इतिहासः इसाईहरू कहिलेदेखि नेपालमा ?


राजकुमार दिक्पाल

पुष ७, २०८० शनिबार १६:४६:१९

समुद्री यात्रीमध्ये भारत पत्ता लगाउन सन् १५४९ मा हिँडेका कोलम्बसले अमेरिका पत्ता लगाए। उनी एट्लान्टिक महासागर पार गरेर अमेरिका पुगेका थिए। त्यसको पाँच वर्षपछि पोर्तुगाली समुद्री यात्री भास्कोडिगामा अफ्रिका हुँदै भारतको पूर्वी तटको क्याटलिकमा पुगे। उनले त्यहाँ आफ्नो जहाज अड्याएर ब्यापार कोठी खोले। भास्कोडिगामाका साथ भारत पुगेको यिनै समुद्री यात्रीहरूले त्यहाँ क्रिश्चियन धर्म प्रचार गर्न सुरु गरेको पाइन्छ।

भारतमा क्रिश्चियन धर्मको प्रचार सुरु भएको बेला काठमाडौं उपत्यकामा मल्ल राजाहरूको राज्य चलिरहेको थियो। नेपालमा सबैभन्दा पहिले विसं. १६८५ मा जेव्राल नामका पादरी आएका थिए। त्यसपछि प्रताप मल्लको पालामा विस. १७१८ मा ग्रोवर र डोरविन नामका पादरी आए। उनीहरू समुद्री मार्ग हुँदै क्रिश्चियन धर्म प्रचारका लागि चीन तिब्बत गएका थिए। तर त्यहाँ उनीहरूलाई मन पराइएन। चीन तिब्बतमा आफ्नो धर्म प्रचार गर्न नपाएपछि त्यहाँबाट ती पादरी नेपाल झरेका थिए। उनीहरूले राजा प्रताप मल्ललाई एउटा दूरविन उपहार दिएर प्रभावित तुल्याएका थिए (ज्ञानमणि नेपाल, 'अन्नपूर्ण पोस्ट डट कम'-२०७३ पुस १६)।

तिब्बतका दलाई लामा त क्रिश्चियन धर्म प्रचारप्रति कट्टर अनुदार थिए। उनले ल्हासामा रहेका केपुचिन पादरीहरूसँग चिढिएर तिनको सर्वश्वहरण गरी देश निकाला गरिदिएका थिए। त्यहाँ बनेका चर्चहरू पनि भत्काएर मैदान गरेका थिए। क्रिश्चियन बनिसकेका तिब्बतीहरूलाई पादरीहरूको साथमा नपठाई शुद्धि गरेर तिब्बतमै थामेका थिए। निस्कासनमा परेका पादरीहरू कुतीको बाटो गरी आउँदा भक्तपुर र ललितपुरमा उनीहरूले अखडा जमाउन सफल भएका थिए (बाबुराम आचार्य, 'श्री ५ पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी'-२०६१:११-१२)।

त्यसपछि क्रमशः अन्य क्रिश्चियन पादरीहरूको पनि नेपालमा आगमन भयो। केपुचिन पादरीहरू यहीँबाट तिब्बत ल्हासामा आफ्नो धर्म प्रचार गर्थे। पादरी होरेस चुवाचिम आफ्ना चेलाका साथ नेपाल भारत आवतजावत गर्थे। भक्तपुरका अन्तिम राजा रणजित मल्लको आमन्त्रणमा जुवाचिम पुनः पटनाबाट भक्तपुर आएर बसेका थिए। उनीहरू औषधोपचारमा पोख्त हुन्थे। (नेपाल, उही)
क्रिश्चियन पादरीहरूप्रति उपत्यकाका मल्ल राजाहरू उदार थिए। उनीहरूलाई गिर्जाघर (चर्च) बनाएर धर्मप्रचारका लागि छुट दिइएको थियो। 

उपत्यकामा चर्च स्थापना
ललितपुरमा राज्यप्रकाश मल्ल राजा भएको बेला उनका दाजु कान्तिपुरका राजा जयप्रकाश मल्लको सल्लाहअनुसार तनिगलटोलका ढुंगेधाराको बगैँचासहितको चारतले चौघेराभवन केपुचिन पादरीका लागि चन्द्रशेखर मल्ल र दैवज्ञ कोटिराज जोशीलाई साक्षी राखेर विसं. १८११ मा ताम्रपत्र नै गरी प्रदान गरिदिएका थिए  (आचार्य, २०६१:२१२)।

विसं. १७६७ मा कान्तिपुरमा केपुचिन सम्प्रदायका फ्र्याङ्क र एन्थोनी मेरी नाम दुई पादरी कान्तिपुर आएका थिए। राजा महिन्द्रसिंह र झगल ठकुलले उनीहरूको स्वागत गरे। विसं. १७६७ मा उनीहरूले कान्तिपुरमा चर्च बनाइसकेका थिए। तर, ब्राहृमणहरूले विरोध गर्दा ती पादरीहरू त्यहाँबाट हटेर भक्तपुर गए। भक्तपुरका राजा भूपतिन्द्र मल्लले उनीहरूको स्वागत गरे। विसं. १७७९ मा जगज्जय मल्ल कान्तिपुरका राजा भए। उनले भक्तपुरको एक शाखाका रुपमा कान्तिपुरमा चर्च खोल्ने अनुमति दिए। ल्हासाबाट फर्की आएका पादरी फादर होरेस कान्तिपुरमा आफ्नो गुमेको अधिकार फिर्ता लिन समर्थ भए। तर समयक्रममा उनको दुर्व्यवहारप्रति राजा जगज्जय उनीसँग क्रुद्ध क्रुद्ध हुन पुगे। तर टाठाबाठा उनले एक विन्तिपत्र राजाकहाँ पुर्‍याई कैदबाट मुक्ति पाई कान्तिपुरमा धर्म प्रचारको अनुमति पाए। त्यसबेला केपुचिनहरूको मुख्य अखडा ल्हासा थियो। त्यहाँका मुख्य पादरी जोआचिम र होरेसका सट्टा भितो पादरी भएर भितो। पटनामा आफ्नो मानिस पठाएर भक्तपुरका राजा रणजित मल्लले ती पादरीको स्वागत गरे। उनले भक्तपुर आएर फलामको क्रश उभ्याउने अनुमति पाए। राजा रणजित मल्लले विसं. १७९७ मा चर्च सञ्चालनका लागि एक भब्य भवन र बगैँचासमेत दिएर आफ्ना जनतालाई स्वेच्छापूर्वक इसाई बनाउन पाउने ताम्रपत्र पनि दिएका थिए (आचार्य, २०६१:१५३-१५४)।

जयप्रकाश मल्ललाई पादरीको सहयोग
गोरखाजस्तो सानो पहाडी राज्यलाई विस्तार गर्दै आफ्नो सैन्य अभियानमा अगाडि बढिरहेका पृथ्वीनारायण शाह त्यो बेला उपत्यकाका मल्ल राजाहरूका लागि ठूलो चुनौती भइरहेका थिए। उनको अभियानबाट आफ्नो राज्य नबच्ने अवस्थाको अनुभूति उनीहरूले गरिरहेका थिए। त्यसैले कान्तिपुरका राजा जयप्रकाश मल्लले आफ्नो राज्यलाई गोरखालीहरूबाट बचाउन इष्ट इण्डिया कम्पनीको सहयोग लिने विचार गरे।

पृथ्वीनारायण शाहले विसं. १८२३ वैशाख-जेठ महिनादेखि कान्तिपुरलाई पश्चिमोत्तर भागबाट ढेप्दै लगिरहेका थिए। कडा नाकावन्दीका साथ वंशराज पाँडेले कीर्तिपुरलाई घेरा दिन सुरु गरेपछि नै जयप्रकाश मल्लमा ठूलो छटपटाहट सुरु भएको थियो। त्यसैले उनले आफ्नो सहयोगका लागि अङ्ग्रेजलाई निम्त्याउन चाहेका थिए। यसका लागि बेतियाका वाणिज्य दूत, पटनाका हाकिम र  कलकत्ताका गभर्नरसमक्ष पत्र पठाउन उनले भक्तपुरका राजा रणजित मल्लसँग सल्लाह गरे। यो सल्लाहपछि उमदा नामको कास्मिरी मुसलमान र फकिर रामदाशलाई विसं. १८२४ को सुरुवातमा सिन्धुलीको बाटो गरी बेतिया पठाए। तर बेतियामा पादरीहरूले कुरा मिलाइसकेका थिए। सम्भवतः फारसी भाषामा लेखिएको जयप्रकाश मल्लको अर्जि पत्र पादरीहरूले नै लिएर गएका थिए। उनै पादरीहरूले जयप्रकाश मल्लका दूतहरूलाई बेतियाका बाणिज्य दूत गोल्डिङसम्म पुर्‍याइदिएका थिए  (आचार्य, २०६१:३२९-३३०)।

अब अङ्ग्रेजले नेपालमा सैनिक अभियान सञ्चालन गर्ने भयो। यसका लागि कप्तान किनलकको नेतृत्वमा १८ कम्पनीमा बाँडिएका २४ सय बन्दुकधारी सैनिक पटनाबाट प्रस्थान गरे। उनीहरू सिन्धुलीगढीको बाटो हुँदै उक्लिरहेका थिए  (आचार्य, २०६१:३३४-३३५)। विसं. १८२४ असोज ९ गते कप्तान किनलक आफ्नो सैनिकहरूकासाथ हरिहरपुर आइपुगे। असोज २४ गते गोरखाली सेनाले शत्रु सेनालाई त्यहाँबाट हटाई चार पाँच सय बन्दूक समेत लुटे (बाबुराम आचार्य, 'पूर्णिमा' पूर्णाङ्क २७-२०२९ असोज, पृ.१६६) ।
किनलकको सैनिक अभियानलाई क्षतविक्षत बनाई उनीहरूलाई दपेटेर लखेट्ने काम गोरखाली सेनाका नायकहरू वंशराज पाँडे, वीरभद्र उपाध्यय र वंशु गुरुङले गरेका थिए (आचार्य, २०६१:३३५)।

यसबाट उपत्यकामा चर्च स्थापना गरेर धर्म प्रचार गरिरहेका क्रिश्चियन पादरीहरूले आफ्नो धर्मदर्शनको प्रचारमात्रै होइन, त्यसको साथसाथै त्यहाँका राजाहरूलाई ठूलो राजनीतिक सहयोग गरेको पनि पुष्टि पुग्छ।

कीर्तिपुरेको नाक काटिदा
उपत्यका जित्नका लागि पहिले कीर्तिपुर हात लिन जरुरी हुन्थ्यो। यो कठीन किल्लामा विसं. १८१४ जेठ १९ गते आक्रमण हुँदा गोरखाली सेनापति काजी कालु पाँडे मारिए। पृथ्वीनारायण शाह स्वयम्को झण्डै ज्यान गएको थियो। अधिक क्षतिसहित गोरखालीहरुको हार हुन पुग्यो। पहिलो हारको सात वर्षपछि विसं. १८२१ भदौ महिनामा गरिएको दोस्रो आक्रमणमा कीर्तिपुरेको बाण प्रहारबाट सेनापति शूरप्रताप शाहको देब्रे आँखा फुट्यो। सेनापति नै घाइते भएपछि हार ब्यहोरेर गोरखाली सेना पुनः दहचोक फर्कियो। यसरी देब्रे आँखा फुटेर घाइते भएका शूरप्रताप शाहले केपुचिन पादरी माइकल एन्जेलोको शरणमा गई आँखाको उपचार गराएका थिए। (शुक्रसागर श्रेष्ठ, 'कीर्तिपुरको पुरातात्त्विक तथा ऐतिहासिक अध्ययन'- २०५७:१८)। 

तेस्रोपटकको प्रयासमा विसं. १८२२ चैत ३ गते गोरखालीले कीर्तिपुर जिते। तर, विजित कीर्तिपुरेहरूमाथि गोरखालीहरूबाट ठूलो अत्याचार भयो। १२ वर्षदेखिमाथि पुरुषहरूको नाक, कान, ओँठ काटियो। पहिलो आक्रमणमा कालु पाँडे मारिनुका साथै स्वयम् पृथ्वीनारायण शाहको ज्यान जोखिममा पर्नु, दोस्रोपटकको आक्रमणमा शूरप्रताप शाहको आँखा फुट्नाले गोरखालीहरूलाई कीर्तिपुरेहरूप्रति प्रतिशोधी बनाएको थियो। 

गोरखालीहरूबाट कीर्तिपुरहरूमाथि अमानवीय किसिमको ब्यवहार भइरहेको बेला सर्वप्रथम क्रिश्चियन पादरी माइकल एन्जोलो ती कीर्तिपुरहरूको लागि क्षमादान दिन शूरप्रताप शाहसमक्ष आग्रह गर्न पुगेका थिए। उनी तत्कालीन पादरीका प्रमुख थिए। उनी औषधि गर्न निपूर्ण पनि थिए। उनैले शूरप्रतापको आँखाको उपचार गरेका कारण पनि कीर्तिपुरमा अनिष्ट हुन लागेको बेला क्षमादानका लागि शूरप्रतापसमक्ष आग्रह गरेका थिए (श्रेष्ठ, २०५७:२१)।
तर यी पादरीको आग्रहप्रति कुनै विचार गरिएन। 

क्रिश्चियन पादरीहरूको निष्कासन 
धर्मको हिसाबले पृथ्वीनारायण शाह सनातनी हिन्दुभित्रको पनि शैव थिए। उनको लालमोहरमा 'श्रीदुर्गा', 'भवानी' लेखिएको छ। यसबाट उनी शैवभित्र पनि शाक्त परम्परावादी भएको स्पष्ट हुन्छ। त्यसैले क्रिश्चियन पादरीहरू र उनीहरूले गर्ने गरेको धर्मप्रचारप्रति पृथ्वीनारायण शाह अनुदार थिए। फेरि किनलकको अभियानका कारण पनि क्रिश्चियन तथा अङ्ग्रेजप्रति उनी चिढिएका थिए। त्यसैले उनले उपत्यकाका तीनवटै राज्य कब्जामा लिएपछि क्रिश्चियन पादरीहरूलाई आफ्नो देशबाट निष्कासन गर्ने योजना बनाए।

उनी आफू तनहुँ आक्रमण गर्ने योजना सञ्चालनका लागि गोरखा राजदरबारमा जाँदा कीर्तिपुरमा रहेका केपुचिन पादरीहरूलाई निकाल्ने जिम्मा उनले युवराज प्रतापसिंह शाहलाई सुम्पेका थिए। (आचार्य, २०६१:३५३-३५४)।

पृथ्वीनारायण शाहले विसं. १८२६ मा भक्तपुर कब्जा गरिसकेपछि पादरीहरूमाथि आँखा लगाए र राम्रै मुखले उनीहरूलाई विदा दिए। त्यसबेला नेपालबाट ६० जना जति क्रिश्चियन धर्मावलम्बी निकालामा परे। उनीहरू बेतिया गई बसे (नेपाल, २०७३)।

बहादुर शाह पादरीको शरणमा
पृथ्वीनारायण शाहको १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा देहान्त भयो। उनको देहान्तपछि राजा भएका प्रतापसिंह शाहले आफ्ना भाई  बहादुर शाहमाथि आफ्ना काकाहरू र चौविसी राजाहरूसँग मिली आफूविरुद्ध षड्यन्त्र गर्ने हुन् कि भन्ने आशंका गरे। आफ्ना सल्लाहकार ब्रजनाथ पौडेल तथा सरदार स्वरुपसिंह कार्कीको सल्लाहअनुसार बुवाको आसौच बारिरहेकै अवस्थामा बहादुर शाह नुवाकोटमा कैद गरे। पृथ्वीनारायण शाहका भाई दलजित शाह भागेर बेपत्ता भए। गजराज मिश्रको विशेष आग्रहमा राजाको आदेशअनुसार नजरबन्दबाट मुक्त भएर बहादुर शाह निर्वासनको क्रममा बेतिया गएर बस्न लागे। (आचार्य, बाबुराम, 'अब कहिल्यै यस्तो नहोस' -२०६८:२)।

यसरी बेतियामा पुगेका राजकुमार बहादुर शाहबारे पृथ्वीनारायणको आदेशपछि नेपालबाट निकालामा परेका पादरी माइकल एंजोलोले बहादुर शाहका विषयमा निक्कै चासो राखेर उनीसँग पत्र आदान प्रदान गरेको पाइन्छ।

बहादुर शाह निर्वासनका क्रममा बेतिया पुग्दा ललितपुरबाट पृथ्वीनारायण शाहले देशनिकाला गरेका इशाई पादरी माइकल एन्जोलोको आश्रयमा बसेका थिए  (बाबुराम आचार्य, ‘पूर्णिमा’ पूर्णाङ्क ५०-२०३८ चैत, पृ.३)।

पादरी एंजोलोले प्रतापसिंह शाहलाई वि.सं. १८३४ असोज २५ गते एक पत्र लेखी बहादुर शाह बेतिया आइपुगेका, उनीसँग आफ्नो भेटघाट र बातचित भएको, महाराजले सच्चा मनले बहादुर शाहलाई ब्यवहार गर्नुपर्ने, बहादुर शाहले पनि त्यस्तै चाहेको उल्लेख गरेका छन्। त्यस्तै महाराजले आफ्ना भाइलाई बोलाउनुपर्ने पत्रमा उल्लेख छ (दिनेशराज पन्त, 'पूर्णिमा' पूर्णाङ्क ५५-मङ्सिर २०४०:३४-३५)।

त्यस्तै पादरी एंजोलोले बहादुर शाहलाई पनि विभिन्न मितिमा पत्रहरू पठाइरहेका थिए। ती पत्रमध्ये विसं. १८३४ चैत ५ गते 'औलो लागेर मरिने डर छ, पादरी फरफेतोले दिएको सल्लाहअनुसार पूर्ण रुपमा तपाईंको उपचार गर्न तयार छौं,' (पन्त, २०४०:३६) भन्ने उल्लेख भएबाट उनले पादरीहरूबाट उपचार सेवा लिएका थिए भन्ने बुझ्न सकिन्छ। 

क्रिश्चियन धर्मप्रति अनुदार भाव राखी उनीहरूलाई आफ्नो देशबाट निस्काशन गर्ने पृथ्वीनारायण शाहकै एक जना छोरा बहादुर शाह आपना दाजु प्रतापसिंह शाहले देशबाट लखेट्दा बेतियामा पुगी क्रिश्चियन पादरी माइकल एन्जलोको शरणमा गएर बसे। यो घटनालाई लिएर इतिहासकार चित्तरञ्जन नेपालीले बहादुर शाहलाई 'ब्रिटिश समर्थक' भनी टिप्पणी गरेका छन्। उनले आफ्नो पुस्तक 'श्री ५ रणबहादुर शाह' (२०७५:४)मा लेखेका छन्, 'पृथ्वीनारायण शाहको परराष्ट्र नीति, अझ विशेषतः ब्रिटिशप्रतिको नीति र बहादुर शाहको नीतिमा सैद्धान्तिक मतभेद् थियो। उनी ब्रिटिश शक्तिका समर्थक थिए भन्ने साबित हुन्छ।'

https://www.annapurnapost.com/story/448835/?fbclid 

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि