कोसेली - बदलिएका सेर्पा, सेरचन र सेर

 गणेश राई

भाषाको कुनै सीमा हुँदैन’ भन्ने गूढार्थसहित ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ बजारमा आएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेको यो तेस्रो शब्दकोश हो । तत्कालीन रोयल नेपाल एकेडेमीले विसं २०१९ मा ‘नेपाली शब्दकोश’ प्रकाशित गरेको थियो । सम्पादक थिए, एकेडेमीका उपकुलपति बालचन्द्र शर्मा ।


त्यही शब्दकोशलाई प्रज्ञा–प्रतिष्ठानले परिमार्जनसहित विसं २०४० मा प्रकाशित गर्‍यो ‘बृहत् नेपाली शब्दकोश’ नाममा । २०७५ सम्म उक्त शब्दकोश दसौं संस्करण प्रकाशित भयो । त्यसमा ६४ हजार शब्द समावेश थिए । सो शब्दकोशले परम्परा मात्रै धानेको थियो, मुलुकमा भएका ऐतिहासिक, राजनीतिक परिवर्तनलाई स्विकारेको थिएन । विभिन्न जातजातिको अपमानबोध गराउने शब्द र अर्थ थिए । प्रतिष्ठानले दसौं संस्करणलाई आधार मानेर भर्खरै (२०७९) ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ प्रकाशित गरेको छ । कोशमा १ लाख २८ हजार ३ सय ४४ शब्द प्रविष्ट छन् । नेपालका जातजाति, भाषाभाषी, लैंगिक समुदायलाई अपनत्व ग्रहण गराउने प्रयास यसमा गरिएको छ ।

विक्रमको दसौं शताब्दीपछि नेपाली भाषाको जन्म भएको मानिन्छ भने एघारौं शताब्दीदेखि लेख्य विकास भएको भनिन्छ । विदेशी विद्वान् कर्कप्याट्रिकले सन् १८११ मा प्रकाशित गरेको किताब ‘नेपालको इतिहास र वंशावलीसम्बन्धी विवरण’ मा नेपाली शब्दहरूको सूची छ, जसलाई नेपाली भाषाको शब्द टिपोट तथा प्रकाशनको शुभारम्भ मानिएको छ ।

प्रज्ञा–प्रतिष्ठानले नयाँ शब्दकोशमा मुलुकका मातृभाषा, नेपाली भाषाकै विभिन्न भाषिका तथा मुलुकबाहिर नेपालीभाषी रहेका ठाउँमा प्रचलनमा रहेका भाषाहरूसँगको संसर्गले नेपाली भाषाले आर्जन गरेका शब्द समेटेको जनाएको छ । शब्दकोशमा शब्द सङ्कलनका क्रममा गुरुङ, डोट्याली, तामाङ, थकाली, थारू, नेवार, जुम्ली, भोजपुरी, मैथिली, बान्तावा, मगर (ढुट), याक्खा, राजवंशी, अवधी, शेर्पा र मगर (अठार मगरात) गरी १७ भाषाका शब्दकोशको सहयोग लिइएको उल्लेख छ । अरबी, फारसी, पुर्तगाली, फ्रान्सेली, जर्मनेली, ग्रिसेली, तुर्केली, ल्याटिन, हिन्दी, चिनियाँ, तिब्बती, बङ्गाली, जापानी आदि विदेशी भाषाका शब्द नेपालीमा आएका छन् ।

नेपाली भाषाको माउ संस्कृत हो । स्रोत भाषालाई मौलिक र आगन्तुक शब्द भनी विभाजन गरिएको छ । संस्कृतबाट जस्ताको तस्तै नेपालीमा प्रयोग भएकालाई तत्सम शब्द र रूप बलिएर प्रयोग हुनेलाई तद्भव मानिएको छ । यसैगरी नेपाली जनताका मुखबाट बोल्दाबोल्दै आफैं उत्पन्न भएका शब्दलाई झर्रा मौलिक शब्द मानिएको छ । संस्कृतबाहेक अन्य स्वदेशी वा विदेशी भाषाबाट नेपालीमा आएका शब्दलाई आगन्तुक मानिएको छ । कोशमा चिन्हसूची, संकेत सूची, स्वरवर्णअन्तर्गत अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ र व्यञ्जनवर्णअन्तर्गत क देखि ज्ञ सम्मका शब्दहरू समेटिएका छन् । वर्णविन्यासअन्तर्गत ह्रस्व (इ, उ), दीर्घ (ई, ऊ), ङ, ञ, ण, न, म, श, ष, स, ब–व, ओ, य–ए, क्ष–क्ष्य–क्षे–छे–छ्य, ज्ञ–ग्यँ–ग्य, चन्द्रबिन्दु, शिरबिन्दु, विसर्ग, पदयोग र पदवियोगका सम्बन्धमा अवलम्बन गरिएका मान्यता प्रस्तुत गरिएको छ । मुलुकमा बोलिने विभिन्न मातृभाषाका शब्द समेटिएका छन् नै । कोरोना भाइरस ‘कोभिड–१९’ पछि प्रचलनमा रहेका ‘लकडाउन’, ‘स्यानिटाइजर’, ‘क्वारेन्टिन’, ‘आइसोलेसन’, ‘भेन्टिलेटर’ जस्ता शब्द पनि समेटिएका छन् ।

मानकका रूपमा स्थापित गरिएको शब्दकोशको प्रकाशकीय खण्डमा त्रुटि छ । पूर्णविराम एउटै डिकोमा हुनुपर्ने हो, तर तल झारिएको छ । ह्रस्व र दीर्घको प्रयोगअन्तर्गत वर्णक्रम (ङ) देखि एक्कैचोटि (ञ) उल्लेख छ । छुटेका (च), (छ), (ज) र (झ) मा के उल्लेख थियो ? शब्दकोश पढ्दा त्यो थाहा पाइँदैन । चन्द्रविन्दुको प्रयोगमा त्रुटि छ । ‘ऋ’, ‘श्र’, ‘ञ’, ‘ण’, ‘श’, ‘ष’ जस्ता वर्ण प्रचलनबाट हट्दो छ । विशेषगरी मातृभाषाहरूको लेखनका सवालमा यस शब्दकोश निर्माणमा संलग्न भाषावैज्ञानिककै सुझावअनुसार, यी अक्षर प्रयोगमा छैनन् । जस्तो बोल्यो, उच्चारणअनुसार उस्तै लेख्नुपर्छ भन्ने मान्यता छ । तर, कोशमा ‘पूर्व प्रचलनअनुसार’ भन्दै ‘ब’ र ‘व’, ‘श’ र ‘ष’ को प्रयोग गरिएको छ । पहिचान खुल्ने जात, थर बुझाउने शब्द तालब्य ‘श’ लेख्नुपर्छ भनेर यसअघिको मानक भत्काइएको छ । ती हुन्– ‘शेर्पा’, ‘शेरचन’, ‘शाह’, ‘शेर’ आदि (प्रज्ञा नेपाली बृहत् शब्दकोश, पृष्ठ. १८५५) । यसअघि ‘सेर्पा’, ‘सेरचन’, ‘साह’, ‘सेर’ लेखिन्थ्यो । कोशमा ‘बार’ र ‘वार’ को प्रयोगमा स्पष्ट छैन । जस्तो ‘आइतबार’, ‘सोमवार’,

‘मङ्गलवार’, ‘बिहीबार’ लेखिएका छन् । संयुक्त वर्ण विशेषगरी ‘द्’ सँग जोडिएर आउने शब्दमा संयुक्ताक्षर ‘विद्या’, ‘बुद्धि’, ‘युद्ध’, ‘द्वन्द्व’, ‘द्वारा’ आदि लेखिएको छ । यी लगायत वर्ण प्रयोगको विषयमा भाषाशास्त्री र भाषा अभियन्ताहरूबीच भाँडभैलो छ । विद्यालय–महाविद्यालयको नेपाली पाठ्यपुस्तकमा ‘विद्या’, ‘बुध्दि’, ‘युध्द’, ‘द्वन्द्व’, ‘द्वारा’ जस्ता संयुक्ताक्षर प्रयोग छ । त्यसैअनुसार, नेपाली युनिकोड बनेका छन् । प्रज्ञा–प्रतिष्ठान नेतृत्वमा रहेका प्राज्ञहरू स्वयंले नेपाली भाषाको मानक निर्माणमा मनोमानी हर्कत देखाउँदै आएका छन्, जसकारण प्रतिष्ठानले अपनाएको शब्द मानक–युनिकोडमा बदल्दा हिज्जे फरक हुने गरेको छ । नेपाली युनिकोड प्रयोगमा बिटुलोपन छ ।

यसअघिका कोशमा ‘सुनुवार’ र ‘सुनार’ शब्दभेद नछुट्टिँदा किरात सुनुवार जातिले अपमान खेप्दै आएका थिए । अहिले ‘सुनुवार’ लाई ‘सुनकोसीको तीर हुँदै पूर्वी नेपालमा छरिएर बसेका एक किरात जाति’ भनी लेखिएको छ । सुनुवारले आफूलाई चिनाउने ‘कोइच’ शब्द पनि समेटिएको छ । ‘सुनार’ भनेको ‘सुनचाँदीका गहना बनाउने जाति, वर्ग वा व्यक्ति, नेपालका आर्यमूलका कामी जातिको एक थर’ उल्लेख छ ।

युनेस्कोले गरेको अध्ययनअनुसार, संसारमा सात हजार जति भाषा बोलिन्छन् । तीमध्ये ४३ प्रतिशत भाषा लोपोन्मुख र संकटापन्न छन् । नेपालमा भारोपेली, द्रविड, तिब्बत चिनियाँ र आग्नेली भाषापरिवारभित्र पर्ने विभिन्न भाषा बोलिन्छन् । जनगणनाको तथ्यांकले मुलुकभित्र १२३ भाषा बोलिने देखाउँछ । ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ लाई नेपालमा बोलिने विभिन्न भाषा परिवारका भाषाहरूको शब्दार्थसहितको भण्डार हो भनेर बुझ्नुपर्छ । मुलुकमा बोलिने भाषाहरू लेखनमा १५ वटा लिपि प्रयोग गरिएको छ । संविधानमा भने ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ’ भन्ने उल्लेख छ । यसर्थ, यो शब्दकोशले दिने सन्देश हो– ‘मेरो सानो दुःखले आर्ज्याको शब्दभण्डार होइन ।’ किनभने नेपालीइतरका मातृभाषीलाई खुसी तुल्याउने काइदाले नेपालका अरू मातृभाषा बाँच्दैन ।

मानक शब्दकोशलाई चुनौती छ– सबै शैक्षिक संस्था, राज्यका हरेक निकाय, आमसञ्चार छापा, अनलाइन माध्यममा कसरी मानकता कायम गराउने ? स्थापित छापा सञ्चारगृह, राष्ट्रिय समाचार समिति, प्रेस काउन्सिललगायतका आ–आफ्नै शैली पुस्तिका छन् । नेपाल बाहिरका देश–महादेशमा पुगेर बसोबास गर्ने नेपाली समुदायले नेपाली भाषालाई साझा सम्पर्क भाषाका रूपमा अपनाएका छन् । मानक शब्दकोश प्रयोगमा सबैको पहुँच पुर्‍याउनु आवश्यक छ । तर, भर्खरै प्रकाशित २१ सय २८ पृष्ठ, दुई धार्नीको यो शब्दकोश (मूल्य ३ हजार ३ सय ५ रुपैयाँ) लाई सबैतिर पुर्‍याउनु सम्भव छैन । मोबाइल एप निर्माण गरी प्रकाशित शब्दकोशलाई सशुल्क उपयोग गर्ने/गराउने योजना प्रतिष्ठानको छ । लागू भएको छैन ।

कोशको प्रधानसम्पादक प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती छन् । विशेष सम्पादक छन्– प्राडा. चूडामणि बन्धु, प्राडा. माधवप्रसाद पोखरेल, डा. तुलसीप्रसाद भट्टराई, प्रा. जगतप्रसाद उपाध्याय र प्राडा. हेमनाथ पौडेल छन्, सम्पादक डा. यज्ञश्वर निरौला छन् । शब्द सङ्कलन गर्न सहयोग गर्ने नेपाल र भारतका ७५ जनाको नाम उल्लेख छ ।

कोशका सम्पादक निरौलाको दाबी छ्, ‘आँखाले भ्याएसम्म कुनै पनि जाति समुदायलाई चोट नपुग्ने गरी शब्द र अर्थहरू समेटिएका छन् । अबदेखि अपमान बोध हुनेछैन । कथंकदाचित त्यस्ता शब्द परेका रहेछन् भने सच्याइनेछ ।’

‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ सार्वजनिक भएर पदाधिकारी बिदा हुने बेला कांग्रेसनिकट नेपाली लेखक संघ आबद्ध लेखकहरूले उक्त कोश प्रकाशनप्रति आपत्ति जनाए । आरोप थियो– कुलपति उप्रेती स्वयं शब्दकोशको प्रधान सम्पादक भए । प्रतिष्ठानको आन्तरिक कार्यविभाजनमा नेपाली भाषा, कोश र व्याकरण विभाग प्रमुखको जिम्मेवारी कुलपतिलाई दिइएकाले उनी प्रधान सम्पादक रहनु अस्वाभाविक होइन । ‘नेपाली बृहत् शब्दकोश’ नामअघि ‘प्रज्ञा’ थपेर ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ बनाइयो । आपत्ति जनाउनेहरूले भनेका छन्– पहिलेकै नाम ‘नेपाली बृहत् शब्दकोश’ नै कायम हुनुपर्छ ।

यो बेकारको विवाद हो । शब्दकोशले यसअघिका अपमानबोधक धेरै शब्द हटाएर मुलुकमा आएको राजनीतिक परिवर्तनलाई आत्मसात गरेको छ । र, यो शब्दकोशले नयाँ परिवर्तनको धुन सुनेको छ ।

प्रकाशित : पुस १६, २०७९ १०:००https://ekantipur.com/koseli/2022/12/31/167245342196227052.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि