कोसेली : मास्टर मित्रसेनले भोगेको युद्ध– प्रगति राई

 प्रगति राई

लाहुरे दाइको रेलिमाई फेसनै राम्रो
रातो रुमाल रेलिमाई खुकुरी भिरेको
माथिको गीतका रचनाकार प्रथम विश्वयुद्धका एक योद्धा थिए– स्व. मास्टर मित्रसेन थापामगर । यिनै गीतका लाइन गाउँदै इजिप्ट, फ्रान्स, बेल्जियम, मेसोपोटामिया (सिरिया र इराक) युद्ध लडेका थिए उनले । मित्रसेनका डायरीलाई आधार बनाएर ६ वर्षको अथक प्रयासपछि लेखक विजय हितानले उपन्यास लेखेका छन्– ‘लाहुरे दाइको रेलिमाई’ । 

मास्टर मित्रसेनले भोगेको युद्ध

उपन्यास भनिए पनि ढाँचा डायरीजस्तै छ । पात्रहरूको थोरै संवाद र मुख्य पात्रको मनोवादले खाँदाखाँद छन् हरफहरू । उपन्यासले यात्रामा स्मृतिलाई साथै हिँडाएझैं लाग्छ । कथा भन्दै काटेको बाटोजस्तो आनन्दमय यात्रा ।

उपन्यासभित्रको युद्ध–कथा यस्तो छ– श्वेज नहर बेलायतका लागि शरीरको नसाजस्तै रहेछ । अति महत्त्वपूर्ण जलमार्ग । यसै बाटो भएर बेलायतले सुदूरपूर्वका देश भारत र मध्यपूर्वमा सैनिक, रासन, गोलाबारुद, तेल इत्यादि ओसारपसार गर्दो रहेछ । त्यो बेला इजिप्टमा साम्राज्यवाद रहेछ । टर्कीद्वारा विस्तारित ओटोमनलाई जर्मनको समर्थन रहेछ । केही मध्यपूर्वी राष्ट्रहरू ओटोमन साम्राज्यवाददेखि चिढिएका रहेछन् । श्वेज नहरको सहज प्रयोगका लागि बेलायतले इजिप्टलाई हातमा लिनैपर्ने रहेछ । अनि यसै नहरको सुरक्षाका लागि प्रथमपल्ट सन् १९१४ मा भारतबाट सैनिक लगिएको रहेछ । अनि साम्राज्यवादी विस्तारमा लागेका अटोमनविरुद्ध सेना खन्याउन ब्रिटिसले उपनिवेश बनाएका देशहरूबाट सेना जम्मा गरेको रहेछ । जसमा एक योद्धा थिए, २० वर्षे लक्का जवान मित्रसेन थापामगर ।

सन् १८०६ मा ग्रेटर नेपाल विस्तारका क्रममा अमरसिंह थापाको सहसेनानी भई बसेका थापाहरूका सन्तति परेछन्– मित्रसेन थापा । पुर्खाको पदचाप पछ्याएर १८ वर्षमै सेनामा गएका थिए मित्रसेन । उनले युद्धमा छँदा बालाई लेखेको चिठीमा लेखेका छन्– अर्काका लागि बिनाबित्थामा रगत बगाउनु बेकार रहेछ । उनले गाउँका युवालाई लाहुर नपठाउन आग्रह पनि गरेका छन् चिठीमा । भलै त्यो चिठी कमान्डरको सेन्सरमा परेर केटी शब्द काट्नुपरेको थियो । तर, मित्रसेन युद्धको फ्रन्ट लाइनमा डटेर दुस्मनको प्रतिकारमा लागिरहे । एकचोटि नायकसम्मको पदवी पाए तापनि पछि अर्काका लागि युद्ध लड्दिनँ भनेर पल्टन फिर्ता नगएपछि त्यो पदवी खोसिएछ । त्यसपछि भने मित्रसेनले आफूमा भएको साहित्य र संगीतको मूललाई विस्तार गरेर गोर्खालीको संस्कार र सभ्यता जीवित राख्न बाँकी जीवन अर्पेका रहेछन् ।

एकातिर युवाहरूलाई ब्रिटिसले सेना बनाई कज्याउने, अर्कातिर तिनै सेनाले गोर्खाली चेलीहरूको बिचल्ली बनाउने अनि सेनाका परिवार बेरोजगार भएर जाँड–रक्सी, जुवातासमा जीवन बर्बाद पारेको देखेर छुट्टीमा घर आएका मित्रसेन फेरि पल्टन फिरेनन् । ब्रिटिसका लागि ज्यान बाजीमा राखिदिनुपर्ने बाध्यता त छँदैथ्यो, त्यो पल्टनमा जतिसुकै कडा मिहिनेत गरे पनि पद बढुवा हुन माथिल्लो तहका मालिकलाई रिझाउनुपर्ने घिनलाग्दो खेलदेखि दिक्क भएका थिए मित्रसेन । उनले पहिले सोचेका थिए– समाजमा प्रतिष्ठा कमाउन सेनामा मानपदवी लिन्छु अनि मेरा गोर्खाली समाजले मेरो कुरा सुन्नेछन्, कुलतमा फसेका समाजलाई सुधार्न सक्ने हैसियत कमाउँछु । तर, सोचेजस्तो भएन । लडाइँमा दुईचोटि घाइते भए, निको हुन महिनौं लाग्यो । पछि ७ वर्ष सेनामा रहेर स्वैच्छिक अवकाश लिन चाहे । दुस्मन अगाडि पर्दा भिड्न तयार भएर हतियार उठाउने मित्रले नै युद्धको कुनै औचित्य नरहेको बताइरहे । कुनै शासकको सनकमा संसारभरिका निर्दोष युवालाई बलिको बोको बनाइएको छ भनेर युद्धलाई खुबै धिक्कारिरहे । तर, अचम्मको कुरा आफू युद्धमा पर्दा जसरी बलिको बोको भएँ भनेर दुःख व्यक्त गर्छन्, फेरि उनै आफ्नो रक्षाका लागि भाग्सुनाथसँग बोको चढाउन भाकल गरिरहन्छन् । पल्टन घरमा पूजा गर्दा पशु बलि दिइएकामा उनको कुनै प्रतिकार देखिँदैन ।

विभिन्न प्रकारका हतियार बोकाएर अनेक भौगोलिक बनावटको यात्रा वर्णन गर्दै पाठकलाई डुबाउनु उपन्यासको प्रमुख कला हो । लेखनशैली र युद्ध–कथाले पाठकलाई यस्तो तुल्याउँछ कि लाग्छ– म नै जर्मनविरुद्धको योद्धा हुँ, मेरो अगाडि दुस्मनले आक्रमण गर्दै छ । त्यसपछि पाठकको रगत तात्छ, हातगोडा चलमलाउँछन्, श्वास रोकिएजस्तो हुन्छ, पसिना छुट्छ । फ्रेन्ड्ली पल्टन हो कि दुस्मनको पल्टन हो ? त्यो चिन्न बोलिने कोड शब्द ‘खैनी–खैनी’ भन्दा उनीहरूले ‘सुर्ती–सुर्ती’ भनेनन् भने तुरुन्तै आक्रमणको पोजिसन लिइहाल्नुपर्छ भन्ने लागिहाल्छ तर हातमा हुन्छ उपन्यास । यसरी पाठकलाई सेना बनाएर अक्षरसँगै दौडाउन सफल छ उपन्यास । अनि मित्रसेन थापा यो उपन्यासको नायक लाग्छ, लेखकचाहिँ कमान्डर । हुन त लेखक पनि ब्रिटिस सेना हुन् अनि थापामगर पनि ।

उपन्यासको एक अनुच्छेद– ‘सिपाहीले एकछिन बिसाउन पायो भने के गर्छ ? घरका आफन्तलाई सम्झिन्छ । अनि लेख्छ प्रेमपत्र प्रियसीलाई– सम्झनाको आकाशभरि बालुवाको धूलोसरी तिम्रै अनुहारको गीत उड्छ । तिम्रै पाइला–पाइला टेकेर मेरो मुटु यहाँ नाच्छ । लाग्छ, मलाई सम्झँदै तिमी धौलाधर हिमाल हेरिबस्छ्यौ । अनि टिग्रिस नदीले यहाँसम्म बगाएर ल्याउँछ तिम्रो मायाको भेल । भो, पग्लिने गरी नहेर धौलाधर । यता टिग्रिसमा बाढी आयो भने म डुब्छु । बरु कुनै क्याक्टसको पातमाथि मुस्किलसँग अडिएको थोपा बनेर म तिम्रै लागि जिउने प्रयास गरिरहनेछु । बन्दुकको बटैबटले हिर्काएर यो लाहुरेको दुःख नमर्ने रहेछ । पातैपातमा सिन्का जोडेर जीवन नगाँसिने रहेछ । तिमीले मलाई हेर्ने बिहानी शीतको थोपामा होला । मैले त तिमीलाई हेर्ने बालुवाको ऐनामा हो ।’

उपन्यासमा काँगडा जिल्लाको भाग्सु धर्मशाला छाउनीबाट सैनिकलाई कुनै जानकारी नदिईकनै एक्कासि युद्धका लागि हिँडाइएको दर्दनाक कथा छ । मित्रसेन पटक–पटक कमान्डरमाथि प्रश्न उठाउँछन् । भर्खरै छुट्टी गएर विवाह गरेको सैनिकलाई पल्टन फिर्ता बोलाइ युद्धमा धकेल्दा कतिले समुद्रमा हामफालेर आत्मदाह पनि गरेका छन् ।

सन् १९१४ देखि युद्धको थालनी भयो । ब्रिटिसले विभिन्न देश कब्जा गरे, मेगिड्डो र सेरोनको युद्ध लड्दै जोर्डन नदीको पश्चिममा अवस्थित अमान क्याप्चर गरे । त्यसपछि जोर्डन तरेर बेरुत, बाल्बेक हुँदै बेक्का उपत्यका जिते । बेक्का ओटोमन साम्राज्यवादीको पुछारको क्याम्प रहेछ । अझै अघि सरेर दमास्कस क्याम्पचरपछि ओटोमन साम्राज्यवादीले गोर्खाली ब्रिटिस सेनासँग घुँडा टेकेर सन् १९१८ अक्टोबर १ दिन ‘आर्मीस्टिक अफ मुद्रोस’ सन्धि गरे । त्यसपछि सम्पूर्ण युद्ध स्थगित गरिएछ ।

युद्ध आफैंमा दुःख हो । त्यो दुःख पाठकले किन पढ्नुपर्ने ? तर, युद्धमा सिर्फ मृत्यु मात्रै छैन । मृत्युसम्मुख पनि कसरी रमाउने ? बाँच्ने कला कसरी सिक्ने ? दर्दलाई कसरी भुल्ने ? युद्ध–कथाले अनेक जीवनका कला सिकाउँछ । हामीलाई दैनन्दिनका तनावले पेदु बनाएको अवस्थामा यो युद्धको कथा पढेपछि ती व्यथा बाघको आक्रमणबाट बचेर आएको मान्छेलाई जुकाले टोक्न लागेझैं सामान्य लाग्छ । र, प्रथम विश्वयुद्धको इतिवृतान्त बुझ्न पाइन्छ ।

यसभित्र घाइते सैनिकहरूलाई श्वेत नर्सहरूले स्याहारेकामा विरोध आई अश्वेत नर्स राखिएको प्रसंग छ । राजपुत सैनिकहरूले डुंगा तार्ने कामलाई माझीले गर्ने काम भनी तुच्छ मानेर बरु सात फिट गहिरो ट्रेन्च खन्न तयार भएको कहानी छ । युद्धकै क्रममा बाटाभरि स्थानीयले खानेकुरा राखिदिएर नीला आँखावाल गोरेनीले मायाको अँगालो हालेको कुरा पनि छ । भिक्टोरिया क्रस (भीसी) पाएका कुलबहादुर थापामगर, भीसी पाउन लागेका कर्णबहादुर राणामगरका युद्ध कथा गज्जबको छ । कथाभरि मित्रसेनले पनि बहादुरी तक्मा पाएको पढ्न पाए हुन्थ्यो भन्ने एक प्रकारको लालसा पलाइरहन्छ । तर, दुर्भाग्य ! उनी त नायक पद पनि खोसिएर सिपाहीमा अवकाश हुनुपरेको दुखान्त कथा छ । जीवन यस्तै हो, जीतहरूको मात्रै इतिहास बन्छ भन्ने बानी लागेका हामीलाई हारको कथाले नमीठो स्वाद पस्किन्छ । तर, उनका संघर्ष र सपना कदर गर्दै लेखकले यो स्तरको किताब लेख्नु नै मित्रसेनका लागि सम्मान हो ।

सन् ११ अगस्ट, १९१४ का दिन भाग्सु धर्मशाला छाउनी छाडेको दिनलाई ‘प्रस्थान’ शीर्षक दिई यस्तै विभिन्न अरू १४ शीर्षकमा विभाजित युद्धका कथा छन् किताबमा । त्यसपछि १० शीर्षकमा मित्रसेनले गोर्खाली समाज सुधारका लागि नयाँ पिँढीमा नेपालीपन कायम राखिरहन गीतसंगीत, नाटक इत्यादि गरेर सार्थक तुल्याएको कथा छ । साहित्य संगीतकै लागि भनेर ‘हिमालयन थिएट्रिकल कम्पनी’ खोलेका रहेछन् उनले ।

भारतका विभिन्न स्थानमा बसोबास गर्ने नेपालीमूलका समाजलाई नेपाली चिनारी नबिर्सन गीत, नाटकद्वारा सचेत गराउँदै हिँड्ने क्रममा पञ्जाबको लाहोर पनि भ्रमण गरेछन् उनले । त्यहाँका नेपालीभाषी मुस्लिम, इसाई र अन्य धर्मावलम्बीलाई हिन्दु धर्म मान्ने बनाएछन् । उनका पछिल्ला नाटकहरू ‘दर्दै जिगर’, ‘वाद शाह टावर’, ‘सत्त दुखवाइ’, ‘परिवर्तन’, ‘यहुदीकी बेटी’ आदि रहेछन् भने सुरुका नाटकहरू ‘कृष्ण जन्म’, ‘विल्ला मङ्गल’, ‘नुरकी पुतली’ आदि रहेछन् । मित्रसेनले जसरी युद्धका क्रममा हतियार बोकेर बाहिरी राष्ट्र घुमे, त्यसरी नै गीतसंगीत, नाटक लिएर नेपालीभाषी सारा भारत र पुर्खाको जन्मथलो नेपालको बाग्लुङ पनि घुमेका रहेछन् ।

यो घुमाइमा गोर्खाली समाज र महिलाहरू कहीं मजबुत भएको देखाइएको छैन । बरु पञ्जाबसम्म पुगेर महिलाहरू तन्नम दुःखमा डुबेको, देह व्यापारमा लागेको देखाइएको छ । तिनका लागि कुनै उद्धार वा सहयोग भएको छैन । गोर्खाली समाज कतै न कतै त असल पनि थियो होला तर कमसल मात्रै देखाउनु हुन्थेन । मित्रसेन महिलालाई सम्मान गर्ने खालका व्यक्ति थिए भनेर जान्न उनले स्वर्गीय पत्नीका नाममा कपाल खौरेर दुःख बारेको कथाले पुष्टि गर्छ । तर, त्यतिका विधि दुःख पाएका महिलाबारे भने कुनै कदम चालेको देखिँदैन । अर्को, गोर्खाली समाज सुधारका लागि दुःख बेहोरेको देखाइए पनि सुधार भए/भएन, कुनै रिपोर्ट देख्न पाइन्न । जे होस्, विश्वमा बहादुरीको सम्मान पाएका मगरहरूको त्यो जमानामा पनि उच्चस्तरको चेतनालाई सम्मान गर्नैपर्छ ।

प्रकाशित : पुस ७, २०८० ११:०३https://ekantipur.com/koseli/2023/12/23/the-battle-experienced-by-master-mitrasena-30-58.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि