जनगणनामा आर्थिक सूचकको अपेक्षा - ऋषिराम सिग्देल

 विवरण संकलनका महत्त्वपूर्ण पक्ष

facebook sharing button
twitter sharing button
sharethis sharing button
२०७७ कार्तिक, २०  
लेख | दृष्टिकोण
Image Not Found

आर्थिक नीति तर्जुमा, कार्यान्वयन तथा मूल्याङ्कनका हरेक चरणमा आधिकारिक आर्थिक सूचनाको निकै महŒवपूर्ण भूमिका रहन्छ । यसका लागि राज्यले विभिन्न तथ्याङ्कीय स्रोतहरूको उपयोग गरिरहेको हुन्छ । आर्थिक सूचनाका स्रोतहरूमा विभिन्न अध्ययन प्रतिवेदन, प्रशासनिक अभिलेख, नमूना सर्वेक्षण, आर्थिक गणना, जनगणना आदि प्रमुख छन् ।

विगतमा भन्दा यथार्थपरक आर्थिक सूचक उपलब्ध हुने
प्रत्येक १०÷१० वर्षमा सञ्चालन हुने जनगणनाको १२औं शृंखला आइपुग्दासम्मका हरेक जनगणनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक क्षेत्रसँग सम्बद्ध विवरण सङ्कलन गरिँदै आएको छ । विसं १९६८ मा सञ्चालन भएको पहिलो जनगणनामा रोजगारी तथा पेशासम्बन्धी विवरण प्रत्यक्षमा सङ्कलन नगरिएको भए तापनि घरको प्रकार, कृषि, व्यापार, बेरोजगारीजस्ता आर्थिक अवस्था झल्काउने तथ्याङ्क सङ्कलन गरिएको थियो । त्यसपछिका जनगणनाहरूमा अझ परिष्कृत र परिमार्जन हुँदै आर्थिक क्षेत्रका विभिन्न विवरण सङ्कलन हुँदै आएको पाइन्छ । आगामी २०७८ सालको जनगणनामा सम्पूर्ण विवरणहरू पूर्ण गणनामा आधारित भई सङ्कलन गर्ने नीतिबमोजिम आर्थिक क्रियाकलापसम्बन्धी विवरण पनि पूर्ण गणनाको आधारमा नै सङ्कलन गरिँदै छ । यसबाट खासगरी नमूना सर्वेक्षणसम्बन्धी भ्रमांश (स्याम्पिलिङ इरर) पूर्णतया हटेर विगतका जनगणनाबाट प्राप्त आर्थिक सूचकको भन्दा अझ बढी यथार्थपरक आर्थिक सूचना उपलब्ध हुने देखिन्छ ।

जनगणनाबाट उपलब्ध हुने आर्थिक तथा सामाजिक सूचक यथार्थ, वस्तुपरक र विश्वसनीय हुन सकेमा नै देशले परिकल्पना गरेको समृद्धिको लक्ष्य प्राप्त गर्न सहज र सम्भव हुन्छ ।

जनगणनाबाट प्राप्त हुने आर्थिक सूचक र समुदायमा योगदान
नेपाल सरकारको मिति २०७६ साउन ६ गतेको राजपत्रमा प्रकाशित राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश, २०७६ बमोजिम राष्ट्रिय जनगणना २०७८ मा तीन प्रकारका प्रश्नावलीहरू : घरपरिवार सूचीकरण, मूल प्रश्नावली र सामुदायिक प्रश्नावली प्रयोग गरी विवरण सङ्कलन हुँदै छ । स्थलगत तथ्याङ्क सङ्कलन कार्यमा खटिने सुपरिवेक्षकहरूले विसं २०७८ साल वैशाख २६ देखि जेठ १४ गतेसम्म हरेक घरदैलोमा पुगी सूचीकरण फाराममार्फत विवरण सङ्कलन गर्दै छन् । यसका साथै सुपरिवेक्षकहरूले हरेक वडामा पुगी सामुदायिक प्रश्नावलीमार्फत वडास्तरीय विवरणहरू पनि सङ्कलन गर्दै छन् । त्यसैगरी गणकहरूले जनगणनाको मुख्य गणना अवधि विसं २०७८ साल जेठ २५ देखि २०७८ असार ८ सम्म मुख्य प्रश्नावली फाराममार्फत परिवार तथा व्यक्तिगत विस्तृत विवरण सङ्कलन गर्दै छन् । यसरी सङ्कलन हुने विवरणमा गणना हुने परिवार तथा व्यक्तिको आर्थिक सामाजिक सबै पक्षहरूको विवरण समेटिएको हुन्छ । आर्थिक पक्षको पाटोबाट हेर्दा सूचीकरण फाराममार्फत खासगरी घरसम्बन्धी, परिवारको कृषिसम्बन्धी र वित्तीय सुविधामा पहुँचसम्बन्धी विवरणहरू सङ्कलन गरिँदै छ भने सामुदायिक प्रश्नावलीमार्फत देशका स्थानीय तहअन्तर्गतका सबै वडाहरूका प्रमुख कृषि तथा गैरकृषिजन्य उत्पादन, वडाहरूको आफ्नो आम्दानीको स्रोत, आर्थिक पूर्वाधारको अवस्था र पहुँचसम्बन्धी विवरणहरू सङ्कलन गरिँदै छ । त्यसैगरी मुख्य प्रश्नावलीमार्फत सङ्कलन गरिने आर्थिक विवरणहरूमा पारिवारिक आर्थिक अवस्था झल्काउने विवरणहरूजस्तै घरको बनोट, परिवारले उपभोग गरेको घरायसी सुविधा, साना घरेलु व्यवसाय सञ्चालनलगायत विवरण तथा १० वा १० वर्षभन्दा माथि उमेरसमूहका प्रत्येक व्यक्तिहरूको आर्थिक क्रियाकलापसम्बन्धी विस्तृत विवरणहरू पर्छन् । जनगणनाबाट प्राप्त हुने यस किसिमका आर्थिक तथ्याङ्क खासगरी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुमान, लघु क्षेत्र गरीबी अनुमान, रोजगारीको अवस्था तथा श्रमबजारको स्थिति मापन, आर्थिक संरचनाको चित्रणलगायत विविध क्षेत्रमा प्रयोग गरिन्छ । यसरी प्राप्त हुने सूचनाको मूलतः आर्थिक तथा मानव संसाधनसम्बन्धी नीति तर्जुमा, कार्यान्वयन तथा मूल्याङ्कन गर्न, स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास लक्ष्यहरू मापन गर्न, स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय आर्थिक सूचकहरूको तुलना गर्न निकै महŒवपूर्ण योगदान रहन्छ । यसका साथै जनगणनाबाट प्राप्त हुने विवरण अन्य सर्वेक्षणहरूको तथ्याङ्कीय विधि विकास प्रयोजनमा समेत प्रयोग गरिन्छ । आर्थिक तथ्याङ्कबाट आर्थिक नीतिनिर्माता, अनुसन्धानकर्ता, अर्थशास्त्री, आर्थिक विश्लेषक, शिक्षक, विद्यार्थी, सञ्चारक्षेत्र लगायत अर्थतन्त्रमा चासो राख्ने जो कोही व्यक्ति तथा आम नागरिक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित हुन्छन् ।

जनगणनाको चुनौती
जनगणनाका आर्थिक तथ्याङ्क निश्चय पनि शुद्ध, यथार्थ र विश्वासिलो हुनुपर्छ । सम्पूर्ण उत्तरदाताले आफू र आफ्नो परिवारका सदस्यहरूको सत्यतथ्य विवरण उपलब्ध गराई जिम्मेवार नागरिकको दायित्व पूरा गर्नुपर्ने हुन्छ । महिलाले सञ्चालन गरेका साना घरेलु व्यवसायलाई आर्थिक काम नै नमान्ने, कतिपय आर्थिक कामहरूलाई निम्नस्तरको कामका रूपमा लिएर गणनामा उल्लेख नगर्ने अर्थात् कतिपय व्यक्तिले आफूले अँगालेको पेशा व्यक्त नगर्नेजस्ता अवस्थाले यथार्थ र विश्वासिलो तथ्याङ्क उपलब्ध हुन सक्दैन । यस कारण समग्र आर्थिक नीति नै नकारात्मक रूपले प्रभावित भई अपेक्षित उपलब्धि प्राप्त हुन सक्दैन । जनगणनाबाट सङ्कलित व्यक्तिगत विवरणहरू तथ्याङ्क ऐन, २०१५ बमोजिम गोप्य रहने र उक्त विवरणहरू तथ्याङ्कीय प्रयोजनका लागि मात्र समग्र रूपमा प्रकाशित वा प्रयोग हुने विषयमा विश्वस्त हुनुपर्छ ।

जनगणना २०७८ को मुख्य प्रश्नावलीमा समावेश भएका आर्थिक विवरण सम्बद्ध प्रश्नहरूमा पारिवारिक विवरणअन्तर्गत परिवारले उपभोग गरिरहेका विभिन्न वस्तु तथा सुविधाहरूको विवरण, परिवारले सञ्चालन गरेको कृषिबाहेकका साना घरेलु व्यवसायसम्बन्धी विवरण आदि छन् । यहाँ साना घरेलु व्यवसाय भनेर दर्ता नगरिएका र तलबी कामदार पनि नभएका वस्तु वा सेवा उत्पादन गर्ने र उत्पादित वस्तु तथा सेवा अरू कुनै एकाइलाई विक्रीसमेत गर्ने व्यवसायलाई भन्न खोजिएको हो । यस्ता व्यवसायले परिवारको आयआर्जनमा टेवा पुर्‍याइरहेका हुन्छन् तर औपचारिक व्यवसायअन्तर्गत भने पर्दैनन् । अनौपचारिक रूपमा सञ्चालित यस किसिमका व्यवसायबाट के कति वस्तु तथा सेवाहरूको उत्पादन भइरहेको छ भन्ने विवरण प्राप्त गर्न यससँग सम्बद्ध प्रश्न निकै महत्त्वपूर्ण मानिन्छ । यस किसिमका व्यवसायहरूको सन्दर्भमा विवरण सङ्कलन गर्दा सामान्य काम पनि के टिपाउनु भन्ने सोचाइ केही उत्तरदातामा रहन सक्छ भने अर्कोतर्फ महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकहरूले सञ्चालन गरेका व्यवसाय गणनाबाट छुट्ने खतरा पनि उत्तिकै रहन सक्छ । तसर्थ, यस्ता विवरणहरू सही रूपले सङ्कलन भएको छ भन्ने विषयमा सम्पूर्ण गणक तथा उत्तरदाता विश्वस्त हुनुपर्छ ।

त्यसैगरी मुख्य प्रश्नावलीको व्यक्तिगत विवरणअन्तर्गत १० वा १० वर्षभन्दा बढी उमेरसमूहका गणना हुने प्रत्येक व्यक्तिलाई उनीहरूको आर्थिक क्रियाकलाप सम्बद्ध सातओटा प्रश्न सोधिनेछ । यसअन्तर्गत खासगरी श्रमशक्ति, श्रमबजार, रोजगारी, आर्थिक संरचना, उत्पादनशील क्रियाकलाप, संस्थागत क्षेत्र, काम नगर्नुका कारणलगायत विवरण पर्छन् । यसका लागि गणना हुने व्यक्तिले विगत १२ महीनामा आम्दानी हुने वा नहुने आर्थिक काम गरेका जम्मा महीना, काम गरेको भएमा पेशा, काम गरेको स्थानमा उत्पादन हुने वस्तु तथा सेवाको किसिम, काममा सम्बद्ध व्यक्तिको संलग्नताको किसिमको, काम गरेको स्थानको संस्थागत क्षेत्र (सरकारी, वित्तीय संस्था, गैरवित्तीय संस्था, नाफा नकमाउने संस्था, घरायसी) तथा काम नगरेको भएमा त्यसको कारण र कामका लागि उपलब्ध भए नभएको विषयमा प्रश्नहरू सोधिँदै छ । यहाँ आम्दानी हुने काम भन्नाले व्यक्तिले गरेको आर्थिक कामबाट उत्पादित वस्तु वा सेवा अरू कुनै एकाइलाई बेचबिखन गरी आम्दानी हुने भन्ने बुझिन्छ भने आम्दानी नहुने भन्नाले उत्पादित वस्तु बेचबिखन नगरी पारिवारिक उपभोग मात्र गर्ने भन्ने बुझिन्छ । गैरआर्थिक कामलाई आर्थिक कामअन्तर्गत गणनामा समावेश गर्नु हुँदैन । तर, आर्थिक कार्यकै सन्दर्भमा पनि महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक आदिले गरेका आर्थिका कार्य जस्तै ः दाउरा जोरजाम गर्ने, अन्न कुट्ने–पिस्ने, डोको, डालो, मान्द्रो, राडीपाखी सुकुल, गुन्द्री बुन्ने, लुगा सिलाउने, अचार, मस्यौरा–तितौरा बनाउने, पानी बोक्ने, बत्ती कात्ने आदि क्रियाकलाप गणनामा छुट्ने सम्भावना रहन्छ । यसका अतिरिक्त परिवारका कुनै सदस्यले सञ्चालन गरेका व्यवसायमा सहयोग गर्ने क्रियाकलापहरू पनि गणनामा छुट्ने सम्भावना रहने भएकाले गणक तथा उत्तरदाता यसतर्फ सदैव चनाखो हुनुपर्छ ।

आम समुदायको साझा दायित्व
समग्रमा भन्नुपर्दा जनसंख्या आर्थिक विकासको भाजक पनि हो र साधक पनि हो । तसर्थ, जनगणना र आर्थिक तथ्याङ्कबीच अन्योन्याश्रित सम्बन्ध छ । जनगणनाबाट उपलब्ध हुने आर्थिक तथा सामाजिक सूचक यथार्थ, वस्तुपरक र विश्वसनीय हुन सकेमा नै देशले परिकल्पना गरेको समृद्धिको लक्ष्य प्राप्त गर्न सहज र सम्भव हुन्छ । त्यसैले जनगणनाजस्तो महाअभियानलाई सबै व्यक्तिले अपनत्व ग्रहण गरी आआफ्नो कर्तव्य तथा जिम्मेवारी निर्वाह गर्नुपर्छ ।
 
लेखक केन्द्रीय तथ्याङ्क विभागमा निर्देशक पदमा कार्यरत छन् ।

https://www.abhiyandaily.com/newscategory-detail/376872

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि