समाचार - राष्ट्रिय पुस्तकालय बेहाल

गणेश राई, काठमाडौं


आश्विन २६, २०७४-राष्ट्रिय पुस्तकालयका तीन सय वर्ष पुराना पुस्तक अढाइ वर्षदेखि बोरामै छन् । डेढ लाख पुस्तकमध्ये आधा जतिमात्र र्‍याकमा राखिएका छन् । २०७२ वैशाख १२ को भूकम्पपछि राष्ट्रिय पुस्तकालयले सेवा दिन सकेको छैन । भूकम्पले हरिहरभवनस्थित राष्ट्रिय पुस्तकालयको भवन जीर्ण भएपछि डेढ लाख पुस्तकहरू बोरामा कोचेर राखिएका थिए । भूकम्पबाट पुस्तक जोगिए । ती पुस्तक काठमाडौंको ज्ञानेश्वरस्थित महेन्द्र भवन माविको दुईतले भवनमा सारिएको छ । मुनिको तलामा फर्निचर र केही पत्रपत्रिका तथा माथिल्लो तलामा ऐतिहासिक पुस्तकहरू छन् ।

दुई वर्षदेखि एउटै कोठामा बेहाल अवस्थामा राखिएका पुस्तकमा ढुसी लागेको छ । अधिकांश पुस्तक प्लास्टिकका बोरामा पोको पारेर चाङमाथि चाङ राखिएका छन् । भित्तातिरका पुस्तकमा धमिरा लागेको छ । बीच भागका २५ वटा स्टिल र्‍याकमा अटेसम्म किताब छन् । ‘यसरी थन्क्याएको २८ महिना भयो,’ कान्तिपुरको अनुरोधमा गोदामघर खोल्न पुगेका पुस्तकालय प्रमुख उपेन्द्रप्रसाद मैनालीले भने, ‘पुस्तकलाई बोराबाट निकालेर र्‍याकमा राख्ने काम जारी छ । पुस्तक जोगाउन कपुर र बेगन राखेका छौं ।’ पुस्तकको नियमित रेखदेख गर्ने कर्मचारी भने नरहेको उनले जनाए । झ्यालबाट पानी पसेर किताब भिजेका छन् । कुनातिर धमिरासमेत लागेको छ । कतिपय पुस्तक तथा कागजातहरू धुजाधुजा अवस्थामा छन् । हस्तलिखित ग्रन्थहरूमध्ये केहीलाई कपडाले बेरेर र्‍याकमा राखिएको छ । पुस्तक राखेको सिमेन्ट प्लास्टर गरिएको भुइँ भिजेको अवस्थामा छ । 
रेकर्डअनुसार राष्ट्रिय पुस्तकालयमा दर्ता गरिएका १ लाख ८ हजार किताब र पत्रपत्रिकासहित १ लाख ५० हजारभन्दा बढी छन् । पुस्तकालयले नेपाली, अंग्रेजी, हिन्दी र संस्कृत भाषाका फरक शाखा विस्तार गरेको थियो । पुस्तकालयमा ती लगायत मराठी, पाली, फ्रेन्च, जापनिज, थाई, मलेसियन र नेपालमा बोलिने विभिन्न भाषाका पुस्तक छन् । भूकम्पबाट पुस्तकालय भवन ध्वस्त भए पनि किताब अहिलेसम्म जोगिएको प्रमुख मैनालीको दाबी छ । राष्ट्रिय पुस्तकालय तत्कालका निम्ति भाडाकै घरमा राखेर सञ्चालन गर्ने प्रस्ताव राख्दै आएको मैनालीले जनाए । ‘मन्त्रालयको ध्यानाकर्षण गराउँदै हैरान छौं,’ मैनालीले भने, ‘सरकार मातहतको जग्गा उपलब्ध गराउन पनि भन्दै आएका छौं । शिक्षामन्त्रीज्यूले राजधानीको जमलमा रहेको ठाउँ उपलब्ध हुनसक्ने आश्वासन दिनुभएको छ ।’ 

मैनालीका अनुसार राष्ट्रिय पुस्तकालयको बजेट चालू आर्थिक वर्षमा ९८ लाख रुपैयाँ छ । उक्त बजेटमध्ये ९० लाख रुपैयाँ कर्मचारीकै तलबमा खर्च हुन्छ । राष्ट्रिय पुस्तकालयमा २३ कर्मचारीको दरबन्दी रहेमध्ये एक उपसचिव, चार अधिकृत, पाँच नासु, दुई खरिदारलगायत २१ जना कार्यरत छन् । गत वर्षको भूकम्पपछि पुस्तकालय अन्यत्र सारिए पनि कर्मचारी भने हरिहरभवन परिसरको तत्कालीन तबेला टहरामा बाल पुस्तकालय कक्षमा छन् । पुस्तकालयले पत्रपत्रिका र अन्य प्रकाशनलाई इन्टरनेसनल स्ट्यान्डर्ड सेरियल नम्बर (आईएसएसएन) दिंदै आएको छ ।
अनलाइन सुचारु छ । नयाँ पुस्तक खरिद गर्ने गरिन्छ । सरकारले २०१३ पुसमा राष्ट्रिय पुस्तकालय स्थापना गरेको हो । सुरुमा राजगुरु हेमराज पाण्डेका निजी पुस्तकहरू खरिद गरेर पुस्तक संकलन सुरु गरिएको थियो । उतिखेर सिंहदरबार परिसरको सिक्री ढोका भवनमा रहेको उक्त पुस्तकालय २०१७ सालमा ललितपुरको हरिहरभवनमा सारिएको थियो । 

थन्कियो यन्त्र
राष्ट्रिय पुस्तकालयले पुस्तकालय सुधारका निम्ति विगतमा जापान सहयोग नियोग (जाइका), युनेस्को, डानिडा प्रोजेक्टसित सहकार्य गरेको थियो । तर, अहिले त्यस्ता कुनै सहयोगी दाता रहेका छैनन् । पुस्तकालयको वेबसाइटसमेत अपडेट हुन सकिरहेको छैन । राष्ट्रिय पुस्तकालयका दुर्लभ, महत्त्वपूर्ण पुस्तक संरक्षणका निम्ति जापान सरकारले सन् २००१ मा माइक्रोग्राफिक यन्त्र प्रदान गरेको थियो । ती माइक्रोफिल्म क्यामरा, प्रोसेसिङ मेसिन, माइक्रोफिल्म रिडर, बाइन्डिङ इकुप्मेन्टलगायत यन्त्र निकम्मा अवस्थामा थन्किएका छन् ।

एकीकृत पुस्तकालय बन्न सकेन
सरकारले भूकम्प जानु अघिल्लो वर्ष सिंहदरबार परिसरमा एकीकृत पुस्तकालय स्थापना गर्ने प्रक्रिया अघि बढाएको थियो । सिंहदरबारभित्र रहेका विभिन्न मन्त्रालय र कार्यालयमा रहेका पुस्तकालयलाई गाभेर एउटै व्यवस्थित र बृहत् पुस्तकालय स्थापना गर्न शिक्षा मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गरिएको थियो । त्यसमा राष्ट्रिय पुस्तकालय गाभ्न सकिने विकल्प राखिएको थियो । 
तत्कालीन मुख्यसचिव लीलामणि पौड्यालको अध्यक्षतामा बसेको बैठकले समितिको गठनसहित ’सिंहदरबार परिसरभित्र एकीकृत पुस्तकालय स्थापना गर्न आवश्यक स्थान, जनशक्ति व्यवस्थापन, पुस्तकहरू स्थानान्तरण, सञ्चालन मोडालिटीलगायत आवश्यक व्यवस्था सिफारिससहित प्रतिवेदन पेस गर्न’ शिक्षा सचिवलाई जिम्मेवारी दिएको थियो । तर, भूकम्पपछि कुनै पनि प्रक्रिया अघि नबढेको अधिकारीले जनाएका छन् । 

प्रकाशित: आश्विन २६, २०७४


http://kantipur.ekantipur.com/news/2017-10-12/20171012081858.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि