कोसेली : समाज बुझ्न किताब मात्रै अपर्याप्त : सुदन किराती

पुस २३, २०७९ कान्तिपुर संवाददाता लेखक तथा प्रतिनिधिसभा सदस्य (भोजपुर) सुदन किरातीको आत्मसंस्मरण ‘पलपलको मृत्यु’ प्रकाशित छ । उनले सशस्त्र द्वन्द्वमा भोगेका दुःख, जेल–नेल र यातना किताबको विषय हो । किरातीसँग किताब–वार्ता : आत्मकथाको कुरा जीवनका केही तीतामिठा अनुभव म साथीभाइ र केही सार्वजनिक कार्यक्रममा सुनाउँथे । सामान्यतया जीवनको उत्तरार्द्धतिर आत्मसंस्मरण लेख्ने प्रचलन देखिन्छ । यद्यपि केही प्रेरणावश मैले अहिले नै लेखेँ आत्मसंस्मरणात्मक किताब– ‘पलपलको मृत्यु’ । बुबा ब्रिटिस सेनामा हुनुभएकाले म उता हङकङमै जन्मिएँ । ब्रुनाईमा सरुवा हुनुभएपछि त्यतै हुर्किएँ । बुबाको पेन्सनपछि हामी नेपाल फर्कियौं । बुबा चाहनुहुन्थ्यो धरानमा घर बनाउने, मधेसमा खेत लिने । आमा चाहनुहुन्थ्यो पहाडमै बस्ने । आमाले जित्नुभो र हामी गाउँ फर्कियौं । त्यसपछि ब्रुनाईको सुविधासम्पन्न जिन्दगी र मेरो गाउँ चेवाको कष्टकर दैनिकीबीचको अन्तर देख्न–भोग्न थालियो । एकातिर बुबाको पैसा सकिँदै जाँदा, अर्कोतिर परिवारको संख्या बढ्दै...