देश - केशर पुस्तकालय सेवाविहीन

गणेश राई, काठमाडौं



आश्विन ३०, २०७४-गुगल सर्च गर्दा केशर लाइब्रेरी ‘अहिले बन्द’ भन्ने सूचना मिल्छ । यसरी बन्दको सूचना जारी भएको २०७२ वैशाख १२ को भूकम्पपछि हो । पुस्तकालयको वेबसाइटीभित्र छिर्दा भूकम्पअघिका फोटाहरूले भव्य र सुविधा सम्पन्न पुस्तकालय भन्ने जनाउँछ । आइतबार पुस्तकालय हाताभित्र छिर्दा भेटिएका केही पाठक आफ्नै घरबाट पुस्तक लिएर प्यासेजमा राखिएका कुर्सीमा बसेर पढिरहेका भेटिए ।



‘पुस्तकालयको वेबसाइट हेरेर सबैखाले सेवा सुविधा छ भन्ने देखियो,’ थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत सौर्य भण्डारीले भने । उनी वेबसाइट चहारेरै पुस्तकालय पुगेका हुन् । पेप्सीकोलाका उनी साता दिनदेखि दैनिक पुगेको उल्लेख गर्दै भने, ‘तर, चाहिने कुनै पुस्तक हेर्ने व्यवस्था रहेनछ । घरबाटै लिएर आएको पुस्तक पढेर बसेको छु । वातावरण शान्त छैन । व्यवस्थित पनि छैन ।’
त्यसैगरी लैनचौरका सक्सेस महर्जन घरमा बसेर पढ्ने वातावरण नभएकैले दैनिकजसो पुस्तकालयमा आउने गर्छन् । चार्टर्ड एकाउन्टेन्ट गर्दै गरेका उनले भने, ‘आफ्नै किताब लिएर आउँछु । प्यासेजको कुर्सीमा बसेर पढ्ने गरेको छु ।’ 
कान्तिपथस्थित साढे तीनतले केशर महलको भवन भूकम्पपछि जीर्णावस्थामा छ । यहाँबाट शिक्षा मन्त्रालय सिंहदरबार सरेपछि भवनमा पुस्तकालयलगायत केही कार्यालय थिए । भूकम्पपछि पुस्तकालयको अवस्था बेहाल भएको हो । भूकम्पलगत्तै बीच तलाका पुस्तक बोरामा राखिएका थिए । यतिखेर भुइँतलाका केही कोठामा पुस्तक राखिएका छन् । ती पुस्तक मुस्किलले जोगाउने काम भएको प्रमुख दशरथ मिश्र बताउँछन् । ‘सबै पुस्तक बोराबाट झिकेर १ सय २५ वटा दराज र र्‍याकमा राख्ने काम भइसकेको छ,’ झन्डै १५ सय वर्ष पुराना युनेस्कोमा दर्ता पुस्तकसमेत संरक्षण गरिएको उल्लेख गर्दै उनले भने, ‘तर, पुस्तकालय विज्ञानअनुसार विषयत रूपमा क्रमबद्ध राख्ने काम भइसकेको छैन । त्यसैगरी पाठकलाई सेवा पनि दिन सकिरहेका छैनौं । बिग्रिएकालाई मर्मतसम्भार, बाइन्डिङ गर्ने काम जारी छ ।’ सर्वसाधारणले प्रवेश गर्न सक्ने भएकाले यहाँ सीसी क्यामेरासमेत जडान गरिएका छन् ।


केशरशमशेर प्रधानमन्त्री चन्द्रशमशेरका छोरा हुन् । बेलायत भ्रमण गर्दा उनी त्यहाँको पुस्तकालय र संग्रहालय देखेर प्रभावित बनेका थिए । स्वदेश फर्किएपछि व्यक्तिगत संग्रहमा रहेका पुस्तक, महत्त्वपूर्ण वस्तु, जनावरका आखेटहरू, चित्रकला तथा फोटोग्राफीलाई व्यवस्थित गरेका थिए । उक्त संकलन पुस्तकालय मात्र नभई संग्रहालयकै रूपमा विकास भएको थियो । केशरशमशेरको इच्छाअनुसार उनको परिवारले २०२५ मा उक्त पुस्तकालय तथा संग्रहालय ३४ रोपनी जमिन सहितको भवन तथा बौद्धिक सम्पत्तिको सम्पूर्ण स्वामित्व सरकारलाई हस्तान्तरण गरेको थियो । यहाँ अंग्रेजी, नेपाली, हिन्दी, नेवारी, संस्कृतलगायत भाषा तथा विविध विधाका ६५ हजार बढी पुस्तक छन् । त्यसैगरी महत्त्वपूर्ण कागजातका पाण्डुलिपि, दस्तावेज, चित्रकला, फोटोग्राफी, आखेट छन् ।

भूकम्पपछि पुस्तकहरू बचाइएको पुस्तकालय प्रमुख मिश्रको दाबी छ । तर, चित्रकला, फोटोग्राफी, आखेटहरू भने भित्तामा, कुनातिर अडयाएर राखिएका छन् । सजाएर राख्ने ठाउँ अभावमा देख्न सकिने अवस्थामा छैनन् । माथिल्लो तलामा ‘प्रवेश निषेध’ गरिएको छ । माथिल्लो तलामा रहेका पत्रपत्रिका भने झिक्न नसकेर त्यही सडेको जनाइएको छ । पुस्तकालयमा एक उपसचिवसहित १७ कर्मचारी कार्यरत छन् । चालू आवमा ८८ लाख रुपैयाँ बजेट रहेको प्रमुख मिश्र बताउँछन् । अधिक बजेट कर्मचारीको तलबमै खर्च हुने गरेको छ ।

नयाँ पुस्तक किन्न ४ लाख रुपैयाँ मात्र छुटयाइएको छ । भूकम्पलगत्तै केशर भवनको अगाडि पाल टाँगेर पाठकलाई पत्रपत्रिका पढ्ने व्यवस्था मिलाइएको थियो । अहिले पाल थोत्रिइसकेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्सालले केशर भवनलाई रेट्रोफिटिङ गर्ने योजना बनेको बताए । युनेस्कोको मापदण्डअनुसार सय वर्षभन्दा पुराना भवनलाई सम्पदाका रूपमा संरक्षण गर्नुपर्ने हुन्छ । केशरभवन १ सय २६ वर्ष पुरानो हो । ‘भवनलाई रेट्रोफिटिङ गरिनेछ, पुस्तकालय व्यवस्थित गर्न बजेट छ तर हुन नसकेको मात्रै हो,’ उनले भने ।

प्रकाशित: आश्विन ३०, २०७४


http://kantipur.ekantipur.com/news/2017-10-16/20171016072944.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि