चमक हराएकाे चौदण्डीगढी

 पूर्ण पी राई 

चौदण्डीगढीमा रहेको सेनकालीन दरबारको भग्नावशेष। तस्वीरः पूर्ण पी राई 

कक्षा १२ को ऐच्छिक नेपालीमा भूपाल राईको ‘हरिनन्द र माटो’ शीर्षक कविता परेपछि पोखरेलहरूको एउटा समूहले आफ्नो थरको बेइज्जत भएको भन्दै विरोध गरे। कतिपय खार्पाली पोखरेलहरूले पाठ्यक्रमबाट कविता हटाउन आन्दोलन पनि गरे। उनीहरूको मुख्य आपत्ति कविताको यो अनुच्छेदमा थियो-

ऊ एक द्रोह उर्फ दारा

पूरा नाम- हरिनन्द पोखरेल

ठेगाना- खार्पा, माझ किरात, खोटाङ

द्रोह वर्ष सन् १७७३।

पोखरेलहरूको विरोधले नेपाली विषय र साहित्यतर्फ खासै रुचि नभएकाहरूको ध्यान समेत कवितातिर तानियो। कविताको पात्र हरिनन्द पोखरेल वास्तविक हुन् कि काल्पनिक? यदि वास्तविक भए उनी को थिए र उनले कहाँ, के गरेका थिए भन्ने विषयले ठाउँ पायो। कवितामा उल्लिखित ठाउँले पनि चर्चा पायो। कविताको अर्को अनुच्छेद-

हरेक विकल्प छ ऊसँग

त्यसैले द्रोह गर्छ माटोसँग

त्यसैले भेटी चढाउँछ

आफैंले शरण लिएको एक मुठ्ठी माटो

नुवाकोटको दरबारमा 

यी दुई अनुच्छेदले हरिनन्द पोखरेल नामको व्यक्तिले आफू बसेको माटो अर्थात् देश वा राज्यप्रति घात गरेको अर्थ दिन्छ। नुवाकोट दरबार र मितिले तत्कालीन गोरखा राज्य विस्तारलाई जनाउँछ। कवितामा उल्लिखित माटोले हाल उदयपुर जिल्लामा रहेको तत्कालीन चौदण्डीगढीलाई जनाउँछ।


अब कविताको काव्यात्मक अर्थले पुगेन। वास्तविक तथा ऐतिहासिक तथ्यको कुरा आयो। ऐतिहासिक स्थानले चासो पायो। कक्षा १२ मा ऐच्छिक नेपाली पढाउने शिक्षक र पढ्ने विद्यार्थीले पनि चौदण्डीको इतिहास अलिकति जान्नुपर्ने भयो। सकेसम्म त्यही पुगेरै अवलोकन गर्न आवश्यक भयो।

इतिहासकारहरूका अनुसार‚ गोरखालीको अधीनमा आउनुअघि सेन राज्य अन्तर्गत परे पनि चौदण्डी राज्यमा छुट्टै थपना राजा थियो। यसको नियन्त्रणमा चुरे उत्तरको वर्तमान उदयपुरमा पर्ने भित्री मधेश लगायत दुधकोशी पूर्व र अरुण पश्चिमको पूरै पहाडी भूभाग पर्थ्यो। जसलाई माझकिरात भनिन्थ्यो। माझकिरातमा अरू पनि ससाना थपना राजाहरू थिए। चौदण्डी राज्यको राजधानी चौदण्डीगढीमा थियो। 

राजदरबारमा खार्पाका हरिनन्द उपाध्याय पोखरेल राजपुरोहित थिए। स्वरूपसिंह कार्की दरबारका ठूला कर्मचारी थिए। दरबारसँग उनीहरूको मनमुटाव भयो। हरिनन्दले भने चौदण्डी राज्य सिध्याउने सङ्कल्प गरे। स्वरूपसिंह पनि पोखरेलसँग सहमत भए। दुवैजनाले पश्चिमबाट पूर्वतर्फ बढ्दै गरेको गोरखा राज्यलाई आफ्नो सङ्कल्प पूरा गर्ने भरपर्दो माध्यमका रूपमा पाए। त्यसैले उनीहरू नुवाकोट दरबारमा बसिरहेका गोरखाली राजा पृथ्वीनारायण शाहलाई चौदण्डी लगायत माझकिरात आक्रमण गर्न निम्तो दिन गए। हरिनन्दले आफू बसेको चौदण्डी राज्यको एक डल्ला माटो भेटीका रूपमा पृथ्वीनारायणको पाउमा राखेर आफूले आवश्यक सबै सहयोग गर्ने वाचा गरेका थिए।

पत्रकार राजकुमार दिक्पालको ‘पृथ्वीनाराण शाहलाई माझकिरातको माटोको डल्लो’ शीर्षक लेख अनुसार‚ हरिनन्दले पृथ्वीनारायणलाई निम्तो मात्रै दिएनन्‚ गोरखाली सेनालाई माझकिरात प्रवेश गर्ने दुधकोशी नाकामा नाउको बस्दोबस्ती गर्ने लगायत सहयोगमा पैसाको खोलो बगाएका थिए।

चौदण्डीगढीमा रहेको सेनकालीन दरबारको भग्नावशेष। तस्वीरः पूर्ण पी राई

पुरातत्त्व विभागको मुखपत्र प्राचीन नेपाल अङ्क ९० विसं २०४२ मा छापिएको ‘उदयपुर र यसको ऐतिहासिक परिचय’ शीर्षक लेखमा भरतराज रावतले लेखेका छन्, ‘शाहवंशले जितेपछि चौडण्डी गण राजधानीलाई पूर्वी जिल्लास्तरीय प्रान्तको रुपमा एउटा प्रशासनिक इकाईको रुपमा परिवर्तन गरियो। वि.सं १८८७ सम्म उदयपुरको प्रशासनिक सदरमुकाम यही थियो। यसै साल सो ठाउँबाट सारी उदयपुरगढीमा सारियो। उदयपुरगढीबाट २०२८ सालमा त्रियुगा खोंचको भित्रीमधेश गाइघाटमा सारिएको छ।’

चौदण्डी राज्यको राजधानी चौदण्डीगढी हाल उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं १ मा पर्छ। दक्षिणपट्टि भित्रीमधेश र उत्तरतर्फ दुधकोशी पानीढलोको बीच एक हजार मिटर उचाइको डाँडोमा सेनकालीन दरबारको ढुङ्गे भग्नावशेष देख्न सकिन्छ। जसमा ढुङ्गाको षट्कोण आधारको जग, ढुङ्गाकै खम्बाहरू र ढुङ्गाकै ओखलहरू टुटेफुटेको अवस्थामा यत्रतत्र देखिन्छन्। पुरातत्त्व विभागले भग्नावशेषको उत्खनन र अध्ययन गरेको छ। 

“वेलावेला अध्ययन अनुसन्धान गर्न भन्दै पुरातत्त्व विभागबाट मान्छे आउँछन्, यताउति खन्छन्, टिपोट गर्छन्, फोटो खिच्छन् जान्छन्। उनीहरूले केकस्तो अध्ययन गरे केही थाहा हुन्न‚” वडाध्यक्ष सीताराम राई भन्छन्, “उनीहरूको अध्ययन अनुसन्धानपछिको कुनै जानकारी‚ प्रतिवेदन हामीलाई केही पनि आएको छैन।”

चौदण्डीगढी दरबार र त्यस आसपासको क्षेत्रलाई ऐतिहासिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न चौदण्डीगढी पर्यटन समिति गठन गरी संगठित प्रयास थालिएको छ। समितिको अगुवाइमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारले छुट्याएका बजेटबाट सानातिना काम भइरहेका छन्। दरबार क्षेत्रको घेराबार र नजिकैको बजार चारघरे भञ्ज्याङदेखि डेढ किलोमिटर कच्ची सडक निर्माण लगायतको पर्यटन पूर्वाधारहरू निर्माण गरिएका छन्। देशव्यापी मौलाएको भ्यूटावर संस्कृति चौदण्डीगढी नजिकै पनि पुगेको छ।

चारघरे भञ्ज्याङ भोजपुरको दक्षिण–पश्चिम क्षेत्र र उदयपुरको मध्य–पूर्व क्षेत्र जोड्ने प्रमुख नाका हो। उदयपुरको बेलटार बजार भोजपुर र खोटाङ जिल्लाका धेरै क्षेत्रका लागि पुरानो नुन गन्तव्य हो। बेलटार–बसाहा र भोजपुरको पाङ्चा–बालाङ्खा सडक चारघरे भञ्ज्याङ हुँदै जान्छ। रानीटारस्थित दुधकोशीमा मोटर चल्ने पुल बनेको छैन। बसाहा-रानीटार सडकको अवस्था नाजुक छ। अत्यन्तै साँघुरो र कच्ची सडकका कारण ठूला गाडी त चल्दैन नै, साना साधन चलाउन पनि निकै जोखिम छ।

गढी घुम्न आउनेका लागि खानेबस्ने व्यवस्था हुनुपर्ने स्थान चारघरे भञ्ज्याङ नै हो। तर‚ पर्याप्त मात्रामा होटल छैनन्। होटल व्यवसाय गर्न पानीको अभाव रहेको चारघरेमा होटल सञ्चालन गर्दै आएका विजय श्रेष्ठ बताउँछन्। उनका अनुसार‚ सुक्खा याममा होटल चलाउन त के, खानेपानीकै पनि समस्या हुन्छ। साथै‚ सडक राम्रो नभएकाले होटलका लागि आवश्यक सामग्री ढुवानी गर्न पनि कठिन छ।

वडाध्यक्ष राई र पर्यटन समितिका अध्यक्ष पदम कटुवाल काम गर्ने जाँगर र इच्छा भए पनि पर्याप्त बजेटको अभावले केही गर्न नसकिएको बताउँछन्। अहिलेसम्म जनश्रमदानबाट थुप्रै काम गरेको उनीहरूको दाबी छ। तर‚ चारघरे भञ्ज्याङबाट गढीसम्मको करीब ५०० मिटर लामो पैदलमार्ग गत दशैंमा हिंड्नै मुश्किल हुने गरी वनमारा र तितेपातीले ढाकेको थियो। गढी घुम्न गएका थुप्रै आन्तरिक पर्यटकहरू बाटो सफा नगरेकोमा गाली गर्दै झाडी छिचोल्दै थिए। दशैंमा बाटोघाटो सरसफाइ गर्ने पुरानो चलन हो। उक्त चलन अझै गाउँघरमा जीवित छ। चारघरे भञ्ज्याङबाट गढीसम्म जाने बाटोमा मान्छे हिंड्न छोडेकाले सफा गर्न छोडिएको वडाध्यक्ष राईले बताए। 


पर्यटन समितिका अध्यक्ष कटुवालका अनुसार‚ अरू वेला सुनसान जस्तै रहे पनि शुक्रबार र शनिबार दैनिक २०० हाराहारीमा आन्तरिक पर्यटक घुम्न र वनभोजका लागि गढी आउने गरेका छन्। पूर्वाधारको विकास गरे चौदण्डीगढी पर्यटकीय गन्तव्य बन्ने सम्भावना छ। तर‚ चौदण्डीगढीलाई कस्तो गन्तव्य बनाउने भन्ने न पर्यटन समितिसँग न वडासँग कुनै विस्तृत कार्ययोजना छ। जताबाट भए पनि अलि अलि बजेट ल्याउँदै पूर्वाधार विकासको नाममा यताउता‚ छ्यास्सछुस्स पार्ने क्रम जारी छ। नजिकै रहेको फुर्केगढीलाई वास्ता गरिएको छैन। अल्पकालीन तथा दीर्घकालीन योजना नहुँदासम्म व्यवस्थित काम हुँदैन। गुरुयोजना बनाउन अब लाग्ने वडाध्यक्ष राईले बताउँछन्। 


सोमबार, १८ पुस, २०७९, ०९:०५:०० मा प्रकाशित


https://www.himalkhabar.com/news/133700?fbclid=IwAR3kvR06TgAHJMnYbSc9Vrtn2w-ADAB1kAXQSO7_MIvIjJhl1EYET4cTDlk

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि