विचार/विश्‍लेषण - मातृभाषामा सिर्जना

गणेश राई

श्रावण १४, २०७४- भाषाशास्त्रीले भाषाविज्ञानका सन्दर्भमा केही मानक प्रक्षेपण गरेका छन्। कुनै पनि भाषा १० लाखभन्दा बढीले बोल्छन् भने त्यो सुरक्षित भाषामा पर्छ। १ लाखदेखि १० लाखसम्म वक्ता रहेका भाषालाई सुरक्षित प्राय: मानिन्छ। बढीमा १ लाख वक्ता रहेको भाषालाई खतराको सूचीमा अर्थात् लोपोन्मुख रहन्छ। १ हजारदेखि १० हजार वक्ता रहेको भाषा अत्यन्त लोपोन्मुख समूहमा पर्छ। १ हजारभन्दा कम वक्ता रहेको भाषा मृतप्राय: मानिन्छ। 

भाषाशास्त्रीको मत दुई धारमा बाँडिएको पाइन्छ। इथ्नो–लिङ्गुइस्टिक्स (भाषा मानवअधिकारकर्मी) ले भाषालाई शक्तिका रूपमा लिन्छन्। जुनसुकै हिसाबले भाषा सम्पदा हो, यसलाई बचाउन सक्नुपर्छ। राज्यले भाषाका निम्ति स्रोत, साधन खर्चिनुपर्छ भन्छन्। राज्यसित शक्ति सन्तुलनका हिसाबले बचाउनुपर्ने ठान्छन्। फलस्वरूप भाषा आन्दोलन भएका छन्। बंगलादेशमा सन् १९५२ भएको भाषा आन्दोलन त्यसको उदाहरण हो। उक्त भाषा आन्दोलनका क्रममा चारजनाले सहादत पाएको दिन २१ फेब्रुअरीलाई युनेस्कोले अन्तर्राष्ट्रिय मातृभाषा दिवस घोषणा गरेको छ। 
दिवस हरेक वर्ष विश्वभरि मनाइन्छ।

अर्काथरी प्राज्ञिक भाषाशास्त्रीहरू छन्, जो भाषाको पहिचान, व्यापकता, विगत, वर्तमान र आगतबारे निष्कर्ष निकाल्छन्। तर उनीहरू त्यो भाषा बाँचोस् या मरोस् मतलब राख्दैनन्। 

तथ्यांकले नेपालमा १२५ जातजाति र १२३ भाषा रहेको देखाएको छ। देशको सरकारी कामकाजको भाषाका रूपमा प्रचलित खस (नेपाली) बाहेक अन्य मातृभाषा बोलीचालीमा सीमित छन्। कुनै बेला समृद्ध रहेका नेपाल, भोजपुरी, मैथिली लगायत भाषा निम्छरो अवस्थामा छन् भने अल्पसंख्यक भाषाहरू घिटिक–घिटिक स्थितिमा। २०४७ को संविधानले प्रकाशन स्वतन्त्रता दिएपछि अल्पसंख्यक भाषाहरूसमेत लेख्य रूपमा अघि बढेका हुन्। स्वदेशमा बोलिने मातृभाषाहरू कुनै व्यक्ति/समुदाय विशेषले बोल्ने जनजिब्रोमा बाँचिरहेका सम्पदा हुन्। 

भाषाविद् अमृत योञ्जन–तामाङको शब्दमा भाषाको आयु राज्यको नीतिमा निर्भर रहन्छ। ‘भाषा मर्छमात्रै होइन, मारिन्छन्,’ राज्यसत्ताबाट विगतमा गरेको विभेद दोहोरिन नहुने उल्लेख गर्दै तामाङ भन्छन्, ‘राज्यले चाह्यो भने संघीय प्रदेश, गाउँपालिका, नगरपालिकामा बोलिने अत्यन्त लोपोन्मुख मानिएका भाषाहरू अझै बचाउन सकिन्छ।’ वक्ताका हिसाबले लाखभन्दा बढी संख्या देखिएका केही मातृभाषा, त्यसलाई बचाउन गरिएको अभ्यासबारे प्रतिनिधि स्रष्टामार्फत केलाउने प्रयास गरिएको छ। 

मगर : १८ लाख ८७ हजार मगरमध्ये ७ लाख ८८ हजारले मगर मातृभाषा बोल्छन्। मगरभित्र ढुट, काइके र पाङ (खाम) गरी तीनथरी भाषा बोलिन्छन्। मगर भाषा अख्खा लिपिमा लेखिन्छ भने देवनागरी बढी प्रचलनमा छ। अनुसन्धानकर्ता सञ्जोग लाफा मगरका अनुसार तीनवटै मगर भाषाका साहित्यिक कृति ८३, गीति एल्बम १९, चलचित्र २५ र वृत्तचित्र १४ बनेका छन्। 

ढुट मगर भाषाका स्रष्टा हेमा आले भन्छन्, ‘भाषा चेतना र पहिचानको विषय हो। मातृभाषा जानेन भने पहिचानले पूर्णता पाउँदैन। मातृभाषामा लेखेका लेख, रचना र प्रकाशन गर्नु पाउनु भाग्यको कुरो हो।’ नवलपरासीको कावासोती–१७ की उनी मातृभाषा प्रशिक्षकसमेत हुन्। उनी मातृभाषा संरक्षण, लिपि प्रबद्र्धनमा राज्यबाट उदार नीति बन्न जरुरी ठान्छिन्। 

थारु : थारु मातृभाषा बोल्नको संख्या १५ लाख २९ हजार ८ सय ७५ छ। थारुभित्र फरक भाषा छन्– पूर्वमा
कोचिला, मध्यपूर्विया, चितवनिया, दङ्गौरा, देसौरी, राना थारु, कठरिया। थारु भाषा २०१२ सालदेखि प्रकाशनमा आएको मानिन्छ। अहिलेसम्म थारु सम्बन्धी १ सय ८४ वटाभन्दा बढी पुस्तक प्रकाशित छन्। ९० वटा पत्रपत्रिका थारु भाषामा छापिन्छन्। एफएममा थारु भाषा प्रसारण हुन्छ। ‘गोचाली’ पत्रिका (२०२८) को नाममा ‘गोचाली थारु साहित्यिक पुरस्कार’ सुचारु छ। दुई साहित्यिक पत्रिका निस्किरहेका छन्।

कृष्णराज सर्वहारी (४६) का अनुसार दङ्गौरा थारु बढी प्रबद्र्धन भएको छ। डेढ सयजना जति थारु लेखक मातृभाषा साहित्य लेखनमा छन्। थारु साहित्यिक कार्यक्रम हुँदैआएका छन्। ‘युवामा मातृभाषा साहित्य सिर्जनामा मोह जागेको छ,’ थारु लेखक संघका अध्यक्षसमेत रहेका सर्वहारी भन्छन्, ‘अब भाषा प्रबद्र्धनका निम्ति हरेक गाउँपालिका, नगरपालिकाबाट अनिवार्य बजेट छुट्याउने पहल गराउनेछौं।’

तामाङ  : तामाङ मातृभाषीको संख्या १३ लाख ५३ हजारभन्दा बढी छ। २०१३ सालदेखि तामाङ भाषा प्रकाशनमा आएको हो। तामाङ सम्बन्धी चार सयभन्दा बढी पुस्तक प्रकाशित छन्। राजधानी उपत्यकामा हरेक शनिबार फरक–फरक संस्थाले तामाङ भाषा, साहित्यको कार्यक्रम गर्छन्। स्रष्टा योगेश राल्फाली (योकबहादुर घिसिङ) भन्छन्, ‘कुनै देश नष्ट गर्नुछ भने त्यो देशको इतिहास नष्ट गर, कुनै जातिलाई नष्ट गर्नुछ भने त्यो जातिको भाषा नष्ट गर भन्ने जेमिनीको भनाइले घोच्यो, मैले महसुस गरेंँ कि हाम्रो भाषा नष्ट हुने बित्तिकै हामी हुन्नौं, अनि मातृभाषामा लेख्न थालेंँ।’ मातृभाषालाई देशकै सम्पदाका रूपमा विकास हुन जरुरी ठान्छन्। 

नेवार : नेवारले आफ्नो मातृभाषालाई नेपालभाषा भन्छन् भने अरूले नेवारी भन्ने गर्छन्। ८ लाख ४६ हजारले नेवारी बोल्छन्। नेपाल संवत् १०२९ मा प्रकाशन आरम्भ भएको नेपालभाषा (हाल ने.सं. ११३७) सम्म पाँच हजारजति पुस्तक कृति प्रकाशित छन्। वर्षमा सरदर ७० वटा पुस्तक प्रकाशित हुने गर्छ। दुई दैनिक, साप्ताहिक, मासिक पत्रपत्रिका प्रकाशनमा छन्। टेलिभिजन, रेडियो (एफएम) मा नेपालभाषा प्रसारणमा छन्। नेपालभाषाका निम्ति ज्यानको बाजी थापेर जेलनेल भोगेका स्रष्टाहरू धेरै बिते, साक्षीहरू अझै छन्। 

मातृभाषा लेखन तथा प्रकाशनमा समर्पित भक्तपुरका विमल ताम्राकार (५३) राज्यले सहअस्तित्वलाई स्वीकार नगर्दा मुलुकको पहिचान खतरामा परेको बताउँछन्। उनले नेपालभाषामा स्नातकोत्तर गरेका हुन्। ‘भाषा सिक्न समय, पैसा, मिहिनेत धेरै चाहिन्छ,’ उनी भन्छन्, ‘हाम्रो मातृभाषा अझै मुखमै भएकाले अझै बचाउन सकिन्छ।’ घर–घरमा मातृभाषामै व्यवहार गर्नसक्ने वातावरण निर्माण हुनुपर्ने उनको निष्कर्ष छ। 


अवधी : तराईमा बोलिने अवधी भाषाका वक्ता संख्या ५ लाख १ हजार छ। अवधी बाह्रौं–तेह्रौं शताब्दीदेखि लेख्य रूपमा अघि बढेको ठानिन्छ, जो लुम्बिनीमा अशोक स्तम्भ साक्षी छ। अवधीमा चार दर्जनभन्दा बढी विविध विधाका कृति प्रकाशित छन्। छिटफुट पत्रपत्रिका प्रकाशन र एफएममा अवधीमा साहित्यिक कार्यक्रम चल्ने गर्छ। 

अवधीका स्रष्टा हँसा कुर्मी (३९) विधागत विश्लेषण हुन बाँकी रहेको बताउँछिन्। अंग्रेजी र भाषाविज्ञानमा स्नातकोत्तर उनी दशकदेखि मातृभाषामा समर्पित छिन्। केन्द्रीकृत सरकार, रोजीरोटीको समस्याले मातृभाषा लेखन प्राथमिकतामा पर्न नसकेको उनको ठम्याइ छ। ‘अंग्रेजी फरर जाने एनजीओ लगायतमा काम पाइन्छ, नेपाली राम्रो जाने सरकारी जागिर पाइन्छ। तर अवधी जाने के हुने भन्ने भ्रम तोड्न जरुरी छ,’ हँसा भन्छिन्, ‘राज्यले जनस्तरमा मातृभाषा सचेतना साथसाथै अपनत्व बोध गराउन जरुरी छ।’ 

लिम्बु : पूर्वी पहाडमा बोलिने लिम्बु भाषाका वक्ता संख्या ३ लाख ४४ छन्। लिम्बु समृद्ध भाषाका रूपमा लिने
गरिन्छ। यो भाषा किरात (सिरिजंगा) लिपिमा लेखिन्छ। इमानसिंह चेम्जोङको अगुवाइमा लिम्बु भाषा, साहित्यका पुस्तक सन् १९२५ कालिम्पोङबाट प्रकाशन आरम्भ भएको मानिन्छ। सबै खालका गरी पाँच सयभन्दा बढी कृति प्रकाशित रहेको अन्वेषक अमर तुम्याहाङ उल्लेख गर्छन्। 

लेखक निशेष आङदेम्बे (३१) भन्छन्, ‘मातृभाषाको किताब बिक्दैन। लिपि लेखन अभ्यास नहुनुको जटिलता पनि छ। उनका अनुसार भाषा पहिचान हो। भाषा हराए धेरै कुरा हराउँछ। यसको लिपिसँग साइनो छ। शब्द र त्यसको इतिहाससितको साइनो, संरचना, व्याकरण यावत पक्ष छन्। ‘मातृभाषा प्रबद्र्धन जरुरी छ, सरकारी कामकाजी भाषा बनाउन राजनीतिक पहल हुनुपर्छ,’ उनले भने। 

बान्तावा : तथ्याङ्कले किरात राई जातिभित्र २४ भन्दा बढी भाषा रहेको देखाएको छ। त्यसमध्ये सर्वाधिक १ लाख ३२ हजारले बान्तावा भाषा बोल्छन्। तर सरकारले स्थानीय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको राजपत्रमा ‘बान्तावा’लाई अल्पसंख्यक जातिमा राखेको छ। बान्तावा भाषा ०४६ सालपछि प्रबद्र्धन भयो। संस्कृतिविद् तीर्थराज मुकारुङ राईका अनुसार बान्तावा भाषा उहिल्यैदेखि गीत गाउने, किरात (सिरिजंगा) लिपिमा चिठीपत्र आदान–प्रदान गर्ने गरिन्थ्यो। बान्तावा भाषा र अन्य गरी एक सयजति पुस्तक प्रकाशित छन्। 

‘बुङ्वाखा’ मासिकका सम्पादक पदम राई (४२) मातृभाषा सेवामा पूर्णकालीन छन्। उनका अनुसार नियमित लेखक कम फुटकर धेरै छन्। पारिश्रमिक दिएर लेखाउने स्थिति छैन। राज्यले मातृभाषा लेखकलाई चिन्दैन। लेखकको आत्मबल बढाउन अक्षयकोष निर्माण गर्न समुदायलाई गुहारेको उनले जनाए। 


प्रकाशित: श्रावण १४, २०७४
http://kantipur.ekantipur.com/news/2017-07-29/20170729070451.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि