समाचार - विश्वविद्यालयका उच्च पदाधिकारी र सरोकारवाला भन्छन्, 'गुणस्तरीय शिक्षा स्वदेशमै'
जेष्ठ १८, २०७४- उच्च शिक्षा अध्ययन गर्न बर्सेनि विदेश जाने विद्यार्थीको संख्या बढ्दो छ । गत वर्ष मात्रै ४७ हजार विद्यार्थी बिदेसिए । तिनलाई पढाइ सकेर स्वदेश फर्काउने कुनै नीति सरकारले अघि सारेको छैन । विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले स्वदेशी विश्वविद्यालयको कमजोरी औंल्याउँछन् । यहाँका विश्वविद्यालयहरुको समस्या के छ ? समाधान कसरी गर्ने ? स्वदेशमै पढने वातावरण कसरी बनाउने ? जस्ता विषयमा देशका विश्वविद्यालयहरुका उच्च पदाधिकारीहरुलगायत सरोकारवालासँग गरिएका राउन्डटेबल छलफलको सम्पादित अंश–
विदेशमा अधुरो शिक्षा स्वदेशमै पूरा गराउन फर्काउँछौं
प्रा. तीर्थराज खनियाँ
उपकुलपति, त्रिवि
प्रा. तीर्थराज खनियाँ
उपकुलपति, त्रिवि

हामी छोराछोरी विदेश पढ्न गएनन् भने इज्जतमै धक्का लाग्लाजस्तो सोच्छौं । यस्तो संस्कार र संस्कृतिमा हामी अहिले आइपुगेका छौं । खासमा बाहिर जाने कुरा रोक्ने होइन, व्यवस्थित गरिनुपर्छ । बाहिर गएकालाई फर्काउनु र तिनले प्राप्त गरेका सीप, ज्ञान, स्रोत, साधन उपयोग गर्नु आजको आवश्यकता हो । यो समस्या मलेसिया, भारत, चीनमा पनि छ । पछिल्लो समयमा फर्किएर आउने प्रावधानमा यी तीनवटै देशले नीति बनाएका छन् । विदेशबाट फर्किएर आई देशलाई एकदमै महत्त्वपूर्ण योगदान दिएका छन् । व्यवस्थित ढंगले विदेश जानेमा समस्या छ । गएकाहरूलाई फर्काउने नीति, विकल्पहरू दिनुपर्छ । फर्काउन नसक्नु नीतिगत कमजोरी हो ।
त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ, मेडिसिन, एग्रिकल्चर, फरेस्ट्री सबै राम्रा छन् । विश्वस्तरीय छन् । त्रिविमा समस्या भनेको सोसियल साइन्सका केही विभागहरू हुन् । म्यानेजमेन्टमा राम्रो छ । तर बाहिर जाने विद्यार्थीहरू यहाँको पढाइ कमजोर भएर होइन । अवसरको खोजीमा गएका हुन् । उज्ज्वल भविष्य यहाँभन्दा गतिलो छ भनेर गएका हुन् । अवसरको कमी छ । प्रमुख समस्या यो हो ।
हाम्रा विद्यार्थी अस्ट्रेलिया र अमेरिका गएका होइनन्, लगिएका हुन् । किनभने त्यहाँका विश्वविद्यालय चलाउन हाम्रा विद्यार्थी लैजाने गरिन्छ । उनीहरूले यहाँका विद्यार्थी त्यहाँ चाहिएको बेला सजिलो बनाएर लैजान्छन् । जब उनीहरूलाई विद्यार्थी पुग्छ अनि अलि अप्ठ्यारो सर्त राख्ने गरिन्छ । हाम्रा विद्यार्थी अमेरिकामा पढ्दा आफ्नो पैसाले पढ्छन् । यदि ट्यालेन्ट छन् भने कन्भोकेसनमा ग्रिनकार्ड थमाइदिन्छन् । अनि कसरी फर्केर आउँछ ? त्रिवि तत्कालीन अवस्थामा क्रेडिट ट्रान्सफर गराउन लागिपरेको छ । दुई वर्ष नेपाल पढ्ने र दुई वर्ष अमेरिका पढ्न पाउने, लगानी कम गरेर पनि अमेरिकन डिग्री पाउने व्यवस्था गर्दै छौं । अन्य मुलुकमा कोर्स पूरा गर्न नसकेर अल्झेर बसेका विद्यार्थीलाई त्यहाँ पढेको क्रेडिट नेपालमा ट्रान्सफर गरेर पूरा गराउने छौं । विद्यार्थी फर्काउने यो उपयुक्त माध्यम हो । यो व्यवस्थाले परिवारमा खुसी छाउँछ । विद्यार्थीको पढाइ पूरा हुन्छ । विदेशको अनुभव स्वदेशमा ल्याउन पनि सकिन्छ । जसरी फुलब्राइट पढ्न जाँदा फर्केर नेपालमा काम गर्नैपर्ने व्यवस्था छ, त्यसरी नै सम्बन्धित मुलुकसँग छलफल गरेर नेपाली विद्यार्थीलाई पढाइ पूरा गरेपछि फर्काउनुपर्ने व्यवस्था गर्नुपर्ने हुन्छ । स्वदेश फर्केर केही वर्ष बसेपछि मात्रै त्यहाँ पुन: काम गर्ने, स्थायी बसोबासको सुविधा पाउने कानुनी व्यवस्थाको दुई देशबीच सम्झौता हुनुपर्छ । विदेशी विश्वविद्यालयले पाँचतारे होटलमा विभिन्न कार्यक्रम गर्ने, विद्यार्थी आकर्षित गरेर भर्ना गर्ने गर्छन् । त्यो विश्वविद्यालय कस्तो हो ? कुन र्याङकिङको हो ? भन्ने कसैले बुझ्दैनन् । यसरी हाकाहाकी नेपाली विद्यार्थी ठग्ने गरेका छन् ।
०००
विषयगत विश्वविद्यालयको खाँचो
प्रा. घनश्याम दास
उपकुलपति, पूर्वाञ्चल विश्वविद्यालय
प्रा. घनश्याम दास
उपकुलपति, पूर्वाञ्चल विश्वविद्यालय

सुत्नेलाई जगाउन सकिन्छ, सुतेको अभिनय गर्नेलाई जगाउन सकिन्न । जति विदेश गइरहेका छन्, ती सर्वसाधारणका छोराछोरीभन्दा पनि सम्भ्रान्तका छन् । उच्चस्तरीय बौद्धिक व्यक्तित्वका छोराछोरी पढाइका नाममा विदेश गएका छन् । त्यसबारे उहाँहरूलाई जगाउनु पर्छ ।
विश्वविद्यालयमा केही कमजोरीहरू छन् । तर सरकारी लगानी कम भयो । तीन करोड रुपैयाँले जबरजस्त चलाउन भनिदिएको स्थिति छ । यो सरकारको कमजोरी हो । नयाँ विश्वविद्यालयलाई प्राथमिकता दिइएन । एउटै विश्वविद्यालयलाई जहाँ पनि जाऊ भनिरहिएको छ । यो त एउटै घरमा तीन/चार वटा बैक भएजस्तै भयो ।
विश्वविद्यालयलाई पनि फरक फरक विषयको पढाउने जिम्मेवारी दिनुपर्छ । कसैलाई इन्जिनियिरिङ, कसैलाई कानुन, कसैलाई व्यवस्थापन पढाउने जिम्मेवारी दिनुपर्छ । अनावश्यक प्रतिस्पर्धा गर्नु हुँदैन । पोखरा विश्वविद्यालयले विराटनगरको कलेजलाई सम्बन्धन दिनु, पूर्वाञ्चलले पोखरामा दिनु राम्रो होइन । यसरी प्रतिस्पर्धा गर्नु हुँदैन । पूर्वाञ्चल विश्वविद्यालयले प्रोफेसनल कोर्सलाई मात्रै जोड दिएका छौं । ७२ वटा प्रोफेसनल कोर्स चलाउने हाम्रो विश्वविद्यालय मात्रै हो । हाम्रो नर्सिङ, इन्जिनियरिङ, कानुनको कोर्स अन्त्यत राम्रो छ । हाम्रा उत्पादन लोकसेवामा सधैं उत्कृष्ट हुन्छन् ।
तर, हामीमा सुधार गर्नुपर्ने पक्ष धेरै छन् । शैक्षिक क्यालेन्डर पूर्णरूपमा लागू गर्न सकेका छैनौं । स्रोत साधनको कमीले क्यालेन्डर लागू गर्न समस्या छ । राजनीतिक प्रभाव छ । तर, विगतको जस्तो बन्दहडताल छैन । चार वर्षको कोर्स चार वर्षमै सकाएर परीक्षा लिने, तोकिएकै समयमा नतिजा निकाल्ने तरखरमा छौं । हामीले चाहेजसरी चलाउन सकेका छैनौं । तर, बजार केन्द्रित कोर्स बनाइरहेका छौं । अनुसन्धानलाई जोड दिन्छौं । अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य बढाइरहेका छौं । विश्वविद्यालयमा आर्थिक समस्या छ । राजनीतिक अवस्थाले प्रभाव पारेको छ । विश्वस्तरीय शिक्षा दिन सफल भएका छौं । नेपालको विश्वविद्यालयको शिक्षा नराम्रो भएर विदेश गएको हो भन्ने म मान्दिनँ । सामाजिक, आर्थिक, राजनीतिक वातावरणले विद्यार्थीहरू विदेश गइरहेका छन् । समाजमा देखासिकीले नै विदेश अध्ययनमा जाने गर्छन् । विदेशमा अध्ययन गर्न जाँदा रोजगारीको सुनिश्चितता हुने गरेकाले जान्छन् । हाम्रो मुलुकमा पनि रोजगारी सृजना गर्न जरुरी छ ।
०००
सरकारको नीति नै कमजोर
प्रा. चित्तञ्जीवी शर्मा
उपकुलपति, पोखरा विश्वविद्यालय
प्रा. चित्तञ्जीवी शर्मा
उपकुलपति, पोखरा विश्वविद्यालय

तर, मुलुकको नीति कमजोर छ । काठमाडौं उपत्यकामा संसारको कुन विश्वविद्यालय पाइँदैन ? अरू मुलुकका विश्वविद्यालयको कलेज धमाधम खोल्न दिइरहेको छ । विभिन्न संस्थाहरूले विद्यार्थी भर्ना गरेर विदेश पठाइरहेका छन् । यस्ता काम रोक्ने हो भने विद्यार्थी हाम्रै विश्वविद्यालयमा आउँछन् । सरकारको नीतिगत कमजोरीले नै विद्यार्थी बाहिर गइरहेका छन् । यदि स्वदेशको शैक्षिक गुणस्तर राम्रो हुने हो भने पनि विद्यार्थी बाहिर जाँदैनन् ।
गुणस्तर कमजोर छ भने राज्यले के गर्ने हो ? सोच्नुपर्छ । हामी दाबीका साथ भन्छौं, विश्वविद्यालयको गुणस्तरमा कमी हुन दिन्नौं । पोखरा विश्वविद्यालयले पूर्वाञ्चलमा पनि सम्बन्धन दिन पाउनुपर्छ । अनि मात्रै गुणस्तरमा प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धामा आउन सक्नुपर्छ । जहाँ प्रतिस्पर्धा हुँदैन भने त्यहाँ गुणस्तर हुँदैन । पोखरा विश्वविद्यालयमा कुनै कोर्स १० लाखमा पढाइ सकाउँछन् । विदेशमा दोब्बर तिर्छन् । तैपनि हाम्रो विश्वविद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । देशमा आवश्यक जनशक्ति धेरै उत्पादन गर्न खोजे पनि सम्बन्धित निकायबाट बाधा पुर्याइरहेको अवस्था छ । विश्वविद्यालयले ५ सय जना पढाउने क्षमता छ भने ३० जनामा मात्रै सीमित गर्नु हुँदैन ।
हामीले विदेशी विश्वविद्यालयसँग शैक्षिक कार्यक्रमहरू चलाइरहेका छौं । दक्ष जनशक्ति उत्पादन गरिरहेका छौं । तर, जनशक्ति खपत हुने उद्योग छैन । विश्वविद्यालयले उद्योग खोल्न सक्दैन । हामीले मेडिकल कलेज खोल्न प्रधानमन्त्री कार्यालय योजना आयोग गयौं । अनुमति दिँदैन । अनुमति कसैलाई नदिने अनि विद्यार्थी पढ्न विदेश जान्छन् ।
०००
‘टेक्निकल हब’ को तयारीमा छौं
प्रा. भूषण श्रेष्ठ
उपकुलपति, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय
प्रा. भूषण श्रेष्ठ
उपकुलपति, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय

सुदूरपश्चिमाञ्चलमा टेक्निकल एजुकेसनको आवश्यकता छ । सुदूरपश्चिमाञ्चलका ९ जिल्लामा मानविकी, शिक्षा र व्यवस्थापन संकाय चलेका छन् । आफैं स्वतन्त्र ढंगले चल्न सकिरहेका छैनन् । यद्यपि ती क्याम्पसहरू त्रिविअन्तर्गतका हुन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको महेन्द्रनगरमा एउटैमात्र क्याम्पस छ । अरू क्याम्पस छैन । अहिले आफ्नै मानव स्रोतसाधन सम्पन्न बनाउने पहलमा छौं । उच्च शिक्षामा सुधार गर्न सरकारको एउटै नीति बन्न जरुरी छ । कुन विश्वविद्यालय पब्लिक हो ? कुन प्राइभेट हो ? कुन सरकारी लगानीको हो ? त्यो चाहिँ सरकारको स्पष्ट नीति बन्नुपर्छ । कुन विश्वविद्यालय कसरी चल्ने भन्ने स्पष्ट हुनुपर्यो ।
हामी सरकारको लगानीमा स्थापित स्टेट युनिभर्सिटी हौं । हामी आफैं मजबुत बन्न सक्ने स्थितिमा छैनौं । हाम्रो बाध्यता के छ भने भवन संरचना र विद्यार्थी भए पनि पढाउने प्राध्यापकको कमी छ । सरकारी तलबमा कोही पनि पढाउन चाहँदैनन् । ती विषय पढाउने प्राध्यापकहरू काठमाडौंभन्दा बाहिर जान चाहँदैनन् । हामी धेरै दुर्गम ठाउँमा छौं । इन्जिनियरिङजस्तो टेक्निकल विषय पढाउने जनशक्तिको खाँचो छ ।
विद्यार्थीले पढ्न चाहेको विषय छैन । यो साँचो हो । विश्वविद्यालयको आफ्नो फयाकल्टी नभएसम्म कलेजलाई त्यस्तो विषयको सम्बन्धन दिन नपाइने शिक्षा मन्त्रालयले नयाँ नियम ल्याएको छ । नयाँ विश्वविद्यालयले फ्याकल्टी नभएसम्म त्यत्तिकै बस्ने ? नयाँ विषयको सुरुवात नगर्ने ? सरकरको नीति नै यस्तो छ । त्यसैले विद्यार्थी बाध्यतावश विदेश जान्छन् ।
०००
बौद्ध दर्शन पढ्न विदेश जानु पर्दैन
प्रा. नरेशमान बज्राचार्य
उपकुलपति, लुम्बिनी बौद्ध विश्वविद्यालय
प्रा. नरेशमान बज्राचार्य
उपकुलपति, लुम्बिनी बौद्ध विश्वविद्यालय

परीक्षा कहिले हुने, नतिजा कहिले आउने भन्ने निश्चित छैन । विदेशमा शैक्षिक क्यालेन्डरअनुसार शैक्षिक कार्यक्रम हुने भएकाले पनि विद्यार्थीहरूको आकर्षण हुने गरेको हो ।
विश्वविद्यालयले अब स्वदेशमै विद्यार्थी रोक्ने कि आफूले राम्रो गर्नुपर्छ, कि छाड्नुपर्छ । यहाँ राजनीतिक अवरोध हुन्छ । राजनीतिक रूपमा सकारात्मक प्रभाव पर्नुको सट्टा स्वार्थबाट प्रेरित छ । विदेशमा यस्तो हुँदैन । नेपालका सबै विश्वविद्यालय गुणस्तरहीन भन्न मिल्दैन । कुनै क्याम्पस राम्रो छ । कुनै नराम्रो हुन्छ । त्यसैले सबै समान हुनुपर्छ । विदेशमा गाउँको विश्वविद्यालय र कलेजमा राम्रो हुन्छ । रोजगारको अवसरले पनि विद्यार्थीहरू बाहिर जाने गर्छन् । नेपालमा राम्रो गुणस्तर भए पनि बेरोजगार हुन्छन् । विश्वविद्यालय पढ्नु भनेकै बेरोजगार हुनु जस्तै भइरहेको छ । जतिसुकै पढे पनि रोजगारी पाउन मुस्किल छ । राज्यमा कुन खालको जनशक्ति कति चाहिने प्रक्षेपण हुनु जरुरी छ । हाम्रो विश्वविद्यालयमा पूर्वाधार बनाइरहेका छौं । बौद्ध दर्शन पढ्न विदेश जानु पर्दैन । विदेशबाट पनि बौद्ध दर्शन अध्ययन गर्न आउने गरेका छन् ।
०००
उच्च शिक्षाको गन्तव्य बनाउँछौं
बिम श्रेष्ठ
कार्यकारी सदस्य, काठमाडौं विश्वविद्यालय
बिम श्रेष्ठ
कार्यकारी सदस्य, काठमाडौं विश्वविद्यालय

विश्वविद्यालयमा पढ्ने विद्यार्थीलाई गाउँगाउँमा पठाउँछौं । गाउँमा माइक्रो हाइड्रो कसरी चलेको छ ? गाउँको स्रोतसाधन कसरी अलपत्र परेको छ ? अधययन गर्न पठाउँछौं । यसरी पठाउँदा रोजगारी गाउँमै छ । सम्भावना नेपालमै छ भन्ने बुझ्छन् । हामीसँग भएका अवसरलाई बेवास्ता गरिरहेका छौं । विद्यार्थी बाहिर गइरहेको छ भनेर चिन्ता गरेर हुँदैन ।
म पनि भारत, जापान र अमेरिका पढेर नेपालमा फर्केर काम गरिरहेको छु । विदेशमा राम्रो हुन्छ, स्वदेशमा केही पनि छैन भन्ने आम जनताको मनोभावना छ । यो कुरा हामीले चिर्नु छ । हाम्रा विश्वविद्यालयहरूले नगरेका होइनन् । धेरै राम्रो गरिरहेका छन् । नेपालमा के छ ? के छैन भनेर विद्यार्थीलाई उत्प्रेरित गराउन सकेनौं । विद्यार्थी बाहिर पढ्न गए भने विरोध गर्नु भन्दा पनि हाम्रो सिस्टम परिवर्तन गर्नु जरुरी छ । विश्वविद्यालयमा सामुदायमा आधारित पाठ्यक्रम तयार गर्नुपर्छ । विश्वविद्यालयमा हामीकहाँ नभएको विषय पढाउनुपर्छ ।
म पनि भारत, जापान र अमेरिका पढेर नेपालमा फर्केर काम गरिरहेको छु । विदेशमा राम्रो हुन्छ, स्वदेशमा केही पनि छैन भन्ने आम जनताको मनोभावना छ । यो कुरा हामीले चिर्नु छ । हाम्रा विश्वविद्यालयहरूले नगरेका होइनन् । धेरै राम्रो गरिरहेका छन् । नेपालमा के छ ? के छैन भनेर विद्यार्थीलाई उत्प्रेरित गराउन सकेनौं । विद्यार्थी बाहिर पढ्न गए भने विरोध गर्नु भन्दा पनि हाम्रो सिस्टम परिवर्तन गर्नु जरुरी छ । विश्वविद्यालयमा सामुदायमा आधारित पाठ्यक्रम तयार गर्नुपर्छ । विश्वविद्यालयमा हामीकहाँ नभएको विषय पढाउनुपर्छ ।
०००
बेरोजगार उत्पादन गर्दैनौं
महेन्द्रकुमार मल्ल
रजिस्ट्रार, मध्यपश्चिम विश्वविद्यालय
महेन्द्रकुमार मल्ल
रजिस्ट्रार, मध्यपश्चिम विश्वविद्यालय

विश्वविद्यालयहरूलाई स्रोतसाधन अभाव छ । नेपालमा नौवटा विश्वविद्यालय छन् । अझै पुगेन । अब विषयगत आधारमा खोल्नुपर्छ । विश्वविद्यालयले आफैंले पनि स्रोतसाधनको व्यवस्था गर्नुपर्छ । ऐनमा सरकारले लगानी गर्ने भनेर सरकारी विश्वविद्यालय खोलिएको छ । पूर्ण लगानी छैन । अहिले भएका विश्वविद्यालयहरूमा विषयको नवीनताको खाँचो छ । पाठ्यक्रम समयसामयिक बनाउनुपर्छ ।
मध्यपश्चिम विश्वविद्यालयमा पुराना र नयाँ विषयहरू सञ्चालनमा छन । विगतमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कलेज हाम्रामा समायोजन आएपछि पुराना कार्यक्रमलाई निरन्तरता दिएका छौं । प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिएका छौं । पछिल्लो पटक हाइड्रोपावर इन्जिनियरिङ सुरु गरेका छौं । यो नयाँ विषय हो । चुनौती पनि छ । अब हामीले कानुन, कृषि र मेडिकल संकाय सञ्चालन गर्न कानुनी बाटो खोल्न लागिरहेका छौं । अन्तिम चरणमा पुगेका छौं । हाम्रो विश्वविद्यालय राष्ट्रिय आवश्यकता पूरा गर्न प्रतिबद्ध छ । थुप्रै विश्वविद्यालयसँग पनि सहकार्य भइरहेको छ । हाम्रो विश्वविद्यालयमा विदेशी विद्यार्थी पनि बढिरहेका छन् । हामी बेरोजगार उत्पादन गर्ने कारखाना बनाउने छैनौं ।
०००
विश्वस्तरीय विश्वविद्यालयको अभाव
उमेश श्रेष्ठ
सांसद
उमेश श्रेष्ठ
सांसद

विश्वविद्यालय भनेको सरकारी हो कि निजी हो ? यो बुझ्नुपर्यो । सरकारी हो भने सरकारले लगानी गर्नुपर्यो । अब शिक्षा व्यवसायमात्र होइन, सेवा बन्नुपर्छ । यति धेरै राजनीति भयो कि अब राजनेताको खल्तीबाट विश्वविद्यालय बन्नु भएन ।
हामीलाई २० विश्वविद्यालयको आवश्यकता छ । नेपाललाई ‘एजुकेसन हब’ बनाउन सकिन्छ । पर्यटनजस्तै । बौद्ध विश्वविद्यालय धेरै सम्भावना भएको हो । तर सरकारले बजेट नै दिँदैन । संस्कृत विश्वविद्यालयको हालत त्यही छ । त्यसलाई शतप्रतिशत अनुदान दिनुपर्छ ।
विश्वस्तरीय विश्वविद्यालय बनाउन जरुरी छ । कृषि, इन्जिनियरिङ, टेक्नोलोजीका विश्वविद्यालय हुनुपर्छ । विश्वविद्यालयमा स्रोतसाधन अपुग भयो । विद्यार्थीले पढ्न चाहेको विषय यहाँ पढाइ भएन । मेडिकल साइन्समा मात्रै दुई हजारभन्दा बढी विद्यार्थी बर्सेनि बिदेसिन्छन् । १० देखि १५ मेडिकल कलेज आवश्यक छ । इन्जिनियरिङ कलेज पनि पुगेको छैन । टेक्निकल विषय पढाउने कलेज पनि भएन । टेक्निकल कलेजको जनशक्ति जताततै माग छ । २० देखि २५ वटा विश्वविद्यालयको खाँचो छ ।
हामीलाई २० विश्वविद्यालयको आवश्यकता छ । नेपाललाई ‘एजुकेसन हब’ बनाउन सकिन्छ । पर्यटनजस्तै । बौद्ध विश्वविद्यालय धेरै सम्भावना भएको हो । तर सरकारले बजेट नै दिँदैन । संस्कृत विश्वविद्यालयको हालत त्यही छ । त्यसलाई शतप्रतिशत अनुदान दिनुपर्छ ।
विश्वस्तरीय विश्वविद्यालय बनाउन जरुरी छ । कृषि, इन्जिनियरिङ, टेक्नोलोजीका विश्वविद्यालय हुनुपर्छ । विश्वविद्यालयमा स्रोतसाधन अपुग भयो । विद्यार्थीले पढ्न चाहेको विषय यहाँ पढाइ भएन । मेडिकल साइन्समा मात्रै दुई हजारभन्दा बढी विद्यार्थी बर्सेनि बिदेसिन्छन् । १० देखि १५ मेडिकल कलेज आवश्यक छ । इन्जिनियरिङ कलेज पनि पुगेको छैन । टेक्निकल विषय पढाउने कलेज पनि भएन । टेक्निकल कलेजको जनशक्ति जताततै माग छ । २० देखि २५ वटा विश्वविद्यालयको खाँचो छ ।
कुलपति प्रधानमन्त्रीलाई दिनुहुँदैन । संविधानले केन्द्रीय, प्रदेश विश्वविद्यालय खोल्ने व्यवस्था गरेको छ । अहिलेको अवस्थामा नगरपालिकाले विश्वविद्यालय खोल्न सक्छ । संसारभर माग भएका विषय पढाउने हो भने विद्यार्थी विदेश जाँदैनन् । बाहिरबाट विद्यार्थी ल्याउन सकिन्छ । मजदुर बनाउने कोर्स पढाउनु भएन । गरिब परिवारका छोराछोरीलाई पनि माग भएको कोर्स पढाउन सकियो भने बेरोजगार भएर बस्नु पर्दैन । उद्यमशील हुने कोर्स पढाऔं ।
०००
जुजु धौ र गुन्द्रुक पढाउनुपर्यो
रमेश सिलवाल
अध्यक्ष, हिसान
रमेश सिलवाल
अध्यक्ष, हिसान

त्यसभन्दा बढ्ता हामीले समयमै भर्ना लिन्छौं, परिणाम निकाल्छौं, क्यालेन्डरअनुसार काम गर्छौं, अब हाम्रो विश्वविद्यालयमा बन्द, हडताल केही हुँदैन भनेर आन्तरिक रूपमा विश्वासको वातावरण बन्न जरुरी छ । हाम्रोमा विदेशको शिक्षाभन्दा पनि विदेशमा शिक्षा भन्ने जमात बढ्दो छ । नेपालमा पढ्नुभन्दा बरु विदेशमै पढ्न रुचाउनेको जमात छ । त्यसको आन्तरिकभन्दा बाह्य राजनीतिक कारण छ । देशको शान्ति, सुरक्षाको स्थिति मजबुत छैन ।
कानुनी शासन हुनुपर्ने हो । तर यो नहुँदा निराशा छाएको हो । नयाँ पुस्तालाई तिम्रो भाग्य र भविष्य यो देशमा छ, बन्छ । त्यसैले देशमै बस्नुपर्छ । मातृभूमिको सेवा गर्नुपर्छ । हामीले त्यो भन्न सकेका छैनौं । हामीले विद्यार्थीलाई संस्कार, संस्कृति दिन सकेनौं । हामी आफैंभित्रै अल्झियौं ।
उपकुलपतिहरूले जुन प्राज्ञिक, व्यवस्थापकीय पक्षमा जोड गर्नुपर्ने हो, त्यो नगरी अन्य काममा लाग्दा त्यो पक्ष कमजोर भयो । राजनीतिक तहले विश्वविद्यालय शिक्षाको महत्त्व बुझेन । अर्को कारण, पुरस्कार र दण्ड हुन नसक्नु पनि हो । राम्रो गर्नेलाई तिम्रो रेटिङ यो छ । त्रिवि र अन्य विश्वविद्यालय आन्तरिक रूपमा यो रेटिङ छ । त्यो रेटिङ वेबसाइटमा हेर्न सकोस् । हाम्रा कलेजहरूको पोजिसन यो छ । यो चाहिँ यो यो स्थितिमा छ भनेर बताउन सक्नुपथ्र्यो । त्यो हामीले बताउन सकेनौं । त्रिवि अलि ठूलो भयो । हेर्न पुगेन । त्रिविभित्र १०८५ सम्बन्धन र ६० वटा आंगिक क्याम्पस छन् ।
गुणस्तरमा सम्झौता हुन दिनु हुन्न । विश्वविद्यालयलाई बेरोजगार उत्पादन गर्ने कारखाना भन्ने गरिन्छ । त्यस्तै होइन । यदि यस्तो हो भने हामी पनि जिम्मेवार छौं ।
विश्वविद्यालयबाट उत्पादित जनशक्तिमध्ये ९० प्रतिशत बेरोजगार हुन्छन् । विश्वविद्यालय शिक्षाले रोजगारी दिने होइन, सृजना गर्न सक्छ । त्यसका लागि प्राविधिक, सीपमूलक शिक्षाको खाँचो छ । हामीले स्वदेशी उत्पादनबारे पढायौं भने पनि विदेशी पढ्न आउँछन् । मैले भक्तपुरको जुजुधौ, गुन्द्रुक कसरी बनाउने ? खोकनाको तेलबारे सिकाउँछु । यस्ता कुरा सिक्न विदेशी विद्यार्थी आएका छन् । विदेशी विश्वविद्यालको कलेजले जति पनि विद्यार्थी लिन पाउँछन् । तर, हाम्रो विश्वविद्यालयको सिट सीमित छ । हामीले विदेशी विद्यार्थी ल्याउन चाहँदा असहयोग हुन्छ ।
प्रकाशित: जेष्ठ १८, २०७४
Comments
Post a Comment