सहिद रत्नकुमार बान्तवाको बलिदानको कथा ‘नेपालमा सुरुङयुद्ध’

 विवेक विवश रेग्मी २६ फागुन २०८० १४:०२


सहिद रत्नकुमार बान्तवाको बलिदानको कथा ‘नेपालमा सुरुङयुद्ध’

रत्नकुमार बान्तवाको हत्या भएको ३७ वर्षपछि २०७२ सालमा नेपाल सरकारले उनलाई सहिद घोषणा गर्‍यो। रत्नकुमार ती युवा हुन्, जसले सर्वहाराको मुक्तिका लागि सुरुङयुद्ध घोषणा गरेका थिए।

इलामको चित्रेबाट सुरु भएको सुरुङयुद्धले पूर्णताचाहिँ पाउन सकेन। सुरुङयुद्धकै क्रममा रत्नकुमार मारिए। उनले छोटो समयमै देश र जनताका लागि बलिदान दिएका थिए। नेपालको वर्गीय मुक्ति आन्दोलनमा पञ्चायती तानाशाह र सामन्तविरुद्ध सुरुङयुद्धको धावा बोल्ने पहिलो व्यक्ति हुन् रत्नकुमार।

उनै रत्नकुमारको जीवनमा आधारित रहेर तयार गरिएको पुस्तक ‘नेपालमा सुरुङयुद्ध’ भर्खरै बजारमा आएको छ। पुस्तकका लेखक हुन् पूर्व सञ्चारकर्मीद्वय अर्जुनकुमार उप्रेती र जसकुमार राई। जहाँ सहिद रत्नकुमार बान्तवाको संघर्ष र बलिदानको नालीबेली प्रस्तुत गरिएको छ। पुस्तकमा झलनाथ खनाल, ईश्वर पोखरेल, प्रदीप नेपाल, बम देवानलगायत थुपै्र नेताहरूले रत्नकुमारको योगदानबारे चर्चा गरेको प्रसंग संग्रह गरिएको छ।

रत्नकुमारको २०३५ चैत २७ गते गोली प्रहारबाट हत्या भएको थियो। इलामको इभाङमा पञ्चायती राज्यसत्ताका सिपाहीको गोलीबाट उनी मारिएका थिए। हत्या भएको २७ वर्षपछि मात्रै उनलाई सहिद घोषणा गरियो। पुस्तकमा उल्लेख भएअनुसार रत्नकुमारले आफ्नै घरबाट ६० फिट लामो सुरुङ खनेर बारीको कान्लामा निस्किने द्वार बनाएका थिए।

पुस्तकभित्र १२ वटा अध्याय छन्। अध्याय १ मा ‘प्रारम्भ’देखि अध्याय ११ मा ‘परिशिष्ट’ शीर्षकमा पुस्तकलाई समापन गरिएको छ। पुस्तकमा वर्णित विषयको आधिकारिकता लागि थुप्रै सन्दर्भ सामग्रीसमेत राखिएको छ।

१२ वटा सन्दर्भ सामग्री, २० जनासँग अन्तर्वार्ता र २९ वटा अनलाइन तथा युट्युबका लिंक प्रयोग गरी पुस्तक तयार गरिएको छ। एक सय ५२ पृष्ठको किताबमा रत्नकुमार बान्तवाले कम्युनिस्ट आन्दोलनमा पुर्‍याएको चर्चासमेत गरिएको छ।

अध्याय १ मा ‘प्रारम्भ,’ अध्याय २ मा ‘ऐतिहासिक पृष्ठभूमि,’ अध्याय ३ मा ‘झापा विद्रोह,’ अध्याय ४ मा ‘क्रान्ति योद्धाको जीवन संघर्ष,’ अध्याय ५ मा ‘राजनीतिमा रत्नकुमार,’ अध्याय ६ मा ‘सुरुङयुद्धको तयारी,’ अध्याय ७ मा ‘सुरुङयुद्धमा सङ्गीत र साहित्य,’ अध्याय ८ मा ‘रत्नकुमारको हत्या,’ अध्याय ९ मा ‘रत्न मारिनुका कारण,’ अध्याय ११ मा ‘बलिदान र वर्तमान,’ अध्याय १२ मा ‘परिशिष्ट’ समावेश गरिएको छ।

एउटा पुस्तक तयार गर्नका निम्ति कति अध्ययन र अनुसन्धान गर्नुपर्छ भन्ने कुरा पुस्तक पढेपछि जानकारी हुन्छ। पछिल्लो समय ‘हचुवाका भर’मा लेखिने पुस्तक र कुनै पनि तथ्यांकलाई प्रमाणित (भेरफाई) नगरीकन लेखिएका पुस्तकभन्दा प्रस्तुत पुस्तक कैयौँ गुणा अध्ययन गरिएर तयार पारिएको स्पष्ट हुन्छ।

पुस्तकले रत्नकुमारको मात्रै चर्चा गरेको छैन वर्तमान कम्युनिस्टका यथार्थ पनि स्पष्ट पारेको छ। ‘हालसम्म आइपुग्दा कम्युनिस्ट पार्टीभित्र सिद्धान्त र व्यवहारमा आकाशजमिनको फरक देखिन थालेको छ। गुटउपगुट र व्यक्तिलाई देवत्वकरण गर्नेसम्मका अभ्यास सुरु भएका छन्। सोझा सीधा र इमानदार कार्यकर्ताको आवाज सुन्न छोडिएको छ’, रत्नकुमारबाट प्रशिक्षित तथा सुरुङ खन्ने व्यक्ति ध्वजबहादुरको चरम निराशासमेत पुस्तकमा उल्लेख छ।

उत्पीडित समुदायको नाममा भाषण गरेर सत्तामा पुगेका वामपन्थी नेताले त्यो समुदायको हितमा केही काम नगरेको गुनासो पुस्तकमा पढ्न पाइन्छ। भियतनामी शैलीको सुरुङयुद्धद्धारा नेपालमा कम्युनिस्ट व्यवस्था स्थापना गर्ने सपना बोकेर हिँडेका रत्नकुमार बान्तवा, बम देवान र निमा शेर्पा मारिए। कम्युनिस्ट पार्टी र तिनका नेताले उनीहरूको पदचाप पछ्याउन सकेनन्। त्यसैले ती सपूतहरूले चाहेजस्तोे कम्युनिस्ट व्यवस्था नेपालमा आउन सकेन। साथै कम्युनिस्ट नेताहरू सत्तालिप्सामा केन्द्रित रहेको गुनासो पुस्तकमा उल्लेख छ।

ध्वजबहादुरले नेपालका वर्तमान कम्युनिस्ट नेताहरूलाई कुकुरकै दाँजोमा राखेका छन्। उनले कम्युनिस्ट नेताहरू चाकडी र चाप्लुसीमा मात्रै केन्द्रित भएको उल्लेख गरेका छन्। ‘सँगै युद्ध लडेको मान्छे हुँ भन्दा पनि फर्काइदिन्छन्। झलनाथ यही गाउँ आउँदा पनि भेट्दैनन्। बरु यसो कुकुरलाई बिस्कुट वा केही खानेकुरा दिएको छ भने पुच्छर हल्लाउँछ, अघिपछि लागेर साथ दिन्छ तर कम्युनिस्ट नेताको काम छैन,’ ध्वजबहादुरले भनेका छन्।

वर्तमान कम्युनिस्ट नेताहरूप्रति सर्वहारा वर्गको चरम निराशाको एउटा दस्ताबेज हो प्रस्तुत पुस्तक। कम्युनिस्टहरू सुरुमा सिद्धान्तनिष्ठ र क्रान्तिकारी भएर देखा पर्छन्। चर्का भाषण गर्छन्। अरूको विरोध गर्छन्। जब कार्यान्वयन तह अर्थात् सत्तामा पुग्छन्, उनीहरूका त्यस्ता क्रान्तिकारी कुरा पनि भुल्छन् बरु उल्टै आफैँले विरोध गरेको पुँजीवादी प्रवृत्तिसँग अंकमाल गरेर जनतालाई बाँडेको आश्वासन भुल्छन् भन्ने नेपाली वामपन्थी दलको प्रवृत्तिलाई पुस्तकमा उल्लेख गरिएको छ।

रत्नकुमार विचार र चेतनाका माध्यमबाट समाज परिवर्तन गर्नुपर्ने पक्षमा थिए। उनी भन्थे, ‘बन्दुक त आखिर साधनमात्रै हो। आखिर युद्ध त चेतनाले नै जित्नेछ।’ हिंसात्मक युद्धबाट सत्तामा पुगेको कम्युनिस्ट दलको नेतृत्वमा सरकार छ। युद्धमा होमिएका रत्नकुमारचाहिँ फोटोमा मात्रै सीमित छन्। रत्नकुमार बहुप्रतिभाशाली र बहुआयामिक थिए। उनले किताब पढ्ने, कविता लेख्ने, गीत लेख्ने गर्दथे। उनी मातृभाषामै साहित्य रचना गर्थे।

रत्नकुमार मारिनुमा झापा विद्रोहको पनि कहीँ न कहीँ संलग्नता रहेको पाइन्छ। इलामसँग सीमा जोडिएको झापामा रत्नकुमार संलग्न पार्टीले यसअघि केही व्यक्ति हत्या गरिसकेको थियो। सो कारण पनि उक्त समूह सरकारको निसानामा थियो।

‘इलाममा पनि रत्न नेतृत्वको समहूले झापामा घटेका घटनासँग मिल्दाजुल्दा घटनाहरू घटाउने प्रयास गर्न थालेको थियो,’ पुस्तकको ८२ पृष्ठमा उल्लेख छ। रत्न समूहको सक्रियतासँगै स्थानीय पञ्चहरूको पहलमा चित्रे गाउँमा मानबहादुर राईको घरमा प्रहरीको अस्थायी चौकी स्थापना गरियो। पछि रत्नकुमारलाई खोजी गर्ने क्रममा निमा शेर्पाले ज्यान गुमाए। उनलाई गोली हानेर मारिएको थियो।

निमाको हत्यापछि रत्नकुमारको पनि गोली हानेरै हत्या भयो। यात्रामा रत्नकुमारसहित सुशीला श्रेष्ठ र राममाया थिए। ओरालो बाटोमा रत्नकुमार अघिअघि थिए। त्यसैक्रममा प्रहरीले चारैतिरबाट घेरा हाल्यो। रत्नले घेरा तोड्ने कोसिस गर्दा छेउमा रहेका प्रहरी विष्णुबहादुर राईले बन्दुक हान्दा रत्नकुमार मारिएका थिए।

आँखैअघि भएको घटना सम्झिँदै सुशीला श्रेष्ठले पुस्तकमा भनेकी छन्, ‘गोली लागेपछि उहाँ जुरुक्क उठेर अलिक तल्तिर कुद्न खोज्नुभयो, तर फेरि ढल्नुभयो। रत्नका ओठहरू चले तर आवाज सुनिएन। सायद रत्न क्रान्तिका बाँकी कार्यभार अब तपाईँहरू पूरा गर्नुहोस् भन्दै हुनुहुन्थ्यो।’

सुशीलालाई प्रहरीले पक्राउ गरेको थियो। उनी लामो समयसम्म प्रहरीसँग हिँडे पनि शौच गर्न जाने बहानामा भागिन्। उनी भागेपछि प्रहरीले जंगलमा नभेट्टाएका कारण जंगलमै आगो लगाएको कुरालाई पुस्तकमा रोचक ढंगले लेखिएको छ। जसले पुस्तकको बाँकी अंश पढ्नका निम्ति खुलदुली बनाउँछ।

सुरुङयुद्धद्वारा नेपालमा कम्युनिस्ट व्यवस्था स्थापना गर्ने सपना बोकेका रत्नकुमार बान्तवा, बम बान्तवा र निमा शेर्पा अल्पायुमै मारिए पनि उनीहरूका सपना अझै पूरा नभएको पुस्तकको १२६ पृष्ठमा उल्लेख छ। नेताहरूले सहिनको स्मारक बनाएर साम्प्रदायिक सान्त्वना मात्रै बटुल्न खोजेको कुरा पुस्तकमा छ ।

त्यसो त रत्नका भाइ मोहन बान्तवाले आफ्नो थातथलो छाडे। उनले गाउँ छाडेको ४२ वर्ष भयो। इलाम छाडेर धनकुटा बसाइँ सरेका उनले आफ्नो जन्मथलो मात्रै फेरेनन्, आफ्नो नामै फेरे। इलाममा राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएकाले त्यहाँबाट नागरिकता पाएनन्। नेता, पार्टी, प्रशासन कहीँबाट पनि सहयोग प्राप्त भएन। त्यसैले उनी धनकुटामा गएर कृष्णकुमार राईको नाममा नागरिकता लिए।

उनले पुस्तकमा भनेका छन्, ‘दाइ (रत्न) लाई मारेको एक वर्षपछि ३६ सालमा सरकारले मेरो अंश लिलाम गर्‍यो। सर्वस्वहरण गरेर आजीवन कारावासको सजाय तोकेको थियो जिल्ला अदालतले। मुद्दा लड्न जान सकिएन। सुवास नेम्वाङ न्यायमन्त्री भएर यहीँ आको बेला मैले कुरा राखेको पनि हो। लिखित पनि पार्टीमा पठाको हो र पनि मेरो मुद्दा छिनोफानो भएन। अनि दु:ख लाग्ने कुरा यस्तो हुन्छ।’

सस्तो लोकप्रियताका लागि जातीय मुद्दालाई उचाल्ने काममा कम्युनिस्ट नेताहरू अग्रपंक्तिमा रहेकोमा उनको दु:खेसो छ। पछिल्लो समय कम्युनिस्ट नेताहरूको सत्तालिप्सा छताछुल्ल भएर पोखिएको छ। यी सबै कुराले आजका कम्युनिस्ट नेताहरू आफ्नै घोषित मिसनबाट विचलित भएको देखाउँछ,’ उनले भनेका छन्।

सुरुङयुद्धको योजनाचाहिँ रोचक छ। सुरुङ खन्दा खन्दै कोही शंकास्पद मानिस आए भने एकपटक घण्टी बजाउनुपर्ने र शंकास्पद मानिस गएपछि तीनपटक घण्टी बजाउनुपथ्र्यो। जसकारण सुरुङ खन्न रोकिने र सुरु हुने क्रमबारे पुस्तकमा उल्लेख छ।

पुस्तकले पूर्वी पहाडी जिल्ला इलाममा भएको सुरुङयुद्धको तयारी, रत्नकुमार बान्तवाले नेपाली राजनीतिमा चालेको कदम, नेपालमा वर्तमान कम्युनिस्ट नेताहरूप्रतिको गुनासो लगायतलाई मिहीन ढंगबाट समेटेको छ। पुस्तकमा सरल र सहज भाषाको मिश्रण भएकाले एकै बसाइमा पढ्न सकिन्छ।

मञ्जरी पब्लिकेशनद्वारा प्रकाशित पुस्तकको डिजाइन, लेआउट गर्दा केही शब्दहरू तलमाथि भएका र केही दोहोरिएका छन्। पुस्तकको विषयसूचीमा पनि त्रुटि देखिन्छ। यस्ता गल्ती दोस्रो संस्करणमा सुधार हुने अपेक्षासहित पुस्तकका लागि लेखकद्वय अर्जुनकुमार उप्रेती र जसकुमार राईलाई शुभकामना…।

पुस्तक : नेपालमा सुरुङयुद्ध
लेखक : अर्जुनकुमार उप्रेती र जसकुमार राई
प्रकाशक : मञ्जरी पब्लिकेशन
मूल्य : २९५।
पृष्ठ : १५२

https://himalpress.com/2024/03/125521/?fbclid

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि