किताबबाट वञ्चित भए दृष्टिविहीन विद्यार्थी

 

कक्षा १० मा १,५५२ विद्यार्थी, किताब छापियो ९३७ सेट मात्रै

गणेश राई

काठमाडौँ — रामेछापका दृष्टिविहीन संगम थापामगर ललितपुरको लगनखेलस्थित नमुना मच्छिन्द्र माविमा कक्षा ११ मा पढ्छन् । ब्रेल पुस्तकमा स्पर्श गर्दै पढ्नुपर्ने भए पनि उनी पुस्तक अभावमा सुनेका भरमा पढ्न बाध्य छन् । ‘ब्रेल पुस्तक नहुँदा मोबाइलमा पीडीएफ भर्सन राखेर रिडिङ एपबाट सुन्नुपरेको छ,’ उनले भने । 

काठमाडौँ — रामेछापका दृष्टिविहीन संगम थापामगर ललितपुरको लगनखेलस्थित नमुना मच्छिन्द्र माविमा कक्षा ११ मा पढ्छन् । ब्रेल पुस्तकमा स्पर्श गर्दै पढ्नुपर्ने भए पनि उनी पुस्तक अभावमा सुनेका भरमा पढ्न बाध्य छन् । ‘ब्रेल पुस्तक नहुँदा मोबाइलमा पीडीएफ भर्सन राखेर रिडिङ एपबाट सुन्नुपरेको छ,’ उनले भने । 


उनीजस्तै सुनकै भरमा पढ्दै छिन्, काठमाडौंको सानोभर्‍याङस्थित कामना इन्टरनेसनल कलेज कक्षा ११ की अस्मिता देवकोटाले पनि । ‘हामीसँग ब्रेल किताब छैन,’ पाँच महिनादेखि कलेज धाइरहेकी उनी भन्छिन्, ‘कम्प्युटर टेक्नोलोजीमा सरहरूले केही सामग्री पीडीएफमा उपलब्ध गराउनुहुन्छ । त्यसैको भरमा पढ्दै छौं । तर त्यो पनि चाहेजति उपलब्ध छैन ।’

दृष्टिविहीनमैत्री पठनपाठन अभावमा जटिलता भोग्ने संगम र अस्मिता प्रतिनिधि दृष्टिविहीन विद्यार्थी मात्र हुन् । देशभर कक्षा ११ र १२ पढ्दै गरेका २ सयभन्दा बढी दृष्टिविहीन विद्यार्थी किताबबिनै पढ्न बाध्य छन् । जबकि संविधानको धारा ३१ (४) मा ‘दृष्टिविहीन नागरिकलाई ब्रेललिपिका माध्यमबाट कानुनबमोजिम निःशुल्क शिक्षा पाउने हक हुने’ उल्लेख छ । शिक्षा ऐनअनुसार कक्षा १२ सम्म विद्यालय तह मानिन्छ । तर शिक्षा मन्त्रालयले कक्षा १ देखि १० सम्मका दृष्टिविहीन विद्यार्थीका निम्ति मात्र ब्रेल किताबका लागि बजेट व्यवस्था गर्दै आएको छ । ११ र १२ का निम्ति अहिलेसम्म ब्रेल पाठ्यपुस्तक बन्न सकेको छैन । ब्रेल पुस्तकको अभावमा दृष्टिविहीन विद्यार्थीहरू सुनेका भरमा पढ्न विवश छन् ।

दृष्टिविहीन कल्याण संघका महासचिव पवन घिमिरेले नयाँ संविधानले दृष्टिविहीनका निम्ति ब्रेललिपिमा पढ्न पाउने शब्दमा व्यवस्था भए पनि व्यवहारमा नआएको बताए । उनले भने, ‘कक्षा १० भन्दा माथिका विद्यार्थीका निम्ति अहिलेसम्म ब्रेल पाठ्यपुस्तक छैन ।’ नेपाली सेनाका प्रमुख सेनानीसमेत रहेका दृष्टिविहीन घिमिरेले दृष्टिविहीन विद्यार्थीमाथि अन्याय भएको टिप्पणी गरे ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र समावेशी शिक्षा शाखाकी निर्देशक दिव्या दवाडीले कक्षा ११ र १२ मा ब्रेल पाठ्यपुस्तक बन्न बाँकी रहेको बताइन् । ‘कक्षा १२ सम्म विद्यालय तह भएकाले ब्रेल पाठ्यपुस्तक बन्नुपर्छ भन्ने योजनामा राखेका छौं,’ उनले भनिन्, ‘तर अहिलेसम्म व्यवस्था हुन सकेको छैन । रेडियो कार्यक्रम र अडियो बुकका आधारमा पठनपाठन भइरहेको छ ।’

सरकारले १० कक्षाभन्दा मुनि पढ्ने दृष्टिविहीन विद्यार्थीलाई ब्रेल पुस्तक उपलब्ध गराए पनि त्यो विद्यार्थीको संख्याअनुसार पर्याप्त देखिन्न । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार देशभर कक्षा १० सम्म १ हजार ५ सय ५२ जना दृष्टिविहीन विद्यार्थी छन् ।

जबकि केन्द्रले हरेक वर्ष सरदर ९ सय ३७ सेट पाठ्यपुस्तक मात्रै छाप्दै आएको छ । विद्यार्थी संख्याको अनुपातमा पुस्तक नछापिँदा कैयौं विद्यार्थी पुरानै पुस्तक पढ्न बाध्य छन् । निर्देशक दवाडी भने ब्रेल पुस्तक धेरै भारी हुनाले कम छापिने गरेको र पुरानै पुस्तक पनि काम लाग्ने भएको बताउँछिन् । हलुका र पातलो कागजमा समेत ब्रेल लिपि छपाउने व्यवस्था गरिन लागेको बताउँदै उनले भनिन्, ‘अब सुधारिएको ब्रेल कार्यक्रम अघि बढाउने योजना बनेको छ ।’

ब्रेल पाठ्यपुस्तक उत्पादनका निम्ति वार्षिक १ करोड ३७ लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ । त्यसमध्ये करिब ४१ प्रतिशत लागत नेत्रहीन संघले बेहोर्दै आएको संघका कार्यकारी निर्देशक नरबहादुर लिम्बूले जनाए । कक्षा १० का एक विद्यार्थीका निम्ति आवश्यक एक सेट पुस्तकको मूल्य करिब २२ हजार रुपैयाँ पर्छ । विशेष प्रकारको छपाइ मेसिन हुने भएकाले सामान्य प्रेस तथा छापाखानाले ब्रेल पुस्तक छपाउन सक्दैनन् । संघका अनुसार नेपालमा ब्रेल पुस्तक छपाइ गर्ने दुईवटा प्रेस छन् । काठमाडौंको नेपाल दृष्टिविहीन कल्याण संघ र नेत्रहीन संघले ब्रेल पुस्तक छपाउँदै आएका छन् । दुवै संस्थाले दातृ निकायबाट अनुदानमा छपाइ मेसिन प्राप्त गरेका छन् ।

कीर्तिपुरस्थित लेबोरेटरी माविका प्रिन्सिपल लाक्पा शेर्पा दृष्टिविहीन विद्यार्थीको ज्ञानमा सीमितता हुनुका पछाडि ब्रेल पुस्तकको अभाव मुख्य कारण ठान्छन् । उनले भने, ‘दृष्टिहीन विद्यार्थीले मुस्किलले ब्रेल पाठ्यपुस्तक पाउँछन् । त्यही पनि गह्रौं हुनाले बोकेर हिँड्नै मुस्किल छ ।’ प्रिन्सिपल शेर्पाले विद्यार्थीलाई रेडियो, युट्युबमा श्रव्य सामग्री सुन्ने र स्टाइलस पेन (टाइप गरेको कुरा आवाज दिने) कम्प्युटर चलाउन दिने गरिएको सुनाए । ‘तर यो सुविधा सबै विद्यालयमा छैन,’ उनले भने, ‘विद्यार्थीको सबैभन्दा ठूला मर्का भनेको जाँचमा लेखक राख्नुपर्ने हुन्छ । यदि स्टाइलस पेनयुक्त कम्प्युटर चलाएर परीक्षा दिन लगाए राइटरको व्यवस्था गर्नु पर्दैन । आफ्नो शैक्षिक भविष्य आफैंले निर्धारण गर्न सक्छन् ।’ परीक्षामा दृष्टिविहीन विद्यार्थीले थप एक घण्टा समय पाए पनि सहयोगी राखेर परीक्षा दिनुपर्ने बाध्यताले विद्यार्थी आफूले सोचेअनुसार लेख्न सक्दैनन् । दृष्टिविहीन कल्याण संघका महासचिव घिमिरेका अनुसार अहिले ब्रेलमा पारंगत दृष्टिविहीन शिक्षक चार सय हाराहारीमा छन् ।

प्रकाशित : चैत्र ३, २०७८ ०८:०८
https://ekantipur.com/news/2022/03/17/164747901787689188.html

 

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि