४० प्रतिशत भाषा संकटमा

 कान्तिपुर संवाददाता

काठमाडौँ — मुलुकभर १ सय २३ वटा भाषा बोलिन्छन् । करिब सय वटा भाषा नेपालका मौलिक भाषा हुन् । जसमध्ये एक हजारभन्दा कम वक्ता रहेका भाषा ३७ वटा छन् । यी सबै भाषा संकटमा रहेको भाषा आयोगले जनाएको छ ।

‘नेपालमा बोलिने करिब ४० प्रतिशत भाषा संकटमा छन्,’ आयोग अध्यक्ष लवदेव अवस्थीले भने, ‘आदिम समुदायका मातृभाषा विद्यालयको प्रयोगमा छैनन् । सार्वजनिक जीवनमा प्रयोगबाट छुट्दै गएका छन् ।’

संकटमा रहेका भाषामा राउटे, साम, मनाङे, धुलेसी, फाङ्दुवाली, सुरेल, मालपाँडे, खरिया, कुर्माली, बराम, लुङखिम, सधनी, कागते, वनकरिया, काइकेलगायत छन् । ‘ती भाषामध्ये यसअघि तथ्यांकमा समेटिएका २३ वटा र आयोगले पछिल्लो पटक पहिचान गरेका ८ वटासहित ३१ भाषा संवेदनशील अवस्थामा छन्,’ अवस्थीले भने, ‘२०७८ को जनगणना र तथ्यांक विश्लेषणले यी भाषा पहिचान गर्ने ठानेका छौं ।’ स्थानीय तह, प्रदेश र संघीय सरकारले संकटापन्न भाषा पहिचान गरी संरक्षणका लागि प्राथमिकतामा राख्न जरुरी रहेको उनको भनाइ छ । संविधानमा उल्लेख भाषासम्बन्धी व्यवस्था कार्यान्वयन हुन सके संकटापन्न अवस्थाका भाषा बचाउन सम्भव हुने उनले सुझाए ।

यस्ता भाषाको संरक्षण गर्न पाठ्यक्रमसँग जोड्नुपर्नेमा विज्ञहरूको जोड छ । ‘संयुक्त राष्ट्रसंघको बुझाइ पनि प्रविधिको प्रयोगबाट मातृभाषा, बहुभाषा शिक्षण, संवर्द्धनमा चुनौती र अवसर दुवै रहन्छ भन्ने छ,’ अन्तर्राष्ट्रिय मातृभाषा दिवसका सन्दर्भमा आइतबार काठमाडौंमा आयोजित ‘मातृभाषा र मातृभाषा साहित्य’ विषयक विचार गोष्ठीमा नेपालस्थित युनेस्कोकी प्रतिनिधि निर्जना शर्माले भनिन्, ‘मातृभाषा नागरिकको अधिकार र संस्कृतिसँग जोडिएको छ । नेपालको सन्दर्भमा शिक्षासँग जोड्ने कार्यक्रम केन्द्रित हुनेछ ।’

उनले राष्ट्रसंघले सन् २०२२–२०३२ सम्मलाई आदिवासी मातृभाषा दशक घोषणा गरेको जानकारी दिइन् ।

भाषा विज्ञ बालकृष्ण बलले विभिन्न भाषालाई अर्को भाषामा अनुवाद गर्न सकिने मेसिन/प्रविधिको विकास गर्न सकिने बताए । ‘काठमाडौं विश्वविद्यालयले यान्त्रिक अनुवादबारे अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘अहिले नेपाली, तामाङ र नेपालभाषालाई अंग्रेजीमा र अंग्रेजीबाट ती भाषामा अनुवाद गर्ने एप निर्माण भइरहेको छ ।’ नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली समुदाय विविधितामा बाँचेको तर त्यसमा सन्तुलन कायम नहुँदा इतिहास नै खण्ड–खण्ड भएको दाबी गरे । ‘हाम्रो विविधतालाई विगतका शासकले चिन्न सकेनन्,’ उनले भने, ‘नेपाली एकताले र राजनीतिक पार्टीको प्रयासले यहाँसम्म आएका छौं । एकअर्काले मान्यता दिन भाषामा भएका बहुलताको पक्षमा जुटिरहेका छौं ।’

विविधताबीच रहेको सद्भावले राष्ट्रिय एकता कायम हुने उनको भनाइ छ । प्रविधिले विश्वव्यापी सञ्जाल निर्माण गरेको अवस्थामा थोरै संख्यामा बोलिने भाषा संरक्षण गर्न जटिल हुँदै गएको बुझाइ छ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको । ‘डिजिटल प्रविधिको सहयोगमा विश्वव्यापी र स्थानीय भाषालाई संसारसँग जोड्नु जटिल विषय हो,’ मन्त्रालयका सचिव महेश्वर न्यौपानेले भने । संविधानले मातृभाषामा शिक्षा सुनिश्चित गरेको उल्लेख गरे पनि यसमा अनेक अड्चन रहेको उनले बताए । ‘सबै भाषाको पाठ्यक्रम छैन । शिक्षक छैनन् । युवा पुस्तालाई माृतभाषामै सीमित गर्दा प्रतिस्पर्धा गर्न कठिन छ,’ उनले भने । नेपालस्थित बंगलादेशी राजदूतावासकी डेपुटी चिफ मिसन इसरत जहाँले तत्कालीन पाकिस्तानले बांग्ला भाषा स्वीकार नगर्दा बंगलादेश छुट्टै देश बन्न पुगेको बताइन् ।

प्रकाशित : फाल्गुन ९, २०७८ १२:१६https://ekantipur.com/news/2022/02/21/164542510101115886.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि