कङ्क्रिटले भत्काउँदै मुन्धुमी आस्था : पाथीभरादेखि सोदुङ पोखरीसम्म

 अर्जुनबाबु माबुहाङ

२८ फाल्गुन २०८०, सोमबार  


पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित पाथीभरा धामका नामले प्रसिद्धि कमाएको यो पहाडलाई पहिले यहाँका याक्थुङ लिम्बूहरूले मुक्तिबुङ भन्थे । किपट क्षेत्रमा राजस्व सङ्कलनमा खटिएका बाहुन/क्षेत्री श्रेस्तेदारहरूले यो पहाडलाई पाथीजस्तो देखे र पाथीभरा भनेको सजिलै अनुमान गर्न सकिन्छ ।

भेडीगोठेहरूले पाथीभरादेवी भन्दै पुज्दै ल्याए । ढुंगो र त्रिशुलका थान थपना थाप्दै ल्याए, तबसम्म मुक्तिबुङ वा पाथीभरा शान्त थियो । जब बाहुन, क्षेत्री पुजारीहरूले कङ्क्रिटको ढलौट बनाएर मूर्ति राख्न थाले, सत्तेहाङमापन्थी लिम्बूहरूले माहागुरु फाल्गुनन्दको कङ्क्रिटको मूर्ति नै लगेर डाँडोमा राख्न र मुक्कुमलुङ भन्न थाले, केबलकार नै बनाउन लागियो, अहिले यो पहाड अशान्त छ । यो पहाडको आस्था ढलेको छ र यसको मौलिकता मेट्न खोजिँदैछ ।

पाथीभरादेवीको मूर्ति

 लिम्बूका देवारीहरू फेदाङमा, साम्बा, येबा/येमाले मुन्धुम वाचन गर्दा मुक्तिबुङमाङलाई पुकार्छन् । मुन्धुम भनेको अध्यात्मिक ज्ञान हो । देवारीहरूले मुन्धुम फलाक्दा हिजो याक्थुङहरूका पूर्खाहरूले बाँच्नका लागि प्रकृतिसँग सामना गर्दाका भोगाइहरू फलाकेर, लेघ्रो तानेर चर्चा गर्छन् । देवारीहरू घरमूलीको स्वस्ति–शान्तिका लागि चिन्ता राखेका थान/साङभेदेखि स्प्रिचुयल जर्नी (अध्यात्मिक यात्रा) मा निस्कन्छन् ।

उनीहरूका लागि मुक्तिबुङमाङ वा पाथीभरा पाहाड ट्रान्जिट प्वाइन्ट बन्छ । त्यहाँपुगेपछि देवारीहरूको समुहले आराम गर्छन् । खाजा खान्छन् । मुक्तिबुङ पहाडदेखि गाउँघर हेर्छन् । गाउँघरमा आइपर्ने माहामारी पन्छाउँछन् । बाधा अड्चन फुकाउँछन् । मुन्धुमअनुसार सिङ्गो ब्रहाण्डमा पूर्खाको आत्मा बसेको छ । यस कारण प्राकृतिक विपत्तिबाट बच्न प्रकृतिकै पुकार गर्नुपर्छ ।

कङ्क्रिट निर्माणले कुनै पनि जातिको आस्थालाई मात्र भत्काइरहेको छैन, जलवायु परिवर्तनको जोखिमलाई अझ तिव्रताका साथ निम्त्याउँदैछ । प्रकृतिमाथि श्रद्धा गर्न सिकौं 

मुक्तिबुङमा बिहान घाम झुल्कँदा र बेलुकी घाम अस्ताउँदा अग्लो डाँडाको टुप्पोमा आगोको लप्का उठेजस्तो देखिन्छ । लिम्बू भाषामा ‘मुक्’ भनेको शक्ति हो । ‘तिः’ भनेको बल्नु हो । ‘बुङ’ भनेको धरातल हो । मुक्तिबुुङ भनेको शक्तिदातृ पहाड भनिएको हुनुपर्छ ।

हज्शन कलेक्शनको खण्ड ८६ मा सङ्कलन गरिएका लेखोटमा याक्थुङबा लिम्बूका सिरिजङगा भाषा–लिपिका आविष्कारक, उपदेशक मुन्धुम टिपोटकर्ता विद्वान सिरिजङ्गा आफैंले पाथीभरालाई सिरिजङ्गा लिपिमा ‘मुक्तिबोमाङ’ भनेर लेखेका छन् । उनले हिमाल, पहाडलाई देऊदेउताको स्थान दिँदै वर्तमानमा भनिने कुम्भकर्ण हिमाललाई फक्ताङलुङमाङ लेखेका छन् ।

ऐतिहासिक कागजातहरु

त्यस्तै मेहेले, सुरुङखिम, सादेवा, साप्लाखुमाथिको सिदिङबा भनिने पहाडलाई सिरिजङगाले सिदिङ चोक्मामाङ भनेका भने फलैंचा च्याङथापुमाथिको पहाडलाई चाङधुम्बोमाङ र च्याङथापुमाथिको फालेलुङ पहाडलाई इसाङलेमामाङ भनेर लेखेका छन् ।

हज्शनका बारेमा थोरै चर्चा गरौं ।

ब्रिटिश नागरिक ब्रायन हग्टन हज्शन भारत र नेपालमा अध्ययन गर्ने प्रकृतिवादी र एथ्नोलोजिष्ट थिए । उनी पहिलोचोटि सन् १८२० (वि.सं १८७७) मा नेपालका लागि ब्रिटिश आवासीय दूत एडवार्ड गार्नरका एक्टिङ रेजिडेन्स/सहयोगी भएर आएका थिए ।

उनी सन् १८४५ (वि सं १९०२) देखि दार्जीलिङमा बसे । उनले संस्कृत, नेवारी, लिम्बू, राई, क्षेत्री लगायत विभिन्न जातजातिका इतिहास, भाषा, धर्म, संस्कार/संस्कृति र पशुपंक्षी, बोटविरुवाका बारेमा अध्ययन गरेका थिए । यसै क्रममा उनले सिरिजङगाले याक्थुङ लिम्बू भाषामा लेखेका लेखोटहरू वर्तमान ताप्लेजुङ र पाँचथर जिल्लाका ऐतिहासिक ठाउँहरू र दार्जीलिङ–सिक्किमबाट जोभानसिं फागो, च्याङ्ग्रेसिङ फेदाङमा, हवल्दार रणध्वज, खरिदार जितमोहन मार्फत सङ्कलन गरे । उनको सङ्कलन कोलकाता हुँदै लण्डन पुर्‍याएर ब्रिटिश लाइब्रेरीमा राखियो, जसलाई हज्शन कलेक्शन भनिन्छ ।

त्यस्तै, सिरिजङगाका बारेमा पनि थोरै चर्चा गर्नुपर्ने देखिन्छ ।

सिरिजङगाका बारेमा भेटिएका टिपोटहरूमा सिरिजङगाले याक्थुङ भाषा, अक्षर लेखेको भनेर भेटिए पनि उनको तिथिमिति भेटिएको छैन । सिरिजङगाका बारेमा लेखिएको सबैभन्दा भरपर्दो स्रोत सिक्किमकै नवौं छोग्याल/राजा थुतोब नामग्याल र रानी येशे डोल्मा आफैंले सन् १९०८ (वि सं १९६५) मा बाइन्डिङ गरेको पुस्तक ‘हिस्ट्री अफ सिक्किम’ हो ।

उक्त पुस्तकमा लेखिए अनुसार मुन्धुमी मानव मुजिङना खेयङनाका सन्तानका रुपमा पुस्तौं–पुस्तौंपछि याङरुपमा सिरिजङगा जन्मिए । उनले ८ जना आफ्ना चेला बनाएर याक्थुङ भाषा सिरिजङगा लिपि बनाएर सिक्किम राजा र लामाहरूको विरुद्धमा लागे ।

लामाहरूले विषालु धनुकाँडले हानेर चराको विष्टा मुखमा कोची सिरिजङगाको प्राण लिएर खोलामा  फ्यालिदिए । उतिबेला नेपालमा प्रतापसिंह शाह राजा थिए । याङरुप भनेर सिनाम ताप्लेजुङलाई भनिएको हो । उनको मृत्यु वि.सं १८३४ मा भएको थियो । सिरिजङगालाई इतिहासले प्रतापसिंह साहका समकालीन पुष्टि गर्छ ।

वि.सं १८४८ मा हाल फावाखोला ताप्लेजुङका इजम लिम्बूका पुर्खा युक्ताम्बो लगायतकाहरूको किपटलाई भाजु भानु नेवारले थैली हालेको सम्बन्धी कागजमा वर्तमान पाथिभरा याङवरक, सिरिजङ्गा गाउँपालिकाका केसापलुङ, मुक्तिबुङ, थलङ्वा, लिनुवा, याफेवा, माङसेक्रा, साङबाङ्गो जस्ता ठाउँहरू परेका छन् । अर्थात् यो कागजमा पनि पाथिभरा पहाडलाई मुक्तिबुङ भनिएको छ ।

पाथीभराको डाँडो

वि. सं १९९३ को ताप्पेथोकका जयकर्ण पतङवाले र लिङखिमका लिङखिम लिम्बूहरूको किपट जग्गाको फैसला कागजमा मुक्तिबुङ पाहाडलाई पहिलोचोटि पाथीभरा लेखिएको छ । पतङवाले लिङखिमे लिम्बूहरूको किपटलाई रैकर गराएर तमोरखोला सिङवाका लक्ष्मीप्रसाद बराललाई दिन खोजेका थिए । कागजमा पाथीभरा, थामडाँडा, महभीर, तावाखोला, सिस्नेखोला स्थान नामहरू परेका छन् ।

मुन्धुममा मुक्कुमलुङ ढुंगा, माटो, र मुन्धुमी पात्रका नाम भनेर पनि आउँछन् । जस्तो कि मुजिङना खेयङनाको छोरा सुसुवेङ लालावेङ थिए । उनकी तरुणी मुक्कुमलुङमा र छोरी लाहादोङना थिए । तर मुन्धुम गर्ने फेदाङमा, साम्बा, येबा/येमाहरूले मुक्तिबुङमाङ/मुक्तिगोकमाङ भनेर चर्चा गर्नु, सिरिजङ्गाका लेखोटमा मुक्तिबोमाङ लेखिनु र वि.सं १८४८ को किपटिया कागजमा मुक्तिबुङ ठाउँको नाम किटिएको पाइनुले हाल पाथिभरा भनिने पहाडको नाम मुक्तिबुङ/मुक्तिगोक भनेर स्पष्ट हुन्छ ।

पाथीभरामा केबलकार निर्माणले त्यहाँको मौलिकता र पर्यावरण नष्ट गर्न खोजिएको भन्दै विरोधमा सत्तेहाङ र किरात याक्थुङ चुम्लुङको नेतृत्व देखिन्छ । जुन माग जायज छ र पूर्ण समर्थन पनि छ ।

पाथीभरामा विवाद बढेपछि पुरातत्वको टोली पनि त्यहाँ पुगेर कङ्क्रिटका संरचनाहरू हटाउन सुझाएको थियो । तर, चुम्लुङ र सत्तेहाङमाहरूले पाथिभराको डाँडोबाट कङ्क्रिट निर्मित फाल्गुनन्द लगायतका मूर्तिहरू हटाउनुपर्छ भनेर कहिल्यै बोलेका छैनन् ।

सत्तेहाङमाहरूले फक्ताङलुङ गाउँपालिकाको लेलेपस्थित तागेरा निङ्वाफु ओढारमा पनि फाल्गुनन्दको मूर्ति यसरी नै राखेका छन् । राज्यले तोकेको विभूतिको मूर्ति किन ओढारमा राखिएको हो ? राजनीतिक दलहरूलाई भोट बिग्रिन्छ भन्ने डर छ । किरात याक्थुङ चुम्लुङलाई सत्तेहाङहरूबाट डोनेसन बन्द हुने डर छ ।

कङ्क्रिटयुक्त केवलकार निर्माणले त्यहाँको जैविक विविधता नष्ट गर्छ । यहाँको रोजगारीमुलक पर्यापर्यटनलाई पनि सङ्कटमा पार्ने प्रष्ट छ । अहिले त कम्तिमा पनि पर्यटकहरू, तीर्थालुहरू फेदीदेखि पाथिभरासम्म हिँडेर जाँदा बाटामा थकाइ मारिरहेका छन् । खाने, पिउने रमाइलो गरिरहेका छन् । टुप्पोमा पुगेर फर्केपछिको पर्यटकहरूको बास कि सुकेटारमा त कि ताप्लेजुङ बजारमा हुन्छ । केवलकार बनेपछि केबलकार चढ्छन फर्किहाल्छन् । यति त सर्वसाधारण सबैले बुझेकै होलान् ।

आज यहाँका राजनीतिक दलहरूले कुनै पनि जातिको आस्था र त्यही आस्थाबाट निर्मित इतिहासलाई बेवास्ता गरेका छन् । राज्यले त जातिलाई के चिन्थ्यो, जबसम्म त्यही जातिका मान्छेले नै आफूलाई चिन्दैनन् । यत्रो सम्पदालाई कुनै व्यापारी, कम्पनीलाई सुम्पनु दुःखद र भत्सर्नायोग्य छ ।

नेपाल र सिक्किमको सीमामा अवस्थित तिम्बुङ पोखरी

तिम्बुङ पोखरीमा फूल फूलेन भने….. 

ताप्लेजुङ जिल्लाको सिदिङबा गाउँपालिका र पाँचथर जिल्लाको याङवरक गाउँपालिका र सिक्किमबीच बोर्डरमा अवस्थित तिम्बुङ पोखरीको आफ्नै मुन्धुमी महत्व छ ।
लिम्बू देवारीहरूले मुन्धुम गर्दा तिम्बुङ पोखरी पुग्छन् । पोखरीमा विभिन्न हिमाल, पाहाडबाट फुटेका मुलपानी ल्याएर भर्छन् । पोखरी वरिपरि फूल रोप्छन् । फूल रुँगालु राख्छन् । पोरखीमा माछा भर्छन् । लिम्बूहरूमा विश्वास छ कि यदि पोखरीमा पानी सुक्यो भने, फूल फूलेनन् भने र माछा बाँचेनन् भने शुभ–फाब्य हुँदैन ।

हज्शन कलेक्शनको खण्ड ७९ मा सिरिजङ्गाले तिम्बुङ पोखरीलाई आफ्नो लेखोटमा ‘तोलिङ सोमो वरक’ भनेका छन् । ‘तोलिङ’ वा ‘थोलिङ’ भनेको शीरमा उम्रने भनिएको हो । तोलिङ वा थोलिङ नै तिम्बुङ भएको हुनुपर्छ ।

तिम्बुङ पोखरीमा निर्माण गरिएको विष्णु मन्दिर

सिरिजङ्गाको याङवारक/याङरुप सिनामबाट सिक्किम ओहोर–दोहोर गर्ने मुख्य गौंडा थियो तिम्बुङ पोखरी । केही वर्षअघि मात्र तिम्बुङ पोखरीको छेवैमा कङ्क्रिट लगेर विष्णुको मन्दिर बनाएपछि तिम्बुङ पोखरी पनि अहिले अशान्त छ ।

लिम्बूले तिम्बुङ भने । भोटे/शेर्पाले सोमो भने होलान् । बाहुन/क्षेत्रीले विष्णु, लक्ष्मी पोखरी जे भने पनि कसैको चासो थिएन । तर, कङ्क्रिटको मन्दिर बनेपछि यो पोखरीको पहिचानलाई पनि विवादित बनाइयो ।

सोदुङ पोखरीमा पनि उस्तै

ताप्लेजुङ जिल्लाकै मिक्वाखोला गाउँपालिकास्थित तोक्पेगोलाको सोदुङ पोखरीमा पनि हाल बौद्ध धर्मालम्बीहरूले कङ्क्रिटकै संरचना बनाउन लागेका कारण यो पोखरी पनि अशान्त हुँदै गएको छ । मुन्धुम अनुसार सोदुङ वरक\पोखरी लिम्बूहरूको उदगम स्थल मानिन्छ ।

सोदुङ पोखरी

सयौं वर्ष अगाडिका लिखतमा पनि यो लेखिएको छ । सोदुङ पोखरीलाई भोटे/शेर्पाहरूले छोयदो भन्छन् । आस्था आफैंमा विशाल प्रकृति हो । यो सिङ्गो प्रकृति जुनसुकै जातिको विश्वास हो र पहिचान पनि ।

वास्तवमा कङ्क्रिट निर्माणले कुनै पनि जातिको आस्थालाई मात्र भत्काउँदै छैन, सिङ्गो जलवायु परिवर्तनको जोखिमलाई अझै तिव्रताका साथ निम्त्याउँदैछ । प्रकृतिमाथि श्रद्धा गर्न सिकौं । प्रकृतिलाई अक्षुण्ण राखौं ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  १२ : ५१ बजे 

https://khabarhub.com/2024/11/604761/

 

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि