राष्ट्रिय पुस्तकालय : जमलको ८ रोपनी जग्गा हडप्न चलखेल
श्रावण १३, २०७७ सुदीप कैनी काठमाडौँ — मन्त्रिपरिषद्ले राजधानीको जमलमा बनाउन लागिएको नेपाल राष्ट्रिय पुस्तकालय निर्माणमा रोक लगाएको छ । प्रस्तावित करिब ८ रोपनी जग्गामा व्यापारिक प्रतिष्ठानको आँखा लागेपछि पुस्तकालय निर्माणमा ब्रेक लागेको हो । शिक्षा मन्त्रालय र पुस्तकालयका कर्मचारीले केही महिनादेखि यति समूह पुस्तकालयलाई प्राप्त सरकारी जग्गा हत्याउने चलखेलमा लागेको सुइँको पाएका थिए । त्यति बेलादेखि नै उनीहरूको मनमा शंका उब्जेको थियो । चलखेलकै बीच पुस्तकालयका प्रमुख उपेन्द्रप्रसाद मैनाली निर्माण कार्य सुरु गर्नका लागि अधिकांश काम सकेर साउनभित्रै टेन्डरको सूचना प्रकाशित गर्ने तयारीमा थिए । अर्थमन्त्री युवराज खतिवडाले गत साउन ४ गतेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै पुस्तकालय निर्माण तत्कालका लागि स्थगित गरिएको जानकारी दिए । पुस्तकालयकर्मी सरकारको निर्णयबाट आक्रोशित बनेका छन् । मन्त्रिपरिषद्ले स्वीकृति दिएर काठमाडौं महानगरपालिका–१ स्थित जमल (राष्ट्रिय नाचघरअगाडि) मा पुस्तकालय भवन निर्माणको काम सुरु भएको थियो । भवनको नक्सा पासदेखि वातावरणीय प्रभाव मूल्यांकन गर्न लगभग दुई...