फिचर : महिलाले धानेको परम्परागत सीप
श्रावण २१, २०७९ गणेश राई काठमाडौँ — संयुक्त राष्ट्रसंघले अगस्ट ९ लाई विश्व आदिवासी अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको चार दशक पुगेको छ । उसले सन् १९८२ मा यो दिवस घोषणा गरेको थियो । राष्ट्रसंघले यो वर्ष अर्थात् सन् २०२२ को निम्ति ‘आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ नारा तय गरेको छ । यतिखेर यो नारालाई लिएर सदस्य राष्ट्र नेपालमा समेत मसिनो आवाजमा छलफल भइरहेको छ । सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजाति छन् । महिलाले धानेको मूर्त र अमूर्त सम्पदा तथा परम्परागत ज्ञानको पुस्तान्तरणबारे राजधानीमा रहेका आदिवासी जनजातिमध्ये केही प्रतिनिधि समुदायलाई लिएर रिपोर्ट प्रस्तुत गरिएको छ । गुँलामय उपत्यका घण्टाकर्ण तिथिदेखि राजधानी काठमाडौं उपत्यका गुँला पर्वमय भइरहेको छ । काठमाडौं, ललितपुर र भक्तपुर, जहाँ–जहाँ नेवार बस्ती छन्, त्यहाँ–त्यहाँ बिहानैदेखि बाँसुरी, धाबाजा, धिम्या, भुस्या, ता, ताइताइ, त्रिकोण बाजा बजाएर नगर परिक्रम गरिरहेका भेटिन्छन् । धिम्या खलहरू, दाफा खलहरू, भजन खलहरूका कजि (गुरु)ले ‘नामसंगति’ जप्दै अगुवाई गरिरहेका छन...