शिक्षा कुराकानी - “अपांगमैत्री शिक्षाका निम्ति कोरियाले सहयोग गर्दै छ”

गणेश राई
कार्तिक १९, २०७३- त्रिभुवन विश्वविद्यालय (त्रिवि) र कोरियाको चाङहोङ युनिभर्सिटीको सहकार्यमा दुई वर्षदेखि त्रिवि शिक्षाशास्त्र संकायअन्तर्गत नयाँ विषयका रुपमा बहुअपांगता शिक्षासम्बन्धी पठनपाठन चलिरहेको छ । अन्तर्राष्ट्रिय सहयोगका लागि अगुवा विश्वविद्यालय परियोजना (लुपिक) अन्तर्गत सुचारू स्नातकोत्तर (एमएड) र स्नातक (बीएड) तह उत्तीर्ण गरेपछि विशेष शिक्षा पठनपाठन गर्ने विद्यालयमा अवसर दिलाउने सरकारको योजना छ ।

अपांगता भएका बालबालिकालाई पढाउने विद्यालय मुलुकभरिमा ३४ वटा छन् । शिक्षा मन्त्रालयले भर्खरै पारित गरेको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) ले ‘गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने’ प्रतिबद्धता जनाएको छ, जसमा जोखिममा परेका, अपांगता भएका तथा निसहायलगायतका विद्यार्थीको भिन्न सिकाइ आवश्यकताको सम्बोधनका लागि खुला, वैकल्पिक, आवासीय तथा विशेष शिक्षाको व्यवस्था गर्ने उल्लेख छ । प्रस्तुत छ, लुपिकले गरेको प्रयासबारे युनिभर्सिटीकी प्रोजेक्ट म्यानेजर युजिन सिमसित गरिएको कुराकानीको सम्पादित अंश ।

त्रिवि र चाङहोङबीच भएको परियोजना कति वर्षका लागि हो ?
अपांगमैत्री गुणस्तरीय शिक्षाका निम्ति कोरिया सहयोग गर्दै छ । यो कार्यक्रम चारवर्षे हो । सन् २०१४ जुनमा सुरु भएको हो भने २०१८ मेसम्म चल्नेछ ।
यो कार्यक्रमको खास उद्देश्य चाहिँ के हो ?
अपांगता भएका बालबालिकालाई पढाउने शिक्षक उत्पादन गर्ने मुख्य उद्देश्य हो । कोरियामा अपांगता भएकाहरूका लागि अलग्गै नेसनल इन्स्टिच्युट रहेको छ । देशभरिका विविध खालका अपांग भएकाहरूको अनुगमन, अध्ययन, अनुसन्धान गर्ने र उनीहरूको जीवनलाई सहज तथा गुणस्तरीय तुल्याउने खालका सेवा सुविधाहरू उपलब्ध गराउने गरिन्छ । त्यस्तै किसिमको संयन्त्र नेपाल सरकारले पनि लागू गरोस् भन्ने कोरियाको चाहना हो ।
कार्यक्रम कत्तिको प्रभावकारी बनेको छ ?
त्रिविसित सम्झौता भए पनि नेपाल सरकारको शिक्षा मन्त्रालयको अनुमतिबिना अघि बढ्न सक्दैन । विशेष शिक्षाका निम्ति मन्त्रालयको नीति तथा कार्यक्रमले समेट्न जरुरी छ । उसले भर्खरै एसएसडीपी पारित गरेको छ र यसमा अपांगता भएकाहरूका निम्ति प्राथमिकतामा राखेको छ । तर, मन्त्रालयका जिम्मेवार अधिकारीहरू फेरबदल भइरहेकाले सम्झौताअनुसार हाम्रो लुपिकको नीति तथा कार्ययोजनाप्रति ध्यानाकर्षण गराउन गाह्रो भइरहेको छ ।
त्रिविमा विशेष शिक्षा पढिरहेकै छन् होइन ? 
हो, कीर्तिपुरमा एमएड र सानोठिमी क्याम्पसमा बीएड विशेष शिक्षा पढ्दै छन् । विद्यार्थी छात्रवृत्तिमा पढिरहेका छन् । सहमतिअनुसार विशेष शिक्षामा डिग्री हासिल गरेका विद्यार्थीलाई नेपाल सरकारले अवसरका निम्ति शिक्षक कोटा सिर्जना गर्नुपर्छ । त्यो भइरहेको छैन । प्रोजेक्टको अवधि डेढ वर्षमात्र बाँकी छ ।
विशेष शिक्षा पढेकाले शिक्षण नै गर्नुपर्छ र ?
विशेष शिक्षा पढेका ग्राजुएट्सलाई विद्यालयमा अवसर दिइयो भने प्रभावकारी हुन्छ । सामान्य शिक्षकले भन्दा पठनपाठन गुणस्तरीय हुन्छ । त्यसका अलावा विभिन्न संघसंस्थामा कामको अवसर दिलाउने, विभिन्न विज्ञहरूको समूहमा संलग्न गराएर अपांगतामैत्री नीति निर्माण गर्ने उद्देश्य हो ।
त्यस्तै, सार्वजनिक र निजी विद्यालयहरूमा विशेष शिक्षाका निम्ति प्रिन्सिपलहरूको एसोसिएसन गठन गर्न नेपाल सरकारलाई भन्दै आएका छौं । जसले गर्दा विशेष शिक्षा प्रवद्र्धन हुनेछ । कोरियामा सामान्य शिक्षकभन्दा विशेष शिक्षाका शिक्षकलाई तलब बढी पाउँछन् । नेपालमा पनि त्यो हुनुपर्छ । त्यसो भयो भने यो विषयमा आकर्षण बढ्छ । अपांगता भएका बालबालिकाले गुणस्तरीय शिक्षा हासिल गरेपछि आफैं आत्मनिर्भर बन्न सक्छन् । 
कहाँ–कहाँ छन् विशेष विद्यालय ?
  • विराट बहिरा मावि, मोरङ
  • पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय, धरान
  • पूर्वाञ्चल बहिरा विद्यालय, धरान
  • सुस्तमनस्थिति बालकल्याण विद्यालय, धरान
  • बहिरा बालकको विद्यालय, राजविराज
  • बहिरा बालकको विद्यालय, सिरहा
  • नवज्योति बहिरा विद्यालय, सिन्धुली
  • रामजानकी सुस्तमनस्थिति विद्यालय, जनकपुरधाम
  • जनकपुर सुस्तमनस्थिति विद्यालय, जनकपुरधाम
  • सुस्तमनस्थिति विद्यालय श्रीपुर, चितवन
  • बालकुमारी सुस्तमनस्थिति विद्यालय, भरतपुर
  • शान्ति नमुना आवासीय बहिरा निमावि, मकवानपुर
  • बहिरा तथा सुस्तश्रवण प्रावि, वसन्तपुर
  • स्वावलम्बी बहिरा प्रावि, धादिङ
  • केन्द्रीय बहिरा उमावि, काठमाडौं
  • सुस्तमनस्थिति बालविकास केन्द्र, काठमाडौं
  • सुस्तमनस्थिति पारिवारिक सरसल्लाह केन्द्र, काठमाडौं
  • सुस्तमनस्थिति बालकल्याण विद्यालय, काठमाडौं
  • खगेन्द्र नवजीवन व्यावसायिक मावि, काठमाडौं
  • सुस्तमनस्थिति कल्याण विद्यालय, ललितपुर
  • सुस्तमनस्थिति कल्याण विद्यालय, भक्तपुर
  • मानव विद्यागृह, भक्तपुर
  • आदर्श बालविकास केन्द्र, बनेपा
  • काभ्रे बहिरा विद्यालय, बनेपा
  • बाह्रबिसे बहिरा निमावि, सिन्धुपाल्चोक
  • मनकामना बहिरा विद्यालय, गोरखा
  • सिर्जना बहिरा विद्यालय, कास्की 
  • चण्डीकालिका बहिरा प्रावि, स्याङ्जा 
  • धौलागिरि बहिरा विद्यालय, बागलुङ 
  • सुस्तमनस्थिति कल्याण विद्यालय, बागलुङ 
  • बहिरा बाल उच्च मावि, भैरहवा 
  • निर्मल सुस्तमनस्थिति विद्यालय, अर्घाखाँची
  • बहिरा बालकको विद्यालय, सुर्खेत
प्रकाशित: कार्तिक १९, २०७३

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि