ब्लग- मध्यपहाडी लोकमार्गको यात्रामा उच्च जोखिम

  • ट्राफिक ‘टाइमकार्ड’को रन्को
गणेश राई, हिलेपानी (ओखलढुंगा)
आश्विन १८, २०७३- मध्यपहाडी लोकमार्ग काठमाडौंबाट पूर्वी पहाड छिचोल्ने एकमात्र भरपर्दो सडक हो । यो राष्ट्रिय गौरवको आयोजना भएकाले आम मानिसलाई भरपर्दो लाग्ने नै भयो ।

विशेषगरी काठमाडौंदेखि धुलिखेलसम्म अरनिको राजमार्ग रहेको छ । धुलिखेलदेखि सिन्धुलीको खुर्कोटसम्म बीपी राजमार्ग फैलिएको छ । खुर्कोटदेखि पुष्पलालमार्ग सुरु हुन्छ । उदयपुर हुँदै सुनकोसी तरेर ओखलढुंगातर्फ करिब १७ किलोमिटर सडक पार्दै दूधकोसी किनारा जयरामघाट पुगिन्छ । त्यसपछि मध्यपहाडी लोकमार्ग टुंगिन्छ किनकि दूधकोसीमा पुल बनेको छैन । हिउँदमा बेलिब्रिज हाल्ने गरिएको छ । 
यसरी अहिले मध्यपहाडी लोकमार्ग भएर खोटाङसम्मका जनजीवनलाई राहत दिँदै आएको छ । दसैंअघि यात्रा गर्दा यो मार्ग ज्यादै जोखिम रहेको पाइएको छ । यसपटक अधिक पानी परेकाले सिन्धुलीको खुर्कोटदेखि पूर्वतर्फ दूधकोसीसम्मको सडक जीर्णप्राय: छ । धेरै ठाउँमा पहिरोले पुरिएका छन् । सम्म परेका केही भागको माटो सोहोरिएका छन् भने अधिक पहरा भएका सडकमा जगैसमेत भत्किएका छन् । मर्मत भएका छैनन् ।
सिन्धुली र उदयपुर सीमा बहादुरा खोलामा अहिलेसम्म पुल बनेको छैन । बहादुरा खोलादेखि सुनकोसी पुलसम्मको करिब पाँच किलोमिटर घुर्मीबजार खण्ड सबैभन्दा जोखिम बनेको छ । खोलाबाट उक्लिने बाटोमा ठूलो ढुंगा काटेर सडक लगिएको छ । यही ढुंगा खतराको विन्दु बनेको छ । किनभने मोटरको चक्का माटोबाट ढुंगामाथि चढाउनु पर्ने र ओर्लिने ठाउँमा खाल्डो बनेको छ । त्यसपछि भीरको कच्ची बाटो माथिबाट पुरिएका माटो सम्याइएको छैन । सडकमार्ग घुमाउरो र अव्यहारिक छ । त्यसैगरी सिन्धुली बहादुरा खोला नपुग्दै पश्चिमतर्फ सडक माथिबाट पहिरोले पुरिएका छन् भने कतिपय ठाउँमा सडकको जगसमेत लडेका छन् । यही सडकखण्डको नारिमखोला र सुर्केखोलामा अहिलेसम्म पुल बनेको छैन ।
यतिखेर दसैं चाड मनाउने यस भेगका मानिस घर फर्किरहेका छन् । दसैंको यात्रा जोखिमपूर्ण नै हुन्छ । कथंकदाचित सवारी साधन दुर्घटना भएमा यसको जिम्मेवारी कसले लिने भन्ने यकिन छैन । योपालीको झरीले लोकमार्ग भत्किनु नियमित आकस्मिकतामात्र हो या यो सडकको डिजाइन गर्ने इन्जिनियरको कमजोरी हो । भत्किएकै सडकमा जबर्जस्त सवारी साधन गुडाउनुलाई यातायात व्यवसायीले यात्रुको सहजताका निम्तिमात्र जोखिम मोलेको जवाफ दिन्छन् । सडक विभाग, पुल नबनेकोमा ठेकेदारलाई दोषारोपण गर्छ । राष्ट्रिय गौरवको आयोजना भनेको राज्यले हरेक वर्ष पहिलो प्राथमिकतामा पारेको आयोजना हो । तर, मध्यपहाडी लोकमार्गको यसरी अव्यस्थित ढंगले सञ्चालन हुनु सरकार र सम्बन्धित निकायको गम्भीर लापरबाही हो ।
ट्राफिक ‘टाइमकार्ड’को रन्को
जिल्ला ट्राफिक प्रहरी, सिन्धुली र बीपी राजमार्ग यातायात सेवा समितिको संयुक्त सहकार्यमा ‘सवारी आवागमन समय तालिका’ लागू भएको निक्कै भइसकेको छ । साना सवारी साधन (जिप, कार, माइक्रोबस)का निम्तिसमय तालिका लागू गरिएको हो । 
भिमान–सिन्धुली चेकपोष्ट १८ किमि ३० मिनेट, सिन्धुली चेकपोष्ट–खुर्कोट ३९ किमि १ घण्टा ३० मिनेट र खुर्कोट–दुम्जा ३८ किमि १ घण्टा १० मिनेट तोकिएको छ । ‘पुनश्च: यस टाइमकार्डमा उल्लेख गरिएको समयको पालना नगरी तोकिएको समयभन्दा अगावै पुग्ने सवारी साधनलाई तोकेको समयसम्म रोकेर राखी तीव्रगतिमा सवारी साधन चलाएको कसुरमा हदैसम्मको कारबाही गरिनेछ,’ टाइमकार्डमा उल्लेख छ । 
जापान सरकारको सहयोग बनेको बीपी मार्ग केही साँघुरो भयो भन्ने गुनासो कायमै छ । बन्ने क्रममा केही सवारी दुर्घटना भएका थिए । सडक बनेयता जहाँनिर खतरा छ, त्यहाँ ट्राफिक चिह्न राखिएका छन् । त्यही खतरालाई न्यूनिकरण गर्न ‘टाइम कार्ड’ लागू गरिएको जिल्ला ट्राफिक प्रहरी सिन्धुलीको दावी छ । तर, रहस्य भने अलिक फरक किसिमले खुलेको छ ।
‘तपाईंहरु नभए हाम्रो व्यवसाय कसरी चल्छ दाजु,’ खुर्कोट–दुम्जा रुटका एक होटेल व्यवसायीले भने, ‘यातायात सेवा समितिले धन्न हाम्रो अनुरोध बुझेर ट्राफिक प्रहरीले टाइमकार्ड लागू गरेपछि व्यवसाय चलेको छ ।’ यो ३८ किमि क्षेत्रफलमा दुई दर्जनभन्दा बढी होटेलहरु खुलेका छन् । यात्रु रोकेबापत गाडी चालकलाई लेबी बुझाउने चलन पुरानै हो । ‘टाइमकार्ड’ लागू हुनुको रहस्यचाहिँ दुर्घटना न्यूनिकरण हुनुभन्दा पनि होटेल व्यवसायीले इच्छाअनुसार न्यूनतम मासिक लेबी बुझाउने गरेका रहेछन् । बीपी राजमार्ग यातायात सेवा समितिलाई र समितिमार्फत् कार्यान्वयन गराउने निकायलाई बुझाउने गरेको व्यवसायीले स्वीकारेका छन् । यद्यपि प्रष्ट खुल्न भने चाहेका छैनन् । 
‘ड्राइभरले आफ्नो रफ्तार छोड्दैनौं तर के गर्ने टाइमकार्ड लिएपछि जतिसुकै रफ्तारमा कुदाए पनि एक ठाउँमा आधा घण्टा जति बिसाएर समय गुजार्नुको विकल्प छैन,’ नेपालथोक चेकपोष्टमा भेटिएको एक चालकले भने, ‘यसो गर्दा यात्रु जतिसुकै हतारमा भए पनि उनीहरुले भात, खाजापानी गरेपछि व्यवसायी पनि खुशी हुन्छन् । हामीले जस पनि पाउँछौं ।’
 
राजधानीबाट बिहानै गुड्ने सवारी साधन करिब दश बज्दा यस ‘टाइमकार्ड’ क्षेत्रमा पुग्छन् । आधा घण्टा समय गुजार्नु परेपछि यात्रुलाई खाना खान सुझाउँदै होटेलमा बिसाउँछन् । त्यसैगरी पूर्वतर्फ सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, खोटाङ वा तराईबाट राजधानी आउनेहरु दश–एघार बजेतिर ‘टाइमकार्ड’ क्षेत्रमा आइपुग्छन् । बाध्यता, उही समय र आम्दानीसित जोडिन्छ । यसरी ‘टाइमकार्ड’ले सीमित व्यक्तिलाई लाभ पुग्दै आएको छ । 
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब निरीक्षक बद्री पुडासैनी असारदेखि लागू भएको ‘टाइमकार्ड’ले दुर्घटना घटेको दावी गरे । ‘टाइमकार्ड लागू भएपछि अहिलेसम्म कुनै किसिमको ठूलो दुर्घटना नहुनु यसको प्रभाव हो,’ सकारात्मक प्रभावबारे उल्लेख गर्दै पुडासैनीले कान्तिपुरसित टेलिफोनमा भने, ‘टाइमकार्ड ड्राइभरको हातमा पर्नु भनुको हरेकचोटी हातैमा ट्राफिक बसेजस्तै हो । जसले गर्दा सचेत तुल्याएको मात्र होइन पुनर्ताजगीसमेत गराएको छ ।’ यातायात व्यवसायी समिति र ट्राफिकबीच मिलेमतो हुने विषयलाई भने असत्य र भ्रामक भएको सई पुडासैनीले इन्कार गरे । ‘एकै दिनमा दुई ट्रिप गर्न चाहनेले मात्र त्यस्ता नकारात्मक कुरा गरेको हुनसक्छ,’ उनले थपे । टाइमकार्ड लागू गर्नसक्ने तर सिन्धुलीकै खुर्कोटभन्दा पूर्वतर्फ झरीले भत्किएको मध्यपहाडी सडक मर्मत गराउन सम्बन्धित निकायलाई गुहार्न नसक्ने ट्राफिकको बाध्यता भने कसैले बुझ्न सकेका छैनन् । 
प्रकाशित: आश्विन १८, २०७३


http://kantipur.ekantipur.com/news/2016-10-04/20161004181649.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि