विचार - जनगणनाले उठाएका केही सवाल
फाल्गुन १६, २०७८ सम्झना शर्मा कुनै पनि देशका नीति, योजना र बजेटको जनसंख्यासँग प्रत्यक्ष–अप्रत्यक्ष सरोकार हुने गर्छ । त्यसैले नेपालले पनि जनसंख्याको अवस्था यकिन गर्न प्रत्येक दस वर्षको अन्तरालमा जनगणना गर्दै आइरहेको छ । जनसंख्याको आकारमा आउने परिवर्तन र यसबाट देशको समग्र क्षेत्रमा पर्ने प्रभावहरूबारे विभिन्न कोणबाट विश्लेषण गरी सम्बद्ध नीति, योजना र कार्यक्रमहरूमा समयसापेक्ष बदलाव ल्याउन जनगणना महत्त्वपूर्ण हुन्छ । २०७८ को जनगणनाको प्रारम्भिक नतिजा केहीअघि सार्वजनिक भएको छ, जसले जनसंख्या वृद्धिदरका सम्बन्धमा केही तरंग उत्पन्न गरेको देखिन्छ । २०६८ को जनगणनामा १.३५ प्रतिशत रहेको जनसंख्या वृद्धिदर दस वर्षको अन्तरालमा ०.९३ प्रतिशतमा झरेको छ । नेपालजस्तो विकासोन्मुख देशमा यति छिटै जनसंख्या वृद्धिदरमा कमी आउनु त्यति राम्रो संकेत नभएका धारणाहरू सार्वजनिक भइरहेका छन् । वृद्धि सामान्यतया १ प्रतिशतभन्दा कम हुनुलाई जनसंख्याको घट्दो वृद्धिदरका रूपमा लिने गरिन्छ । जनसंख्याको असमान वितरण यसपालि जनसंख्या वितरणमा पनि असमानता देखिएको छ । नेपालको माटोसुहाउँदो विकासको उपयुक्त मोडल अवलम्बन गर्न नसक्...