समाज: ‘हामी कोही पनि शुद्ध छैनौं’–भाषाविद् जर्ज भान ड्रिम

भाषाविद् जर्ज भ्यान ड्रिम।

भाषाविद् जर्ज भान ड्रिमले संसारका सबै मानव जातिको वंशाणु मिश्रित भएको बताएका छन्।

आफूलाई सनातनी वा हिन्दू भनेर चिनाउने आर्यबारे प्रचलित धारणा छ- उनीहरू करीब पाँच हजार वर्ष पहिले मध्यएशियाका घाँसे मैदानबाट वर्तमान पाकिस्तान र भारतको सिमानामा पर्ने सिन्ध घाटी हुँदै दक्षिणएशिया आइपुगेका हुन्। आनुवंशिक अध्ययनहरूले पनि त्यही पुष्टि गरेका छन्।

भाषाविद् जर्ज भान ड्रिमका अनुसार भारतीय उपमहाद्वीपमा पाँच हजार वर्षअघि आइपुगेका आर्यहरू यतैबाट मध्यएशियातिर गएका हुन्। पोखरामा भइरहेको नेपाल लिटरेचर फेस्टिभल-२०२४ मा फागुन ४ मा ‘नेपालमा कहिले आए मान्छे?’ शीर्षकको सत्रमा लेखक यादव देवकोटासँग छलफल गर्दै ड्रिमले यस्तो विचार व्यक्त गरेका हुन्।

आनुवंशिक अध्ययनको निचोड प्रस्तुत गर्दै भाषाविद् ड्रिमले अफ्रिका बाहेक अन्य महादेशका सबै मानिस आप्रवासी भएको तर्क गरे। दुई लाख १५ हजार पुरानो मानव जीवावशेष स्पेनमा फेला परेको तथ्य राख्दै उनले करीब साढे दुई लाख वर्षअघि अफ्रिकाबाट वर्तमान मानव (होमो सेपियन्स)का पुर्खा अन्य महादेशमा फैलिन थालेको उल्लेख गरे। “हामी सबै कोलोनिस्ट (उपनिवेशवादी) हौं,” ड्रिमले भने।

नेपालमा मूलतः दुई भाषा परिवार भोटबर्मेली र भारोपेलीका मानिसहरू बहुसंख्यक रहेको चर्चा गर्दै उनले सबैभन्दा पहिला भोटबर्मेलीभाषीका पूर्वज यहाँ आइपुगेको बताए। उनका अनुसार भोटबर्मेली भाषा परिवारका ४२ वटा हाँगामध्ये ३८ वटा उपपरिवार कालीगण्डकीदेखि पूर्व भूटान-सिक्किमसम्म विकास भएका हुन्। उनका अनुसार मगर, गुरुङ भाषा बोल्ने मानिसका पुर्खा यस क्षेत्रमा १० हजार वर्ष पहिला आइपुगेका थिए।

“साढे दुई लाख वर्ष पहिला आएका मानिस हिमाली भेग, भारत हुँदै करीब ५०-५५ हजार वर्षअघि भारत हुँदै अस्ट्रेलिया पुगे। त्यही समयमा केही समूह अन्डमान टापुमा पनि पुगे,” उनले थप व्याख्या गरे।

भोटबर्मेलीभाषी नै फैलिंदै चीनसम्म पुगेको आफ्नो अध्ययनको नतीजा उनले बयान गरे। ड्रिमका अनुसार अर्को भाषा परिवार भारोपेलीका पूर्वज भने अफ्रिकाबाट फैलिंदै भारतीय उपमहाद्वीपमा आइपुगेर यतैबाट कजाखस्तानसम्म पुगे। तिनैका सन्तति आर्यका रूपमा पाँच हजार वर्ष पहिला भारतीय उपमहाद्वीपमा फर्किए।

यसबीचमा त्यो समूह पनि अन्य समूहसँगको संसर्गमा गइसकेको तर्क गर्दै उनले कुनै पनि मानव समुदाय शुद्ध नभएको जिकिर गरे। “हामी सबै मिश्रित हौं। कुनै पनि जाति शुद्ध छैन। सबैको वंशाणु मिश्रित छ,” उनले भने।

फागुन ३ देखि शुरू भएको फेस्टिभल फागुन ७ गतेसम्म चल्नेछ। यसमा विभिन्न विषयमा विचारविमर्श हुनेछ।

शुक्रबार, फागुन ४, २०८०  १५:१३ मा प्रकाशित

https://www.himalkhabar.com/news/140164?fbclid=IwAR1XpPf8t_gn-dqF6OfJU9kCosbSyEtrB0duG8TYgcDRo911f8t--zd246I

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि