गुरुचेलाको आधा शताब्दी


गणेश राई
काठमाडौं — आख्यानकार ध्रुवचन्द्र गौतमले मंगलबार एकजना चेलासित गुरुपूर्णिमा मनाए । यो ५० औं वर्षको गुरुचेला सम्बन्ध हो । चेला विश्वराज ढुंगाना हुन् । ‘ढुंगानाजी प्रत्येक वर्ष गुरुपूर्णिमा आएको झल्को सम्झाउनुहुन्छ,’ उमेर ७६ वर्षे गौतमले भने, ‘कहिले मेरो घरमै आउनुहुन्छ । आज पचास वर्षगाँठ भएकोले उहाँकै निवासमा आइपुगेको छु ।’

यो सम्बन्धको पोया २०२६ सालदेखि गाँसिएको हो, जतिखेर ढुंगाना त्रिचन्द्र क्याम्पसमा आईएमा पढ्न पुगेका थिए। गौतम वीरगन्जबाट काठमाडौं आएर डेरामा बसेर क्याम्पसमा पढाउँथे। ढुंगाना उदयपुरबाट उच्च शिक्षाकै निम्ति काठमाडौं पसेका थिए। गौतमले त्रिभुवन विश्वविद्यालयमा २८ वर्ष प्राध्यापन गरे। एमए सकेर ढुंगाना गाउँ फर्किए। अनि माध्यमिक शिक्षक भएर ४० वर्ष पढाए। अहिले दुवैजना अवकाशप्राप्त शिक्षक हुन्। अहिले गुरु गौतम काठमाडौंको महाराजगन्ज चुनदेवी र चेला ढुंगाना काठमाडौंकै कपनका बासिन्दा बनेका छन्।

‘गुरुसित आईए पढदा नेपाली विषयको कक्षामा चिनाजानी भएको हो,’ ६५ वर्षीय ढुंगाना भन्छन्, ‘बीए पनि उहाँसितै पढें। त्यतिखेर ज्यादै घनिष्ठता बढेको हो।’ त्यसयता आआफ्नो पेसामा रहे पनि बेलामौकामा सम्झना गर्ने गरेको सम्झिन्छन्।

नेपाली साहित्यका साधक गौतमको कलम जति तिखो छ, शिक्षण पद्धतिमा पनि उत्तिकै अब्बल थिए। ‘उहाँको शिक्षण ज्यादै मनमोहक हुन्थ्यो, हँसाएको हँसाइ पढाउनुहुन्थ्यो,’ उतिखेर गुरुले कक्षामा भनेका कथा अहिले पनि ताजै रहेको ढुंगाना उल्लेख गरे। आख्यानकार गौतमको अहिले ५० वटा कृति प्रकाशित छन्। गुरुकै प्रेरणाले आफूले साहित्यमा कलम चलाएको ढुंगाना बताउँछन्। ढुंगानाको १३ वटा कृति प्रकाशित छन्। ‘शिक्षक त म मात्रै थिइनँ, तर यसरी गुरुचेला परम्पराको निरन्तर राख्ने काम हामी दुईले कायम राख्ने सकेकोमा गर्वित छु,’ गौतम भन्छन्, ‘म त साहित्यमा मात्र कलम चलाउँछु। ढुंगानाजी साहित्य र शोधअनुसन्धानमा समेत पोख्त हुनुहुन्छ।’

पचासौं वर्षगाँठमा भेला भएर गुरुचेलाको सद्भाव प्रकट गर्न सकेको दुवैजना दंग छन्। यो प्राचीन परम्परा हो। ज्ञानको कुरो आउनासाथ गुरु र चेलाको सम्बन्ध आउँछ। जसले पनि ज्ञान कसैबाट लिएको हुन्छ। विश्वमै गुरुचेला परम्परा कायम छ। उहिले एकै शिक्षकले सबै विषय पढाउँथे। परम्परा बदलिँदै शिक्षालयका गुरु चेला सम्बन्ध रहने गरेको छ। गुरुबाट चेला प्रभावित हुनुमात्र नभई चेलाबाट गुरुसमेत प्रभावित हुनुचाहिँ महत्त्वपूर्ण हुने गौतमको ठम्याइ छ।

जहाँ गुरुको अस्तित्व हुन्छ, त्यहाँ चेलो अनिवार्य हुन्छ। चेलोबिना कोही गुरु हुन सक्दैन। गुरुबिना कोही चेलो बन्न नसक्ने ढुंगानाको ठम्याइ छ। ‘त्यसकारण यी दुइटा शक्तिले संसारमा बौद्धिक विकास गरेका हुन्,’ उनी भन्छन्, ‘यो गुरु–शिष्य परम्परा मर्न दिनु हुँदैन। यसलाई जीवन्त राख्नुपर्छ भन्ने ध्ययले आज गुरुसँग छु।’


प्रकाशित : असार ३१, २०७६ २१:४४https://www.kantipurdaily.com/literature/2019/07/16/15632927441758340.htm
l

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि