ढुंगाको बाटो ‘खुवालुङ’

 सुशीला तामा‌ङ

काठमाडौँ — आदिमकाल । जंगल फँडानी गरेर बस्ती बसाले । खोरियामा खाँबो गाडेर परिवारलाई ओतको जोहो गरे । अन्न फलाएर आत्मनिर्भरताको बाटो खोजे । प्रकृति, कुल र पुर्खालाई माने । संस्कृति, धर्म र परम्परा बनाए ।

खोरियामाथि आँखा लगाउने शत्रुलाई आफ्नै बलबुताले परास्त पारेका किरातीको बस्तीमा रोगव्याधि, महामारी, हैजा फैलिएपछि साराले चोला फेर्छन्, बसाइँ सर्छन् । शत्रुले ढाल्न नसकेको शिर रोगव्याधिले ढाल्छ । धेरैको ज्यान गएपछि खुवालुङ पुजेर उनीहरू भन्छन्, ‘माटोले मात्र पुगेन हाम्लाई बाटो देऊ खुवालुङ ।’

कोसीको किनारैकिनार उँभो लाग्दै जाँदा तीन दाजुभाइ तमोर, अरुण र दूधकोसीको मूल पछ्याएर आ–आफ्नो बाटो लाग्छन् ।

जहाँ उनीहरूले खुवालुङलाई चिनो र साक्षी मानेर आफ्नो सभ्यताको नयाँ सुरुवात गर्छन् । नदी तरेका जेठा र माइलाले उँभो बाटो समाएपछि पूर्वी पहाडी इलाका र हिमालसम्म किरातीहरूले आफ्नो सभ्यता बसाएको भन्ने मिथकहरूमा पाइन्छ । कान्छोले भने नदी तर्न सक्दैन । किराती मिथकअनुसार यहींबाट कान्छोले उँधो लागेर आफ्नै सभ्यता सुरु गर्छ । यी सबै पक्षलाई नखुलाए पनि त्रिवेणी नदी र खुवालुङलाई चिनो मानेर किराती भाइवंश छुट्टिएको कथा प्रस्ट पारिएको छ थापागाउँमा शुक्रबारदेखि मञ्चन थालिएको नाटक ‘खुवालुङ : ढुंगाको बाटो’ मा ।

सप्तकोसीका सहायक तीन नदीहरू तमोर, अरुण र दूधकोसीको संगमस्थलमा ठूलो ढुंगा छ । बाढी र भूकम्पले पनि हल्लाउन नसकेको यो ढुंगा हो खुवालुङ । सुनसरीको चतरादेखि भोजपुरसम्म कोसीमा जेटबोट चल्न थालेको छ । जलयात्रा अझ सहज बनाउने सन्दर्भमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एक पटक त्यो ढुंगो फुटाएर चतरा–कोप्चे जेटबोट चलाउने घोषणा गरेका थिए । उनले त्यसो भनेलगत्तै नागरिक अभियानकर्मी र किरात समुदाय विरोधमा उत्रिए । तत्कालीन सरकारलाई चेतावनी दिए– किराँत समुदायको सांस्कृतिक बिम्ब हो खुवालुङ, यसलाई राज्यले केवल एउटा ढुंगोका रूपमा मात्र नदेखोस् । खबरदार !’ मुद्दा चर्कियो, सेलायो । सरकार फेरियो । दलहरूका बोली फेरिए । तर एक पटक उठेको खुवालुङको चर्चा सेलाउन पाएको छैन ।

जागेको ‘खुवालुङ बचाउ’ सांस्कृतिक आन्दोलनले नाटकको रूपधारण गरेको हो । किराती को थिए, खुवालुङ किराती सभ्यताको चिनो कसरी भयो, यसैलाई साक्षी राखेर तीन नदी पछ्याउँदै जाने क्रममा कसरी किरात सभ्यताको विकास भयो, तिनले मान्ने मुन्धुम र सांस्कृतिक विधिमा खुवालुङलाई कुन रूपमा पुजिन्छ भन्ने बुझाउन साहित्यकर्मी राजन मुकारुङले मिथकका सौन्दर्यलाई वर्तमान समयसँग दाँजेर नाटकमा लिपिबद्ध गरेका हुन् । रंगकर्मी किरण चाम्लिङ राईले निर्देशन गरेको दुई घण्टा लामो नाटकले खुवालुङसँग जोडिएको समग्र किरात सभ्यताको कथा सजिलोसँग बुझाउन खोजेको छ ।

कोसीको किनारै–किनार चेफा (बाँसको बन्डल) बगाएर जीविकोपार्जन गरेर पुर्खाको रीतिलाई मान्दै आएका समुदायको झल्को नाटकको सुरुवाती भागतिरै देखिन्छ । खुवालुङलाई फुटाउने भनाइ राजनीतीकरण भएपछि आफ्नो सभ्यताको कथा कसरी सुरुवात भयो भन्दै उठान भएको नाटकको फ्ल्यासब्याकको कथा नै दर्शकले लगभग नाटकको मध्यभागपछि नै थाहा पाउँछन् । दुई दर्जनभन्दा बढी कलाकारले समग्र किरात समुदायको झल्को दिन्छन् । पात्रहरूको लवज र प्रयुक्त गीतहरू राजधानीलाई पृथक् सभ्यता बुझाउने पाराका छन् । त्रिवेणीमा बग्दै गरेकी बहिनी हाङ्छामा, दाजुहरूसँग नदी तर्न नसकेका कान्छा भाइको बिछोडको दृश्यले दर्शक भावुक हुन्छन् । सुरुवातदेखि अन्त्यसम्म देखिने ठूलो ढुंगाको प्रतीक नै ‘खुवालुङ’ हो भनेर नाटकले बेला–बेला सम्झाउँदै अन्तिम दृश्यमा मात्र प्रस्ट्याउँछ ।

नाटकका लेखक मुकारुङले नाटकलाई ‘खुवालुङ बचाऊ’ कै एक प्रतीकात्मक अभियानकै रूपमा रहेको बताए । उनले भने, ‘खुवालुङबारे हामीले सुन्दै आएको मिथकीय सौन्दर्य र सांस्कृतिक स्थल जोडेर कलामा पनि दस्तावेज बनाउने हाम्रो अभियान हो । यसलाई आन्दोलनकै पाटोका रूपमा हेर्न सकिन्छ ।’ साउन २९ सम्म मञ्चन हुने नाटकमा पशुपति राई, मनाङ लावती, सुशील तामाङ, इंगिहोपो कोइँच सुनुवार, वेदना राई, अनु थापालगायत कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित : श्रावण १०, २०७९ ०८:२०
https://ekantipur.com/news/2022/07/26/165879641940591387.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि