श्रद्धान्जली - खालिङको पेन्टिङ संघर्ष

पुस ९, २०७३- त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय ललितकलातर्फ २०५८ सालको बीएफएमा ‘गोल्ड मेडल’ प्राप्त छात्र थिए– अर्जुनकुमार राई । त्यसबापत पाए– महेन्द्र विद्याभूषण ‘ग’ । साहित्य र चित्रकारितामा अर्जुन खालिङ नामले उनी परिचित छन् । कुशल फोटोग्राफर पनि । उनै खालिङले गत मंसिर २९ गते बुधबार दिउँसो राजधानीको कोटेश्वरस्थित डेरामा आफ्नै कला स्टुडियो कक्षमा आत्महत्या गरे । ती प्रतिभाशाली कलाकारको देहत्यागले सामाजिक सञ्जालमार्फत हलचल मच्चियो । 

अर्जुन सोलुखुम्बु जुभिङ– ६ खालिङ राई गाउँमा २०३२ भदौ २५ गते किसान परिवारमा जन्मिएका थिए । आमा पुत्रीमाया र बुवा हेमप्रसाद राईका ५ छोरी र २ छोरामध्ये जेठा थिए । उनको जीवन—संगिनी तारा नुमिहाङ र छोरी निन्वाम खालिङ राई छन् । अर्जुन किरात/राई लेखक संघका अध्यक्ष, किरात ललितकला समाजका महासचिव र किरात राई प्रज्ञा—परिषदका कार्यकारी सदस्य थिए । पहिचानको राजनीतिसमेत अँगालेका उनी संघीय समाजवादी फोरमको संघीय सांस्कृतिक महासंघका महासचिव थिए । 
अर्जुन खालिङका २ कविता संग्रह प्रकाशित छन्– सूर्य डढिरहेछ निरन्तर (२०६५) र गोयाङको सुगन्ध (२०७१) । उनका चित्रकला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाजका विभिन्न निकायमा छरिएका छन् । त्रिविबाट स्नातकोत्तर एमएफए सकेपछि व्यावसायिक पेन्टिङ र एकाध वर्ष अध्यापनसमेत गरेका थिए । पछिल्लो पटक उनले किराती पुर्खा तयामा, खियामा र रैछाकुलेको स्केच (चित्र) बनाएका थिए । अर्जुनले ‘पेन्टिङ–संघर्ष’ कालमा सोलुखुम्बुको लुक्ला र मुस्ताङको जोमसोममा आर्ट ग्यालरी खोलेका थिए । त्यसपछि उनले काठमाडौंको बौद्धमा ग्यालरी चलाए । करिब एक दशकदेखि उनले सीमान्तकृतहरूको पहिचानलाई पेन्टिङ अभियानका रूपमा चलाए । चित्रकला प्रदर्शनीका लागि बंगलादेश पुगेका थिए भने स्वदेशमा दर्जनजति चित्रकला प्रदर्शनीमा सहभागी भए ।
‘विद्यालयमा साप्ताहिक रूपमा गरिने अतिरिक्त क्रियाकलाप कार्यक्रममा उनको विलक्षण प्रतिभा त्यतिखेरैदेखि देखिन्थ्यो,’ खरिखोला मावि जुभिङका तत्कालीन प्रधानाध्यापक जयकुमार राईले अर्जुनका ‘सूर्य डढिरहेछ निरन्तर’ कृतिको भूमिकामा लेखेका छन्, ‘अर्जुनले एकाएक स्कुल आउन छाडेपछि आफन्तमार्फत बोलाएँ । घरायसी काम सघाउन, बारीमा बाँदरले मकै खाने भएकाले रुङ्नका लागि छाडेको बताए । सम्झाएँ र फकाएँ पनि । अनि उनीसँग लुकेको प्रतिभा मलाई थाहा भएको हुँदा ‘मकैको बोट र बाँदर’ शीर्षक कविता लेखेर ल्याउन भनेंँ । नभन्दै भोलिपल्ट उनले मलाई कविता बुझाए, जुन कविता ज्यादै मर्मस्पर्शी थियो । तत्कालै प्रार्थना पंक्तिमा उनलाई कविता वाचन गर्न लगाई डटपेन पुरस्कार दिलाएँ ।’ अर्जुनमा सिर्जनाकला सानैदेखि थियो । 
अर्जुनका आफन्त कवि तथा पत्रकार गणेशकुमार राईको शब्दमा दशकयता किराती संस्कृतिलाई ‘फ्युजन अफ टाइम’ शृंखलामा उनले चित्रकला कोर्दै आएका थिए । किराती राई संस्कृतिमा सांस्कृतिक सामग्री ‘चिन्डो’लाई चित्रकलामा बृहत्तर ढंगले उतारेका थिए । साथै त्यसलाई व्यावसायिक ढंगले समेत अघि बढाए । अर्जुनले केही युवालाई साथ लिएर ‘चिन्डो आर्टस’, ‘चिन्डो बुक्स’ र ‘चिन्डो फेसन’जस्ता व्यावसायिक संस्था अघि बढाएका थिए र छन् ।
यसले गर्दा किराती संस्कृति प्रबद्र्धन भइरहेको छ । किरात राई प्रज्ञा—परिषदका वर्तमान कुलपति जयकुमार राई अर्जुनको असामयिक निधनले कला, साहित्य, राजनीतिमा चेतना बोकेका स्रष्टाको निधनले किराती समुदायको ठूलो खम्बा भाँचिएको बताउँछन् । २०३९ सालदेखि निरन्तर नजिक रहेका आफ्ना चेलाबारे उनी भन्छन्, ‘बाआमाले पुरा गर्न नसकेको आफ्ना छोराछोरीमार्फत गराउँछन् । मैले पनि मेरो चेला अर्जुनलाई विद्यावारिधि गराउन चाहेको थिएँ । अधुरै रह्यो । अब उनकी छोरीलाई संरक्षकत्व दिनुछ ।’
कलाकार अर्जुनले केही समय अघिदेखि आफन्तजन, साथीभाइ र परिवारका सदस्यसित भेटघाट गर्न छाडेका थिए । आत्महत्या गरेको दिन बिहान छोरीलाई स्कुल पठाएपछि साढे दस बजेतिर दम्पती खाना खाएका थिए । त्यसपछि ‘सन्चो छैन’ भन्दै आफ्नो कला स्टुडियोभित्र छिरेर विश्राम लिए । दिउँसो धेरै बेरसम्म नउठेपछि बोलाउन जाँदा ढोका खुलेन । जबर्जस्त खोल्दा सिलिङमा झुन्डिएर देहत्याग गरिसकेको अवस्थामा पाएको अर्जुन पत्नी ताराले बताइन् । ‘उहाँ (पति अर्जुन) नसाको बिमारी हुनुहुन्थ्यो । डिप्रेसनको कारण औषधी सेवन गर्दै हुनुहुन्थ्यो,’ श्रीमती तारा भन्छिन्, ‘मर्नु सबैलाई छ । तर त्यसरी आत्महत्या नै गर्नुहुन्छ भन्ने लागेको थिएन । सायद उहाँको लेखन्तै त्यस्तो रहेछ ।’ 
अर्जुनले नोभेम्बर १४ मा आफ्नो फेसबुक स्टाटसमा लेखेका थिए, ‘मन आजकल घाम र बादलको लुकामारी भएको छ । कुनै प्रलयको संकेत त हैन †’ नेपालको संविधान (२०७२) अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी ३ तहको हुनेछ । स्थानीय तह अन्तर्गत गाउँपालिका, नगरपालिका र जिल्लासभा रहनेछन् । भर्खरै स्थानीय तहको पुन:संरचनाको एक चरण पुरा भएको छ । पहिचानका पक्षधर अर्जुन खालिङ स्थानीय तह पुन:संरचनामा सोलुखुम्बुस्थित आफ्नो गाउँको सवालमा धर्नासमेत बसेका थिए । निराशा व्यक्त गर्दै स्टाटसमा लेखेका थिए, ‘जुभिङका खालिङहरूलाई आफू खुम्बुमा परेकोले हैन, आफ्नै वंशबाट छुट्टिनुले पोलिरहनेछ ।’ उनी खालिङ राई संरक्षित क्षेत्रको पक्षमा थिए । 
कलाकार तथा कला—लेखक देवेन्द्र थुम्केलीको दृष्टिमा अर्जुन खालिङ पहिचानवादी कलाकार थिए, जसले मौलिक विषय उठान गरेर चित्रमा उतार्थे । ‘अर्जुनले कलाकारमाझ मौलिक विषयमा सिर्जनामात्र गरेनन् कि किराती संस्कृतिलाई चित्रकलामा नेतृत्व गरेर अघि बढेका थिए,’ सांस्कृतिक विषयलाई समसामयिक सन्दर्भमा ढालेर चित्रकारिता गर्ने खुबीबारे चर्चा गदै उनी भन्छन्, ‘मभन्दा दुई ब्याच अघिका थिए । कनिष्ठलाई प्रोत्साहित गरेर अघि बढ्न हौस्याउँथे ।’ अर्जुन किरात संस्कृति र संस्कारबारे अध्ययन—अनुसन्धानमा संलग्न थिए । उनका केही अनुसन्धान कृति र साहित्यिक कृति प्रकाशन हुन बाँकी छन् । 
प्रकाशित: पुस ९, २०७३


http://kantipur.ekantipur.com/news/2016-12-24/20161224081810.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

के लिच्छविकाल 'स्वर्णयुग' नै थियो ? : गोविन्द न्यौपाने

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि