यो भाषा बोल्ने, लेख्ने हामी भएकोले सकेसम्म भाषाको आयु बढाउनु हाम्रो कर्तव्य हो ।’ उनको शब्दमा मातृभाषाको वक्ता गाउँघरमा मात्र सीमित हुनु, मातृभाषाको महत्वपूर्ण जनचेतनाको कमी हुनु, व्याकरण निर्माण र पाठ्यसामग्री नहुनु कमजोरी हुन् ।
वाम्बुले भाषामा अन्तष्फोटक शब्द रहेका छन् जुन सम्बन्धित वक्ताबाहेक अरुले उच्चारण गर्न जान्दैनन् । त्यसैले पनि यो भाषा चाँडै लोप हुनेमा पर्दछ । वाम्बुले राई शब्दकोश प्रकाशित छ । त्यसैगरी निबन्ध, कथा, कविता, नाटक, संस्कार, संस्कृतिका डेढ दर्जन कृति प्रकाशित छन् । आधा दर्जन पत्रपत्रिका, तीनवटा गीति एलबम, त्यत्ति नै संख्यामा चलचित्र र वृत्तचित्र बनेका छन् । ‘हामी भाषा र संस्कृति जोगाउन जागरण अभियान थालेका छौं,’ आयोजक संस्था वाम्बुले राई समाज (वाम्रास)का अध्यक्ष तथा पत्रकार गजुरधन राईले भने, ‘अभियानको अगुवाई वाम्बुले युवाहरुले गर्दैछन् । जसले गर्दा वाम्बुले भाषाको आयु लम्बिने छ ।’ यद्यपि भाषाशास्त्रीले आगामी पचास वर्षभित्र नेपाली भाषाको स्थिति खस्किने बताइरहेका छन् ।
प्रकाशित: चैत्र ८, २०७२
http://kantipur.ekantipur.com/news/2016-03-21/20160321211115.html?

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि