अनुभूति : यसरी लेखियो, आदिवासी विद्रोहको इतिहास

 २० चैत्र २०७९, सोमबार  

राजकुमार दिक्पाल



अहिले प्रवासी जीवन ब्यतित गरिरहेको छु । स्वदेशबाट प्रवासतर्फ पाइला उचाल्दै गर्दा आफूले २२ वर्ष पत्रकारिता र त्योसंगै आठ वर्ष प्राध्यापनमा ब्यतित गरेको अनुभवको सङ्गालो थियो, मसंग ।
तर जीवनमा जोडिएको यस्तो सम्पत्तिलाई माया मारेर प्रवासतर्फ पाइला चलाए । यसमा केही रहर थिए, अनि केही बाध्यता ।
प्रवासतर्फ पाइला उचाल्दै गर्दा मैले हरेक दिनको एउटा तालिका बनाएको थिए । तालिका थियो, आठ घण्टा श्रम गर्ने, आठ घण्टा सुत्ने । बाकी समयमध्ये चार घण्टा परिवार र साथीहरुलाई दिदै चार घण्टा चाहिं अध्ययन, लेखन र चिन्तनमा लगाउने ।
लेखनका सन्दर्भमा दुई वटा इतिहास सम्बन्धी लेख लेख्ने योजना नेपालबाटै बनाएर आएको थिए । बाँकी जे भोगिन्छ, ती लेख्दै जाउला भन्ने थियो ।
मैले प्रवासमा रहेर लेखूंला भन्ने इतिहासमध्ये एउटा थियो, पृथ्वीनारायण शाहका बुवा नरभुपाल शाहको मृत्यू हुँदा उनको साथमा सति गएका एक कमारो केटोसंगको नरभुपाल शाहको सम्बन्ध । दोस्रो थियो, राई लिम्बूमा रहेको मेगजिन करसम्बन्धी भ्रम निवारण ।
आफ्नो योजना अनुसार यी दुवै इतिहास लेखेर नेपालको मूलधारकै सञ्चार माध्यम मार्फत प्रकाशनमा ल्याए, सात वर्षअघि ।
हुन त नेपालमै छंदा मभित्रको इतिहास अध्ययनको तिब्र ब्याकुलताले लेखनको साधनका लागि केही सन्दर्भ सामग्री र पुराना कागजपत्रहरु सङ्कलन गरेको थिए, जो मेरो ल्यापटपमा सुरक्षित छन् । माथिका दुई इतिहास सम्बन्धी सामग्री प्रकाशमा ल्याएपछि पाएको सकारात्मक प्रतिक्रियाले आफूसंग भएका सन्दर्भ सामग्री तथा पुराना कागजपत्रहरु ओल्टाइपल्टाई गर्ने उत्साह जागिहाल्यो ।
ती महत्वपूर्ण सन्दर्भ सामग्रीमध्ये इतिहासप्रधान पत्रिका ‘पूणिर्माको एउटा अङ्कमा आखां पर्‍यो । तत्कालिन राजा रणबहादुर शाहले नुवाकोटमा वि.सं. १८५० मा एक हजार विद्रोही तामाङलाई काटेको तथ्यसहितको पत्र त्यतिबेला नुवाकोट खटिदै गरेका कप्तान कालु पााडे -बाहुन)लाई लेखिएको पाइयो । लाग्यो, यो भयानक तामाङ विद्रोह इतिहास लेखनको एउटा पाटो हुनेछ । यसका पृष्ठभूमि समेटेर एउटा लेख जनआस्था साप्ताहिकमा छपाए । यसले पहिलेको लेखनभन्दा झन ठूलो चर्चा पायो । यो इतिहास पढेर केही आदिवासी अधिकारवादी नेताले भाषण गरेको पनि युट्युवमा हेर्न सुन्न पाइयो । सञ्चारको शक्ति अनुभूत भयो ।
यस्तै एक सांझ पुरातत्व विभागको मुखपत्र प्राचीन नेपालका अङ्कहरु पढिरहेको थिए, तीमध्ये एउटा अङ्कमा लेखिएको पाठले सम्बन्धित विषयमा थप जिज्ञासु बनायो । शाके १७१३ मा किराती मूलुकमा लिम्बुहरुले कूल गरेको…भन्ने ब्यहोरा त्यहां परेपछि अब यसबारे थप अध्ययन अनुसन्धानलाई आवश्यक ठानियो ।
‘कूल गरेको’ भनेको के होला ? इतिहासकार प्रा. दिनेशराज पन्तसमक्ष फोनमार्फत जिज्ञासा राखे । उहांले भन्नुभयो,’कुल गरेको’ भनेको विद्रोह गरेको हो ।
शाके अर्थात् शक संवत १७१३ भनेको वि.सं. १८४८ हो । हालः बेलायतनिवासी इतिहास र संस्कृतिका मर्मज्ञ साहित्यकार टङ्क वनेमबाट सप्रेम उपहारस्वरुप प्राप्त तत्कालिन चर्चित लिम्बु सुब्बा सिर्देउ रायलाई प्रदान गरिएको दुई वटा रुक्कामा पनि ‘अठचालिस सालमा कुल हुादा… भन्ने परेको पाइएपछि यसबारे म ढुक्क भए, वि.सं. १८४८ मा लिम्बुहरुले ठूलो विद्रोह मच्चाएको इतिहास लेखनमा ।
लेखिरहेको थिए, त्यसैबेला एक जना बौद्धिक ब्यक्तित्व डा. तारामणि राईसंग संवाद भयो । हामी दुईबीचको संवादका क्रममा ताराजीले भन्नुभयो,’मेरो सम्पादनमा एउटा जर्नल निस्कनै आंटेको छ, तपाईसंग कुनै लेख छ ?
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको जर्नल आदिवासी जनजाति लागि लेखको माग आएपछि मैले लिम्बु विद्रोह-१८४८) लेखे । जो छापिएपछि नेपालका आदिवासीहरुबाट भएको ठूला ठूला विद्रोहको इतिहासको खोजी र लेखनका क्रममा मेरा अनिदा रातहरु सुरु भए ।

आंखा उघारी देखेको सपना
एक दिन दिउसो नेपाल आदिवासी जनजाति पत्रकार महासंघ -फोनिज) को कार्यालयमा पुगेको थिए, नेपाल छदां । भेट भयो, फोनिज -त्यसबेला अनिजका अध्यक्ष खिम घलेसंग । मेरो हातमा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी पुस्तक थियो । पुस्तकप्रेमी खिमजीले भन्नुभयो,’सोल्टीको इतिहास अध्ययनमा रुची रहेछ, पढ्दै गर्नुहोला कुनै दिन यो काम लाग्नेछ ।
उहाको भनाईले छोएपछि एउटा पुस्तकको तयारीमा लागे । यदि त्यो पुस्तक त्यतिखेरै प्रकाशनमा आएको भए, हतार हुने रहेछ । अहिले यस्तो लाग्छ । धन्न हतार गरिनछु ।
माथि उल्लेख भइसक्यो, अध्ययन गर्दै जादा निद्रा गायब हुन थाल्यो । भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कालमको एउटा अभिब्यक्ति भने मनभरि सांचेको थिए । त्यो अभिब्यक्ति थियो, सपना त्यो होइन, जो निदाएको बेला आउछ, सपना त त्यो हो जो आंखा उघारेरै देखिन्छ ।
मैले पनि आंखा उघारेरै एउटा सपना देख्न थालेछु ।
विदेशको बसाई, त्यो पनि त्यो बेला बेरोजगार अवस्था थियो । मनमा खेल्ने अनेक तर्कनाहरु छदै थिए । न्यास्रोपन र केही निराशाहरु मनभरि दौडादौड गरिरहेकै थिए । तर तिनीहरुलाई तह लगाउने माध्यमका रुपमा इतिहास अध्ययन र लेखन मेरो लागि ठूलो सहयोगीसिद्ध हुन पुग्यो ।
अब मैले आफ्नो ल्यापटपलाई यसरी सुम्सुम्याउन थाले कि त्यहा ब्यवस्थापन गरिएको सन्दर्भ सामग्री र अर्काइभहरुको अध्ययन बिना न निद्रा लाग्थ्यो, न भोक जाग्थ्यो ।
आफूलाई आवश्यक परेको सन्दर्भ सामग्रीका पानाहरु झिकाउनका लागि नेपालमा रहेका मित्रजनहरुलाई हारगुहार गर्नु अर्को विकल्प थियो । छोरी युन्छोमी यसमा सधै अग्रसर भइदिदा राहत अनुभूति हुन्थ्यो । सम्धिसाव देवेन्द्र खापुङ, सास्कृतिकर्मी मित्र गोविन्द न्यौपानेलाई धेरै पटक सन्दर्भ सामग्री ब्यवस्थापनका लागि दुःख दिए । लेख्दै गए र फूटकर लेखहरु छपाउदै पनि गए ।
एक दिन मित बहिनी कविता राई गाउलेबाट सन्देश आयो, ‘म दाजुको किताब छाप्न गर्नुपर्ने सहयोगका लागि तयार छु’ ।
महसुस भयो, अध्ययन र लेखनसंगै अब एउटा कितावको तयारी गर्न पनि मेरो लागि जरुरी छ ।

भीरको बाटो भई यात्रा गर्दा
सोचेको थिइन, म यसरी प्रवासमा जान्छु भनेर । तर नसोचेको घटना भइदिन्छ, कहिलेकाहि । मेरो प्रवासी जीवन यस्तै नसोचेको घटनामध्येको एक हो ।
सबैको प्रवासी जीवनको अनुभूति म अभिब्यक्त गर्न सक्दिन, तर मेरो प्रवासी जीवन एउटा भीरको बाटोको यात्राजस्तो छ । भीरको बाटो सांघुरो हुन्छ । अलिकता भित्तामा ठोक्किए, भित्ताले ठेलिहाल्छ । तल छांगाले तान्न खोज्छ । बडो जोगिएर सावधानी अपनाउदै हिडिरहेको छु, यो यात्रामा ।
विदेश जाउला, उतै कमाउला अनि उतै रमाउला भन्ने सोच पहिले पनि थिएन, अहिले पनि छैन । तर अचम्म के भयो भने विदेशमा रहादाबस्दा लेख्ने उत्साहले मनभरि उत्पात मच्चाउन थाल्यो, त्यसमा पनि इतिहास अनुसन्धानको क्षेत्रमा । श्रमले थकीत भएर पाकेको केराजस्तै सरीर बोकी निवासमा आएको बखत पो पढ्न र लेख्न जाागर चलेर आउदो रहेछ । मैले कठीन श्रमपछिको विश्रामको समयमै अधिकांश अध्ययन र लेखनको ब्यवस्थापन गरेको हुा । त्यसैको परिणामस्वरुप ‘आदिवासी विद्रोहको इतिहास’ को पहिला संस्करण २०७६ सालमा लोकसमक्ष अर्पण गर्ने अवसर जुर्‍यो ।
इतिहासमा मेरो अभिरुची जातीय इतिहास -एथ्निक हिस्टोरी)मा छ । यस्तो रुची प्रकट गरी लेख्दा जातिवादको अर्को बिल्ला पनि भिर्नु परेको छ । कसैले विदेशीको डलर खाएर लेखेको आरोप लगाउने गरेका छन् । कसैकसैले जाति जाति जुधाउने र गन्हाउने खालको इतिहास लेखन भयो भन्ने आरोप पनि आएको छ ममाथि । यसलाई म अन्यथा लिन चाहन्ना, बिल्ला भिर्न तयार छु ।
तत्कालिन धर्माधिकार तोत्रराज पाण्डे र नयराज पन्तले २००४ सालमा ‘ नेपालको संक्षिप्त इतिहास’छाप्नुभयो । दार्जिलिङमा रहेर सूर्यविक्रम ज्ञवालीले पनि धेरै इतिहासका पुस्तकहरु प्रकाशनमा ल्याए । डा. राजेश गौतमले ‘ इतिहास लेखनको इतिहास’ -२०५१ः३३९)अनुसार बेलायती नागरिक विलियम कर्कप्याटि्रकले लेखेको एक एकाउन्ट अफ् कीङडम अफ् नेपाल’ -सन् १८११) नेपालसम्बन्धी लेखिएको पहिलो इतिहासको पुस्तक हो । नेपालीले नेपालसम्बन्धी लेखेको पहिलो इतिहासको पुस्तक’नेपालको इतिहास’ -सन् १९२२) हो । बनारसबाट प्रकाशित यो पुस्तकका लेखिक अम्विकाप्रसाद उपाध्यय हुन् -गौतम,२०५१ः३५१) ।
तर राणाशासनको त्यो समयमा यो पुस्तक एक प्रकारले प्रतिवन्धित जस्तै भयो । त्यसैबेला सिक्किमको गान्तोकबाट ‘किरात इतिहास’ -सन् १८४८) प्रकाशमा ल्याएर इमानसिंह चेम्जोङले नेपाली जातीय इतिहास लेखनको जग बसाल्न सुरु गर्नुभयो । यसअर्थमा चेम्जोङज्यू मूलधारका इतिहासकारहरुको नजरमा सन्दर्भ ग्रन्थकार हुनुभएन । उहा नेपाली मूलधारको इतिहासको एक उपेक्षित इतिहासकार रुपमा स्थापित हुनुभयो । अहिले उहाको शीर उठाउनी लिम्बूहरुले गर्नु परेको छ । त्यसैले हरेक जनवरी १ मा भब्य रुपमा इमानसिंह चेम्जोङ जयन्ती मनाइन्छ । यसमा लिम्बूहरुनै अग्रसर हुने गरेका छन् । नेपालका इतिहासकारहरुमा इमानसिंह चेम्जोङको जति भब्य जन्मजयन्ती अन्य इतिहासकारको मनाइएको त्यति पाइदैन ।
म आफू विदेश बसेर श्रम गरेरै भए पनि नेपालको खासगरी आदिवासीहरुको इतिहासको अध्ययन र लेखनमा केही पसिना बगाउन चाहिरहेको छु, जसका कारण इमानसिंह चेम्जोङजस्ता विभूतिको चरणस्पर्श आफ्नो कलमले भएको अनुभूति गर्न पाइयोस ।
भीरको बाटोको यात्रामा यस्तो अनभूतिको महत्व सानो हुनेछैन ।

जीवनको यस्तो एउटा क्षण
पुस्तक प्रकाशनमा आउने भयो । मैले लेखेको पुस्तकमध्ये यो दोस्रो प्रकाशन हो । यसलाई चाहि भब्य रुपमै लोकार्पण गर्ने मन भयो । लोकार्पणमा सहभागिताका लागि नेपालको छोटा बसाईमा विभिन्न स्रोतहरुबाट फोन नम्बर सङ्कलन गरी धमाधम एक सय जना जतिलाई फोन गरेा । सोचे, सय जनालाई फोन गरेकोमा ५०/६० जना जति आउलान् । कार्यक्रम जसोतसो चल्ला ।
तर अचम्म भयो, करीव दुई सय जनाको उपस्थिति भयो । फेसबुक हेरेरै सरोकारवाला बौद्धिक ब्यक्तित्वहरुको सघन उपस्थितीले २०७६ साल पुस १२ गते शनिबारको त्यो चिसो मौसममा मैले न्यानो आत्मीयताको अनुभूति गरे । यो न्यानोपनले मलाई इतिहासमा थप जिज्ञासु बनाएको छ । मनमा अझै लेख्ने जागरण विकसित भएको छ ।
मेरो पुस्तक ‘आदिवासी विद्रोहको इतिहासको परिमार्जित दोस्रो संस्करण मञ्जरी प्रकाशनले हालै प्रकाशित गरेको छ । यसमा मैले थप वि.सं. १८२७ मा नेवारहरुले पृथ्वीनारायण शाहको झण्डै ज्यान जाने गरी गरेको विद्रोहलाई पनि समेटेको छु ।
यो पुस्तकको ब्यापक माग आएपछि दोस्रो संस्करण गत वर्ष नै प्रकाशित गर्ने चासो मञ्जरी पब्लिकेसनले देखाएको थियो । तर विगतमा भएका केही भूलसुधार र थप विद्रोहको खोजी र लेखनले समय लियो । त्यसैले यो वर्ष मात्र पुस्तक बजारमा आउन सफल भयो ।
मेरो अर्को एउटा चाहना छ, यसलाई अङ्ग्रेजी भाषामा अनुवाद गरी यसको अङ्ग्रेजी संस्करण पनि बजारमा ल्याउने । यसो गरियो भने नेपालको आदिवासी विद्रोहको इतिहास अन्तराष्ट्रिय प्राज्ञिक जगतमा पनि पुग्नेछ । तर यो सजिलो त पक्कै छैन, होस्टेमा हैंसे भयो भने असम्भव पनि छैन ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ८ : ४१ बजे

https://www.everesttimesnews.com/2023/04/03/30597/?fbclid


Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि